स्थानीय तहले चासो नदिएकाले रुकुममा बढेन स्वास्थ्य बीमामा आकर्षण

रुकुम (पूर्व) । रुकुम (पूर्व) का जनतामा स्वास्थ्यबीमाप्रतिको आकर्षण न्यून देखिएको छ । सरकारले विपन्न र गरिब समुदायका नागरिकका लागि गुणस्तरीय उपचार सेवामा पहुँच बढाउने उद्देश्यले सञ्चालन गरेको बीमा कार्यक्रममा जिल्लाका जनताको पहुँच न्यून छ । हालसम्म जिल्लामा ६ हजार ३८८ जना मात्रै सो कार्यक्रममा आवद्ध छन् । विसं २०६८ को तथ्याङ्क अनुसार जिल्लाको जनसङ्ख्या ५३ हजार १८ छ । जिल्लामा कूल जनसङख्याको १२ प्रतिशतले मात्रै हालसम्म स्वास्थ्य बीमा गरेका छन् । जिल्लाका तीन गाउँपालिकामा स्वास्थ्य बीमा गर्नेको सङ्ख्या उल्लेख्य रुपमा कम रहेको स्वास्थ्य बीमा बोर्ड रुकुम –पूर्व) का दर्ता अधिकारी सपना पुन (विष्ट)ले जानकारी दिइन् । स्थानीय तहले पनि चासो नदिँदा यहाँका जनता स्वास्थ्य बीमाको पहुँचमा पुग्न सकेका छैनन् । जिल्लामा २०७४ चैत १ गतेबाट स्वास्थ्य बीमा गर्न थालिएको थियो । विसं २०७६ भदौ १५ गते जिल्लामा स्वास्थ्य बीमा बोर्डको शाखा कार्यालय स्थापना गरिएको थियो । जिल्लामै कार्यालय स्थापना गरी बीमा कार्यक्रम सञ्चालन गरेपनि हालसम्म १२ प्रतिशत मात्रै स्वास्थ्य बीमामा आवद्ध भएका हुन् । जिल्लामा रहेको ३१ वडामध्ये अहिले २९ वडामा दर्ता सहयोग पनि राखिएको छ । भूमेको वडा नं ९ र पुथाउत्तरगङ्गा गाउँपालिकाको वडा नं ९ मा मात्रै दर्ता सहयोगीको पद रिक्त छ । यसअघि बीमितले जिल्लाबाटै उपचार सेवा नपाएकाले पनि बीमाप्रति आकर्षण कम देखिएको दर्ता अधिकारी पुनले बताइन् । यसअघि प्राथमिक स्वास्थ्य केन्द्र कोलबाट स्वास्थ्यबीमा गरेकाले उपचार सेवा पाउने गरेका थिए । त्यहाँ भरपर्दाे सेवा प्रवाह भएन । अहिले भने रुकुम पूर्व अस्पतालबाट पनि स्वास्थ्य बीमा गरेकाले उपचार सेवा पाउन थालेका छन् । अहिले जिल्लाबाटै उपचार सेवा पाउने भएपछि भने सहज भएको बीमित बताउँछन् । स्वास्थ्य बीमाको प्रावधानअन्तर्गत पाँच जनासम्मको परिवारले बीमा गरेपछि वार्षिक प्रतिपरिवार तीन हजार पाँच सय, परिवारका सदस्य पाँचभन्दा बढी भएमाप्रति सदस्य थप ७०० का दरले एक वर्षका लागि बीमामा आवद्ध हुने व्यवस्था छ । पाँच जनाको परिवारका लागि प्रतिपरिवार वार्षिक एक लाखसम्मको स्वास्थ्य सेवा पाइने तथा दश जनासम्म परिवारको सङ्ख्या भएमा दुई लाख बराबरको उपचार पाउने व्यवस्था रहेको छ । सत्तरी वर्ष माथिका ज्येष्ठ नागरिक, ‘क’ वर्गका अपाङ्ग एचआइभी सङ्क्रमित र अति विपन्न परिवारका लागि भने सरकारले निःशुल्क रुपमा स्वास्थ्य बीमा गर्दै आएको छ । रासस

रिलायन्स लाइफ इन्स्योरेन्सका डीसीईओ कँडेलले पाए कामुको जिम्मेवारी

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत निराजन कँडेलले कायम मुकायम (कामु) सीईओको जिम्मेवारी पाएका छन् । पुस ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कँडेललाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो । यससँगै कँडेलले पुस १३ गतेदेखि नै लागू हुने गरी अर्को व्यवस्था नभएसम्म इन्स्योरेन्समा कामु सीईओको कार्यभार सम्हाल्ने छन् । प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीको कार्यकाल सकिएसँगै इन्स्योरेन्सले कँडेललाई कामुको जिम्मेवारी दिने निर्णय गरेको हो । सीईओ पराजुलीको कार्यकाल गत पुस १२ गते सम्पन्न भएको हो ।

नेपाल लाइफ जाँदै प्रविणरमण पराजुली, डीसीईओको जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा प्रविणरमण पराजुली नियुक्त हुने भएका छन् । कम्पनीको सञ्चालक समितिको बैठकले रिलायन्स लाइफका सीईओ पराजुलीलाई नेपाल लाइफको डीसीईओमा नियुक्त गर्ने तयारी गरेको हो । उनलाई डीसीईओमा नियुक्त गर्नको लागि छलफल भइरहेको तर निर्णय भने भइसकेको छैन । आधिकारिक निर्णय भएपछि मात्रै पराजुलीले नेपाल लाइफमा डीसीईओको कार्यभार सम्हाल्ने छन् । पराजुलीले गत २०७४ पुस महिनादेखि रिलायन्स लाइफको सीईओ पदको जिम्मेवारी सम्हालेका थिए । ४ वर्षेको लागि नियुक्त भएका सीईओ पराजुलीको कार्यकाल गत पुस १२ गते मात्रै सकिएको हो । त्यसअघि उनले नविल इन्भेष्टमेन्ट बैंकिङमा प्रमुख कार्यकारी अधिकृतको रुपमा जिम्मेवारी सम्हालेका थिए । बीमा क्षेत्रमा ४ वर्ष काम गरेका पराजुलीसँग बैंकिङ र पुँजी बजारको समेत राम्रो ज्ञान र अनुभव छ ।