च्याटबाटै शिखर इन्स्योरेन्सको बीमा खरिद, नविकरण र दावी गर्न सकिने

काठमाडौं । च्याटबोटबाटै शिखर इन्स्योरेन्सको बीमा खरिद, नविकरण र दाबी गर्न सकिने भएको छ । कम्पनीले गत मंसिर १७ गतेदेखि सुरु गरेको च्याटबोटको प्रयोग मार्फत शिखर इन्स्योरेन्सको बीमा खरिद, नविकरण र दाबी गर्न सकिने भएको हो । कम्पनीको च्याटबोटबाट इन्स्योरेन्स गर्नका लागि अफिससम्म पुग्ने समय नभएकाहरुले जहाँबाट पनि इन्स्योरेन्स गराउन सक्नेछन् । च्याटबोट मार्फत शिखर इन्स्योरेन्समा उपलब्ध सबै पोलिसिहरुको सेवा लिन सकिने कम्पनीले जनाएको छ । यसको लागि फेस वुक मेसेन्जरमा लग इन गर्नुपर्ने हुन्छ भने भाइवरमा कम्पनीको क्युआर कोड स्क्यान गर्नुपर्छ । इन्टरनेटको पहुँच भएका ग्रहाकहरुका लागि यो सुविधा अत्यन्तै सहयोगि र प्रभावकारी छ । यसैगरी आफूले लिन चाहेको बीमा सेवाका बारेमा च्याटबट मार्फत जानकारी मात्र गराएमा शिखर इन्स्योरेन्सको सम्बन्धित निकायले तुरुन्तै ग्राहकसँग कुरा गर्नेछन् । यस पश्चात ग्राहकले आफ्ना कुरा सरल तथा सहजै राख्न सक्नेछन् । च्याटबोटका कारण ग्रहाकहरुको समयको बचत हुनुको साथै महामारीका बेला स्वास्थ्य सुरक्षामा आइपर्ने चुनौतिसँग पनि जुध्न पर्दैन । च्याटबोट मार्फत शिखर इन्स्योरेन्सको कुनैपनि सेवा तत्कालै लिन पाइने कम्पनीले जनाएको छ । सम्पूर्ण बीमा क्षेत्रमा नै पहिलो पटक भाइबर र फेसबुक मेसेन्जरमा च्याटबोट सुरु गर्ने पहिलो कम्पनी हो  शिखर इन्स्योरेन्स ।

कर्मचारीकाे क्षमता अभिवृद्धि गर्ने सम्बन्धी बिएफआइएन र सियुटिएमबीच सम्झाैता

काठमाडौं । बैंकिङ्ग फाइनान्स एण्ड इन्स्योरेन्स इन्टिच्यूट अफ नेपाल र सेन्चुरीयन युनिभर्सिटि अफ टेक्नोलोजी एण्ड म्यानेजमेण्टबीच सोमबार सम्झौता भएको छ । दुई कम्पनीबीच सोमबार नेपालको बित्तीय क्षेत्रका कर्मचारीहरुलाई क्षमता अभिवृद्धि गर्ने सम्बन्धमा आपसी समझदारी पत्रमा हस्ताक्षर भएको हो । गएकाे साेमबारबाट बिएफआइएन र सियुटिएमको संयुक्त आयोजनामा लघुवित्त संस्थाका कर्मचारीहरुको लागि विश्वविद्यालय परिसर भुवनेश्वर, उडिसा, भारतमा संचालन गरिएको ५ दिने ‘नानो माइक्रो एण्ड एसएमइ इन्ट्रप्रेनरसिप इको सिस्टम डेभलपमेन्ट’ विषयक तालिमको उद्घाटन समारोहमा उक्त सम्झाैता भएको हो । समझदारी पत्रमा बिएफआइएनको तर्फबाट प्रबन्ध निर्देशक डा. विनोद आत्रेयज्यूले र सियुटिएमको तर्फबाट उपकुलपति डा. सुप्रिया पट्नायकज्यूले हस्ताक्षर गरे ।

उत्पादनशील क्षेत्रमा लगानी नगर्ने बीमा कम्पनीलाई कारबाही गर्दै समिति

काठमाडौं । बीमा व्यवसाय सञ्चालन गरिरहेका अधिकांश बीमा कम्पनीले उत्पादनशील तथा पूर्वाधार क्षेत्रमा लगानी गर्न चासो देखाएका छैनन् । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिबाट इजाजत प्राप्त गरेका कूल ४० कम्पनीमध्ये ३२ वटा बीमा कम्पनी कृषि, पर्यटन र जलश्रोत लगायतका पूर्वाधार क्षेत्रमा लगानी गर्न इच्छुक नरहेको पाइएको छ । लगानी गरेका कम्पनीले पनि आफूले लगानी गर्नुपर्नेभन्दा कम रकम मात्रै लगानी गरेका पाइएको छ । बीमकको लगानी निर्देशिका, २०७५ अनुसार समितिबाट इजाजत प्राप्त बीमकले कूल टेक्निकल रिजर्भको २० प्रतिशतसम्म कृषि, पर्यटन र जलश्रोत लगायतका पूर्वाधार क्षेत्रमा लगानी गर्नुपर्ने सीमा तोकिएको छ । सो निर्देशिका अनुसार हालसम्म १७ वटा जीवन बीमा, १४ वटा निर्जीवन बीमा र एक पूनर्बीमा कम्पनी गरी कूल ३२ कम्पनीले तोकिए अनुसार लगानी नगरेको पाइएको छ । यससँगै निर्देशिका बमोजिम उक्त क्षेत्रमा लगानी नगरेको भन्दै समितिले जीवन, निर्जीवन र पुनर्बीमा कम्पनी गरी कुल ३२ वटै कम्पनीलाई पत्राचार गरेको छ । ‘निर्देशिकामा तोकिएअनुसार अधिकांश कम्पनीले कृषि, पर्यटन र जलश्रोत लगायतका पूर्वाधार क्षेत्रमा लगानी नगरेको पाइयो । त्यसैले हामीले लगानी गर्नको लागि पत्राचार गरेका छौं’ समितिका प्रवक्ता राजुरमण पौडेलले भने । कुन कुनले गरेका छैनन् ? बीमा समितिका अनुसार जीवन बीमा कम्पनीमध्ये राष्ट्रिय बीमा संस्थान, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी, लाइफ इन्स्योरेन्स कर्पोरेशन, मेट लाइफ, एशियन लाइफ, सूर्या लाइफ, गुराँस लाइफ, आईएमई लाइफ, यूनियन लाइफ, ज्योती लाइफ, सन नेपाल लाइफ, रिलायन्स लाइफ, रिलायबल नेपाल लाइफ, सिटिजन लाइफ, सानिमा लाइफ, प्रभु लाइफ र महालक्ष्मी लाइफले हालसम्म लगानी गरेका छैनन् । त्यस्तै, निर्जीवन बीमातर्फका दि ओरिएण्टल, राष्ट्रिय बीमा कम्पनी, नेशनल, हिमालयन जनरल, यूनाईटेड, प्रिमियर, एभरेष्ट, आईएमई जनरल, प्रुडेन्सियल, लुम्बिनी जनरल, सिद्धार्थ, सानिमा जनरल, जनरल र अजोड इन्स्योरेन्सले उक्त क्षेत्रमा लगानी गरेका छैनन् । त्यसैगरी, पूर्वाधार क्षेत्रमा समितिले तोकेअनुसार लगानी नगर्नेमा पुनर्बीमा तर्फको नेपाल पुनर्बीमा कम्पनी पनि रहेको छ । यी कम्पनीले समितिको निर्देशिका बमोजिम उक्त उत्पादनशील तथा पूर्वाधार क्षेत्रमा लगानी नगरेमा अन्य क्षेत्रमा पनि लगानी गर्न नपाउने सम्भावना बढ्ने छ । ‘अहिले लगानी गर्नको लागि पत्र पठाएका हौं । यसपछि पनि उक्त क्षेत्रमा लगानी नगरेमा त्यस्ता कम्पनीलाई अन्य सबै क्षेत्रमा लगानी गर्न रोक लगाउने विचारमा बीमा समिति रहेको छ’, प्रवक्ता पौडेलले विकासन्युजसँग भने । बीमकको लगानीको निर्देशिका अनुसार बीमा कम्पनीले लगानीको लागि आव्हान गरिएको कूल रकमको १० प्रतिशतभन्दा बढी रकम लगानी एउटै परियोजनामा गर्न पाउने छैनन् । साथै, उनीहरुले लगानी गर्ने कम्पनी पब्लिक अर्थात सरकारी कम्पनी हुनुपर्ने व्यवस्था रहेको छ । कुनै बीमा कम्पनीले निर्देशिकामा रहेको सीमाभन्दा बढी भएको लगानीको लागि समितिको स्वीकृति लिनुपर्ने छ । हालसम्म कुन कम्पनीले कति गरे लगानी ? बीमा समितिका अनुसार हालसम्म ८ वटा कम्पनीले मात्रै कृषि, पर्यटन र जलश्रोत लगायतका पूर्वाधार क्षेत्रमा लगानी गरेका छन् । लगानी गर्नेमध्ये २ जीवन बीमा कम्पनी र ६ निजीर्वन बीमा कम्पनी रहेका छन् । यससँगै जीवन बीमा कम्पनी मार्फत २ अर्ब एक करोड ८५ लाख ८० हजार रुपैयाँ र निर्जीवन बीमा कम्पनी मार्फत १३ करोड ४४ लाख ९६ हजार रुपैयाँ गरी कूल २ अर्ब १५ करोड ३० लाख७६ हजार रुपैयाँ उत्पादनशील क्षेत्रमा लगानी गरेका छन् । चालु आर्थिक वर्षको प्रथम त्रैमासिकसम्मको तथ्यांक अनुसार जीवन बीमामध्ये नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र प्राइम लाइफ इन्स्योरेन्सले मात्रै उक्त क्षेत्रमा लगानी गरेका छन् । जसमध्ये नेपाल लाइफ इन्स्योरेन्सले एक अर्ब ८६ करोड १६ लाख ४० हजार रुपैयाँ र प्राइम लाइफ इन्स्योरेन्सले १५ करोड ६९ लाख ४० हजार रुपैयाँ लगानी गरेको छ । त्यस्तै, निर्जीवन बीमा तर्फबाट नेपाल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, शिखर इन्स्योरेन्स र एनएनलजी इन्स्योरेन्सले कुल १३ करोड ४४ लाख ९६ हजार रुपैयाँ बराबरको लगानी गरेका छन् । जसमध्ये नेपाल इन्स्योरेन्सले २ हजार, नेकोले २ करोड ३८ लाख ११ हजार, सगरमाथाले ८९ लाख ४७ हजार, प्रभुले ४ करोड ६६ लाख ९१ हजार, शिखरले ३ करोड ७८ लाख ४७ हजार र एनएलजीले एक करोड ७१ लाख ९८ हजार रुपैयाँ बराबरको कृषि, पर्यटन र जलश्रोत लगायतका पूर्वाधार क्षेत्रमा लगानी गरिसकेका छन् ।