वैकल्पिक माध्यमबाट एसइई परीक्षा गर्ने गृहकार्य भएको छ : मन्त्री श्रेष्ठ

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले गत वर्षको माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) सञ्चालनको विकल्पका बारेमा छलफल भइरहेको बताएका छन् । सोमबार सत्तारुढ नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको ज्ञापनपत्र बुझ्दै उनले भौतिक रुपमा परीक्षा गर्ने सम्भावना न्यून रहेकाले एसइई र कक्षा १२ को परीक्षाका विषयमा मन्त्रालयले छलफल गरिरहेको बताएका हुन् । सङ्गठनका अध्यक्ष ऐन महरसहितको टोलीले कोभिड–१९को विषम अवस्थामा शिक्षा क्षेत्रमा आवश्यक प्रबन्ध गर्न माग गर्दै मन्त्री श्रेष्ठलाई १३ बुँदे ज्ञापनपत्र बुझाएको थियो । मन्त्री श्रेष्ठले आगामी आर्थिक वर्षको बजेटमा शिक्षाको बजेट बढ्न सक्ने र नयाँनयाँ योजना आउनसक्ने बताए । उनले अबको शिक्षा गुणस्तरीय र रोजगारमूलक हुनुपर्नेमा जोड समेत दिएका थिए । परम्परागत शिक्षा अहिलको आवश्यकता नभएको भन्दै उनले प्रयोगात्मक र प्रविधिययुक्त शिक्षाको आवश्यकता औँल्याए । मन्त्री श्रेष्ठले सबै विश्वविद्यालयका रोकिएका परीक्षा सुचारु गर्नुपर्ने र अनलाइनमा कक्षा लिएबापत्को शुल्क घटाउनुपर्नेमा जोड दिए । उनले भने, “सबै सामुदायिक विद्यालयमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने विषयमा सम्बन्धित निकायसँग छलफल भइरहेको छ ।” मन्त्रालयका सचिव रामप्रसाद थपलियाले एसइई र कक्षा १२ को परीक्षाको ढाँचाका विषयमा मन्त्रालयले दुई–तिन दिनभित्र निर्णय गर्ने बताए । अनेरास्ववियुका अध्यक्ष महरले मन्त्रालयले एसइई, कक्षा १२ र विगत तीन वर्षदेखि स्थगित विश्वविद्यालयको परीक्षा वैकल्पिक विधिबाट भएपनि सञ्चालन गराउनुपर्ने बताए । उनले सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीमध्ये झण्डै ८० प्रतिशत इन्टरनेट पहुँच बाहिर रहेको भन्दै सरकारलाई गम्भीर बन्नुपर्ने औँल्याएका थिए । शिक्षा क्षेत्रलाई कसरी सुचारु गर्ने, विद्यार्थीहरुलाई शैक्षिक क्रियाकलापसँग कसरी अद्यावधिक गराइराख्ने भन्ने विषयमा मन्त्रालयले ध्यान दिनुपर्ने ज्ञापनपत्रमा उल्लेख छ । ज्ञापनपत्रमा कक्षा ८ र स्थानीय तहको परीक्षा वैकल्पिक विधिबाट तत्काल सम्पन्न गरी असार १ गतेदेखि नयाँ शैक्षिक सत्र शुरु गर्नुपर्ने, सबै विद्यार्थीको पहुँच पुग्ने गरी अनलाइन माध्यमबाट नियमित पठनपाठनको सुनिश्चितता गरिनुपर्ने माग गरिएको छ । विद्यालयमा भौतिक रुपमा उपस्थित भइ पठनपाठन हुने अवस्था सिर्जना नहुन्जेलसम्मको अवधिको शिक्षण शुल्क मिनाहा गर्नुपर्ने, एक परिवार एक कम्प्युटरको निःशुल्क व्यवस्था गर्नुपर्ने बताइएको छ । अहिलेको अवस्थामा विद्यार्थी तथा शिक्षा क्षेत्रमा कार्यरत जनशक्तिलाई कोभिडविरुद्ध खोप लगाउन प्राथमिकता सूचि राख्नुपर्ने माग गरिएको छ ।

‘इसेवा भर्चुअल फिस्टा’ शुरू, १० हजार विद्यार्थीले अनलाइनबाटै निःशुल्क भाग लिन पाउने

काठमाडौं । निषेधाज्ञाको अवधिमा विद्यार्थीहरूको समयलाई आकर्षक तथा उत्पादक बनाउने उद्देश्यका साथ ‘इसेवा भर्चुअल फिस्टा’ आयोजना गरिएको छ । भर्चुअल प्लेटफर्मको माध्यमबाट मुलुकभरका करीब दशहजार विद्यार्थीलाई एकै ठाउँमा ल्याउने उदेश्यका साथ यो कार्यक्रम आयोजना गरिएको हो । भर्चुअल फिस्टामा स्नातक तथा स्नातोत्तरसम्मका विद्यार्थी उपस्थित हुन सकिनेछ । यस कार्यक्रममा कार्यशाला तथा अन्तरक्रियाका शत्रहरू सञ्चालन हुनेछन् । कार्यक्रमले विद्यार्थीहरूलाई महामारीको त्रासबाट टाढा राख्नको लागि कार्यशाला र गतिविधिहरूमा संलग्न गराउने, गहिरो तथा अर्थपूर्ण छलफल गर्न प्रोत्साहित गर्न र व्यक्तिगत तथा व्यवसायिक जीवनको विभिन्न पक्षहरूमा सान्दर्भिक विचारहरू प्रस्तुत गर्न तथा सीप विकासका अवसर प्रदान गर्ने अपेक्षा राखिएको छ । यसबाट विद्यार्थीहरूको लागि व्यक्तिगत व्यावसायिक दृष्टिकोणबाट अवसरहरू सिकाउन तथा युवाहरुले व्यवसाय स्थापना गर्नको लागि अवसर तथा प्रशिक्षण प्रदान गर्नेछ । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाको मूख्य प्रायोजनामा फोनिक्स् कलेज अफ म्यानेजमेन्ट, युनिभर्सल कलेज र न्यू समिट कलेजले आयोजना गरेको यस अन्तरक्रिया कार्यक्रममा, वित्तीय साक्षरता, महामारीको समयका अग्रपंतिका नायकलाई सम्मान, शेयर बजार प्रशिक्षण, एक्सेल प्रशिक्षण, प्रस्तुति प्रतियोगिता, सार्वजनिक मन्तव्य, प्रत्यक्ष संगीत र आइडिया पिचिंग प्रतियोगिता जस्ता कार्यक्रम समावेश छन् । जेठ ७ गते शुक्रबार देखि सुरू भएको यस कार्यक्रम जेठ २१ गते शुक्रबार सम्म सञ्चालन हुनेछ । यस कार्यक्रममा एमएस टिम्स् तथा आयोजक कलेजको आधिकारिक फेसबुक पेज मार्फत प्रतक्ष्य प्रसारण हुनेछ । सोही फेशबुक पेजमा गइ आफु सहभागी समेत हुन सकिनेछ ।

जेठ २५ गतेभित्र सबै तहका परीक्षा सक्न ललितपुर महानगरको निर्देशन

काठमाडौं । ललितपुर महानगरपालिका भित्र सञ्चालन भएका सबै विद्यालयहरुले जेठ २५ गतेसम्म सबै तहको परीक्षा सञ्चालन गरिसक्नुपर्ने भएको छ । शुक्रबार बसेको महानगर अन्तरगतको परीक्षा तथा समन्वय समितिको बैंठकले उक्त निर्णय गरेको हो । शिक्षा शाखाले एक सूचना प्रकाशन गर्दै भौतिक उपस्थितिमा परीक्षा गराउन सम्भव नभएकोले आन्तरिक मूल्यांकनको आधारमा आएको नतिजा २५ गतेभित्र शिक्षा महाशाखामा पठाउन निर्देशन दिएको छ । सूचनामा भनिएको छ विद्यालयले यसअघि लिएको परीक्षा, विद्यार्थी निरन्तर मूल्यांकन, आन्तरिक मूल्यांकन र अन्य बैकल्पिक विधिबाट विद्यार्थी मूल्यांकनको आधारमा र कक्षा ८ को विद्यार्थीको हकमा विद्यार्थीले प्राप्त गरेको विषयगत प्रयोगात्मक प्राप्तांक (अंकमा) समेत खुलाई तोकिएको एक्सेल सीटमा प्रविष्ट गरी जेठ २५ गतेभित्र शिक्षा महाशाखामा पठाउनुपर्ने छ । विद्यालयले विद्यार्थी विवरण पठाएकै एक्सेल सीटमा उल्लेख भए बमोजिम विषयगत प्राप्तांक (अंकमा) प्रविष्ट गरी मेल गर्न निर्देशन दिएको हो ।