नेशनल लाईफ दोश्रो स्थानमा उक्लियो, कूल बीमाशुल्क १२ अर्ब माथि
काठमाडाैं । जीवन बीमा व्यवसायमा नेशनल लाईफ इन्स्योरेन्सले चमत्कारिक प्रगति हासिल गर्न सफल भएको छ । प्रथम बीमाशुल्कको आधारमा गत आर्थिक वर्षमा देशकै ठुलो कम्पनी मध्ये एक एलआईसी नेपाललाई उछिन्न सफल भई नेशनल लाईफ दोश्रो स्थानमा उक्लिएको हो । कूल बीमाशुल्क १२ अर्ब १६ करोड सहित प्रथम बीमाशुल्क चार अर्बभन्दा माथि पुर्याउन सफल भएको छ । बीमा समितिको सुत्र अनुसार एलआइसी नेपालको प्रथम बीमाशुल्क ३ अर्ब ५५ करोड आर्जन गरी तेश्रो स्थानमा रहेको छ भने युनियन लाईफको ३ अर्ब १९ करोड संकलन गरी चौथो स्थानमा रहेको छ । आर्थिक वर्ष २०७७/०७८ मा कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा ७० प्रतिशतभन्दा बढि प्रथम बीमाशुल्क संकलन गर्न सफल भएको हो । त्यस्तै, कम्पनीकाे नविकरण बीमाशुल्क समेत उल्लेख्य रुपमा वृद्धि भएको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षमा जम्मा नौ अर्ब २६ करोड ७४ लाख कूल बीमाशुल्क संकलन गरेकोमा गत आ.व.मा १२ अर्ब १६ करोड ५५ लाख रुपैयाँ कूल बीमाशुल्क संकलन गरेको थियाे । सबै वित्तिय सूचांकमा उल्लेख्य प्रगति गरेको कम्पनी अब नेपालको दोश्रो ठूलो जीवन बीमा कम्पनी बन्न पुगेको छ । नेपालको सबैभन्दा ठूलो जीवन बीमा कम्पनी नेपाल लाईफ हो । सो कम्पनीले गत आर्थिक वर्षमा करिब ३२ अर्ब ८४ करोड कूल बीमाशुल्क आम्दानी गरेको छ ।
युनियन लाइफ इन्स्योरेन्सको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल
काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त भएको छ । सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि युनियन लाइफ इन्स्योरेन्स र प्रभु क्यापिटलबीच सम्झौता भएको हो । इन्स्योरेन्सले २०७८ साउन १ गतेदेखि लागू हुने गरी २ वर्षको लागि प्रभु क्यापिटल लिमिटेडलाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको हो । यससँगै, युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेजी गर्ने, नामसारी तथा रोक्का राख्ने एवं शेयरधनीहरुको लगत अद्यावधिक गर्ने लगायतका कार्यहरु सेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेडले गर्नेछ ।
ग्लोबल कलेजका विद्यार्थीलाई नेपाल लाइफ इन्स्योरेन्समा इन्टर्न गर्ने अवसर
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ग्लोबल कलेज अफ म्यानेजमेन्टबीच सोमबार एक कार्यक्रमका बीच एमओयु सम्पन्न भएको छ । नेपाल लाइफको कर्पोरेट कार्यालयमा आपसी हितका लागि अगाडि बढ्ने सम्झौता भएको हो । ग्लोबल कलेजका विद्यार्थीहरुका लागि नेपाल लाइफमा इन्टर्न गर्ने अवसर प्रदान हुने छ । त्यसैगरी जीवन बीमा शिक्षामा नेपाल लाइफले ग्लोबल कलेजलाई सघाउने सम्झौतामा उल्लेख छ । साथै, बीमा सचेतना अभियानमा पनि ग्लोबल कलेजको साथ सहयोग रहने सम्झौतामा समेटिएको छ । उक्त सम्झौतापत्रमा नेपाल लाइफका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाई र ग्लोबल कलेजका तर्फबाट प्रिन्सिपल डा. देवराज पनेरुले हस्ताक्षर गरेका छन् । उक्त कार्यक्रममा नेपाल लाइफका मानव संसाधन प्रमुख बन्दना शर्मा तथा ग्लोबल कलेजका प्रोगाम कोअर्डिनेटर विराज घिमिरेको उपस्थिति रहेको थियो ।