विद्यालयको दिवा खाजामा विद्यालयकै करेसाबारीको जैविक तरकारी प्रयोग

नवलपरासी। पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा रहेका सामुदायिक विद्यालयले दिवा खाजामा विद्यालयकै करेसाबारीमा उत्पादन भएका तरकारीको प्रयोग गर्ने गरेका छन् । नगरभित्र रहेका सामुदायिक विद्यालयमध्ये आफ्नै जमिन भएका अधिकांश विद्यालयमा आफ्नै करेसाबारीमा उत्पादन भएका जैविक तरकारीको प्रयोग बढाएका हुन् ।  कावासोती-१ मा अवस्थित महाराजा आधारभूत विद्यालयले नगरपालिकाको सहयोगमा करिब दुई कट्ठामा तरकारी खेती गरेको प्रधानाध्यापक विमला श्रेष्ठले बताइन्। विद्यार्थीको प्रयास तथा शिक्षकको निगरानीमा उत्पादन गरिएको तरकारी नै दिवा खाजामा प्रयोग हुने उनले बताए। गतवर्ष करेसाबारीमा उत्पादित तरकारी दिवा खाजामा प्रयोग गरी बाँकी रहेको तरकारी बिक्रीबाट विद्यालयले चार हजार पाँच सयको बिक्री गरेको उनले बताए। उक्त रकम कोषमा जम्मा गरिएको छ । करेसाबारी कार्यक्रमबाट उत्पादन भएको तरकारीले दिवा खाजालाई सहयोग पुर्‍याएको र विद्यार्थीलाई जैविक तरकारी खेतीको महत्व बुझाइएको प्रअ श्रेष्ठको भनाइ छ । करेसाबारी कार्यक्रमबाट कक्षा ५ मा पढ्ने युवराज थापा र मनिसा सिञ्जालीले घरमा समेत विद्यालयबाट सिकेको सीप घरमा प्रयोग गरेको उनले जानकारी दिए ।त्यस्तै कावासोती–३ मै रहेको अर्को विद्यालय जीवनज्योति माविले पनि करिब डेढकट्ठा क्षेत्रफलमा गत वर्षबाट करेसाबारी बनाएर तरकारी खेती सुरु गरेको थियो । गतवर्ष उत्पादन भएको तरकारी दिवा खाजामा प्रयोग गरेर करिब १२ हजारको तरकारी बिक्री गर्न सफल भएको विद्यालयकी प्रधानाध्यापक सुमित्रा लम्सालले बताइन् । करेसाबारी निर्माण तथा तरकारी खेतीमा विद्यार्थी नै सक्रियतापूर्वक सहभागी हुने गरेको र यसले विद्यार्थीलाई माटो तथा श्रमसँग जोड्न सफल भएको उनको भनाइ छ ।  नगरपालिकाको शिक्षा शाखाले विद्यालयबाट प्रस्ताव मागअनुसार स्वीकृत भएका विद्यालयलाई बिउ पुँजीका रुपमा २५ हजार अनुदान दिने गरेका  शिक्षा शाखाका अधिकृत राजन पाण्डेले जानकारी दिए। नगरपालिकाले पहिलो वर्ष दुई विद्यालय र दोस्रो वर्ष आठ विद्यालयमा यो कार्यक्रम सुरु गरेको छ । साथै यस वर्ष १० विद्यालयमा कार्यक्रममा सञ्चालन हुने पाण्डेले बताए। प्रस्तावना स्वीकृत नभएका अन्य विद्यालयले पनि आफ्नै व्यवस्थापनमा करेसाबारी बनाएर तरकारी उत्पादन सुरु गरेको उनको भनाइ छ । कृषि ज्ञान केन्द्र र नगरपालिकाको कृषि शाखाको प्राविधिक सहयोगमा विद्यालयमा करेसाबारी निर्माणलाई अगाडि बढाइएको हो । कृषि प्राविधिकले विद्यालयमै पुगेर शिक्षक र विद्यार्थीलाई करेसाबारी निर्माणमा सहयोग गर्ने गरेको अधिकृत पाण्डेले बताए ।  जिल्ला सदरमुकामसमेत रहेको कावासोती नगरपालिकामा सञ्चालन भएको विद्यालयमा करेसाबारी कार्यक्रमले शिक्षक र विद्यार्थीलाई अध्ययनसँगै श्रमसँग जोड्न सफल भएको छ । विद्यालयमा खुवाइने दिवा खाजामा आफैले उत्पादन गरेको जैविक तरकारी प्रयोग हुँदा खाजाको गुणस्तरमा समेत वृद्धि भएको सरोकारवाला बताउँछन् । नगरपालिकाभित्र ४० सामुदायिक विद्यालय छन् ।

कैलालीमा पुस्तकालयका उत्कृष्ट पाठकलाई १० हजार पुरस्कार

टीकापुर । कैलालीस्थित टीकापुर सामुदायिक पुस्तकालयका उत्कृष्ट पाठकलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ । महिनाभरि पुस्तकालयमा आई अध्ययन गर्ने उत्कृष्ट पाठकलाई पुरस्कार दिने घोषणाअनुसार मङ्सिर महिनाको पाठकका रुपमा टीकापुर सरोकार समूहले टीकापुर बहुप्राविधिक शिक्षालयका विद्यार्थी उपेन्द्र चौधरीलाई पुरस्कार प्रदान गरेको छ । चौधरीलाई नगद र सम्मानपत्रद्वारा पुरस्कृत गरिएको हो । टीकापुर सरोकार समूहले कैलालीको टीकापुर क्षेत्रमा पठन संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले यो अभियान थालेको सरोकार समूहका सचिव नवराज भट्टराईले जानकारी दिए । ‘हामीले पठन संस्कृतिको विकास गर्न खोजेका हौँ,’ उनले भने, ‘पुस्तकालयमा सबैभन्दा बढी पटक आउने र बढी समय बिताउने पाठकलाई पुरस्कार दिन थालेका छौँ । अध्ययनमा नागरिकको रुचि जगाउन यो गर्न थालिएको हो ।’ सरोकार समूहका सचिव भट्टराईले पुस्तकालय र समूहको सहकार्यमा आगामी एक वर्षसम्म प्रत्येक महिना यो पुरस्कार प्रदान गरिने बताए । यस महिनाको पुरस्कार नेपाल अफ्रिका साहित्य समाजले प्रायोजन गरेको हो । पुस्तकालयमा आयोजित एक विशेष कार्यक्रममा चौधरीलाई टीकापुर नगरपालिका–१ का वडाध्यक्ष मोहन विक र शिक्षाप्रेमी यज्ञमूर्ति अर्यालले संयुक्तरुपमा पुरस्कार हस्तान्तरण गरे ।

नेपाल डिस्टीलरिले गोर्खा सैनिकका बालबालिकालाई छात्रवृति दिने

पोखरा । खुकुरी रमको उत्पादक कम्पनी दि नेपाल डिस्टीलरिजले १२० जनाभन्दा बढी पूर्व गोर्खा सैनिकहरुलाई सम्मान गरेको छ । पोखरामा बिहीबार साँझ एक भव्य समारोहको आयोजना गरी सेवानिवृत गोर्खा सैनिकहरुलाई सम्मान गरेको हो । भारतीय सेना, ब्रिटिस सेना, सिंगापुर आर्मी लगायतमा काम गरी सेवानिवृतहरुको कार्यक्रममा सहभागिता रहेको थियो । सो क्रममा कम्पनीले वीरता प्रदर्शन गरी भारतमा विभिन्न पदक पाएका इण्डियन आर्मीका रिटायर्ड सैनिक विष्णुप्रसाद श्रेष्ठ र क्वीन एलिजावेथ लगायतका प्रतिष्ठित मेडलबाट सम्मानित ब्रिटिस आर्मीको मेजर पदबाट सेवानिवृत दिलबहादुर गुरुङगलाई विशेष सम्मान गरेको थियो । कम्पनीको तर्फबाट मानव संसाधन प्रमुख जनकराज रेग्मीले श्रेष्ठ र गुरुंगलाई विशेष प्रकारले सुसज्जित खुकुरी उपहार दिई सम्मान गरेका थिए । यस्तै, कार्यक्रममा सहभागी १२० भन्दा बढी पूर्व गोरखा सैनिक र उनीहरुका पत्नीहरुलाई समेत कम्पनीले टोकन अफ लभले सम्मान गरेको थियो । कार्यक्रममा गोर्खा सैनिकहरुले नेपाल र नेपालीको नाम विश्वमा चम्काएका विषयमा वक्ताहरुले चर्चा गरेका थिए । गोर्खा सैनिकको वीरता र त्यसको प्रतिकको रुपमा रहेको खुकुरी र सोही नामबाट सर्वश्रेष्ठ रम उत्पादन गर्दै आएको कम्पनीले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत आयोजना गरेको कार्यक्रम महत्वपूर्ण रहेको उनीहरुले बताएका थिए । कार्यक्रममा कम्पनीले आगामी वर्ष लडाईंको मैदानमा वीरता प्राप्त गर्ने गोर्खा सैनिकका २ जना बालबच्चालाई उच्च शिक्षासम्मका लागि पूर्ण छात्रवृतिको समेत घोषणा गरेको छ ।