एशियन लाइफ इन्स्योरेन्सले आव २०७५/७६ को लाभांश नदिने

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ । कम्पनीले आज (फागुन १९ गते) बुधबार सूचना जारी गर्दै उक्त जानकारी गराएको हो । फागुन १८ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । कम्पनीले उक्त आवको नाफा तथा नोक्सानबाट प्राप्त सञ्चित नाफा जगेडा कोषमा राख्ने जानकारी गराउँदै लाभांश वितरण नगर्ने बताएको हो । कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७४/७५ को नाफाबाट पनि सेयरधनीलाई लाभांश वितरण गरेको थिएन ।

राष्ट्रिय बीमा संस्थानको नयाँ शाखा चाबहिल र सूर्यविनायकमा, उपत्यकामा मात्रै ४ वटा शाखा

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले काठमाडौंको चाबहिलमा १७ औं र भक्तपुरको सूर्यविनायकमा १८ औं शाखा सञ्चालनमा ल्याएको छ । संस्थानको चाबहिल शाखाको सोमबार काठमाडौं महानगरपालिका वडा नं. ७ का अध्यक्ष सुतकुमार डँगोल र संस्थान सञ्चालक समितिका अध्यक्ष गंगाराम कँडेलले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । चाबहिल शाखाको उद्घाटन गर्दै अध्यक्ष डँगोलले चाबहिल क्षेत्रमा शाखा सञ्चालनमा ल्याएकोमा आभार प्रकट गर्दै सो क्षेत्रमा बीमा व्यवसाय र साक्षरता अभियान चलाउन आग्रह गरे । संस्थान सञ्चालक समितिका अध्यक्ष कँडेलले बीमा जीवनको सुरक्षाका साथै राष्ट्रको आर्थिक विकासका लागि पनि मेरुदण्ड भएको बताए । चाबहिलमा शाखा सञ्चालनमा आएपछि सो क्षेत्रका बासिन्दा केन्द्रिय कार्यालयसम्म पुगिरहन नपर्ने उनले बताए । संस्थानका प्रशासन कवि पाठकले जीवन बीमामै जेठो कम्पनी संस्थान जीवन बीमा व्यवसायमा जीवन बीमा कोषको आधारमा चौंथो र बीमाशुल्क संकलनको आधारमा तेस्रो स्थान हासिल गर्न संस्थान सफल भएको बताए । नेपाली बीमा बजारमा आफनो हिस्सा क्रमशः बढाउदै लाने कार्यमा संस्थान अझ प्रयत्नशील रहने उनको भनाई थियो । सो अवसरमा संस्थानका नायब महाप्रबन्धक महेश रिमाल, चाबहील शाखाका प्रमुख लक्ष्मीकुमार गुप्तालगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा चाबहील शाखाबाट बीमा गर्नेहरुलाई बीमालेख हस्तान्तरण गरिएको थियो । यस्तै संस्थानको सूर्यविनायकमा सञ्चालनमा आएको नयाँ शाखाको मङ्गलबार सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापा र संस्थानका अध्यक्ष कँडेलले संयुक्त रुपमा उद्घाटन गरे । मेयर थापाले संस्थानलाई स्थानीय निकायमा शाखा सञ्जाल विस्तार गर्न आग्रह गर्दै यसका लागि जनप्रतिनिधिको सहयोग रहने  प्रतिवद्धता व्यक्त गरे । सो अवसरमा संस्थानका अध्यक्ष कँडेल, प्रशासक पाठक, संस्थानका नायब महाप्रबन्धक महेश रिमाल, सूर्यविनायक शाखा प्रमुख दिलकुमार लामालगायतको उपस्थिति रहेको थियो । संस्थानको काठमाडौंको कलंकीमा अर्को शाखा सञ्चालनमा आइसकेको छ भने ललितपुरको लगनखेलमा पनि तयार भएको कार्यालयबाट छिटै कारोबार शुरु हुन लागेको संस्थानले जनाएको छ । योसँगै संस्थानको उपत्याकाभित्र शाखा संख्या चार पुगेको छ ।

नेपाल लाइफ इन्स्योरेन्सको नवनिर्वाचित दुई सञ्चालकले गरे पदवहाली

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको नवनिर्वाचित दुई सञ्चालकले पदवहाली गरेका छन् । कम्पनीको वार्षिक साधारणसभाबाट निर्विरोध निर्वाचित भएका बिमल प्रसाद ढकाल र कृष्णराज लामिछानेले फागुन ११ गते पदवहाली गरेका हुन् । सञ्चालक समितिमा सर्वसाधारण समूह ‘ख’ का सेयरवालाको प्रतिनिधित्व गर्ने गरि सञ्चालक पदमा निर्वाचित भएका दुई सञ्चालकले फागुन ११ गते बसेको बैठकको अवसरमा पदबहाली गरेका हुन् । त्यस्तै, उक्त बैठकले सर्वसाधारण समूह अन्तर्गत सेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आएका प्रकाश मुन्दराले राजिनामा दिएका छन् । उनले २०औं वार्षिक साधारणसभाको मिति पश्चात लागू हुने गरी राजिनामा दिएका हुन् । कम्पनीको २०औं वार्षिक साधारणसभा गत माघ २८ गते सम्पन्न भएको थियो । सम्बन्धित समाचार नेपाल लाइफले अंकित मूल्य ५० रुपैयाँ बनाउने निश्चित, पारित भयो ५१ प्रतिशत लाभांश नेपाल लाइफको सीईओमा सन्तोष प्रसाई नियुक्त, सञ्चालकमा दुई जना निर्वाचित