कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नुहोस्

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा शुक्रबार प्रकाशित गरेको छ । बिहान ९ बजे बसेको बोर्ड बैठकले नतिजा प्रकाशित गरेको हो । बोर्डका प्रवक्ता कृष्णप्रसाद शर्माका अनुसार परीक्षाको नतिजा एक घण्टापछि https://neb.ntc.net.np/ हेर्न सकिनेछ । उनले बोर्डको निर्णय अनुसार नतिजा अपलोडको काम भइरहेको जानकारी दिए । बोर्डको अनुसार कक्षा १२ मा तीन लाख ७४ हजार १५ परीक्षार्थीमध्ये सात हजार ३६ जनाले ‘ए’ प्लस ग्रेड ल्याएको, ४८ हजार २३९ जनाले ‘ए’ ग्रेड ल्याएको, ७० हजार एक जनाले ‘बी’ प्लस र ९९ हजार ५३७ परीक्षार्थीले ‘बी’ ग्रेड ल्याएका छन् । ‘सी’ प्लस ग्रेड परीक्षार्थी ७५ हजार ८८ जना र ‘सी’ ग्रेड ल्याउने २४ हजार ५१५ परीक्षार्थी रहेको बोर्डले जानकारी दिएको छ । यस्तै ‘डी’ प्लस ल्याउने परीक्षार्थीमा तीन हजार ८७५ रहेका छन् भने ‘डी’ प्लस ल्याउने परीक्षार्थी २९६ जना छन् भने १० हजार ७३ परीक्षार्थीले ‘इ’ ग्रेड ल्याएका छन् । परीक्षामा सहभागीमध्ये ४६ जना परीक्षार्थीको सम्पूर्ण विषयको परीक्षा रद्द गरिएको र चार जना परीक्षार्थीलाई आगामी एक वर्षसम्म बोर्डको कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी रद्द गरिएको बोर्डले जानकारी दिएको छ । कसरी हेर्ने नतिजा ? परीक्षाको नतिजा हेर्नका लागि मोबाइलको म्यासेजबक्समा एनईबी लेखेर एक स्पेस दिई सिम्बोल नम्बर लेखेर १६००मा एसएमएस गरेर पनि नतिजा थाहा पाउन सकिन्छ । त्यस्तै आईभीआर १६०१ मा फोन गरेर पनि नतिजा थाहा पाउन सकिने बोर्डले जनाएको छ । कक्षा १२ को परीक्षा भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो । विद्यार्थीले पढेकै विद्यालयमा परीक्षा केन्द्र कायम गरी परीक्षा लिइएको थियाे ।

ब्रिटिस कलेजले अब ‘साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक’ विषय पढाउने

काठमाडौं । द ब्रिटीस कलेजले अब साइबर ‘सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक’ विषयको पढाई गर्ने भएको छ । कलेजले बिहीबार एक कार्यक्रमको आयोजना गर्दै ‘सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक विषयको पढाई हुने जनाएको हो । ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यता प्राप्त नेपालको एकमात्र शैक्षिक संस्था द ब्रिटिस कलेज बीएस्सी (हन्स) साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक विषयको पढाई सञ्चालन गरेर नेपालमा साइवर सेक्युरेटी सम्बन्धि दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएको हो । कलेजले कम्प्युटिङ डिग्रीलाई अझै परिष्कृत गर्दै बीएस्सी (हन्स) साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक विषयको पढाई सञ्चालन गरेको बताएको हो । द ब्रिटिस कलेजका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा संस्थापक राजन कँडेलले युर्निभर्सिटी अफ वेष्ट इंग्ल्याण्डको सम्वन्धनमा यो नयाँ विषयको पढाई सञ्चालन गरेको बताए । उनले विद्यार्थीहरुको सिकाईका लागि कलेजमा ल्याव पनि राखेको बताए । सैद्धान्तिक तथा प्रयोगात्मक क्षेत्रका विज्ञहरुले यो विषयको पढाई गर्ने उनको भनाई छ । ‘कम्प्युटरमा आधारित गतिविधिहरुको जाँच, प्रविधियुक्त उपकरणहरुको प्रयोगले विद्यार्थीहरुलाई थप लाभ हुनेछ, देशमा साइबर क्राइम जस्ता क्रियाकलाप रोक्न यसले धेरे मद्दत पुग्नेछ,’ उनले भने । कोरोनाभाइरस (कोभिड– १९)को महामारीको कारण नेपालमा पछिल्लो समय इन्टरनेट प्रयोगकर्ताहरुको वृद्धि भएको र साइबर क्राइमका गतिविधि पनि बढेकोलाई यसलाई रोक्न आवश्यक भएको बताए । यस्तै, कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले अहिले देशमा साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक पढेको जनशक्तिको आवश्यकता र माग बढेकोले यो विषयको पढाईले धेरै टेवा पुग्ने बताए । साइबर सेक्युरिटीकै कारण वार्षिक ठूलो रकम बाहिरिने गरेको बताउँदै उनले अब यो पढाईले  स्वेदशमै पैसा रोक्न सहयोग पुग्ने बताए ।

तनहुँका विद्यार्थीविहीन विद्यालय खारेज गरिने

दमाैली । विद्यार्थी नभएका तनहुँका विद्यालयलाई खारेज गरिने भएको छ । शैक्षिक सत्र २०७७ देखि विद्यालयमा विद्यार्थी भर्ना नभई सञ्चालनमा नरहेका विद्यालयको अनुमति खारेज गर्ने तयारी गरिएको हो । शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख रमाकान्त शर्माको अध्यक्षतामा सबै स्थानीय तहका शिक्षा, युवा तथा खेलकुदका शाखा प्रमुखको मङ्गलबार सम्पन्न बैठकले विद्यार्थीविहीन विद्यालयको अनुमति खारेजीमा लैजान सबै स्थानीय तहहरूबाट तत्काल प्रक्रिया अगाडि बढाउने निर्णय भएको छ । आर्थिक वर्ष २०७८/७९ का लागि सरकारबाट प्राप्त सशर्त अनुदानअन्तर्गत तलब भत्ता र छात्रवृत्तिलगायतका विभिन्न शीर्षकहरू अध्ययन गरी उक्त शीर्षकमा विनियोजित रकम अपुग हुने भएमा पुष्ट्याइसहित शीर्षकगतरूपमा नपुग हुने रकमको विवरण मङ्सिर मसान्तसम्म शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा माग गरी पठाउने निर्णय भएको छ । बैठकले विद्यालयहरूमा छात्रवृत्ति रकम वितरण गर्दा विद्यालय व्यवस्थापन समितिबाट निर्णय गराई छात्रवृत्ति पाउने विद्यार्थीको नाम उल्लेख गरी अभिलेख राखी स्थानीय तहले तोकेको दिनमा सार्वजनिक कार्यक्रम गरी वितरण गर्ने व्यवस्थाका लागि विद्यालयलाई परिपत्र गर्ने निर्णय भएको छ । शिक्षकको पेशागत सहयोग र विद्यालय अनुगमनको लागि प्रत्येक स्थानीय तहमा पेशागत सहयोग समूह निर्माण गर्ने र स्थानीय तह र शिक्षा विकास तथा समन्वय एकाइबाट समन्वयात्मकरूपमा कार्यक्रम तय गरी संयुक्तरूपमा शिक्षकको पेशागत सहयोग र विद्यालय अनुगमन सुपरीवेक्षण प्रभावकारी तरिकाले गर्ने निर्णय भएको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ । बैठकमा स्थानीय तहमा परेका शैक्षिक समस्या र समस्या समाधानका उपाय, यस वर्षको जिल्ला र दिवाखाजा, छात्रवृत्ति, बालविकास केन्द्र व्यवस्थापन, विद्यालयमा पुस्तकालय, सूचना तथा प्रविधि ल्याव, विज्ञान प्रयोगशाला, प्रारम्भिक कक्षा पढाइ कार्यक्रम, विद्यालय अनुगमन र शिक्षक पेशागत सहयोग, छात्राहरुलाई सेनेटरी प्याड वितरण, नमूना विद्यालयको निर्माणलगायतका विषयमा छलफल भएको थियो । रासस