अध्यक्षको सपथ लिँदै सिलवालले भनेः समस्या समाधानका लागि खराे रुपमा उत्रन्छु

काठमाडाैं । बीमा समितिका नवनियुक्त अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा क्षेत्रको सुधारका लागि खरो रुपमा उत्रने बताएका छन् । आज अर्थमन्त्रालयमा पद तथा गोपनियताको सपथ लिँदै उनले बीमा क्षेत्रको समस्या समाधानका लागि खरो रुपमा उत्रने बताएका हुन् । यस्तै उनले फास्ट ट्रयाकमा काम गर्ने प्रतिवद्धता समेत क्त गरे । उनले तत्काल देखा परेका समस्या समाधान गर्दै नीतिगत क्षेत्रमा प्रवेश गर्ने बताए । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले  पनि उनलाई बीमा क्षेत्रमा भएका समस्या समाधानका लागि खरोरुपमा उत्रन र आफ्नो कार्यकाल बीमा क्षेत्रका लागि कोसेढुङ्गा सावित गर्न बीमा समितिको नयाँ नेतृत्वलाई निर्देशन दिएका छन् । बीमा समितिको नवनियुक्त अध्यक्षको पद तथा गोपनियताको सपथग्रहण कार्यक्रममा अर्थमन्त्री पौडेलले बीमा क्षेत्रका समस्याहरु केलाउन निर्देशन दिँदै ती समस्या समाधानका लागि अर्थ मन्त्रालयले सहयोग, सहजीकरण र समन्वय गर्ने बताए । अर्थ सचिव शिशिरकुमार ढुङ्गानाले बीमा क्षेत्रले विश्वसनियता कायम गर्नु पर्ने आवश्यता औल्याउँदै बीमा क्षेत्रलाई सबल, सक्षम र प्रतिष्पर्धी बनाउनु पर्ने बताए । राजस्व सचिव रामशरण पुडासैनीले बीमाको पहुँच बढाउन र बीमा क्षेत्रको सुशासन कायम गर्ने कार्यमा विशेष जोड दिनुपर्ने बताए । बीमा समितिका नवनियुक्त अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा क्षेत्रको सुधारका लागि खरो रुपमा उत्रने र फास्ट ट्रयाकमा काम गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले तत्काल देखा परेका समस्या समाधान गर्दै नीतिगत क्षेत्रमा प्रवेश गर्ने बताए । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थ सचिव शिशिरकुमार ढुङ्गानाले बीमा समितिका नवनियुक्त अध्यक्ष सिलवाललाई पद तथा गोपनियताको सपथ गराएका थिए । सो अवसरमा अर्थमन्त्री पौडेल र सचिवद्वयले नवनियुक्त अध्यक्ष सिलवालाई बधाई तथा शुभकामना दिए ।

बीमा समितिका अध्यक्ष सिलवालद्वारा सपथ ग्रहण

काठमाडाैं । बीमा समितिका नवनियुक्त अध्यक्ष सुर्यप्रसाद सिलवालले सपथ लिएका छन् । बिहीबार उनलाई अर्थमन्त्रालयका सचिव शिशिर कुमार ढुङ्गानाले सपथ गराएका हुन् । मन्त्रालयका राजस्व सचिव रामशरण पुडासैनीले आगामी दिनमा बीमा पहुँच बढाउनुपर्ने बताएका छन् । बिहीबार बीमा समितिका नवनियुक्त अध्यक्ष सुर्य प्रसाद सिलवालकाे सपथ ग्रहण कार्यक्रममा सचिव पुडासैनीले बीमाको पहुँच बढाउनुपर्ने प्रमुख जिम्मेवारी रहेको बताएका हुन् । उनले बीमा क्षेत्रमा सुशासनको समस्या रहेको भन्दै राम्रो नियमको विकास गर्नुपर्ने चुनौती रहेको पनि बताए । कोरोना बीमाको दाबी गर्नेहरुलाई भुक्तानी गर्नु तथा फन्डको व्यवस्थापन गर्ने चुनौती रहेको पनि उनको भनाई छ । सरकारको स्वामित्वमा रहेका दुई बीमा कम्पनीहरुलाई पारदर्शी बनाउनुपर्ने पनि उनको भनाई छ । बीमा समितिका नवनियुक्त अध्यक्ष सुर्य प्रसाद सिलवालले बिमा कम्पनीको पहुँच बिस्तारका साथै कम्पनीको विश्वसनीयता बढाउन आफु खरो उत्रिने बताए । नीतिगत कुराहरुलाई फास्टट्रयाकमा लैजान मन्त्रालयको सहयोगको अपेक्षा रहेको उनको भनाई छ । बीमा क्षेत्रको वर्तमा समस्यालाई समाधान गर्दै नीतिगत र संरचनालाई समिक्षा गरिने उनको भनाई छ । अर्थमन्त्री विष्णु पौडेलको उपस्थितिमा अर्थमन्त्रालयका सचिव शिशिर कुमार ढुङ्गानाले नवनियुक्त अध्यक्ष सिलवाललाई शपथ खुवाएका थिए । कार्यक्रममा उपस्थित अर्थमन्त्री विष्णु पौडेलले मन्त्रालयको तर्फबाट आवश्यक सहयोग, समन्वय र सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

नवलपुरमा फागुनदेखि स्वास्थ्य बीमा कार्यक्रम संचालन हुने

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरमा आगामी फागुनदेखि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन हुने भएको छ । सरकारले स्वास्थ्य बीमा बोर्डबाट सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनका लागि यहाँ अभिमुखीकरणसँगै दर्ता सहयोगी छनोटको काम अगाडि बढाइएको छ । स्वास्थ्य कार्यालय नवलपुरसँगको सहकार्यमा बोर्डले जिल्लाको गैँडाकोट, देवचुली र कावासोती नगरपालिकामा अभिमुखीकरणसँगै दर्ता सहयोगी छनोट गरिसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । फागुन पहिलो सातादेखि जिल्लामा शुरु हुन लागेको स्वास्थ्य बीमा कार्यक्रमका लागि माघ २८ गतेसम्म आठवटै स्थानीय तहका सबै वडामा दर्ता सहयोगी छनोट गरिने स्वास्थ्य बीमा बोर्ड काठमाडौँका अनुगमन तथा सुपरीवेक्षण शाखा प्रमुख शम्भु पौडेलले जानकारी दिए । छनोट भएका दर्ता सहयोगीलाई तीन दिनको तालीम प्रदान गरेर बीमा कार्यक्रम सञ्चालन गर्ने तयारी भएको पौडेलले बताए । गण्डकी प्रदेशमा रहेका ११ मध्ये आठ जिल्लामा यसअघि नै बीमा कार्यक्रम सञ्चालन भइसकेका छन् । फागुनको पहिलो सातादेखि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा स्वास्थ्य बीमा कार्यक्रम लागू हुने भन्दै शाखा प्रमुख पौडेलले यसै आर्थिक वर्षभित्र मनाङ र मुस्ताङमा समेत स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको बताए । विसं २०७२ मा सुदूरपश्चिमको कैलालीबाट शुरु गरिएको स्वास्थ्य बीमा कार्यक्रम गण्डकी प्रदेशमा विसं २०७३ मा बागलुङबाट शुरु गरिएको थियो । स्वास्थ्य बीमा बोर्डका अनुसार हालसम्म मुलुकका ६५ जिल्लामा कार्यक्रम लागू भइसकेको छ । स्वास्थ्य बीमा गराएकाले एक हजार १३३ प्रकारका औषधिसहितको स्वास्थ्य सेवा प्राप्त गर्ने पौडेलले बताए । पौडेलले पाँच जनाको परिवारले वार्षिक तीन हजार ५०० तथा त्यो भन्दा बढी भएमा प्रति थप व्यक्ति ७०० तिर्नुपर्ने बताए । स्वास्थ्य बीमा गरेपश्चात पाँच जनासम्मको परिवारले वार्षिक रु एक लाखसम्म तथा सोभन्दा बढी सदस्य रहेको परिवारले प्रति थप व्यक्ति २० हजारका दरले अधिकतम दुई लाखसम्मको निःशुल्क सेवा पाउने बताइएको छ । स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनका लागि स्वास्थ्य कार्यालय नवलपुरले समन्वय गर्दै हरेक स्थानीय तहमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको कार्यालय प्रमुख केशव चापागाईंले बताए । बीमा गरेको तीन महिनापछि सेवा प्राप्त गर्न सकिने उहाँले जानकारी दिनुभयो । बीमा गर्ने व्यक्तिको पहिलो प्राथमिकतामा जिल्ला अस्पताल रहने भन्दै अन्य निजी अस्पतालमा उपचार गर्नका लागि जिल्ला अस्पतालबाट सिफारिस लैजानुपर्ने उनले बताए । “अहिले बीमासम्बन्धी चेतनाका कार्यक्रम तथा स्थानीय तहमा अभिमुखीकरण कार्यक्रम सञ्चालन भइरहेको छ” चापागाईंले भने, “यसपश्चात् दर्ता सहयोगीलाई तालीम प्रदान गरेर फागुनको पहिलो साताबाट जिल्लामा स्वास्थ्य बीमा कार्यक्रमका लागि फाराम भर्ने काम हुन्छ ।” स्वास्थ्य बीमाका लागि सरकारी तथा गैरसरकारी, सबै सङ्घसंस्थाबाट रचनात्मक सहयोगको आवश्यकता रहेको चापागाईंको भनाइ छ । रासस