मिलाप फाउण्डेसनद्वारा काभ्रेकाे १४० विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण
काठमाडौं । मिलाप फाउण्डेसनले स्कुलका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेकाे छ । फाउण्डेशनले शुक्रबार काभ्रेपलाञ्चोक, नमोबुद्ध–६ चरङ्गेफेदीमा रहेको श्री काली गङ्गा प्रमाइमरी स्कुलका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको हो । उक्त शैक्षिक सामाग्री वितरणका लागि लाइन्स क्लव अफ काठमाडौं सिञ्चितले सहकार्य गरेको थियो । फाउण्डेशन स्कुलका १४० जना विद्यार्थीलाई ब्याग, कपि पेन्सिल, सावुन, माक्सलगायतका सामाग्री वितरण गरेकाे थियो ।
दोलखाका शैक्षिक संस्था बन्द गर्न निर्देशन
दाेलखा । जिल्लामा कोरोनाको लक्षणसहितका सङ्क्रमित फेला परेपछि जिल्ला कोभिड –१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले आजदेखि शैक्षिक संस्था पूर्ण रुपमा बन्द गर्न निर्देशन दिएको छ । जिल्लामा सबै प्रकारका सभा, गोष्ठी, तालीम र सेमिनार पनि गर्न पाइने छैन । कोरोना सङ्क्रमित बाहिरी जिल्लाबाट दोलखा प्रवेश गरे अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नुपर्ने निर्णय पनि केन्द्रले गरेको छ । प्रमुख जिल्ला अधिकारी एवं केन्द्रका अध्यक्ष रमेशप्रसाद शिवाकोटीले शैक्षिक सहजीकरणका नाममा विद्यालयले विद्यार्थी बोलाई जबर्जस्ती कक्षा सञ्चालन गरेमा स्वयं विद्यालय र अभिभावक जवाफदेही बन्ने बताए । बैठकले कोरोनाको सङ्क्रमण देखिएका स्थानलाई सम्बन्धित स्थानीय तहले जोखिम विश्लेषण गरी आवश्यकतानुसार अत्यावश्यकबाहेक अन्य सबै प्रकारका सेवा बन्द गरी स्वास्थ्य कार्यालयको सहयोग र समन्वयमा नियन्त्रण तथा उपचारको व्यवस्था मिलाउने निर्णय गरेको छ । खुला स्थानमा मानिस भेला हुन, भीडभाड गर्न र सभाजुलूस गर्न गराउन निषेध गरिएको छ । मठमन्दिर, चर्चलगायत धार्मिक तथा सांस्कृतिकस्थलमा दैनिक नित्य पूजाबाहेकका गतिविधि सञ्चालन गर्न पाइने छैन । बढी भीडभाड हुने उद्योग, कलकारखाना, व्यापारव्यवसायअन्तर्गतका स्थानमा स्वास्थ्य मापदण्ड विपरीत हुने क्रियाकलाप गर्न रोक लगाइएको छ । चाडपर्वलगायत धार्मिक, सांस्कृतिक तथा सामाजिक कार्य गर्नका लागि हुने जमघट पनि गर्न पाइने छैन । उद्योग, व्यापार, व्यवसाय, निर्माणलगायत कार्य पनि स्वास्थ्य सुरक्षा मापदण्ड विपरीत गर्न पाइने छैन । रासस
कक्षा ११ काे भर्नामा चर्को शुल्क लिने विद्यालयलाई कारबाही गर्न नेविसङ्घको माग
काठमाडाैं । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले कक्षा ११ को भर्नामा चर्को शुल्क लिने विद्यालयलाई कारबाही गर्न माग गरेको छ । नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानाले आज एक विज्ञप्ति जारी गरी कक्षा ११ को भर्नाको समयमा निजी शैक्षिक संस्थाले मनलाग्दो शुल्क लिएको व्यापक गुनासो आएकाले तत्काल नियमन गरी आवश्यक कारबाही गर्नुपर्ने बताए । “कोभिड–१९ को महामारीका कारण पढाइ नभइरहेको अवस्थामा भर्नाका नाममा चर्को शुल्क लिने विद्यालयलाई कडा कारबाही गर्नुपर्छ”, उनले भने । अध्यक्ष ढुङ्गानाले पिसीआर परीक्षण गर्न सर्वसाधारण रातभर लाइन लाग्नुपर्ने अवस्था सिर्जना भएको भन्दै पिसीआर परीक्षणलाई सहज बनाउन आग्रहसमेत गरे । नेविसङ्घले डा गोविन्द केसीले उठाएका जायज मागको सम्बोधन गरी डा केसीको जीवनरक्षा गर्न सरकारसँग मागसमेत गरेको छ । यस्तै बझाङकी १२ वर्षीया बालिका सम्झना विकको बलात्कारपछि हत्यामा संलग्नलाई तत्काल कडा कारबाही गर्नुपर्ने बताएको छ । नेविसङ्घका महामन्त्री दीपक भट्टराईले लिपुलेक, लिम्पियाधुरा, कालापानी समेटिएको नक्सासहितको पाठ्यक्रम विक्री वितरण खुला गर्नुपर्ने बताए । “पुस्तकमा तथ्यगत त्रुटि छ भन्ने बहानामा पुस्तक वितरणमा सरकारले ढिलाइ गर्न हुँदैन”, उनले भने ।