भक्तपुरमा तत्काल विद्यालय नखुल्ने, भर्चुअल माध्यमबाटै कक्षा सञ्चालन हुने
भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले तत्काल आफ्नो नगर क्षेत्रका विद्यालय सञ्चाल गर्न अनुमति नदिने भएको छ । कोभिड–१९ को महामारीका कारण गत चैतदेखि विद्यालय बन्द छन् । विभिन्न नगरपालिकाले भौतिकरुपमा नै विद्यालय सञ्चालनमा ल्याए पनि मध्यपुरथिमिले भने कोरोना भाइरस सङ्क्रमणको जोखिम उच्च रहेको जनाउँदै तत्काल विद्यालय सञ्चालनमा नल्याउने भएको हो । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल मध्यपुरथिमि नगर कार्यसमितिले आज यहाँ आयोजना गरेको बधाई, शुभकामना तथा अन्तरक्रिया कार्यक्रममा नगर प्रमुख मदनसुन्दर श्रेष्ठले कोरोना भाइरसको उच्च जोखिम रहेको अहिलेकै अवस्थामा नगरपालिकाले विद्यालय सञ्चालन गर्न अनुमति नदिने जानकारी दिए । “अहिले भर्चुअल माध्यमबाट विद्यालय सञ्चालन भइरहेका छन्, परीक्षा सञ्चालन भइरहेका छन्”, उनले भने, “यसैगरी भर्चुअल कक्षा सञ्चालन गरौँ, यसलाई पनि प्रभावकारी ढङ्गले लान सके उपलब्धि हासिल गर्न सकिन्छ भन्ने अनुभव प्राप्त भइसक्यो, अर्को निर्णय नभएसम्म यसैगरी पढाइ गराऔँ ।” कार्यक्रममा सहभागी विद्यालय सञ्चालकले भने अन्य जिल्ला र नगरपालिकाले भौतिकरुपमा नै विद्यालय सञ्चालन गर्न शुरु गरेकाले मध्यपुरथिमिले पनि सञ्चालन गर्न रोक्न नहुने जिकिर गरेका थिए । सहभागीले भर्चुअल कक्षामा सबै विद्यार्थीलाई समावेश गर्न नसकिएको जनाउँदै स्वास्थ्य मापदण्ड पालना गरी सुरक्षाका उपाय अवलम्बन गरेर भौतिकरुपमा कक्षा सञ्चालन गर्नुपर्ने बताएका थिए । कार्यक्रममा प्याब्सन केन्द्रीय कार्यसमितिका उपाध्यक्ष दीपिका थापा, प्याब्सन केन्द्रीय कार्यसमितिका सहकोषाध्यक्ष गणेशबाबु पोखरेल, प्याब्सन भक्तपुरका अध्यक्ष चन्द्रकुमार अधिकारी, हिसान केन्द्रीय कार्यसमितिका सदस्य वीरेन्द्र जयनालगायतले शिक्षा क्षेत्रमा आएको समस्या र चुनौतीका बारेमा चर्चा गरेका थियो । मध्यपुर प्याब्सन कार्यसमितिका अध्यक्ष निलेश आचार्यले कोरोना भाइरसको महामारीका बीच शिक्षा क्षेत्र निकै चपेटामा परेको जनाउँदै सरकारले शुरुमै विद्यालय सञ्चालन नीति नबनाउँदा समग्र शिक्षा क्षेत्र नै धराशायी बनेको बताए । मध्यपुर प्याब्सनका कोषाध्यक्ष एवं नगरपालिका शिक्षा समिति सदस्य सुमन बस्नेतले मध्यपुरथिमिका विद्यालयको अवस्थाबारे जानकारी गराएका थिए । कार्यक्रममा अध्यक्ष आचार्यले देशमै पहिलोपटक मध्यपुरथिमि नगरपालिकाले ‘एशियन टाउनस्केप अवार्ड’बाट पुरस्कृत भएकामा बधाई दिँदै नगर प्रमुख श्रेष्ठलाई सम्मानपत्र प्रदान गरे । त्यसैगरी करातेमा दोहोरो स्वर्ण पदक विजेता मध्यपुरथिमिका खेलाडी मन्देकाजी श्रेष्ठलाई पनि अध्यक्ष आचार्यले सम्मान गरे । रासस
डोटीका सबै विद्यालयमा पठनपाठन शुरु, विद्यार्थी खुशी
डाेटी । डोटीका नौवटै स्थानीय तहमा रहेको सम्पूर्ण सरकारी तथा निजी विद्यालयमा नियमितरूपमा पठनपाठन शुरु भएको छ । कोभिड–१९ का कारण विगत आठ महिनादेखि बन्द भएका विद्यालयमा पठनपाठन शुरु भएसँगै स्कूल जान पाएकोमा यहाँका विद्यार्थीमा पनि खुशियाली छाएको छ । भारतबाट रोजगारी गरी घर फर्किएका नागरिक राख्नका लागि क्वारेन्टिनका रूपमा प्रयोग गरिएका विद्यालयमा निर्मलीकरण गरिएसँगै यहाँका नौवटै स्थानीय तहका सबै विद्यालय पुस १ गतेदेखि सञ्चालन गरिएको हो । जिल्लामा कोरोना सङ्क्रमणको डर कायमै रहे पनि विद्यालय निर्वाधरूपमा सञ्चालन भइरहेका छन् । सरकारद्वारा तोकिएका मापदण्ड अपनाउँदै विद्यालय सञ्चालनमा आएको शिक्षकले दाबी गर्दै आएका छन् । बन्द रहेको लामो समयपछि विद्यालय सञ्चालनमा आएसँगै अहिले यहाँका गाउँघरका विद्यालयमा विद्यार्थी सङ्ख्या पनि उल्लेख्य मात्रामा रहेको शिखर नगरपालिका–१ कपल्लेकीस्थित केदारेश्वर माविका शिक्षक रामबहादुर ऐरले बताए । उनले भने, “लामो समयपछि विद्यालय खुलेका छन्, विद्यार्थीको पनि उल्लेख्य सहभागी बढेको छ ।” विद्यालय सञ्चालन भएसँगै यहाँका विद्यालयमा पढाइसमेत सञ्चालन हुँदै आएको छ । कोरोना महामारीका कारण कम्तीमा पनि आठ महिनासम्म घरमा बसेका विद्यार्थी विद्यालय जान पाएपछि निकै खुशी हुन थालेको आदर्श गाउँपालिका–२ का हर्कबहादुर खड्काले बताए । उनले भने, “महिनौँसम्म घरमा बस्नु पर्दा विद्यार्थीलाई तनाव भइसकेको थियो, अहिले स्कूल खुलेपछि उनीहरु खुशी साथ रमाउँदै स्कूल जान थालेका छन् ।” विद्यार्थीलाई घरभन्दा स्कूलमा बढी रमाइलो हुने भएकाले पनि यहाँका प्रायजसो विद्यार्थी अहिले नियमित विद्यालय जान थालेको उनको भनाइ छ । जिल्लाका नौवटै स्थानीय तहमा कम्तीमा पनि मावि, निमावि, प्रावि तथा निजी गरी कूल २०० को हाराहारीमा रहेका विद्यालय अहिले एकै साथ सञ्चालनमा आएपछि विद्यालयबाट नै कोरोना सङ्क्रमण फैलिन सक्ने भन्दै अभिभावकमा चिन्ता बढ्न थालेको दिपायल सिलगढी नगरपालिका–४ का स्थानीयवासी महेन्द्रबहादुर शाहले बताए । उनले भने, “लामो समयपछि विद्यालय खुलेका छन्, जिल्लामा कोरोना जोखिम कायमै छ, सामान्य लापरवाही गरे विद्यार्थीबाट नै कोरोना जोखिम फैलिन सक्ने प्रबल सम्भावना देखिएको छ, सावधानी अपनाउन जरुरी देखिएको छ ।” कोरोनाका कारण महिनौँदेखि बन्द भएका यहाँका विद्यालयमा स्वास्थ्य मापदण्ड पूर्णरूपमा अपनाउँदै पठनपाठन कार्य पुनः सञ्चालन गर्न निर्देशन दिएको शिक्षा विकास निर्देशनालय दिपायल राजपुरका निर्देशक गणेशबहादुर सिंहले बताए । उनले भने, “कोरोना सङ्क्रमणबाट जोगिन सम्पूर्ण सुरक्षा रणनीति अपनाएर विद्यालय सञ्चालन गर्न निर्देशन दिएको छौँ, सोही अनुसार यहाँका विद्यालयले काम गरिरहेका छन्, हामीले पनि अनुगमन गर्न थालेका छौँ ।” विद्यार्थीको शैक्षिक सत्र सकिनलाग्दासमेत विद्यालय नखुलेको तथा यो वर्षको शैक्षिक सत्र खेर जाने अवस्था आएका कारण कोरोना जोखिमबाट जोगिन सम्पूर्ण सुरक्षा नीति अपनाएर विद्यालय सञ्चालन भइरहेको जोरायल गाउँपालिका शिक्षा विकास अधिकृत तेजबहादुर खत्रीले बताए । उनले भने, “विद्यार्थीको शैक्षिक सत्र खेर जान थालेका कारण हामीले सबै सुरक्षा रणनीति अपनाएर विद्यालय खोलेका छौँ, आशा छ, विद्यालयबाट कोरोना सङ्क्रमण फैलिने छैन ।” विद्यालयमा हात धुने पानी, स्वास्थ्य तथा सरसफाइ सुविधाको व्यवस्था गरी खोकी लाग्दा वा हाच्छिउँ गर्दा मुख छोप्ने, अनिवार्यरूपमा विद्यालयमा थर्मलगन राखी विद्यार्थीको तापमान जाँच गर्नेलगायतका अन्य सुरक्षा उपकरण प्रयोग गरी विद्यालय सञ्चालन भइरहेको घण्टेश्वर मावि जोरायलका प्राचार्य सुनलाल थापाले बताए । उनले भने, “पठनपाठन गर्न चुनौतीपूर्ण नै छ, तैपनि हामीले कोरोना सङ्क्रमणबाट जोगिन सबै सुरक्षा प्रविधि अपनाएका छौँ ।” चिसो मौसम भएकाले पनि ठूलो कक्षाका भन्दा पनि सानो कक्षाका बालबालिकालाई समस्या देखिने प्रबल सम्भावना भएको उनको भनाइ छ । यहाँका सम्पूर्ण विद्यालयले स्वास्थ्यसम्बन्धी मापदण्ड, विद्यालय सञ्चालन कार्यढाँचा–२०७७ जारी गरी त्यसैका आधारमा विद्यालय सञ्चालन गरेको बताइएको छ । उक्त निर्देशिकामा स्वास्थ्य सम्बन्धित मापदण्ड अनिवार्य पूर्णरूपमा पालना गर्नुपर्ने, विद्यालयको भौतिक अवस्था एवं विद्यार्थी सङ्ख्याका आधारमा विद्यार्थीलाई एकै सिफ्ट वा फरकफरक सिफ्ट बनाई कक्षा सञ्चालन गर्नुपर्ने, भौतिक दूरी कायम गर्दा सबै कक्षा एकै समयमा सञ्चालन गर्न सम्भव नभएमा फरक दिनमा फरक कक्षाका विद्यार्थीलाई कक्षाकोठामा नै अध्यापन गर्नुपर्ने उल्लेख गरिएको छ । रासस
साउथवेस्टन स्कुललाई तेस्रो अन्तराष्ट्रिय अवार्ड
काठमाडौं । काठमाण्डौँको बसुन्धारास्थित साउथवेस्टन स्कुलले अर्को अन्तराष्ट्रिय स्तरको स्कुल अवार्ड जितेको छ । ‘प्रतिष्ठित अन्तराष्ट्रिय विद्यालय’ विधाअन्तर्गतको उत्कृष्ट अन्तराष्ट्रिय अवार्ड स्कुलले प्राप्त गरेको हो । शिक्षामा उत्कृष्टताका लागि अन्तराष्ट्रिय केन्द (इन्सिड) र कला, संस्कृति र शिक्षाको स्थिरताको लागि समाज ९स्पेस० को संयुक्त आयोजनामा भारतको नयाँ दिल्लीबाट भचुअलरुपमा संचालित ‘अन्तराष्ट्रिय शिक्षा शिखर सम्मेलन र पुरस्कार’ कार्यक्रममा उक्त अवार्ड घोषणा गरिएको थियो । उक्त अन्तराष्ट्रिय शिक्षा शिखर सम्मेलन र पुरस्कार’ कार्यक्रममा नेपाल, भारत, फिलिपिन्स, नाइजेरिया, मलेसिया, इन्डोनेसिया, साउदी अरेयिबा, मेक्सिको, थाइल्यान्ड लगायत ५० भन्दा बढी देशका २५० भन्दा बढी संस्था तथा व्यक्तिहरूको सहभागिता रहेको थियो । ‘पोस्ट कोभिड परिदृष्यमा जीवन र आजीविकाको लागि समग्र शिक्षा – अगाडिको बाटो’ विषयवस्तुमा आयोजित उक्त सम्मेलनमा ‘योग्य सम्पन्न शैक्षिक संस्था÷संस्थाहरूका लागि विशिष्ट पुरस्कार’ भन्ने नाराका साथ विभिन्न विधाका पुरस्कारहरू वितरण गरिएको थियो । उक्त भर्चुअल कार्यक्रममा साउथवेस्टन स्कुलको तर्फबाट स्कुलका प्रिन्सिपल रमेश अधिकारी सहभागी भएका थिए । एक बर्षको अवधिमा विद्यालयले प्राप्त गरेको यो तेस्रो अन्तराष्ट्रिय अवार्ड हो । यसअघि विद्यालयले २०१९ डिसेम्बरमा दुबईको अमिट युनिभर्सिटीद्वारा दुबईमा आयोजित एक कार्यक्रममा अन्तराष्टिय स्कुल अवार्डअन्तर्गत साउथवेस्टन स्कुलले एक्सिलेन्स टिचिङ अवार्ड प्राप्त गरेको थियो । त्यस्तै ‘ग्लोबल स्कुल अवार्ड’ र ‘इडु नेसन टिभी’द्वारा १२ अक्टोबर २०२० मा आयोजित एसियाको पहिलो भर्चुअल अन्तराष्ट्रिय सभामा साउथवेस्टन स्कुलका प्रिन्सिपल रमेश अधिकारीले ‘ग्लोबल स्कुल अवार्ड’ अन्तर्गत ‘बेस्ट प्रिन्सिपल २०२०’ प्राप्त गरेका थिए । कोभिड-१९ को असरले विद्यालयहरू बन्द रहेको अवस्थामा स्कुलले गरेको शैक्षिक गतिविधि समेतलाई आधार बनाई उक्त अवार्ड साउथवेस्टन स्कुललाई प्रदान गरिएको हो । स्कुलले भचुअल शिक्षण प्रक्रियामा अपनाएका शिक्षण पद्धतिहरू, परियोजनामूलक कार्य, श्रव्यदृष्य कक्षा, मौखिक तथा लिखित नियमित मूल्याङकन पद्धति, विद्यालयको भौतिक पूर्वाधार, विद्यालयका उपलब्धि आदिलाई मूल्यङ्कनको आधार बनाइएको थियो । स्कुलले एकपछि अर्को अन्तराष्ट्रिय अवार्ड प्राप्त गरेकोले स्कुल अन्तराष्ट्रिय स्तरको गुणस्तरीय शिक्षा दिन सफल रहेको पुष्टि भएको कुरा स्कुल सञ्चालन समितिका अध्यक्ष टीकाराम महराले बताए । शिक्षा क्षेत्रमा लामो समयदेखि आवद्ध व्यक्तिहरूबाट सञ्चालित साउथवेस्टनले पी. जी. (प्ले ग्रुप) देखि पी. एच. डी. सम्मको शिक्षा प्रदान गर्दै आएको छ ।