समान हैसियतकाे प्रशासकलाई गाडी सुविधा, शिक्षक पैदल हिड्नुपर्ने

शिक्षकप्रतिको दृष्टिकोण, गरिने व्यवहार र वास्तविकताको एउटा दृष्टिदोष गत दुई दशकयता अलिक बढी मौलाएको बोध हुन्छ । यसले वर्गीय सोचको खाडल विकसित भयो । पञ्चायतकालीन परिवेशमा समेत शिक्षकलाई निकै सम्मान गरिएको बोध हुन्छ । त्यतिखेर पढालेखा मानिसको अभाव भएकाले पढेका मान्छेले मात्रै शिक्षकमा जागिर पाउँथे । इज्जत हुन्थ्यो । पार्टी, खेमा, स्वार्थ हेरिएन । शिक्षकले एक अब्बल पाइलट, एक सबल इन्जिनियर, एक असल किसान वा एक सक्षम सरकारी कर्मचारीलाई कखरा सिकाउने व्यक्ति हो शिक्षक । शैक्षिक, बौद्धिक वर्गलाई पञ्जामा राख्ने राजनीतिक दमनको मनोवैज्ञानिक पीडामा शिक्षकको पेसाप्रति अपमान भइरहेको हुन्छ । निजामति कर्मचारीका अधिकृतले सरकारको गाडी चढेर हिँड्छन् तर समान स्तरका मावि शिक्षकलाई आफ्नै पसिनाबाट किनेको बाइकमा तेल हाल्नै गाह्रो हुन्छ । शिक्षकले आर्थिक भ्रष्टाचार गर्दैन त्यसैले उसलाई हाम्रो समाजले सामान्य कर्मचारीमा तोल्छ । मनोवैज्ञानिक तहलाई निर्क्याेल गर्ने हो भने– आफ्नै पेसामा बेखुसी बनेको शिक्षकले राम्रो शिक्षा प्रदान गर्न सक्दैन । बौद्धिक क्षमता भएकाले पनि नेताकै हजुर्याइँ गर्ने, नेताजीको चाकडीबाज बन्ने, नातावाद, कृपावादको चुक्लीमै रहँदा शैक्षिक गुणस्तर अभिवृद्धिका पक्षमा धब्बा छँदै छन् किनकि यहाँ शिक्षाले राजनीतिलाई होइन राजनीतिबाट शिक्षा परनिर्भर बनेको छ । यसको अर्थ शिक्षकले राजनीति गर्दैन भनेर भन्न सकिन्न । नेपालमा धेरै नेताहरूले शिक्षक पेसाको जगमा टेकेर राजनीतिमा घुसेर ठूला ओहोदामा पुगेका छन् । प्रधानमन्त्री बनेका छन् । तथापि, तिनले पनि त्यो जगलाई भुसुक्कै बिर्सिएका छन् । विद्यार्थीले क्याम्पसबाट राजनीति गर्न सिक्छ तर माथि पुगेपछि कुर्सिको महिमा जत्तिको प्रिय शिक्षाको महिमा हुन सक्दैन । शिक्षा क्षेत्र अन्य कुरा सुधार भएपछि मात्रै प्राथमिकतामा पर्ने पछिल्लो श्रेणीमा पर्ने रहेछ क्यार । यसलाई शिक्षा नीतिको गुपचुपको रहस्यतिर ध्यान दिँदा थाहा लाग्छ । निजामति कर्मचारीका अधिकृतले सरकारको गाडी चढेर हिँड्छन् तर समान स्तरका मावि शिक्षकलाई आफ्नै पसिनाबाट किनेको बाइकमा तेल हाल्नै गाह्रो हुन्छ । शिक्षकले आर्थिक भ्रष्टाचार गर्दैन त्यसैले उसलाई हाम्रो समाजले सामान्य कर्मचारीमा तोल्छ । मुलुकका आर्थिक र शैक्षिक समृद्धिका सपनालाई राजनीतिक अस्थिरता र पदीय महत्वाकाङ्क्षाले प्रभावित तुल्याइदिएको छ । “समृद्ध नेपाल, सुखी नेपाली” को दीर्घकालीन उद्देश्यबमोजिम आव २०७५/७६ मा नै शिक्षा सम्बन्धी नीति तथा कार्यक्रममार्फत त गुणस्तरीय शिक्षा विकासको परिकल्पना गर्दै आइएको देखिन्छ । सञ्चार, इन्टरनेटमा पहुँच विस्तार गर्ने, यसै वर्ष कक्षा १ मा भर्ना भएका सबै विद्यार्थीलाई माध्यमिक शिक्षा पूरा गराउने व्यवस्था गर्ने, खुला तथा वैकल्पिक शिक्षाको विकास गर्ने, प्राविधिक तथा व्यावसायिक शिक्षामा पहुँच बढाउने, शैक्षिक क्षेत्रको विषमता हटाई बालमैत्री शिक्षा व्यवस्थापन गर्ने, आदर्श र अनुशासित नागरिक तयार पार्ने खालको राष्ट्रियता र देशप्रेमको भावना विकास गर्ने, मानवीय क्षमता विकासमा पहल गर्नेदेखि उच्च शिक्षालाई विशिष्टीकृत गर्ने लगायतका महत्वपूर्ण पक्षलाई विगत पाँचवर्ष यताबाटै योजनामा प्रस्तुत गर्दै आइएको देखिन्छ । अझ विद्यालय क्षेत्र विकास योजनाले वि.सं. २०७३ साउन देखि २०८० असारसम्मको ७ वर्षे योजनाका लागि कुल अनुमानित रकम १०.५८ बिलियन अमेरिकी डलर (रू. ११ खर्ब, १० अर्ब, ५८ करोड) लाई स्रोतसहित तर्जुमा गरेको छ । कुल गार्हस्थ उत्पादनमा शिक्षाको बजेट ४ प्रतिशत कायम गरी कुल राष्ट्रिय बजेटको न्युनतम २० प्रतिशत रकम शिक्षाको बजेटमा विनियोजन गर्ने कुरालाई सो योजनामा उल्लेख छ । पूर्वबालशिक्षादेखि ८ कक्षासम्मलाई आधारभूत तह मानिने र कक्षा ९–१२ माध्यमिक शिक्षामा हुने गरी दिगो विकासको लक्ष्य हासिल गरी २०८७ सालसम्ममा नेपाललाई मध्य आय भएको मुलुकको स्तरमा पुर्याउने लक्ष्य गाँसिएको छ । यसलाई वि.सं. २०७९ सम्ममा नेपाललाई अल्पविकसित मुलुकबाट माथि उठाई आवश्यक जनशक्ति उत्पादन गर्ने र मुलुकको रूपान्तरणमा भूमिका खेल्ने अभियानका रूपमा लिइएको छ । परम्परित संस्कारै भनौँ– ‘नेपालमा बसेर के काम छ र’ विद्वत् वर्गबाटै निसङ्कोच बोलिने आवाज हुन् । यो पैसाको स्तरमा तोलिने र जिउनै गाह्रौ हुने बाध्यताको पराकाष्ठा हो । भावनाले पेटको भोक मेटिँदैन । अनि, समाजको लाज ढाकिँदैन । शैक्षिक सुधारका लागि भनेर शिक्षा मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र, शैक्षिक सरोकारवालाद्वारा अनेकौँ उपाय खोजिन्छन्, रचिन्छन् तर शैक्षणिक समुन्नतिको बाधक पक्ष भनेकै राजनीतिगत बढाबढ प्रतिस्पर्धा रहेछ । विद्यालय निरीक्षक या त प्रअसँग हुने तालमेलदेखि जिल्ला समन्वय ईकाईसम्मको जिम्मेवारीभित्र शैक्षिक समुन्नतिका लागि राजनीतिगत हस्तक्षेपले सामुदायिक विद्यालय अस्तव्यस्त हुँदो रहेछ । एउटा व्यवस्थापन समिति निर्माण गर्न झम्टिने र बम्किने राजनीतिको मारमा शैक्षिक सुधारको विषय महिनौँ अन्योलपूर्ण परिवेश रहन्छ । राजनीति गर्ने सोच बोकेका व्यक्तिका हातमा शिक्षा जस्तो पवित्र वस्तु कुण्ठित हुन्छ । गुणस्तरीय र व्यावहारिक शिक्षाका मन्दिरहरू राजनीति गर्ने पार्टी कार्यालय र सङ्गठनका प्रमाणपत्र बनाउने खोटो उद्योग बनिरहन्छन् । अब के गर्ने ? अब देशमा शिक्षालाई राजनीतिको स्वार्थी दागबाट टाढा राख्ने शैक्षणिक संयोजन हुनु आवश्यक छ । शिक्षाशास्त्र, बालमनोविज्ञान, शैक्षणिक कार्यदिशा नै नबुझेकाहरूको भिडबाट शिक्षा क्षेत्र सञ्चालित भइरहँदा शिक्षा किन, केका लागि अनि कसरी चलाउने भन्ने वास्तविक मार्गचित्र नै कोरिँदैन । अबको शिक्षाले नवीन नीति र मातृभाषाको विकाससँगै आत्मनिर्भरतालाई प्रोत्साहित गर्न युवालाई शिक्षाको अधिकार प्रत्यायोजन गर्न सक्नुपर्छ । पारदर्शी नीति बोकेर केवल स्थायी शिक्षकका आधारमा देशको शिक्षा चलोस् । क्षमता भएकालाई निसङ्कोच शिक्षाको जिम्मेवारी दिलाओस् अनि राजनीति गर्ने ढोङले शिक्षाजस्तो पवित्र संसारमा डढेलो नलागोस् । शिक्षकमा पनि करार, निजी स्रोत वा अन्य वर्गको अन्त्य हुनु आवश्यक छ । केवल स्थायी शिक्षकले विद्यालयको शिक्षा सञ्चालन गर्ने, खोजमूलक र अनुसन्धानमुखी शिक्षा विकासतर्फ  सरकारले कदम चाल्नु आवश्यक छ । राजनीतिक अस्थिरताले लामो समय शिक्षकको पद पनि रिक्त हुन्छ अनि पढेलेखाको उमेर पनि पाको हुँदै जान्छ । राजनीतिमा सत्तास्वार्थको झगडा हुन्छ अनि समयमा विज्ञापन खुलाइँदैन । परिणामतः उमेद्वारको उमेर हद सकिन्छ अनि परदेशको विकल्प रोज्नुपर्ने बाध्यता हुन्छ । यसमा सबैभन्दा ठूलो दोषी को हो ? त्यो शिक्षित बेरोजगारको दशालाई कसले र किन जन्माउँछ ? यी तमाम समस्यामा राज्य नै दोषी होइन र ? उल्लिखित सन्दर्भका साथमा पेसागत उन्नयन, विकास, अनुसन्धानका तहमा गुणस्तरीय शिक्षालाई प्रोत्साहन गर्ने सबल नीतिको खाँचो छ । शिक्षकलाई पनि देश विदेशका नीतिका बारेमा ज्ञान दिने, भ्रमण गर्ने गराउने, शैक्षिक अनुसन्धान र प्रोत्साहनमा अघि बढाउने जस्ता नीति तथा योजनाहरू नेपालको शिक्षामा अबका आवश्यकता हुन् । एउटा शिक्षक अध्येता, दार्शनिक, चिन्तक, बालमनोवेत्ता, राम्रो लेखक, कलाकार जे पनि बन्न सक्छ । शिक्षकलाई आजको युगसापेक्षित बन्ने अद्यावधिक गुणले सम्पन्न बनाउने राष्ट्रिय कदम चलोस् । असल शिक्षकले आफ्नो कक्षाकोठाभित्र असल राष्ट्रको असल नागरिकलाई उत्पादन गरिरहेको हुन्छ । एक असल र सबल शिक्षकका हातमा देशको भविष्य हुन्छ । सक्षम जनशक्ति उत्पादन गर्ने डाडुपुन्यौँ उसैको हातमा हुन्छ । यसर्थ शिक्षकले नै नपढाइ कोही कुनै ठूलो कर्मचारी वा ठूलो व्यक्ति बनेको होइन । कखरा सिकाउने शिक्षकको इज्जत र गरिमालाई स्थापित तुल्याउन समाजको सोच बदलिनुपर्छ । शिक्षक स्वयम् पनि बफादार हुनुपर्छ । शिक्षकलाई पनि सेवा र सुविधामा बढाबा गरिनुपर्छ । श्रमको मूल्य हुनुपर्छ । शिक्षकमा कला र विज्ञान दुवैको आवश्यकता हुने हुँदा प्रशस्त तालिम, भ्रमण, अध्ययनको अवसर, अतिरिक्त रचनात्मक कार्यमा सरिक गराउने र राज्यले सम्मान गर्ने पद्धतिको खाँचो छ । हाम्रो समाजले शिक्षकलाई हेर्ने दृष्टिदोषको अन्त्य गरिनु आवश्यक छ ।

एक महिना विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकासहित ठूला शहरका विद्यालय एक महिना बन्द गर्न सिफारिस गरेको छ । मन्त्रालयले बालबालिकामा कोरोनाको जोखिम बढेको भन्दै काठमाडौं उपत्यकासहित ठूला शहरका विद्यालय एक महिना बन्द गर्न सिफारिस गरेको हो । १८ वर्षभन्दा कम उमेरका लागि भ्याक्सिन नबनेका कारण संक्रमणको जोखिम भएको भन्दै विद्यालय बन्द गर्न सिफारिस गरिएको स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए । उनका अनुसार मन्त्रालयले एक महिना विद्यालय बन्द गरेर अनलाइन कक्षामार्फत पठन पाठन गराउन सुझाव  दिएकाे छ । यस अघि कोभिड–१९व्यवस्थापन सेन्टर (सीसीएमसी)ले पनि ३ साता विद्यालय बन्द गर्न प्रस्ताव गरेको थियो । उक्त प्रस्ताव प्रश्चात शिक्षा मन्त्रालयले निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन), राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन (एनप्याब्सन) लगायत शैक्षिक क्षेत्रसँग सरोकारवाला निकायलाई छलफल समेत गरेको थियो । उक्त छलफलमा तत्काल विद्यालय बन्द नगर्ने निर्णय भएको थियो ।

अहिलेको भाइरस पहिलेकोभन्दा कडा, मृत्युदर पनि १.६ प्रतिशतले बढाउने- विज्ञ

काठमाडौं । कोभिड-१९ को नयाँ स्वरुपको भाइरस देखापरेपछि सतर्कता अपनाउन विज्ञहरुले सुझाव दिएका छन् । पहिलेको भन्दा कडा खालको भाइरस रहेकाले विज्ञहरुले सतर्कता अपनाउन सुझाव दिएका हुन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा सागरराज भण्डारीले अहिले देखिएको भाइरसले कडा खालको रहेकाले सर्तकता अपनाउनु आग्रह गरे । “पहिल्यैकै भाइरसको नयाँ स्वरुपमा अहिलेको भाइरस देखिएको छ । यसको अर्को मानिसमा सार्न सक्ने क्षमता पनि बढी हुन्छ”, उनले भने, “त्यसैले स्वास्थ्यका मापदण्ड अपनाई भाइरस सर्नबाट बच्नुपर्दछ ।” भाइरसको पहिलेकै जस्तै लक्षण देखिने गरे पनि मृत्यु हुने दर पनि बढिरहेको उनको भनाइ छ । सङ्क्रमितबाट यस भाइरस सार्ने सम्भावना ७० प्रतिशत हुने गरेको छ । सङ्क्रमणबाट बच्न खोपभन्दा पनि भौतिक दूरी कायम राख्ने, मास्क लगाउने, स्यानिटाइजर प्रयोग गर्ने र साबुनपानीले बारम्बार हात धुनु पर्दछ । अस्पतालका प्रवक्ता डा अनुप बाँस्तोलाले मापदण्ड पालना नगर्दा अहिलेको भाइरस देखिएको बताए । उनका अनुसार विद्यालय, भीडभाड हुने ठाउँ, पार्टीप्यालेस, गाडी जस्ता ठाउँबाट भाइरस फैलिने गरेको बताए । अहिले देखिएको भाइरस बालबालिका, युवा र ५० वर्षमुनिका व्यक्तिलाई पनि देखिने गरेको छ । पछिल्लो एक महिनादेखि यस कडाखालको भाइरसले गर्दा बिरामी पनि ह्वात्तै बढेको पाइन्छ । नयाँ खालको भाइरसले गर्दा अहिले दैनिक सङ्क्रमित बढिरहेका छन् । हिजो मात्र ३०३ जना सङ्क्रमित देखिएका छन् । अहिले देशभर ८९ जना सघन उपचार कक्ष (सघन उपचार केन्द्र) र १५ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् । काठमाडौंका सशस्त्र प्रहरी बल अस्पतालमा आइसियुमा नौ, नेपाल प्रहरी अस्पतालमा एक, शुक्रराज ट्रपिकलमा आठ, त्रिवि शिक्षण अस्पतालमा दुई, पाटन अस्पतालमा तीन, ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा छ र हम्स अस्पतालमा नौ जनाको उपचार गराइरहेका छन् । यस्तै शुक्रराज ट्रपिकल अस्पतालमा चार, शिक्षण अस्पतालमा एक, पाटन अस्पतालमा पाँच र हम्स अस्पतालमा एक जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । अस्पतालका प्रवक्ता डा. बाँस्तोलाले समुदायस्तरमा यस खालको भाइरस ह्वात्तै बढेको बताए । उनले यस किसिमको भाइरसको लक्षण लामो समयसम्म रहने, यही नै लक्षण हो भन्ने पनि पहिचान गर्न नसकिने बताए । सङ्क्रमितलाई चाँडै नै निमोनिया हुने सम्भावना पनि रहेको हुन्छ । पहिलेको भाइरसभन्दा यस भाइरसले १.६ प्रतिशत मृत्युदर पनि बढी गराउने उनको भनाइ छ । यस्तै कोभिड-१९ को गत वर्ष पाँच प्रतिशत बालबालिका सङ्क्रमित भएका थिए भने अहिले १५ देखि २० प्रतिशत बालबालिका देखिएको उनले बताए । बालबालिकामा ज्वरो, झाडापखला, रुघा लाग्ने जस्ता लक्षण देखिएका छन् । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्ण पौडेलले नेपालमा नयाँ खालका भाइरस बढ्दो रुपमा फैलिरहेको बताए । उनका अनुसार अहिले नमूना परीक्षण गर्दा २०० भन्दा बढी व्यक्तिमा नयाँ खालका भाइरस रहेको बताए । भाइरस पत्ता लगाउन जीन सिक्वेन्सिङ अहिले नेपालमा देखिएको भाइरस नयाँ खालको भए पनि कस्तो किसिमको हो भन्ने अझै पत्ता लागिसकेको छैन । “नमूना परीक्षणमा भाइरसको नयाँ प्रकारको मात्रा देखिएको छ” उनले भने, “परीक्षणका क्रममा भाइरसको ‘एस’ जीन नेगेटिभ देखिएकाले भाइरस साँच्चीकै नयाँ भाइरस भन्ने छ । अणुवांशिक (जीन सिक्वेन्सिङ)को पूरा मात्रा परीक्षण गरेर कस्तो भाइरस हो भन्ने पत्ता लाग्दछ ।” नेपालमा यस खालको भाइरसको जीन सिक्वेन्सिङको पूरा मात्राको परीक्षण गर्न जनशक्ति र प्रयोगशाला नभएको उनले जानकारी दिए । उनका अनुसार त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएका उपकरणले भाइरसको जीन सिक्वेन्सिङ गर्ने तयारी भइरहेको बताए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी राजेश गुप्ताले जीन सिक्वेन्सिङको परीक्षणका लागि उपकरण ल्याउन थालिएको जानकारी दिए । उनले उपकरण आइसकेपछि एक हप्तामा जीन सिक्वेन्सिङको परीक्षण नेपालमा हुने जानकारी दिए । अहिले विश्व स्वास्थ्य सङ्गठनको समन्वयमा जीन सिक्वेन्सिङका लागि हङ्कङमा नमूना पठाइने गरिएको छ । रासस