डेढ वर्षअघि नै बाहिरिँदै हिमालयन जनरलका सीईओ बज्राचार्य

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुशील बज्राचार्य कम्पनीबाट बाहिरिने भएका छन् । ४ वर्षको लागि नियुक्त भएका बज्राचार्य डेढ वर्ष अघि नै इन्स्योरेन्सको उक्त पदबाट बाहिरन लागेका हुन् । इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले उनको कार्यकाल आगामी मसान्तसम्मको लागि मात्रै हुने गरी करार संशोधन गरेसँगै उनले २०७८ माघसम्म मात्रै कार्यभार सम्हाल्ने छन् । बज्राचार्य २०७६ साउन १ गते इन्स्यारेन्सको सीईओ पदमा नियुक्त भएका थिए । उनले आगामी ४ वर्ष इन्स्योरेन्सको सीईओ पदमा रहेर जिम्मेवारी सम्हाल्ने गरी करार सम्झौता गरेका थिए । तर उनी चार वर्ष नबित्दै उक्त पदबाट बाहिरिने भएका छन् । सीईओ बज्राचार्य र कम्पनीले एक आपसी सहमतिमा करार संशोधन गरी २०७८ माघ मसान्तसम्म मात्रै कायम गरेको इन्स्योरेन्सले जानकारी गराएको छ । माघ ६ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । यससँगै आगामी फागुनदेखि इन्स्योरेन्सको सीईओ पद रिक्त हुने भएको छ ।

लाभांश परिमार्जन गर्दै ज्योति लाइफ इन्स्योरेन्सले बढायो बोनस सेयर

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सले प्रस्तावित लाभांश परिमार्जन गरेको छ । माघ ७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले यसअघिको प्रस्तावित लाभांशलाई परिमार्जन गरेको हो । लाभांश परिमार्जन गरेसँगै इन्स्योरेन्सले सेयरधनीलाई १० प्रतिशत बोनस र ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । जुन अघिल्लो प्रस्तावित बोनसको तुलनामा बढी हो भने नगद घटी हो । यसअघि कार्त्तिक १४ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सेयरधनीलाई ५ प्रतिशत बोनस र ५.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो । इन्स्योरेन्सले नियामक निकाय बीमा समितिको स्वीकृतिसँगै लाभांशमा परिमार्जन गरेको हो । उक्त लाभांश अब इन्स्योरेन्सको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । हाल इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब २० करोड रुपैयाँ रहेको छ । १० प्रतिशत बोनस पछि इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ४२ करोड रुपैयाँ पुग्ने छ ।

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा १५ लाखकाे जिवन बीमा दावी भुक्तानी

काठमाडाैं । सिटिजन लाइफ इन्स्योरेन्सकोले आशाराम खड्गीकाे परिवारलाई जीवन बीमा वापत १५ लाख बीमा दाबी रकम हस्तान्तरण गरेकाे छ । इन्स्योरेन्स कम्पनीकाे बानेश्वर शाखाले ललितपुर वडा नं ९ बस्ने ५४ वर्षका आशाराम खड्गीकाे मृत्युपछि उनकाे परिवारलाई उक्त रकम हस्तान्तरण गरेकाे हाे । खड्गीले १६ वर्षका लागि जिवन बीमा गराएकाेमा बीमा गरेको आठ महिनामा नै उनको निधन भएको थियो । उनको आफ्नै छोरी सरुना खड्गीले अभिकर्ता भई आफ्नो उनकाे बीमा गराएकी थिइन् ।