दुई निर्जीवन बीमा कम्पनीले ९९ कराेड रूपैयाँकाे हकप्रद जारी गर्ने
काठमाडौं । दुई निर्जीवन बीमा कम्पनीले ९९ करोड ५ लाख रूपैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने भएका छन् । शिखर इन्स्योरेन्स कम्पनी र आईएमई जनरल इन्स्योरेन्सले अब छिट्टै नेपाली पुँजीबजारमा ९९ करोड ५ लाख ९१ हजार रूपैयाँ बराबरको हकप्रद सेयर निष्काशन तथा बिक्री गर्ने भएका हुन् । नेपाल धितोपत्र बोर्डले हकप्रद सेयर निष्काशन गर्नको लागि अनुमति दिएसँगै यी दुई इन्स्योरेन्सलाई सो मात्राको हकप्रद जारी गर्न बोटो खुला भएको हो । माघ ५ गते बसेको बोर्डको सञ्चालक समितिको बैठकले लामो समयअघिदेखि पाइपलाइनमा रहेका शिखर इन्स्योरेन्स र आईएमई जनरल इन्स्योरेन्सलाई हकप्रद जारी गर्न स्वीकृति दिएको बोर्डका कार्यकारी निर्देशन निरज गिरीले जानकारी दिए । जसमध्ये शिखर इन्स्योरेन्सले करिब ८ महिना र आईएमई जनरल इन्स्योरेन्सले करिब ५ महिनाको पर्खाइपछि बल्ल स्वीकृति पाएका हुन् । यससँगै शिखरले ३० प्रतिशत अर्थात ५२ करोड ७५ लाख ५७ हजार २०० रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने छ । बोर्डले इन्स्योरेन्सलाई अंकित मूल्य एक सय रुपैयाँ दरको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रदको लागि स्वीकृति दिएको हो । उक्त हकप्रद सेयर निष्काशन गर्नको लागि इन्स्योरेन्सले निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेको छ । हाल शिखरको चुक्ता पुँजी एक अर्ब ७५ करोड ६१ लाख रुपैयाँ छ । ५२ करोड ७५ लाख रुपैयाँ बराबरको हकप्रदपछि शिखर इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब २८ करोड ३६ लाख रुपैयाँ पुग्ने छ । त्यस्तै, गत भदौ १७ गते बोर्डसँग स्वीकृति मागेको आईएमई जनरल इन्स्योरेन्सले करिब ५ महिनापछि हकप्रदको लागि स्वीकृति पाएको छ । बोर्डले आईएमई जनरललाई ४० प्रतिशत हकप्रद सेयर जारी गर्न स्वीकृति दिएको हो । यससँगै इन्स्योरेन्सले अंकित मूल्य १०० रुपैयाँ दरका ४६ लाख ३० हजार ३४४ कित्ता अर्थात ४६ करोड ३० लाख ३४ हजार ४०० रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्ने छ । उक्त सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ । हाल आइएमई जनरल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब १५ करोड ७५ लाख रुपैयाँ छ । ४६ करोड ३० लाख रुपैयाँपछि इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ६२ करोड ५ लाख रुपैयाँ पुग्ने छ । सूचीकृत कम्पनीको नियमकारी निकाय नेपाल धितोपत्र बोर्ड लामो समयदेखि नेतृत्वबिहीन भएकाले हकप्रद तथा आईपीओको लागि अनुमति दिने कार्य भएको थिएन । हाल पनि बोर्ड नेतृत्वबिहीन नै रहेको छ । तर, बोर्डका कार्यकारी निर्देशक निरज गिरीले अध्यक्ष पदको जिम्मेवारी पाएपछि बोर्डले हकप्रद तथा आईपीओको अनुमति दिने कार्य शुरु गरेको हो । साथै, अब अन्य दुई कम्पनी हकप्रद सेयर निष्काशन गर्नेको पाइपलाइनमा छन् । जसमा अपि पावर कम्पनी र नेपाल फाइनान्स रहेका छन् । अब बोर्डले स्वीकृति दिएपछि अपि पावरलाई १ अर्ब ८ करोड रुपैयाँ र नेपाल फाइनान्सलाई ३४ करोड ५४ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन तथा बिक्री गर्न बाटो खुल्ने छ ।
नेको इन्स्योरेन्सले १५ प्रतिशत बोनस सेयर दिने
काठमाडौं । नेको इन्स्योरेन्सले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । माघ ३ गते बिहान बसेको कम्पनी सञ्चालक समितिले उक्त प्रस्ताव गरेको हो । इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको १५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई बीमा समितिले स्वीकृत तथा इन्स्योरेन्सको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ ।
अजोड इन्स्योरेन्सको पर्वतमा घुम्ति बीमा सेवा कार्यक्रम सम्पन्न
काठमाडाैं । अजोड इन्स्योरेन्सको आयोजनामा पुस २८ र २९ गते पर्वत जिल्लाको जलजला गाऊपालिकामा घुम्ति बीमा सेवा कार्यक्रम सम्पन्न भएको छ । जलजला गाऊपालिका वडा नं. ७ का वडा अध्यक्ष टुङ्गनाथ आचार्यको प्रमुख आतिथ्यमा संचालित कार्यक्रमको संचालन अजोड इन्स्योरेन्स पर्वत शाखाका प्रमुख बिक्रम ढुंगानाले गरेका थिए । कार्यक्रममा अजोड इन्स्योरेन्स अजोड इन्स्योरेन्सको पर्वतमा घुम्ति बीमा सेवा कार्यक्रम सम्पन्नप्रधान कार्यालयका कृषि विभाग प्रमुख दिपक पोखरेलले कृषि बीमाको अर्थ, महत्व तथा प्रभावकारीताको बारेमा जानकारी दिएका थिए । सो कार्यक्रममा धाइरिङका कृषकहरुका साथै अजोड इन्स्योरेन्सका बजार विभागका नायब प्रवन्धक यादव प्रसाद पाठकका साथै पशु सेवा शाखाका प्रविधिक नारायण आचार्यको उपस्थिति रहेको थियो ।