मोटर बीमामा कम्पनीहरुलाई ५० प्रतिशत फाइदा

काठमाडौं । सरकारले अनिवार्य गराएको मोटर तथा तेस्रो पक्ष बीमामा बीमा कम्पनीहरुलाई करिब ५० प्रतिशत फाइदा हुने गरेको तथ्यांकले देखाएको छ । बीमा कम्पनीहरुले संकलन गरेको बीमा शुल्कको आधा रकम पनि दाबी भुक्तानीमा खर्च गर्नु नपरेकोले आम्दानी बढी देखिएको हो । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले दिएको जानकारी अनुसार गत आर्थिक वर्षमा बीमा कम्पनीहरुले १० अर्ब ४५ करोड ३८ लाख रुपैयाँ मोटर बीमा शुल्कबाट उठाएका थिए । सो आर्थिक वर्षमा कम्पनीहरुले ५ अर्ब ६५ करोड ९० लाख रुपैयाँ दाबी भुक्तानी गरेका छन् । कम्पनीहरुले गत आर्थिक वर्षमा दुई पांग्रे सवारी साधनको बीमाबाट २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए । सोही आर्थिक वर्षमा कम्पनीहरुले दुई पांग्रे सवारी साधनको लागि ९० करोड ६२ लाख रुपैयाँ दाबी भुक्तानी गरेका थिए । यस्तै, चार पांग्रे सवारी साधनको बीमाबाट गत आर्थिक वर्षमा ८ अर्ब १० करोड ६९ लाख रुपैयाँ बीमा शुल्क संकलन भएको थियो । कम्पनीहरुले गत आर्थिक वर्षमा ४ अर्ब ७५ करोड २७ लाख रुपैयाँ दाबी भुक्तानी गरेका थिए । विगत वर्षहरुको तथ्यांकले पनि मोटर बीमामा कम्पनीहरुलाई ५० प्रतिशतकै हाराहारीमा फाइदा भएको देखाउँछ । कम्पनीहरुले आर्थिक वर्ष २०७५/७६ मा १० अर्ब ८६ करोड २२ लाख रुपैयाँ मोटर बीमा शुल्क संकलन गरेका थिए । सो आर्थिक वर्षमा कम्पनीहरुले ६ अर्ब ३ करोड ९३ लाख रुपैयाँ दाबी भुक्तानी गरेका थिए । यस्तै, आर्थिक वर्ष २०७४/७५ मा कम्पनीहरुले ९ अर्ब ५४ करोड ४ लाख रुपैयाँ मोटर बीमा शुल्क संकलन गरेका थिए । सो आर्थिक वर्षमा कम्पनीहरुले मोटरबीमामा ५ अर्ब ४२ करोड ९२ लाख रुपैयाँ दाबी भुक्तानी गरेका थिए । बीमा समितिले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७३/७४ मा कम्पनीहरुले ८ अर्ब १७ करोड ५ लाख रुपैयाँ मोटरबीमा शुल्क संकलन गरेका थिए । सो आर्थिक वर्ष बीमा कम्पनीहरुले ३ अर्ब ६७ करोड ८७ लाख रुपैयाँ दाबी भुक्तानी गरेका थिए । संचालनमा रहेका निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरुले मोटरबीमा गर्न पाउँछन् ।

४८ हजार बढीले पाए कोरोना बीमा दाबी भुक्तानी

काठमाडौं । कोरोना बीमा वापत हालसम्ममा ४८ हजार बढीले कोरोना दाबी भुक्तानी पाएका छन् । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिका अनुसार कोरोना बीमामा परेका दाबीमध्ये फागुन २१ गतेसम्ममा ४८ हजार ६९ जनाले ४ अर्ब ६६ करोड ३० लाख रुपैयाँ बराबरको भुक्तानी पाएका हुन् । यो अवधिमा सबै बीमा कम्पनीमा गरी ८४ हजार ८७४ वटा दाबीको मात्र कागजात पूरा भएको समितिले जनाएको छ । जसमध्ये करिब ४८ हजार ०६९ को फागुन २१ गते शुक्रबारसम्ममा भुक्तानी भएको हो । भुक्तानी हुन बाँकी दाबीमध्ये ३ हजार ११२ वटा स्वीकृतिको प्रक्रियामा रहेको, १० हजार ९४६ वटा दाबी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) मा पेन्डिङ्ग र ४ हजार २३३ वटा दाबी ईडीसीडीमा पठाउने तयारीमा रहेको समितिले जनाएकाे छ । त्यस्तै, समितिको तथ्यांक अनुसार ३ हजार ६३९ वटा दाबी भुक्तानीका लागि बीमा कम्पनीमा पठाइएको छ । त्यसैगरी, १४ हजार ३९३ दाबी उपर छानबिन (परीक्षण) भइरहेको र ४८२ वटा दाबी भुक्तानीयोग्य नरहेको समितिले जनाएको छ ।

एभरेष्ट इन्स्योरेन्सले घोषणा गर्यो गत वर्षको लाभांश

काठमाडौं । एभरेष्ट इन्स्योरेन्सले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई ८.४२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । फागुन २० गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशत नगद लाभांश गरी कूल ८.४२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई बीमा समितिले स्वीकृत तथा कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्रको लाभांश पाउने छन् । हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ९ करोड रुपैयाँ रहेको छ । ८ प्रतिशत बोनस पछि कम्पनीको चुक्ता पुँजी एक अर्ब १८ करोड रुपैयाँ नाघ्ने छ । यसअघि कम्पनीले आर्थिक वर्ष २०७३/७४ र आर्थिक वर्ष २०७२/७३ को नाफाबाट सेयरधनीलाई क्रमशः १० प्रतिशत र २० प्रतिशत लाभांश वितरण गरेको थियो ।