बीमा क्षेत्रमै उत्कृष्ट बन्यो शिखर इन्स्योरेन्स, पायो कर्पोरेट एक्सेलेन्स अवार्ड
काठमाडौं । शिखर इन्स्योरेन्स ‘अवार्ड फर कर्पोरेट एक्सेलेन्स २०२१’ बाट सम्मानित भएको छ । कर्पोरेट क्लब नेपालले जीवन तथा निर्जीवन बीमा विधातर्फ शिखर इन्स्योरेन्सलाई उक्त अवार्ड प्रदान गरेको हो । क्लबले विभिन्न वित्तीय तथा गैर वित्तीय सुचकांकहरु तथा अन्य विभिन्न ५ वटा आधारहरूमा विश्लेषण गरी यो अवार्ड प्रदान गरेको जनाएको छ । जसमा सुशासन तथा व्यावसायिक कृयाकलापमा नविनता, ग्राहक सन्तुष्टि तथा ग्राहक विस्तार, सम्मानजनक ब्राण्ड पहिचान र समावेशी तथा निष्पक्ष रोजगारको वातावरण तथा उत्कृष्ट रोजगारीको अनुभव लगायतका आधारहरू छन् । इन्स्योरेन्सले हाल १०६ वटा शाखा कार्यालयहरुबाट आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ, जहाँ ६१० भन्दा बढी कर्मचारीहरु कार्यरत रहेका छन् । शिखर इन्स्योरेन्सले मौसमी सूचकांकमा आधारित कृषि बीमा, शतप्रतिशत नगदरहित स्वास्थ्य बीमा, मोटर अतिरिक्त लाभ बीमा, दक्क मनिस्थिति बीमा, कोभिड १९ भ्याक्सिन तथा अन्य भ्याक्सिनको प्रयोगशाला परिक्षण बीमा जस्ता नविनतम बीमाको सुरुवात गरी नेपालमा बीमाको विस्तार गर्न उल्लेखनिय योगदान पुऱ्याउँदै आइरहेको छ। इन्स्योरेन्सलाई विगतमा पनि अन्य विभिन्न निकायहरुबाट बेष्ट म्यानेज्ड इन्स्योरेन्स कम्पनी अफ द इयर तथा बेष्ट इन्स्योरेन्स कम्पनी अफ द इयरबाट सम्मान प्रदान गरिएको थियो । साथै शिखर इन्स्योरेन्स ‘ए’ रेटिङ प्राप्त नेपालको पहिलो तथा एक मात्र बीमा कम्पनीका रुपमा रहेको छ ।
बीमक संघको अध्यक्षमा क्षेत्री निर्विरोध, उपाध्यक्षमा बैदवार र महासचिवमा खड्का
काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुको संगठन नेपाल बीमक संघको अध्यक्षमा चंकी क्षेत्री चयन भएका छन् । पुस २३ गते भएको संघको अधिवेशनमा क्षेत्रीको नेतृत्वमा ९ जनाको नयाँ कार्यसमिति चयन भएको हो । नयाँ कार्यसमितिको लागि उम्मेदवारी मनोनयन दर्ता गर्ने समय सम्ममा सबै पदाधिकारीमा एक/एक जना र कार्यसमिति सदस्यमा ५ जनाको मात्र उम्मेदवारी दर्ता भएको नवनिर्वाचित अध्यक्ष क्षेत्रीले जानकारी दिए । नवनिर्वाचित अध्यक्ष क्षेत्री सगरमाथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । उनी यसअघि संघको महासचिवमा थिए । त्यस्तै, उपाध्यक्षमा बिरेन्द्र बैदवार चयन भएका छन् । उनी सिद्धार्थ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत हुन् । त्यस्तै, महासचिवमा नेको इन्स्योरेन्सका सीईओ अशोक खड्का चयन भएका छन् । कोषाध्यक्षमा युगेशभक्त बादे श्रेष्ठ निर्विरोध चयन भएका छन् । श्रेष्ठ आईएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिृकत हुन् । त्यसैगरी, कार्यसमिति सदस्यमा ५ जना चयन भएका छन् । जसमा प्रभु इन्स्योरेन्सका सञ्चित बज्रचार्य, अजोड इन्स्योरेन्सका कुमार बहादुर खत्री, राष्ट्रिय बीमा कम्पनीका सुवास कोइराला, जनरल इन्स्योरेन्सका रामचन्द्र श्रेष्ठ र ओरियन्टलका बिनोद घाते निर्विरोध चयन भएका छन् । संघको वार्षिक साधारणसभा शुक्रबार अपरान्ह ४ बजे बस्दै छ । साधारणसभापछि नयाँ नेतृत्वकाे औपचारिक घोषणा कार्यक्राम रहेको छ ।
बीमा कम्पनीले ९० दिनभित्रै सीईओ नियुक्ति गरिसक्नुपर्ने
काठमाडौं । सञ्चालित बीमा कम्पनीहरुले ३ महिना अर्थात ९० दिनभित्र प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गर्नुपर्ने छ । नियामक निकाय बीमा समितिले सञ्चालित कुनै पनि जीवन तथा निर्जीवन बीमा कम्पनीको सीईओको पद खाली भएको ३ महिनाभित्रमा नयाँ सीईओ नियुक्त गरिसक्नुपर्ने जनाएको हो । समितिले हालै बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७८ को पहिलो संशोधन गर्दै सो व्यवस्था गरेको हो । साथै, उक्त संशोधित निर्देशिका अनुसार कम्पनीहरुले प्रत्येक आर्थिक वर्षको असार मसान्तभित्र आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम र बजेट तयारी गरी सञ्चालक समितिबाट स्वीकृत गराउनुपर्ने छ । र, स्वीकृत भएको मितिले १५ दिनभित्रमा बीमा समिति समक्ष पेश गर्नुपर्ने छ । त्यस्तै, यो निर्देशिका तत्काल कार्यान्वयनमा ल्याइने समितिले जनाएको छ ।