यूनियन लाइफ इन्स्योरेन्सको आईपीओ अपडेटः पहिलो दिनमै ‘ओभर सब्सक्राइब’

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले जारी गरेको प्राथमिक निष्काशन (आईपीओ) मा पहिलो दिनमै मागभन्दा बढी आवेदन परेको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आज(असार २४ गते) बाट जारी भएकै दिन १.४१ गुणा बढी आवेदन परेको हो । क्यापिटलका अनुसार पहिलो दिन अपरान्ह ५ बजेसम्म ५ लाख १० हजार ९ सय ४५ जना सर्वसाधारण लगानीकर्ताहरुबाट ९१ करोड ६० हजार रुपैयाँ बराबरको ९१ लाख ६०० कित्ता सेयरको लागि आवेदन परेको छ । कम्पनीले आजबाट कूल ६४ लाख ५० हजार कित्ता सेयर जारी गरेको हो । त्यसमध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ५ प्रतिशत छुट्याई बाँकी रहेको ५८ लाख ५ हजार कित्ता शेयर निष्काशन गरिएको थियो । यो आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ३२ हजार २ सय ५० कित्तासम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । जसमा आवेदन दिने अन्तिम समय छिटोमा असार २८ गते सोमबारसम्म रहेको छ ।

एभरेष्ट इन्स्योरेन्ससहित एक लघुवित्तको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा एभरेष्ट इन्स्योरेन्ससहित एक लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ । आज(असार २४ गते) मात्रै एभरेष्ट इन्स्योरेन्स कम्पनी र सिभिल लघुवित्तको कूल ९ लाख ५८ हजार ६२० कित्ता बोनस सेयर सूचीकृत भएको हो । जसमध्ये एभरेष्ट इन्स्योरेन्सको ८ प्रतिशत अर्थात ८ लाख ७६ हजार ७४४ कित्ता बोनस सेयर नेप्सेमा थपिएको छ । त्यस्तै, सिभिल लघुवित्तको ३.५ प्रतिशत अर्थात ८१ हजार ८७६ कित्ता बोनस सेयर सूचीकृत भएको हो । यससँगै यी दुबै कम्पनीको सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण हुने छ । र, दोश्रो बजारमा किनबेच गर्न मिल्ने छ ।

बीमा पोलिसी धितोमा ९० प्रतिशतसम्म ऋण पाइने, व्याजदर वाणिज्य बैंकको सरह

काठमाडौं । जीवन बीमा पोलिसी धितो राखेर समर्पण मूल्यको ९० प्रतिशतसम्म कर्जा पाइने भएको छ । पोलिसी धितोमा कर्जा पाउनको लागि जीवन बीमा गराएको ३ वर्ष पुगेको भने हुनु पर्नेछ । बीमा समितिले सार्वजनिक गरेको जीवन बीमालेख सम्बन्धि निर्देशिकामा यस्तो व्यवस्था गरिएको छ । यसअघि बीमा गराएको २ वर्ष पुगेपछि ऋण लिन पाइने व्यवस्था थियो भने बीमा पोलिसीको समर्पण मूल्यको ८० प्रतिशतसम्म कर्जा पाइने व्यवस्था थियो । ‘बीमक (बीमा कम्पनी) ले बीमालेख अन्तर्गत पूरा तीन वर्षको बीमाशुल्क प्राप्त भई बीमा प्रारम्भ भएको मितिबाट तीन वर्ष पूरा भएपश्चात तथा एकल बीमालेख भुक्तानी गर्ने बीमालेखको हकमा समेत बीमा प्रारम्भ भएको मितिबाट तीन वर्ष पूरा भएपश्चात बीमालेख समर्पण गर्न तथा बीमालेख धितो राखी ऋण प्रदान गर्न सक्नेछ,’ निर्देशिकामा उल्लेख छ । एकल बीमालेखको हकमा भने बीमालेख जारी भएको तीन वर्ष पूरा भएपछि बीमाशुल्कको ८० प्रतिशत र आर्जित बोनस समेत गरी भुक्तानी गर्नुपर्नेछ । यस्तै एकल बीमालेखमा बीमाखेल जारी भएको ४ वर्षपछि ८५ प्रतिशतसम्म र बोनस तथा ५ वर्ष पूरा भएपछि बीमाशुल्कको ९० प्रतिशतसम्म र बोनस रकम कम्पनीहरुले बिमितलाई भुक्तानी गर्नुपर्ने छ । बीमा कम्पनीहरुले बिमितलाई ऋण दिन सक्ने व्यवस्था पनि निर्देशिका उल्लेख छ । ‘बीमक (बीमा कम्पनी) ले बीमालेख धितो राखी कर्जा प्रदान गर्दा व्याज लिन सक्नेछ र व्यादरको निर्धारण गर्दा बजारमा प्रचलित वाणिज्य बैंकले तोकेको व्याजदरभन्दा बढी नहुने बीमकको संचालक समितिको स्वीकृति लिई निर्धारण गर्नु पर्नेछ,’ निर्देशिकामा भनिएको छ । बीमा गराएको व्यक्तिले केही समय बीमाशुल्क नतिरी स्थगित गरेको बीमालेख पुनः सुरु गर्न सक्ने बाटो पनि खुल्ला गरिएको छ । बीमितले आफू जीवन बीमाको लागि निरन्तर योग्य छु भनी सन्तोषजनक प्रमाण पेश गरेमा तथा तिर्न बाँकी सबै बीमाशुल्क रकम व्याजसहित भुक्तानी गरेमा अनिवार्य आवश्यक मेडिकल अन्तरराइटिङ गरी बीमा अवधिभित्र जुनसुकै समयमा बीमकले व्यतित भएको बीमालेख पुनर्जागरण गरिदिन सक्ने व्यवस्था निर्देशिकाले गरेको छ । यसरी बीमालेख पुनर्जागरण गर्दा बीमकले संचालक समितिको स्वीकृत लिई व्याज छुट पनि दिन सक्ने व्यवस्था छ । यसरी पुनर्जागरण गर्दा बीमितले तिर्नुपर्ने व्याजमा आंशिक वा पूर्ण छुट प्रदान गर्न सकिने व्यवस्था छ । व्याज छुट गर्ने प्रयोजनको लागि २ वर्षदेखि व्यतित भएका बीमालेखहरुलाई मात्र समावेश गर्न सकिने छ । व्याज छुट भने एउटा बीमितले बीमा अवधिभर एक पटकमात्र पाउन पाउन सक्नेछन् । तर, बीमालेख व्यतित भएको ५ वर्षसम्म पनि पुनर्जागरण नगरेमा बीमकतले सो बीमितलाई नयाँ बीमालेख जारी गर्न नपाउने व्यवस्था गरिएको छ । बीमा गराउँदा सम्पत्तिको स्रोत पनि देखाउनु पर्ने व्यवस्था गरिएको छ । बीमा गर्ने व्यक्ति (बीमित) ले ५ लाख रुपैयाँभन्दा बढी वा वार्षिक वा एकल बीमाशुल्क तिर्ने गरी बीमालेख विक्री गर्दा बीमाशुल्क भुक्तानी गर्ने बीमितको आम्दानीको स्रोत खुलेको कागजपत्र अनिवार्य रुपमा पेश गर्नुपर्ने व्यवस्था निर्देशिकाले गरेको छ । बीमा गराएको व्यक्तिले बीमा गराएको ३० दिनभित्र सो बीमाखेल फिर्ता गर्न चाहेमा बीमा कम्पनीमा लिखित निवेदन दिएर फिर्ता गर्न पाउने व्यवस्था पनि गरिएको छ ।