नेपाल लाइफले अंकित मूल्य ५० रुपैयाँ बनाउने निश्चित, पारित भयो ५१ प्रतिशत लाभांश

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रतिसेयर अंकित मूल्य ५० रुपैयाँ पुर्याउने प्रस्ताव पारित भएको छ । माघ २८ गते सम्पन्न कम्पनीको २०औं वार्षिक साधारणसभाले अंकित मूल्य एक सय रुपैयाँको व्यवस्थालाई परिवर्तन गर्ने सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । इन्स्योरेन्सले साना लगानीकर्ताहरुको समेत कम्पनीको सेयरमा सहज पहुँचका लागि सो व्यवस्था कायम गरेको हो । साथै, सभाले प्रस्तावित ५१ प्रतिशत लाभांश पनि पारित गरेको छ । यससँगै कम्पनीका सेयरधनीले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट चुक्ता पुँजीको ३१ प्रतिशत बोनस र २० प्रतिशत नगद लाभांश पाउने भएका छन् । ३० प्रतिशत बोनस सेयर वितरण पश्चात कम्पनीको चुक्ता पुँजी जीवन बीमा क्षेत्रकै सर्वाधिक अर्थात ७ अर्ब १९ करोड रुपैयाँ पुगेको छ । अध्यक्ष गोविन्द लाल संघईको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभामा स्वागत मन्तव्य एवं वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै उनले समिक्षा वर्षमा कम्पनीले कुल बीमाशुल्क आम्दानीमा करिब ३०.०९ प्रतिशत बजार हिस्सा हासिल गर्न सफल भएको बताए । अध्यक्ष संघईले दुई दशकमा जीवन बीमा क्षेत्रमा कम्पनीको व्यवसायिक हिस्सा र गरिमालाई तमाम चुनौतिहरु बीच अझै नयाँ उचाइमा अगाडि बढाउनका लागि संरचनात्मक सुधार, संस्थागत सुशासनको पूर्ण पालना, सुदृढ आन्तरिक नियन्त्रण प्रणाली, सेवा प्रणालीमा नविन प्रविधिको प्रयोग, सम्पत्ति र दायित्व बीचको सन्तुलन, ग्राहक केन्द्रित योजना, विकेन्द्रिकरण, तालिम एवं अनुसन्धान तथा नयाँ बजारीकरण रणनीति अवलम्बन गरि आगामी दशकको अर्को सुनौलो यात्रा तर्फ अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे । कम्पनीले बीमा समितिबाट जारी लगानी निर्देशिकाको परिधिभित्र रही दीगो एवं भरपर्दो लगानीका क्षेत्रहरुमा लगानी विस्तार तथा विविधीकरण गर्दै जाने नीति लिएको छ । सम्पत्ति र दायित्व बीच सन्तुलन कायम गर्न पूँजीगत लगानी वृद्धि गर्न आवश्यक भएकोले मुलुकका विभिन्न सहरहरुमा दीर्घकालिन पूँजीगत लगानी गर्ने तर्फ ठोस कार्य गर्ने लक्ष्यका साथ कम्पनी अगाडि बढेको छ । सभाबाट आ.व.२०७५ /०७६ को संचालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाब, नगद प्रवाह विवरणहरु एवं कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा गरिएको संशोधन प्रस्तावहरु सभाद्वारा पारित भएको छ । हाल यस कम्पनीको लगानी १०५ अर्ब ५७ करोड रुपैयाँ रहेको छ भने जीवन बीमाकोष १०१ अर्ब ७८ करोड रुपैयाँ र सेयरधनी कोष ८ अर्ब ८५ करोडभन्दा बढी रहेको छ । कम्पनीमा १ लाख ६९ हजार ४८७ भन्दाबढी प्रशिक्षित अभिकर्ता रहेका छन् । कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना हाल करिब २ सय शाखा तथा उपशाखाहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । कम्पनीमा हालसम्म वैदेशिक रोजगार समेत गरि २८ लाख भन्दा बढी व्यक्ति बीमित भइसकेका छन् । ग्राहकहरूको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरुसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ । सम्बन्धित समाचार टेस्ला इन्कको बाटोमा नेपाल लाइफ, नेपालमा कति सहज छ सेयर स्प्लिट ?

कालीकोटकाे सान्नी त्रिवेणीले ल्यायो अनिवार्य स्वास्थ्य बीमा योजना

मान्म । कालीकोट जिल्लाको सान्नी त्रिवेणी गाउँपालिकाले अनिवार्य स्वास्थ्य बीमा योजना लागू गर्ने भएको छ । गाउँपालिकाका नागरिकलाई स्वस्थ्य सेवामा पहुँच पु¥याउने उद्देश्यले स्वास्थ्य बीमा योजना लागू गरेको हो । नेपालको संविधानको धारा ३५ मा आधारभूत स्वास्थ्य सेवालाई नेपाली नागरिकको मौलिक हकका रुपमा स्थापित गरेकाले गाउँपालिकाको स्वास्थ्य बीमा योजना लागू गरेको गाउँपालिकाले जनाएको छ । मानव जीवनका लागि स्वास्थ्य नै पहिलो प्राथमिकताको विषय भएका कारण नागरिकको उपचार नपाएर अकालमा ज्यान गुमाउन नपरोस् भनेर नै गाउँपालिकाले अनिवार्य स्वास्थ्य बीमा योजना ल्याएको गाउँपालिका अध्यक्ष डम्बरबहादुर शाहीले बताए । बीमा योजनामा गाउँपालिका वडा नं १ देखि ९ सम्मका कर्मचारी र जनप्रतिनिधिबाहेक मध्यम गरीब र सामान्य गरीब परिवारका पाँचजना सदस्यको बीमा रकम तीन हजार ५०० का दरले गाउँपालिकाले नै स्वास्थ्य बीमा बोर्डलाई भुक्तानी गरिदिने गाउँपालिका स्वास्थ्य शाखाप्रमुख मीनबहादुर बिष्टले जानकारी दिए । “एकै घरका पाँचभन्दा बढी सदस्यको हकमा परिवार स्वयंले बीमा रकम तिर्नुपर्ने व्यवस्था गर्नुपर्नेछ”, उनले भने, “गरीब तथा विपन्न परिवारलाई लक्षित गरेर यो योजना ल्याइएको हो ।” योजना कार्यान्वयन गर्न आगामी फागुन ५ गतेभित्रै बीमा कार्यक्रमको नागरिकसम्म पु¥याउने गाउँपालिकाले जनाएको छ । रासस

अजोड इन्स्योरेन्सको खुद नाफा ७५ प्रतिशतले बढ्यो, बीमा शुल्क २० करोड रूपैयाँ बढी

काठमाडौं । अजोड इन्स्योरन्सको खुद नाफा ७५.७५ प्रतिशतले बढेको छ । गत आर्थिक वर्ष २०७५/७६ को पहिलो ६ महिना अर्थात पुस मसान्तसम्ममा २ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले चालु आव २०७६/७७ को सो अवधिमा ४ करोड ६ लाख लाख रुपैयाँ आर्जन गर्न सफल भएको हो । जुन रकमको आधारमा एक करोड ७५ लाख रुपैयाँले बढी हो । समीक्षा अवधिमा कम्पनीले २० करोड ८३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ४ करोड ९ लाख रुपैयाँ बढी हो । कम्पनीले अघिल्लो आवको पुस मसान्तसम्ममा १६ करोड ७७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । चुक्ता पुँजी एक अर्ब रुपैयाँ भएको यस कम्पनीको जगेडा कोषमा ६ करोड ६३ लाख रुपैयाँ बढी छ । उक्त कोषमा अघिल्लो वर्षमा २ करोड ७९ लाख रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा कम्पनीले ७१ हजार ३०७ वटा बीमालेख जारी गरी कूल ६८ करोड २३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै, १ हजार ९१० वटा दाबीबाट कूल २० करोड ७५ लाख रुपैयाँ भुक्तानी गरेको छ । इन्स्योरेन्सको प्रतिसेयर आम्दानी ८.१३ रुपैयाँ र प्रति सेयर नेटवर्थ १ सय १५ रुपैयाँ रहेको छ । त्यस्तै, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १९० रुपैयाँ र पीई अनुपात ८२.९० गुणा रहेको छ । यस्ताे छ कम्पनीकाे याेजना यस अवधिमा कम्पनीको कुल बीमाशुल्क आम्दानी र तरलतामा वृद्धि भई संस्थाको वित्तीय स्थिति सन्तोष्जनक रहेको छ । कम्पनीको कूल बीमा शुल्क क्रमिक रुपमा बढ्दै गएकोले आगामी दिनहरुमा व्यवसायिक विविधिकरण गरी गुणस्तिरिय ग्राहकमुखी नयाँ सेवा सुविधा शुरु गरी कम्पनीलाई अझ वित्तीय रुपमा सबल बनाउने कम्पनीको योजना रहेको छ ।