आई.आई. डी. एस. फेलोसिपकाे सुरुवात: एक सय युवालाई क्षमता अभिवृद्धिमा सहयाेग गर्न
काठमाडाैं । सर्वाङ्गीण विकास अध्ययन केन्द्रले राष्ट्र निर्माण र विकासको लागि ‘आई.आई. डी. एस. फेलोसिप कार्यक्रमकाे सुरुवात गरेको छ । केन्द्रले ४३ औं वार्षिकोत्सवकाे अवसरमा बुधबार औपचारिक रूपमा उक्त फेलाेसिप कार्यक्रमकाे सुरुवात गरेकाे हाे । उक्त फेलाेसिपकाे लागि आई.आई. डी. एस., त्रिभुवन विश्वविद्यालय , पोखरा विश्वविद्यालय र गाउँपालिका राष्ट्रिय महासंघ नेपाल बीच आपसी सहकार्यको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । फेलोसिप कार्यक्रमको मुख्य उद्देश्य शिक्षित युवाहरूको क्षमता अभिवृद्धि गर्ने र उनीहरूलाई एक वर्षसम्म नेपालका स्थानीय सरकारहरूसँग संलग्न गराई सार्वजनिक प्रशासन र सेवा प्रवाह, नेतृत्व, नीति निर्माण र अनुसन्धान कार्यमा प्रत्यक्ष अनुभव हासिल गर्ने अवसर प्रदान गर्नु रहेकाे छ । यी विश्वविद्यालयहरूबाट भर्खरै मानविकी तथा सामाजिक शास्त्र सङ्काय अन्तर्गतका कार्यक्रममा स्नातकोत्तर पूरा गरेका एक सय युवाहरूलाई प्रत्येक वर्ष प्रदान गरिने बताइएकाे छ । यस फेलाेसिपकाे पहिलो चरणको कार्यक्रम सन् २०२२ मा हुने स्थानीय निर्वाचनपछि सुरु गरी पाँच वर्षको अवधिमा कार्यान्वयनमा ल्याईने बताइएकाे छ । पहिलो चरण अन्तर्गतको यो कार्यक्रम सफल र उपयोगी भए दोश्रो चरणमा सरकारले यो कार्यक्रमलाई संस्थागत गर्ने संस्थाले जनाएकाे छ । सोही अवसरमा आईआईडीएस र सांग्रिला डेभलपमेन्ट बैंक र प्रभु क्यापिटलबीच सो कार्यक्रमको लागि आर्थिक श्रोत जुटाउने सम्बन्धि छुट्टा छुट्टै समझौता पत्रमा हस्ताक्षर भएको छ । आईआईडीएसले यस कार्यक्रमका लागि नेपाल धितोपत्र बोर्डमा सुचिकृत विभिन्न पब्लिक लिमिटेड कम्पनी र व्यावसायिक रूपमा सञ्चालित प्रतिष्ठित औधोगिक तथा व्यवसायिक समूहले व्यवस्थापन गर्ने सामाजिक उत्तरदायित्व कोषबाट आर्थिक सहयोग जुटाउने लक्ष्य राखेको जनाएकाे छ । मण्डिखाटार, काठमाडौंमा अवस्थित आईआईडीएस गैर-सरकारी र गैर-नाफामुलक सोध मुलक संस्था हो। विगत ४३ वर्ष देखि आईआईडीएसले दिगो विकासका निमित्त आवश्यक पर्ने नीति निर्माणको लागि प्रमाण तथा तथ्यमा आधारित अध्ययन, अनुसन्धान तथा सोध गर्दै आएको छ ।
यस्तो छ अष्ट्रेलियाको भिसा पाएकाले पुरा गर्नुपर्ने प्रकृिया
काठमाडौं । सोमबार मात्रै अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले अन्तर्राष्ट्रिय यात्रुका लागि अष्ट्रेलियाको सिमाना खोल्ने बारे थप घोषणा गरेका छन् । यस घोषणाले अष्ट्रेलियामा विभिन्न भिसा अन्तर्गत यात्रा गर्न चाहने यात्रु खासगरि नेपाली विद्यार्थीहरूलाई प्रवेशका लागि ढोका खुलेको छ । अष्ट्रेलियाले कोभिड–१९ संक्रमणको कारण दुई वर्षदेखि विदेशी नागरिकमाथि यात्रा प्रतिबन्ध लगाएको थियो । डिसेम्बर १, २०२१ देखि पूर्ण रूपमा खोप लगाइएका योग्य भिसा पाएका अन्तर्राष्ट्रिय विद्यार्थी, शरणार्थी, मानवीय, अस्थायी र अस्थायी पारिवारिक भिसा पाएकाहरु आवेदन नगरी अष्ट्रेलिया जान सक्नेछन । अष्ट्रेलियाले भिसा पाएर बसेकाहरुकाे लागि केही नियम बनाएकाे छ । यस नियमलाई पालन गरेर अष्ट्रेलियाकाे लागि भिसा पाएका मानिसहरु अष्ट्रेलिया प्रवेश गर्न पाउनेछन् । यो व्यवस्था अन्तर्गत अष्ट्रेलिया प्रवेश गर्न चाहने यात्रुले निम्न कार्य गरेको हुनुपर्नेछ- १ अष्ट्रेलियाको थेरापेउटिक गुड्स एड्मिनिसट्रेसन द्वारा स्वीकृत वा मान्यता प्राप्त भ्याक्सिनको सम्पूर्ण डोज लिएर पूर्ण रूपमा खोप लगाएको हुनुपर्नेछ । यसमा १२ वर्ष मुनिका बालबालिका र अन्य स्वास्थ्यको कारणले खोप लगाउन नपर्ने यात्रुहरुको लागि भने पूर्ण रूपमा खोप लगाइएका यात्रुहरू सरहकै मान्यता रहने छ । १२ देखी १७ वर्ष उमेरका खोप नलगाइएका नाबालकलाई पूर्ण खोप लगाएको वयस्कसँग यात्रा गर्न अनुमति दिने व्यवस्था गरिएको छ । यसका लागी प्रवेश गर्न चाहेको राज्य वा क्षेत्र का स्पेसिफिक रिक्वायरमेन्ट्स विशेषलाई भने ध्यान दिनुपर्ने छ । २। यात्रा गर्न चाहने व्यक्तिको भिसा सब क्लासेस अन्तर्गत योग्यता पुगेको भ्यालिड भिसा हुनुपर्नेछ । ३। यात्रुहरुले खोप स्थितिको प्रमाण पेश गर्नुपर्ने छ । ४। यात्रुहरुले अनिवार्य रुपमा प्रस्थान गरेको ३ दिन भित्र गरिएको नेगेटिभ कोभिड १९ पिसिआर (पोलिमरेज चेन रियाक्सन) परीक्षण रिर्पोट प्रस्तुत गर्नुपर्नेछ । ५। अष्ट्रेलियामा क्वारेन्टाइन आवश्यकताहरू राज्य र क्षेत्र सरकारहरूद्वारा निर्धारण गरिने व्यवस्था रहेकाे छ । ६। हाललाई अष्ट्रेलिया फर्कने यात्रुहरूले क्वारेन्टाइन नबसी एनएसडब्लु, भिक्टोरिया र एक्टमा मात्र प्रवेश गर्न र यात्रा गर्न सक्ने छन् । ७। अष्ट्रेलियाको एक राज्य वा क्षेत्रबाट अर्को राज्य वा क्षेत्रमा यात्रा गर्न चाहने व्यक्तिहरूलाई क्वारेन्टाइन अवधिबाट प्रवेश दिन चाहने वा प्रवेश गर्न अनुमति नदिने व्यवस्था सम्बन्धित राज्य वा क्षेत्रको अधिनमा रहने छ । ८। यात्रुहरूले आफूले यात्रा गर्न चाहेको अष्ट्रेलियाको कुनै पनि राज्य वा क्षेत्रमा क्वारेन्टाइनको व्यवस्थाबारे व्यक्ति स्वयमं सचेत हुनुपर्नेछ ।
द ब्रिटिस कलेजको सातौं दिक्षान्त समारोह सम्पन्न
काठमाडौं । प्रतिष्ठित ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यता प्राप्त नेपालको एकमात्र शैक्षिक संस्था द ब्रिटिस कलेज (टीबीसी)को सातौं दिक्षान्त समारोह सम्पन्न भएको छ । ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको टीबीसीमा लिड्स बेकेट युनिभर्सिटी (एलबीयु) तथा द युनिभर्सिटी अफ वेष्ट इंग्ल्याण्ड (यूडब्लुई)को सम्बन्धनमा अध्यायनरत विद्यार्थीहरु दिक्षित भएका हुन्। कोरोना महामारीको कारण गत वर्षको दिक्षान्त समारोह भर्चुअल्ली सम्पन्न भए पनि यस वर्ष भने कोरोना संक्रमण केही नियन्त्रणमा रहेको हुँदा भौतिक उपस्थितिमै हायात रिजेन्सी होटलमा कार्यक्रम सम्पन्न भएकाे हो । कार्यक्रममा बिजनेश विषयका विद्यार्थीहरुलाई बिहानको समयमा र आईटीका विद्यार्थीहरुलाई दिउँसोको समयमा दिक्षित गरिएको थियो । समारोहमा स्नातक तथा स्नातोकोत्तर तहका गरी जम्मा ४१९ जना विद्यार्थीहरु दिक्षित भएका हुन् । कोरोनाकै कारण उपस्थित हुन नसकेका कलेजको सल्लाहकारहरु जोन एडवर्ड होलिस्टर मोन्टागु, माइकल रुटल्याण्ड, प्रोफेसर फर्गस लियोन लगायतले दिक्षान्त समारोहलाई भर्चुअल्ली सम्बोधन गरेका थिए । त्यस्तै, युनिभर्सिटी अफ वेस्ट अफ इंग्ल्याण्डका भाइस चान्सलर तथा अध्यक्ष स्टीभ वेस्ट– सीबीइ, लिड्स बेकेट युनिभर्सिटीका प्रोफेसर तथा प्रो भाइस चान्सलर जिन किए, ब्रिटिस कलेजका एक्जिक्यूटिभ प्रिन्सिपल डा. मेरी बिशपले पनि स्वागत मन्तव्य राख्दै दिक्षित विद्यार्थीहरुलाई बधाई दिएका थिए । कलेजका सल्लाहकार डा. अर्जुन कार्की लगायतकाे भने व्यक्तिगत रूपमै उपस्थित रहेकाे थियाे ।