एशियन लाइफ इन्स्योरेन्सले डाक्यो साधारण सभा, तोक्यो बुक क्लोज मिति

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले आगामी माघ २१ गते वार्षिक साधारणसभा गर्ने भएको छ । पुस २८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त दिन आफ्नो १३औं साधारण सभा गर्ने निर्णय गरेको हो । उक्त सभामा जान कम्पनीले आगामी माघ १२ गते बुक क्लोज गर्दै छ । यससँगै माघ ११ गतेसम्म कायम सेयरधनीले इन्स्योरेन्सको प्रस्तावित लाभांश पाउने छन् । सभाले सेयरधनीलाई २५ प्रतिशत बोनस र कर सहित २ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्दै छ । त्यस्तै, सभाले इन्स्योरेन्सको ५१ प्रतिशत स्वामित्व रहेको एशियन क्यापिटलमा सामूहिक लगानी कोष सञ्चालन गर्न स्वीकृति लिन सञ्चालक समितिलाई अख्तियारी दिने छ ।

प्रिमियर इन्स्योरेन्सको लाभांश परिमार्जन, दोब्बरले बढ्यो बोनसदर

काठमाडौं । प्रिमियर इन्स्योरेन्सले प्रस्तावित लाभांश पारिमार्जन गरेको छ । कम्पनीले बीमा समितिको निर्देशन मान्दै यसअघि प्रस्ताव गरेको लाभांशमा परिमार्जन गरेको हो । पारिमार्जित लाभांश अनुसार कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस र ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । जुन बीमा समितिले स्वीकृति पनि गरिसकेको छ । कम्पनीले यसअघि प्रस्ताव गरेकोमा बोनसदर करिब दोब्बरले बढाएर र नगद लाभांशदर घटाएर प्रस्ताव गरेको हो । इन्स्योरेन्सले यसअघि सेयरधनीलाई बोनस र नगद लाभांश बराबर वितरण गर्ने प्रस्ताव गरेको थियो । तर बीमा समितिले नगद लाभांश वितरणमा रोक लगाएपछि इन्स्योरेन्सले लाभांशमा फेरबदल गरेको हो । यससँगै समितिले स्वीकृति दिएको परिमार्जित लाभांशलाई इन्स्योरेन्सको वार्षिक साधारणसभाले पारित गर्नुपर्ने हुन्छ । त्यसपछि मात्रै सेयरधनीले उक्त लाभांश पाउने निश्चित हुन्छ । त्यस्तै, इन्स्योरेन्सले आगामी माघ २१ गते भर्च्युअल माध्यमबाट २८औं वार्षिक साधारणसभा गर्ने भएको छ । उक्त सभामा जाने प्रयोजनको लागि इन्स्योरेन्सले आगामी माघ ५ गते बुक क्लोज गर्दै छ । यससँगै माघ ४ गतेसम्म कायम सेयरधनीले प्रस्तावित १४.२५ प्रतिशत बोनस सेयर पाउने छन् ।

शिवम् सिमेन्टले थप ३ हजार बढी निर्माणकर्मीकाे गरिदियाे जोखिम बीमा

काठमाडाैं । शिवम् सिमेन्टले थप ३ हजार ४५ निर्माणकर्मीकाे ५ लाख बराबरको जोखिम बीमा गरिदिएकाे छ । शिवम्ले दैनिक निर्माण कार्यमा खटिने निर्माणकर्मीहरुकाे बीमा गरिदिएकाे हाे । शिवम् सिमेन्टले देशका विभिन्न ५२ स्थानहरुमा रहेका निर्माणकर्मीहरुसँग गरेका निर्माण सम्बन्धी प्राविधिक अन्तर्क्रिया कार्यक्रमा उनीहरुलाई उक्त बीमा पाेलिसी प्रदान गरेकाे छ ।  । उक्त अन्तर्क्रिया कार्यक्रममा उपस्थित निर्माणकर्मीहरुलाई दक्ष एवंम अनुभवी प्राविधिकद्वारा सिमेन्ट सम्बन्धी जानकारी, निर्माण सामाग्रीको गुणस्तर मापन तथा छनौट प्रक्रिया, निर्माणकर्मीहरुलाई दिनहुँ आईपर्ने निर्माण सम्बन्धी समस्याहरुको समाधानका उपाय र सिमेन्ट भण्डारण सम्बन्धी विस्तृत जानकारी गराईएको थियो ।