एसईईको नतिजा असार भित्रै बुझाउन विद्यालयलाई निर्देशन
काठमाडौं । विद्यालयहरुले विद्यार्थीको विद्यालय शिक्षा परीक्षा (एसईई) को मूल्यांकन नतिजा आगामी असार २० गतेसम्म बुझाउनु पर्ने भएको छ । उक्त नतिजा उनीहरुले सम्बन्धित जिल्लाको शिक्षा विकास समन्वय इकाइमा बुझाउनुपर्ने भएको हो । राष्ट्रिय परीक्षा बोर्डले विद्यालयले सो अवधिभित्र विद्यार्थीको एसईईको नतिजा जिल्लाको शिक्षा विकास समन्वय इकाइमा पठाउनुपर्ने निर्णय गरेको हो । ‘कक्षा १० को विद्यार्थी मूल्यांकन कार्यविधि, २०७८’ तयार गर्दै बोर्डले उक्त नतिजा असारभित्र राष्ट्रिय परीक्षा बोर्डमा पठाउनुपर्ने निर्णय गरेको हो । नयाँ कार्यविधि अनुसार एसईईमा विद्यार्थीको मूल्यांकनको मुख्य अधिकार विषय शिक्षकलाई हुने बोर्डले जनाएको छ । विषय शिक्षकलाई विद्यार्थीको क्षमता बढी थाहा हुने भएकोले उक्त अधिकार विषय शिक्षकलाई दिईएको बोर्डको भनाई छ । भौतिक रुपमा एसईई परीक्षा हुन नसक्ने भएपछि बोर्डले यसवर्ष पनि विद्यालयहरुको मूल्यांकनकै आधारमा नतिजा सार्वजनिक गर्ने निर्णय गरेको थियो ।
जुम्लामा एमबिबिएस पढाइ हुने, २५ सिट दिने आयोगको निर्णय
जुम्ला । अब जुम्लामा चिकित्सक उत्पादन गर्ने बाटो खुला भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्साशास्त्रको स्नातक तह (एमबिबिएस) कार्यक्रम सञ्चालन गर्न स्वीकृति प्राप्त गरेसँगै कर्णालीबासीको सपनाले सार्थकता पाएको हो । बहुप्रतिक्षित सो कार्यक्रम सञ्चालनका लागि चिकित्सा शिक्षा आयोगले स्वीकृति दिने निर्णय गरेको छ । यही जेठ २९ गते सम्पन्न आयोगको बैठकले प्रतिष्ठानमा स्नातक तहको एमबिबिएस कार्यक्रम शुरुआत गर्न स्वीकृति दिने निर्णय गरेसँगै अब कर्णालीमा डाक्टरी पढाइको वैधानिक ढोका खुलेको हो । आयोगका सूचना अधिकारी सेमन्तराज कोइरालाले प्रतिष्ठानमा एमबिबिएस कार्यक्रम सुरु गर्ने निर्णय भइसकेको जानकारी दिँदै चालु आर्थिक वर्षको शैक्षिक सत्रभित्र नै कार्यक्रम सञ्चालन हुने जानकारी दिए । ‘कोभिड–१९ का कारण निर्णयसहितका प्रक्रियामा ढिलो भए पनि यही शैक्षिक सत्रमा एमबिबिएस कार्यक्रम सञ्चालन हुन्छ’, उनले भने, ‘हाललाई एमबिबिएस सञ्चालन गर्न प्रतिष्ठानलाई करीब २५ सिट दिने गरी निर्णय भएको छ ।’ आधिकारिकरुपमा एक/दुई दिनभित्रै आयोगका बैठकका निर्णय सार्वजनिक गरिने उनको भनाइ थियो । प्रतिष्ठानका शिक्षाध्यक्ष प्राडा निरेश थापाले घरआँगनमा डाक्टर बन्ने कर्णालीमा मेघावी छात्रछात्राको सपना पुरा भएको बताए । उनले भने, ‘कर्णालीलाई मेडिकल हब बनाउने ढोका खुलेको छ । प्रतिष्ठानमा एमबिबिएस र एमडी कार्यक्रम सञ्चालनले गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षा सुनिश्चित गर्न थप कोशेढुङ्गाको गर्नेछ ।’ प्रतिष्ठानमा चिकित्सा शिक्षाको स्नातकोत्तर तहको अध्यापन शुरुआत भइसकेको छ । प्रतिष्ठानमा स्नातोकत्तर तहमा भक्तपुरका डा रहिस कोजु, काठमाडौं निवासी डा प्रशंसा ताम्राकार र कपिलवस्तुका डा वेदकुमार चौधरी जनरल ‘एमडी इन जनरल प्राक्टिस तथा इमरजेन्सी मेडिसिन’ विषयमा अध्ययनरत छन् । यसैगरी दार्चुला (हाल धनगढी) निवासी डा ललितसिंह धामी एनेस्थेसिया र बारा कलैयाका मुन्ना केशरी पेडियाट्रिक्समा स्नाकोत्तर तहमा अध्ययनरत छन् । शिक्षाध्यक्ष प्राडा थापाले कर्णालीको समग्र स्वास्थ्य सुधारमा बहुप्रतिक्षित एमबिबिएस कार्यक्रमले सहयोग गर्ने जनाउँदै यसका लागि सरकारलई धन्यवाद दिए । ‘स्नातक तहको डाक्टरी पढाइ कर्णालीको विकासको कोशेढुङ्गा हो’, उनले भने, ‘अब हामी अब्बल चिकित्सक उत्पादनमा हाम्रो ध्यान जानेछ ।’ विशेष गरी ती दुवै शैक्षिक कार्यक्रम प्रतिष्ठानमा सञ्चालनका लागि आवश्यक पाठ्यक्रम, भौतिक पूर्वाधार, जुम्ला अस्पतालको स्तरोन्नति, उपकरण थप , दक्ष जनशक्ति (शिक्षक)को व्यवस्थापनमा प्रतिष्ठानका पूर्व उपकुलपति प्राडा राजेन्द्रराज बाग्लेको अथक योगदान थियो । उनले भने,’कर्णालीको स्वास्थ्य सुधारमा नयाँ युगको शुरुआत भएको छ । अब उत्कृष्ठ अध्यापनमा जोड दिनुपर्छ ।’ एमबिबिएस कार्यक्रम शुरु हुने भएपछि ‘कर्णालीमा आउ, डाक्टर बनेर जाउँ’ भन्ने कर्णालीबासीको सपना अब पुरा हुने निश्चित भएको कर्णाली प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले बताए । ‘अब कर्णालीले मुलुकमा स्वास्थ्य सेवा पु¥याउने गरी डाक्टर जनशक्ति उत्पादन गर्दछ’, उनले भने, ‘विगतमा रोग, भोक, गरिबी, अशिक्षा र उपेक्षामा परेको कर्णालीले मुलुकका उपेक्षित र स्वास्थ्य सेवाको पहुँचमा नरहेका नागरिकहरुसमक्ष सेवा पु¥याउने मर्मलाई आत्मसाथ गर्दै आफ्नो गन्तव्य तय गर्छ ।’ प्रतिष्ठानका प्रमुख प्रशासकीय अधिकृत अमृत भण्डारी प्रतिष्ठानमा चिकित्सा शास्त्रका थप नयाँ कार्यक्रम सञ्चालनका तयारी भइरहेको जानकारी दिँदै एमबिबिएस र एमडी कार्यक्रमले चिकित्सा शिक्षामा नयाँ ढोका खुला गरेको जानकारी दिए । उनले भने,’प्रतिष्ठानले कर्णालीबासीलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरिरहेको छ । अब सेवाका साथसाथमा शिक्षामा जोड दिन्छौ ।’ कोरोना परीक्षण तथा उपचारमा प्रतिष्ठानद्वारा सञ्चालित जुम्ला अस्पतालले देशमा नै उत्कृष्ठ सेवा पुर्याउँदै आएको छ । प्रतिष्ठानले कर्णालीका डाक्टर अभाव भएका अस्पताल तथा पालिकामा डाक्टरको व्यवस्था समेत गर्दै आएको छ । विगतमा सिटामोलको चक्की नपाउने कर्णाली आज विशेषज्ञ डाक्टरसहितको जनशक्ति उत्पादन गर्ने थलोमा रुपान्तरण भएको छ । इच्छाशक्तिका अगाडि असंभव ठानिएका हरेक कुरा असत्य साबित हुँदा रहेछन् भन्ने चरितार्थ दुर्गम कर्णाली प्रदेशको जुम्लामा भइरहेको स्नातकोत्तर तहको चिकित्सा शिक्षाको पठनपाठन र चालु आवभित्रै शुरु हुने एमबिबिएस कार्यक्रमले पुष्टि गरेको छ ।
शैक्षिक सत्र २०७८ काे लागि पाठ्यपुस्तक अभाव नहुने
काठमाडाैं । शैक्षिक सत्र २०७८ काे लागि पाठ्यपुस्तक अभाव नहुने जनक शिक्षा सामग्री केन्द्रले बताएको छ । शैक्षिक सत्र २०७८ का लागि आवश्यक पर्ने सम्पूर्ण पाठ्यपुस्तकहरु छपाई भइसकेको र जनक शिक्षा सामग्री केन्द्रको प्रादेशिक कार्यालयसम्म पुगिसकेकाले छिट्टै पाठ्यपुस्तक विद्यार्थीहरुको हात हातमा पुग्ने जनक शिक्षा सामग्री केन्द्रका प्रमुख अनिल कुमार झाले बताए । प्रादेशिक कार्यालयहरुबाट जनक शिक्षा सामग्री केन्द्रमा सुचिकृत १२ सय पुस्तक विक्रेताहरुले देशभरका विद्यालयमा पु¥याउने उनले बताए । देशभर निषेधाज्ञा भएको अवस्थामा विक्रेताहरु प्रादेशिक कार्यालयमा आएर पाठ्यपुस्तक लैजान नसकेका कारण विक्रि वितरणमा भने समस्या भएको प्रमुख झाले बताए । यद्यपी उनकाे अनुसार असारको पहिलो सातासम्ममा विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुग्नेछ । यस वर्ष कक्षा ४ देखि कक्षा १० सम्मको पाठ्यपुस्तक १ करोड ७० थान उत्पादन गरी प्रदेश कार्यालयहरुमा पुगिसकेको जनक शिक्षा सामग्री केन्द्रले जनाएको छ । विराटनगरमा २३ लाख २ हजार ५२० थान, जनकपुरमा १४ लाख २० हजार ३३ थान, भरतपुरमा १७ लाख ४७ हजार ४५५ थान, बुटवलमा १२ लाख ७९ हजार ४०६ थान, पोखरामा १२ लाख ७३ हजार ११ थान, सुर्खेतमा ११ लाख २१ हजार ९०६ थान, नेपालगञ्जमा १७ लाख ४७ हजार ८३९ थान, धनगढीमा २६ लाख ६५ हजार ५७८ थान र केन्द्रीय कार्यालयमा ३५ लाख २४ हजार ५० थान पाठ्यपुस्तक मौज्दात रहेको जनक शिक्षा सामग्री केन्द्रले जानकारी दिएको छ । केन्द्रले पाठ्यपुस्तक बाहेक अन्य विभिन्न निकायको पुस्तकहरुपनि छापिरहेको बताएको छ ।