आईजीआईकाे नाफा १२५ प्रतिशतले बढ्यो, सेयर मूल्यमा पनि उच्च वृद्धि
काठमाडौं । चालु आर्थिक वर्षको प्रथम ६ महिनामा आईएमई जनरल इन्स्योरेन्स (आईजीआई) कम्पनीको नाफा १२५ प्रतिशतले बृद्धि भएको छ । कम्पनीले पुस मसान्तसम्म १५ करोड २ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आर्थिक वर्ष २०७६/७७ को प्रथम छ महिनामा कम्पनीको नाफा ६ करोड ६५ लाख रुपैयाँ आर्जन गरेको थियो । कम्पनीले ६ महिनमा ७१ करोड १३ बीमा शुल्क आर्जन गरेको छ । ६ महिनाको कुल आय ८० करोड ८९ लाख रुपैयाँ रहेको छ । सो अवधिमा कुल व्यय ६५ करोड १९ लाख रुपैयाँ भएको छ । आईएमई जनरल इन्स्योरेन्सले नियमित बीमा कारोबार बाहेक लगानी तथा कर्जाबाट आउने प्रतिफलमा पनि उच्च वृद्धि गरेको छ । यसतर्फ कम्पनीले ६ महिनामा ८ करोड ७१ लाख रुपैयाँ आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको प्रथम ६ महिनामा ४ करोड ९४ लाख रुपैयाँ थियो । ६ महिनामा कम्पनीले २९ करोड १० लाख रुपैयाँ बीमा दावी भुक्तानी गरेको छ । समिक्षा अवधिमा कम्पनीले ७२ हजार १२५ बीमा लेख जारी गरेको र १ हजार ७३२ वटा बीमा दावीमा भुक्तानी गरिएको कम्पनीले जनाएको छ । भुक्तानी हुन बाँकी रकममा पनि कम्पनीले धेरै सुधार गरेको छ । एक वर्षअघि भुक्तानी हुन बाँकी रकम ७६ करोड ८२ लाख रुपैयाँ रहेकोमा पुस मसान्तसम्ममा ६१ करोड १७ लाख रुपैयाँ भएको कम्पनीले जनाएको छ । कम्पनीको वित्तीय अवस्थामा देखिएको सुधारसँगै सेयर मूल्यमा पनि वृद्धि भइरहेको छ । एक वर्षअघि प्रतिसेयर ३०० देखि ४०० रुपैयाँमा कारोबार भईरहेको यस कम्पनीको सेयर हाल प्रतिकित्ता १००० देखि १११० रुपैयाँमा किनबेच भईरहेको छ । पुस मसान्तमा कम्पनीको प्रति सेयर आम्दानी २७ रुपैयाँ ७८ पैसा छ भने प्रतिसेयर नेटवर्थ १६६ रुपैयाँ ९४ पैसा रहेको छ ।
प्रभु लाइफद्वारा ५० लाखकाे मृत्युदाबी भुक्तानी
काठमाडाैं । प्रभु लाइफ इन्स्योरेन्स जिवन बीमा गरका एक ग्राहककाे मृत्यु भएपछि उनकाे ५० लाखकाे मृत्यु दाबी भुक्तानी गरेकाे छ । कम्पनीले मृत्यु भएका महोत्तरी जिल्ला हतिसर्वाका सुरेश प्रसाद यादवकी श्रीमती अनुराधा कुमारी यादवलाई जीवन बीमा मृत्यु दाबी बापत ५० लाख भुक्तानी गरेकाे हाे । कम्पनीले लामाे समयदेखि देशकाे विभिन्न जिल्लामा बीमा सेवा दिँदै आएकाे छ ।
महालक्ष्मी लाईफ इन्स्योरेन्सकाे नेशनल एजेन्सी रिफ्रेसमेन्ट प्रोग्राम सम्पन्न
काठमाडाैं । महालक्ष्मी लाईफ इन्स्योरेन्सकाे नेशनल एजेन्सी रिफ्रेसमेन्ट प्रोग्राम पोखरामा सम्पन्न भएको छ। यही माघ १६ र १७ गते सम्पन्न उक्त कार्यक्रममा मेची देखी महाकाली सम्मका शाखार उपशाखामा कार्यरत सक्रिय १८५ जना अभिकर्ताहरुको उपस्थिति रहेको थियो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईको अध्यक्षतामा उक्त कार्यक्रममा सम्पन्न भएकाे थियाे । भट्टराईले कार्यक्रममा व्यवसायिक लक्ष्य हासिल गर्न र सफल अभिकर्ता कसरी भइन्छ भन्ने बारेमा प्रेरणामुलक तालिम प्रदान गरेका थिए । कार्यक्रममा नियो डिजिटलले अभिकर्ताको लागि अत्यन्त उपयोगी सिआरएम सफ्टवेयरको डेमो प्रस्तुत गरेको थियो । कार्यक्रमको उद्घोषण एजेन्सी तथा तालिम विभागका प्रमुख सिताराम धिमालले गरेका थिए ।