एसईई परीक्षाको नतिजा साउन १० गते सार्वजनिक हुँदै
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा साउन १० गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डका अध्यक्ष डा महाश्रम शर्माले एसईई परीक्षाको नतिजा सार्वजनिक गर्नका लागि आवश्यक काम तीव्ररुपमा भइरहेको जानकारी दिए । उनले नतिजामा प्राविधिकरुपमा कुनै समस्या नआओस् भनेर विद्यार्थीको विवरणहरू रुजु गर्ने कार्यलाई कडाइका साथ निगरानी गरिरहेको उनले बताए । अध्यक्ष डा शर्माले भने, ‘विगतमा नतिजा सार्वजनिक भएपछि कहिले जन्म मिति, कहिले अङ्क, त कहिले के मिस्टेक भयो भन्दै सच्याउन आउनेको भीड हुन्थ्यो, त्यसलाई मध्यनजर गर्दै बरु केही दिन नतिजा ढिला होस् तर नतिजा सार्वजनिक भएपछि सकेसम्म विद्यार्थीले विभिन्न विवरण सच्याउन फेरी धाउन नपरोस् भनेर यस पटक अलि कडाइका साथ विवरण रुजु गर्ने कार्य भइरहेको छ ।’ उनले सबै विवरण रुजु गरेर अन्तिम पटक पुनः जाँच गरेपछि आउँदो साताको सुरुमै नतिजा सार्वजनिक गर्ने गरी तयारी गरेको बताए । स्थानीय तहको निर्वाचनका कारणले पनि केही दिन नतिजा पर धकेलिएको उनको भनाइ छ । शिक्षाका कर्मचारीदेखि उत्तर पुस्तिका परीक्षणको जिम्मेवारी पाएका शिक्षक शिक्षिका निर्वाचनमा खटिएकाले उत्तर पुस्तिका परीक्षणमा पनि केही ढिला हुँदा नतिजा सार्वजनिक गर्न पनि केही दिन ढिलाइ हुनगएको उनको भनाइ छ । डा शर्माले भने, ‘हाम्रो लक्ष्यभन्दा केही दिन नतिजा ढिलो भए पनि शैक्षिक सत्रलाई असर पर्ने गरी ढिला हुँदैन, हामी नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमै छौँ, आउँदो साताको सुरुमै नतिजा सार्वजनिक गर्ने तयारीमा छौँ ।’ एसईई (कक्षा १०) का परीक्षा नियन्त्रक अर्जुन रायमाझीले नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा रहेको बताउँदै कुनै समस्या नआए १० गतेभित्र र अन्यथा १२ गतेसम्म नतिजा सार्वजनिक गर्ने बताए । अहिले उत्तर पुस्तिका परीक्षणको काम सम्पन्न गरी सम्परीक्षणको कामसमेत अन्तिम चरणमा पुगेको जानकारी दिँदै उनले कम्प्युटरमा इन्ट्री गर्ने, रुजु गर्नेलगायत काम भइरहेको जानकारी दिए । कोरोनाका कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनबाट नतिजा सार्वजनिक भए पनि यसवर्ष बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै गत वैशाख ९ गतेदेखि २० गतेसम्म परीक्षा सञ्चालन गरेको थियो । दुई हजार सात परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालयका दुई लाख ५७ हजार ९२४ छात्रा र दुई लाख ५७ हजार ५३ छात्र गरी पाँच लाख १४ हजार ९७७ परीक्षार्थीले परीक्षा दिएका परीक्षा नियन्त्रक रायमाझीले जानकारी दिए । बोर्डले ६१ विषयमा परीक्षा सञ्चालन भएको थियो ।
प्रविधिमैत्री विदेशी शैक्षिक कार्यक्रममा अब्बल आइएसएमटी कलेज
काठमाडौं । भुमण्डलिकृत विश्वको विकाससँगै नेपाली शिक्षा क्षेत्रमा पनि यसको प्रभाव विस्तार हुँदै गएको छ । नेपाली विश्वविद्यालयहरुको साथै विद्यार्थीले विश्वका धेरै मुलुकमा भएका विश्वविद्यालयहरुको शैक्षिक कार्यक्रम छनोट गरेर पढ्न पाइने अवस्थाको सिर्जना भएको छ । शिक्षा मन्त्रालयले मान्यता दिएको सांघाई युनिभर्सिटी र्याङकिङले युकेको युनिभर्सिटी अफ सन्डरल्यान्डलाई विषयगत रुपमा हस्पिटालिटी एण्ड टुरिजम म्यानेजमेन्ट अन्तर्गत २ सय १ देखि ३ सयको र्याङकिङमा राखेको छ । सोही विश्वविद्यालयसँग सम्बन्धन लिएर आइएसएमटी कलेजले स्नातक तहमा विभिन्न विषयहरुमा पठनपाठन गर्दै आएको छ । काठमाडौंको तिनकुनेमा रहेको आइएसएमटी कलेजमा स्नातक तहको मात्र पठनपाठन सञ्चालन हुुँदै आएको विजनेस डेभलपमेन्ट अफिसर बासुदेव वस्ती बताउँछन् । जस अन्तर्गत बिएस्सी आइटी, बिबिए र बिएचएमका शैक्षिक कार्यक्रमहरु रहेका छन् । कलेजमा मात्रै १५ सय विद्यार्थीले पढ्ने गरेको अफिसर वस्तीको भनाइ छ । साथै आइएसएमटीको ब्राण्डमा पोखरा, चितवन र बिराटनगर सञ्चालन गरेका कलेजहरुमा पनि एक हजार भन्दा धेरै विद्यार्थीले अध्ययन गरिरहेको अफिसर वस्तीको भनाइ छ । आइएसएमटीमा आंशिक र पूर्णकालिन गरेर सयौंको संख्याका शिक्षकहरुले अध्यापन गर्ने गर्दछन् । कलेजमा अध्यापन गर्ने अधिकांश शिक्षकहरु विदेशी विश्वविद्यालयमा डिग्री अध्ययन गरेका र सम्बन्धित विषयमा कुनै न कुनै व्यवसाय तथा उद्यमसँग जोडिएका रहेका छन् । जसले गर्दा विद्यार्थीलाई प्रत्यक्ष रुपमा व्यवहारिक ज्ञानको प्रदान गर्न सजिलो हुने गरेको वस्ती बताउँछन् । उनका अनुसार शिक्षक तथा व्यवस्थापनमा कार्यरत समुहमा रहेका अधिकांश व्यक्तिहरु वैदेशिक शिक्षण कार्यक्रममा अनुभवी तथा क्षमतावान भएको कारणले सन्डरल्यान्ड विश्वविद्यालयको कार्यक्रम सञ्चालन गर्न सजिलो भएको छ । आइएसएमटीमा पढ्ने विद्यार्थीहरुले आफ्नो अनुकुल समय मिलाएर बिहान वा दिउँसोको समय छानेर पढ्न सक्छन् । विद्यार्थीहरुलाई पढ्दा मानसिक रुपमा तनाव नहुने प्रकारको भौतिक तथा कक्षा कोठाको वातावरण बनाइएको अफिसर वस्तीको भनाइ छ । उनका अनुसार जुनसुकै विषय लिएर पढ्ने विद्यार्थीका लागि पनि कलेजले ल्यापटप अनिवार्य गरेको छ । पठनपाठनको लागि कक्षाकोठामा अधिक मात्रामा मल्टिमिडिया तथा डिजिटल प्रविधिको प्रयोग गरिन्छ । कलेजले सञ्चालन गरेका सबै विषयहरु सेमेस्टर प्रणालीमा रहेका छन् पढ्ने क्रममा विद्यार्थीले आँफै छोड्ने अवस्था बाहेक शतप्रतिशत विद्यार्थी नै पास हुने गरेका छन् । सबै विषयहरुको कक्षा ८० प्रतिशत भन्दा धेरै प्रयोगात्मक शैलीमा पढाइन्छ । विद्यार्थी विश्वविद्यालयको नियमअनुसार भर्ना भइसकेपछि निरन्तरताको कुनै परिक्षामा कुनै कारणले छुट्न पुग्यो भने सो विद्यार्थीलाई विश्वविद्यालयले तुरुन्तै परिक्षा दिने अवसर दिने गर्छ । सन्डरल्यान्डले विद्यार्थीको परिक्षा लिने विधि पनि नेपाली विश्वविद्यालयहरुको ढाँचासँग मिल्दैन । अफिसर वस्ती भन्छन्, ‘परिक्षापश्चात विद्यार्थीको कपी पहिला कलेजकै शिक्षकले जाँच गरेर नम्बर दिन्छन्, त्यसपछि विषय विशेषज्ञले जाँच गर्छन र अन्तिममा विश्वविद्यालय बोर्डले भेरिफाइ गरेर अंक दिने व्यवस्था रहेको छ । यदि विद्यार्थीको पेपरमा कुनै कुराको कमि भएमा त्यसलाई पूर्ण गर्नको लागि विश्वविद्यालयले सुझाव र अवसर दिने गर्दछ । जसकारणले गर्दा शतप्रतिशत विद्यार्थीले नै आफ्नो तहमा राम्रो अंक ल्याएर उत्तिर्ण गर्ने अवसर प्राप्त गर्छन् ।’ उनका अनुसार विश्वविद्यालयले नियमित अनुसन्धानको माध्यमबाट पाठ्क्रमको विकास गर्ने र परिक्षामा जाँच गर्ने विधिमा पनि अनुसन्धानको विषयलाई मुख्य बनाउने गरेको छ । नेपाली विश्वविद्यालयका कोर्षहरु नपढाएर युके सन्डरल्यान्ड विश्वविद्यालय कोर्ष पढाउनुसँग विद्यार्थी लक्षित धेरै फाइदा रहेको अफिसर वस्तीको तर्क छ । उनी भन्छन्, ‘नेपाली विश्वविद्यालयहरुले दशकौंदेखि आफ्नो पाठ्यक्रम समयानुकुल अपडेट गर्दैनन्, तर, सन्डरल्यान्ड वा अन्य कतिपय प्रतिष्ठित विदेशी विश्वविद्यालयले समयानुकुल नियमित रुपमा पाठ्क्रमको अपडेट गर्ने गर्छन् ।’ सन्डरल्यान्डले बजारको माग र सम्भावनाको आधारमा नियमित रुपमा पाठ्यक्रमको विकास गर्ने गरेको अफिसर वस्तीको भनाइ छ । जसकारणले गर्दा विद्यार्थीले आफुले रोजेको विषयमा सम्बन्धित तह उत्तिर्ण गरिसकेपछि बेरोजगार हुनु पर्दैन । नेपाली विश्वविद्यालयहरुमा अनुसन्धान र व्यवहारिकतालाई प्राथमिकतामा राखेर पाठ्यक्रम बनाउने र पठनपाठन विधि सञ्चालन गर्ने काम नभएको अफिसर वस्ती बताउँछन् । नेपालमा ८० भन्दा धेरै कलेजहरुले विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गरेका छन् । जसमा आइएसएमटीको भिन्न विशेषता सहितको पहिचान भएको कलेजको दाबी छ । गुणस्तरीय शिक्षा, विद्यार्थीमैत्री शुल्क र क्रेडिट ट्रान्सफर सुविधा कलेजको मुख्य विशेषता रहेको अफिसर वस्तीको भनाइ छ । ‘आइएसएमटीको विशेषता भनेको मागमा आधारित र उद्यम सम्बन्धित पाठ्यक्रम हो, हामीले यही कोर्ष सञ्चालन गरिरहेका छौं । अर्को कुरा नेपालका सबै कलेजहरुमा भन्दा ब्रिटिस एजुकेसन प्रदान गर्ने कुरामा आइएसएमटी सबैभन्दा एफोर्डएबल छ भन्ने हाम्रो दाबी छ,’ अफिसर वस्तीले भने । उनका अनुसार कलेजबाट जुनसुकै विषयमा अध्ययन गर्ने विद्यार्थीले ९ देखि १० लाख रुपैयाँको खर्चमा स्नातक तहको ब्रिटिस डिग्री प्राप्त गर्न सक्छन् । विदेशी विश्वविद्यालयको सम्बन्धनबाट सञ्चालित कलेजमा अध्ययन गर्दा विद्यार्थीले क्रेडिट ट्रान्सफरको सुविधा प्राप्त गर्दछन् । जुन सुविधाको प्रयोग गरी विद्यार्थीहरु विश्वका अन्य विश्वविद्यालय र कलेजहरुमा पनि अध्ययनको लागि जानसक्ने अफिसर वस्तीको भनाइ छ । उनका अनुसार अहिलेसम्म आइएसएमटीबाट ३ सय ५० जना भन्दा धेरै विद्यार्थीहरु युरोप र अस्ट्रेलियाका विभिन्न विश्वविद्यालय तथा कलेजमा अध्ययनको लागि क्रेडिट ट्रान्सफर गरेर अध्ययन गर्न गएका छन् । ‘मल्टिपल युनिभर्सिटी क्रेडिट ट्रान्सफर कलेजको विशेष विशेषता हो,’ उनले भने । कलेजले नियमित पठनपाठनको अलावा सामाजिक क्षेत्रमा पनि धेरै कार्यक्रम सञ्चालन गर्दै आएको छ । वृक्षारोपण, विपन्नहरुलाई खाद्यान्न सहयोग, सहरको सरसफाइ, आदि जस्ता धेरै कार्यक्रमहरु कलेजले नियमित रुपमा सञ्चाल गर्ने गरेको अफिसर वस्ती बताउँछन् । ‘पठनपाठन सँगै सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमलाई हामीले प्राथमिकतामा धेरै कार्यक्रम सञ्चालन गर्दै आएका छौं, जसले समाजका विभिन्न क्षेत्रलाई ठुलो सहयोग पुर्याउँदै आएको छ,’ उनले भने । कलेजमा आइटी विषय लिएर अध्ययन गरेका अधिकांश विद्यार्थीहरुले अध्ययनकै क्रममा विभिन्न व्यवसायमा जोडिने अथवा आफ्नो व्यवसायको शुरुवात गर्ने गर्छन् । त्यस्तै कलेजले सञ्चालन गरेका अन्य विषयहरु पनि प्रयोगात्मक एवं व्यवहारिक भएकाले अध्ययनपश्चात् कुनैपनि विद्यार्थी बेरोजगार हुने अवस्था नआउने अफिसर वस्तीको भनाइ छ । कलेजमा पढेका केही विद्यार्थीहरु थप अध्ययनका लागि विदेश समेत जाने गरेको उनी बताउँछन् । अहिलेसम्म स्नातक तहमा मात्रै पठनपाठन सञ्चालन गरेको कलेजले आगामी दिनमा एमबिए तहको विस्तार गर्ने योजना बनाएको छ । ‘अहिले सञ्चालन गरिरहेको कार्यक्रमलाई थप प्रभावकारी र एमबिए तहको विस्तार गर्ने योजनामा छौं,’ अफिसर वस्तीले भने ।
हेरल्ड कलेजका ४८१ विद्यार्थी दीक्षित
काठमाडौं । हेरल्ड कलेज काठमाडौंको दोस्रो दीक्षान्त समारोह सम्पन्न भएको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच कलेजकाे दीक्षान्त समारोह सम्पन्न भएको हो । समारोहबाट ४८१ विद्यार्थी दीक्षित भएकाे छन् । जसमा सन् २०१९/ २० मा स्नातक तह उत्तीर्ण बिएस्सी हन्स कम्प्युटर साइन्सका १६०, बिएस्सी हन्स इन्टरनेसनल बिजनेस म्यानेजमेन्टका २६ र सन् २०२०/२१ मा स्नातक तह उत्तीर्ण बिएस्सी हन्स कम्प्युटर साइन्सका २४९ र बिएस्सी हन्स इन्टरनेसनल बिजनेस म्यानेजमेन्टका ४६ गरी कुल ४८१ जना विद्यार्थीहरू दीक्षित भएका छन् । आइएनजी ग्रुपअन्तर्गत पर्ने हेरल्ड कलेज बेलायतको प्रतिष्ठित विश्वविद्यालय युनिभर्सिटी अफ वुल्भरह्याम्पटन, युकेबाट सम्बन्धन प्राप्त कलेज हो । दीक्षान्त समारोहमा युनिभर्सिटी अफ वुल्भरह्याम्पटन विश्वविद्यालयका प्रोभाइस चान्सलर टिम स्टिलले दीक्षित विद्यार्थीलाई प्रमाण पत्र हस्तान्तरण गरेका थिए । समारोहलाई सम्बोधन गर्दै प्रोभाइस चान्सलर टिमले दिक्षित विद्यार्थीहरूलाई बधाई दिँदै नेपालको कलेजसँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरेका थिए । कोभिड महामारीका कारण सरकारले तय गरेका विभिन्न स्वास्थ्य प्रोटोकलहरू पालना गर्नुपर्ने भएकाले उक्त समारोह दुई वर्षपछि भएको हो । नेपालमा सन् २०१७ देखि सञ्चालन हुँदै आएको उक्त कलेजमा अहिले स्नातक तहमा ब्याचलर इन इन्फर्मेसन टेक्नोलोजी, ब्याचलर इन इन्टरनेसनल बिजनेस म्यानेजमेन्ट र स्नातकोत्तर तहमा इन्टरनेसनल मास्टर्स अफ बिजनेस म्यानेजमेन्ट विषय पढाइ हुँदै आएको छ । कलेजले विद्यार्थीको एटिच्युड, एकेडेमिक्स र एटेन्डेन्स अर्थात् ट्रिपल ए का आधारमा कलेजमा भर्ना भएका १० प्रतिशत विद्यार्थीलाई शतप्रतिशत छात्रवृत्ति प्रदान गर्दै आएको छ । हाल आइएनजी ग्रुपअन्तर्गत काठमाडौंमा इस्लिङ्टन कलेज, हेरल्ड कलेज काठमाडौं, पोखरामा इन्फरम्याटिक्स कलेज पोखरा, विराटनगरमा विराटनगर इन्टरनेसनल कलेज र इटहरीमा इटहरी इन्टरनेसनल कलेज सञ्चालनमा रहेका छन् ।