चितवनकाे खैरहनी नगरपालिकामा निःशुल्क कृषि बीमा

चितवन । पूर्वी चितवनको खैरहनी नगरपालिकाभित्रका किसानले निःशुल्क कृषि बीमा गर्न पाएका छन् । बीमा गरेवापत लाग्ने प्रिमियम रकम नगरपालिकाले किसानलाई उपलब्ध गराएको हो । चालु आर्थिक वर्ष २०७७/७८ देखि यो कार्यक्रम लागू गरिएको हो । किसानले उत्पादन गरेको तरकारीलगायत अन्य बालीमा प्राकृतिक प्रकोप आदिका कारण क्षति हुने समस्यालाई मध्यनजर गर्दै नगरपालिकाले निःशुल्क कृषि बीमा गर्ने कार्यक्रम ल्याएको नगरप्रमुख लालमणि चौधरीले बताए । हावाहुरी, असिनापानीका कारण प्रत्येक वर्षजसो क्षति बेहोर्दै आएका यहाँका किसानलाई राहतस्वरूप बीमा कार्यक्रम लागू गरिएको हो । प्रकृतिलाई कसैले रोक्न नसक्ने भन्दै प्रमुख चौधरीले भने, ‘आफ्नो बालीको बीमा गरे, त्यस्ता घटनाबाट हुने क्षतिमा राहत मिल्छ ।’ बीमाले जोखिमबाट किसान मुक्त हुने नगरप्रमुख चौधरीको विश्वास छ । दुई वर्षअघि असिनापानी र हावाहुरीका कारण सयौँ किसानको बालीमा क्षति पुगेपछि नगरपालिकाले मूल्याङ्कन गरेर राहत उपलब्ध गराएको थियो । बीमा कार्यक्रम ल्याएपछि पहिलो चरणमा १२ किसानले प्रिमियम रकम पाएका छन् । प्रिमियम रकम प्रदान गरेको थाहा पाएपछि थप केही किसानले समेत बीमा गरेको कागजपत्र पेश गरेका छन् । बाह्र किसानलाई बीमा गरेवापत रु ४५ हजार उपलब्ध गराइएको हो । नगरपालिकाका कृषि शाखा प्रमुख दीपेन्द्र अर्यालका अनुसार तरकारी, फलफूल, खाद्यान्न आदि बालीमा बीमा गर्दा सङ्घीय सरकारबाट किसानले प्राप्त गर्ने ७५ प्रतिशत प्रिमियममा अनुदान हुने व्यवस्था रहेकामा खैरहनी नगरपालिकाले २५ प्रतिशत किसानले तिर्नुपर्ने प्रिमियम शुल्कमा पनि अनुदान दिएर किसानले निःशुल्क बीमा गर्न सक्ने व्यवस्था मिलाएको हो । चालु आवमा प्रिमियम अनुदानमा चार लाख विनियोजन गरिएको थियो । सो बजेट आगामी आवका लागि वृद्धि गरी १० लाख यस कार्यक्रमलाई छुट्याइएको कृषि शाखा प्रमुख अर्यालले बताए । विभिन्न कारणबाट बालीमा हुने क्षति असरलाई न्यूनीकरण गर्ने तथा किसानलाई बाली बीमाप्रति आकर्षित गर्ने नगरपालिकाको योजना रहेको उनले जानकारी दिए ।

नेपाल लाइफ इन्स्योरेन्सबाट बिदा भए मेघेन्द्र प्रकाश गिरी

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सका कम्युनिकेसन एण्ड ब्राण्डिङ प्रमुख मेघेन्द्र प्रकाश गिरी बिदा भएका छन् । विगत ४० महिनादेखि इन्स्योरेन्समा कार्यरत रहेका गिरी आजबाट औपचारिक रुपमा बिदा भएका हुन् । एनआईसी एशिया बैंक हुँदै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ब्राण्डिङ र मिडियाको दुनियाँमा आफ्ने छुट्टै पहिचान बनाउन सफल गिरीले यस क्षेत्रमा दुई दशक पार गरिसकेका छन् । सिर्जनशिल सोचलाई व्यवहारमा उतार्न खप्पिस मेघेन्द्र प्रकाश गिरी नेपालको कर्पोरेट ब्राण्डिङको दुनियाँमा सफल पात्र मानिन्छन् । उनले हालै मात्र आफ्नै निर्देशन तथा योजनामा सन्देशमूलक भिडियो बनाएका थिए । उक्त भिडियो अहिलेको महामारीलाई मध्यनजर गर्दै सचेत बनौं! कोरोना विरुद्धको यो लडाई घरमै बसेर लडौं भन्ने सन्देश सहितको रहेको थियो । यस्तै, उनले यो अवधिसम्म साथ सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्तै साथ सहयोगको अपेक्षा गरेका बताएका छन् । ‘मेरो करियरको सुरुवातदेखि नै म र मेरो कर्मक्षेत्रलाई यो उचाईसम्म पुर्याउनको लागि सदैव उत्साह, हौसला, सकारात्मक मार्ग प्रदान गर्ने सबैलाई धन्यवाद व्यक्त गर्दछु । साथै, आगामी यात्रामा पनि यहाँहरुको निरन्तर विश्वास, सहयोग, सद्भाव एवं सत्मार्गको अपेक्षा गर्दछु ।’, बिँदा हुँदै गिरीले भने ।

पोखरेल दम्पत्तिले एक अर्कालाई दिए सिटिजन्स लाईफको ५०-५० लाखको बीमा पोलिसी

काठमाडौं । बैबाहिक जीवनको २७औं वर्ष पुरा भएको अवसरमा एक जोडीले एक अर्कालाई बीमा पोलिसी उपहार दिई मनाएका छन् । रुपन्देहीको बुटवल बस्ने अधिवक्ता सागरमणि पोखरेल र शिक्षक कमला ज्ञवालीले मंगलबार एक अर्कालाई ५०-५० लाखको बीमा पोलिसी दिएका हुन् । उनीहरुले वर्षगाठ फरक तरिकाले मनाई समाजमा सकारात्मक सन्देश दिएका छन् । लामो समयदेखि समाजसेवामा गर्दै आएका श्रीमान सागर पोखरेल पेशाले अधिवक्ता, सफल सहकारीकर्मी, बैंकका संस्थापक लगायत विभिन्न वित्तीय क्षेत्रमा रहेका छन् भने लामो समयदेखि बीमाको क्षेत्रमा पनि काम गर्दै आएका छन् । बिहान क्याम्पस र दिउँसो सरकारी विद्यालयमा अध्यापन गराउदै आएकी कमलाले, सिटिजन लाइफमा आफ्नो जीवनकालमा जम्मा गरेको रकमले बुढेसकालमा समेत उपयोगी हुने देखेपछि आफुहरुले बीमा गरेको बताइन् । सो कार्यक्रममा बोल्दै अधिवक्ता पोखरेलले आजसम्म आफुले खरिद गरेका सबै बीमा पोलिसी रकम तिरिसकेपछि सकिएको तर अहिले लिएको सिटिजन जीवन सारथी बाचुन्जेल चलिरहने बताए । र, आफुले बीमा गरेको रकम र बोनस फिर्ता लिगीसकेपछी पनि आफ्नो सुरक्षा रहिरहने भएकाले आफुलाई यो पोलिसी मनपरेको बताए । कार्यक्रममा बोल्दै एरिया म्यानेजर नरेश सिग्देलले उनीहरुले खरिद गरेको बीमा पोलिसी सबैभन्दा उत्तम रहेको दावी गरेका छन् । हरेक वर्ष विभिन्न रचनात्मक कार्य गर्दै आएका पोखरेल दम्पतिले आफ्नो अनुभव सुनाउँदै अहिलेसम्म ७ वटा बीमा पोलिसी परिपक्क भई आफुहरुलाई सो पैसाले छोराछोरीको उच्च शिक्षा लगायत विभिन्न कार्यहरुको लागि एकदमै सहयोगी भएको बताए ।