प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश घोषणा
काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । माघ २५ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीलाई ८.४२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । यससँगै सेयरधनीले हाल कायम चुक्ता पुँजीको ८ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.४२ प्रतिशत नगद लाभांश पाउने छन् । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब २ करोड रुपैयाँ रहेको छ । ८ प्रतिशत बोनस पछि कम्पनीको चुक्तापुँजी १ अर्ब १० करोड रुपैयाँ नाघ्ने छ । उक्त प्रस्तावित लाभांश बीमा समितिले स्वीकृत तथा कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।
प्रुडेन्सियल इन्स्योरेन्सको विज्ञ सञ्चालकमा डा. आत्रेय नियुक्त
काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको विज्ञ सञ्चालकमा डा. बिनोद आत्रेय नियुक्त भएका छन् । माघ २५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले डा. आत्रेयलाई विज्ञ सञ्चालक पदमा नियुक्त गरेको हो । यससँगै नवनियुक्त सञ्चालक डा. आत्रेयले एक कार्यकाल अर्थात आगामी चार वर्षसम्म संस्थाको उक्त पदको कार्यभार सम्हाल्ने छन् । यसअघि उनी सूर्या लाइफ इन्स्याेरेन्सकाे सञ्चालक थिए । उक्त पदमा चार वर्षे कार्यकाल सकिएसँगै साे कम्पनीबाट बिदा भएका हुन् । उनले नेपाल राष्ट्र बैंकमा ३० वर्ष काम गरेर कार्यकारी निर्देशक पदबाट अवकाश पाएका थिए । राष्ट्र बैंकमा रहँदा उनले नेपाल बैंकमा करिव ३ वर्ष प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समालेका थिए । हाल उनी व्यवसायिक घराना विशाल ग्रुप निकट भएर विभिन्न कम्पनीको जिम्मेवारी समाल्दै आएका छन् । डा. आत्रेय हाल इमर्जिङ्ग नेपाल लिमिटेड कम्पनीको प्रमुख कार्यकारी अधिकृत समेत छन् ।
आईपीओ जारी गर्न लागेकाे सिटिजन लाइफको व्यवसायमा छलाङ, १३०% ले बढ्याे जीवन बीमा कोष
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आ.व. २०७७/०७८ को दोश्रो त्रैमासिक (पौष मसान्त) सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको वित्तीय विवरण अनुसार कम्पनीले आफ्नो व्यवसाय वृद्धिसँगै जीवन बीमाकोष बलियो बनाउँदै सो मा १३० प्रतिशतले वृद्धि गरेको छ । गत आवको पौष मसान्तमा कम्पनीको जीवन बीमा कोष १ अर्ब ४ करोड ४० लाख रूपैयाँ रहेकोमा यस पौष मसान्तमा सो रकम २ अर्ब ३९ करोड ८१ लाख रूपैयाँ पुगेको छ । यसका साथै कम्पनीले गत आवको पौष मसान्तसम्ममा कुल बीमाशुल्क ८० करोड ८८ लाख संकलन गरेकोमा यस आवको सोही अवधिमा १ अर्ब ४० करोड २१ लाख रूपैयाँ संकलन गर्न सफल भएको छ । यसरी हेर्दा बीमा शुल्क आर्जन ७३ प्रतिशतले बढेको देखिन्छ । समीक्षा अवधिमा जीवन बीमा कोषमा १३० प्रतिशतको वृद्धि गराउन सफल कम्पनीले जगेडा तथा कोषको आकार पनि ४२ करोड १ लाखबाट ७३% ले बढाएर ७२ करोड ८० लाखको उचाई चुमाएको छ । साथै, कम्पनीले लगानी र बीमालेखको धितो तथा अन्य कर्जाबाट प्राप्त हुने आयमा ५४ प्रतिशतको वृद्धि गरी १५ करोड ४ लाख रूपैयाँ पुर्याएको छ । जीवन बीमा व्यवसायमा लगानीको अवधिले कम्पनीको आयमा प्रत्यक्ष प्रभाव पार्ने भएकोले कम्पनीले दीर्घकालीन लगानी तथा कर्जालाई प्राथमिकता दिई कुल लगानी तथा कर्जा रकम ४ अर्ब ९६ करोड रूपैयाँमध्ये करिब ८३ प्रतिशत रकम विभिन्न बैंक तथा वित्तीय संस्थाको दीर्घकालीन अवधिको ऋणपत्र तथा मुद्धती निक्षेपमा लगानी गर्न सफल भएको छ । यस अघि गरिएको दीर्घकालीन लगानीले भविष्यमा समेत उच्च दरमा प्रतिफल प्रदान गरी कम्पनीको स्थायित्वका लागि आधार स्तम्भ निर्माणमा प्रत्यक्ष भूमिका निर्वाह गर्ने देखिन्छ । हरेक विषम परिस्थितिलाई अवसरको रुपमा लिदै आगामी दिनमा कम्पनीले उपलब्ध गराउने सेवाहरुलाई अझै ग्राहक केन्द्रित र प्रविधिमुखी वनाउदै लैजाने उद्धेश्यका साथ डिजिटल सिटिजन कार्यक्रम, हरेक व्यक्तिलाई स्वरोजगार बनाउने सिटिजन स्वरोजगार अभियान र बीमाको सचेतना वढाउन विद्यार्थीसंग बीमा जस्ता विभिन्न कार्यक्रमहरु लगायत नवीनतम बीमा योजना र व्यवसायिक तथा दक्ष सिटिजन लिडरहरु सहितको सिटिजन टिम मार्फत कम्पनीले भविष्यमा वित्तीय तथा सामाजिक लक्ष्य हासिल गर्दै उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता जाहेर गरेको छ ।