नेशनल लाईफका सीईओ खत्रीले गरे सुदूरपश्चिम पुगेर अभिकर्तालाई सम्मान
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले सुदूरपश्चि प्रदेशको महेन्द्रनगरमा अभिकर्ता भेला तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्री (सीईओ) को प्रमुख आतिथ्यतामा मंसिर ७ गते अभिकर्ता भेला तथा सम्मान कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा मार्केटिङ विभाग प्रमुख विवेक शर्माले उपस्थित अभिकर्ताहरुलाई बीमा विक्रय कला सम्वन्धमा प्रशिक्षण दिएका थिए । सीईओ खत्रीले, कम्पनीमा कार्यरत अभिकर्ताहरुलाई सक्षम र व्यवसायिक बनाउदै लैजाने नीति अनुरुप अभिकर्तासँग विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको बताए । कार्यक्रममा महेन्द्रनगर शाखासँग आवद्ध भई जीवन बीमा व्यवसायमा सक्रिय रहेका १७५ जना अभिकर्ताको उपस्थिती थियो । उक्त शाखाबाट उत्कृष्ठ व्यवसाय गर्ने अभिकर्ताहरुलाई सीईओ खत्रीलेले खादा माला र मायाको चिनोले सम्मान गरेका थिए । सम्मानित हुने अभिकर्ताहरुले कम्पनीका सीईओबाट आफ्नै कार्यथलोमा सम्मानित हुन पाउँदा खुशी लागेको बताएका थिए । कार्यक्रम महेन्द्रनगर शाखाका शाखा प्रमुख नविन किशोर भट्टले संचालन गरको थिए भने एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणाले सहभागी अभिकर्ताहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।
प्रुडेन्सियल इन्स्योरेन्सको सञ्चालकमा शर्मा र बिजुक्छे नियुक्त
काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सको सञ्चालकमा दुई जना नियुक्त भएका छन् । मंसिर ६ गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालकमा नमिता शर्मा र बिबेक बिजुक्छेलाई सञ्चालक पदमा नियुक्त गरेको हो । जसमध्ये शर्मा कम्पनीको सर्वसाधारण समूहबाट सञ्चालक पदमा नियुक्त भएकी हुन् । त्यस्तै, सञ्चालक बिजुक्छे कम्पनीको संस्थापक समूहबाट नियुक्त भएका हुन् ।
कोरोना बीमाको दावी भुक्तानीका लागि तीन कम्पनीले पठाए पैसा, संघद्धारा चेक तयार
काठमाडौं । कोरोना बीमाको रकम भुक्तानीको लागि विभिन्न तीन कम्पनीले पैसा पठाएका छन् । नेपाल बीमक संघका अनुसार २० निर्जीवन बीमा कम्पनी (मर्ज भएका समेत) मध्ये हालसम्म तीन वटा कम्पनीले कूल ६ करोड ८१ लाख ८१ हजार ८१६ रुपैयाँ संघको खातामा पठाएका हुन् । जसमा नेशनल इन्स्योरेन्स, नेको इन्स्योरेन्स र दी ओरियन्टल रहेका छन् । प्रत्येक कम्पनीबाट २ करोड २७ लाख २७ हजार २७२ रुपैयाँको दरले कूल ६ करोड ८१ लाख ८१ हजार ८१६ रुपैयाँ खातामा जम्मा भएको संघले बताएको छ । यससँगै पैसा पठाएका तीन कम्पनीलाई कोरोना दावी भुक्तानी गर्नको लागि चेक समेत तयार भइसकेको संघले जनाएको छ । तर, दावी भुक्तानीमा भने ढिलाई हुने बुझिएको छ । नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि) ले पैसा नथपेसम्म कम्पनीहरुले दावी भुक्तानीको प्रकृया शुरु नगर्ने मनसायमा छन् । संघले पनि नेपाल रिले २१ करोड ८१ लाख ८१ हजार ८१८ रुपैयाँ पैसा नपठाएसम्म कम्पनीहरुलाई चेक वितरण गर्न नसकिने बताएको छ । कारबाही भोग्न तयार छु, करोडौं रुपैयाँ डोनेशन गर्न सक्दिन – डा. रविन्द्र घिमिरे यता सरकारको स्वामित्व रहेको नेपाल रिले कोरोना बीमाको दावी भुक्तानीको लागि पैसा दिँदै नदिने अडान लिएको छ । यस विषयमा नेपाल बीमा प्राधिकरणले कम्पनीलाई ७ दिने स्पष्टिकरण सोधेको छ । प्राधिकरणले कोरोना बीमाको दावी भुक्तानी गर्न पैसा किन नदिने हो ? जवाफ चाहिँयो भन्दै गत साता कम्पनीसँग स्पष्टिकरण माग गरेको हो । बीमा प्राधिकरण र नेपाल रिबीच चर्को विवाद, कोरोना मुद्दामा बीमा कम्पनीहरुबीच पनि धुर्बीकरण दावी भुक्तानीको प्रकृया अघि बढाउनको लागि कम्पनीहरुले दावी भुक्तानी गरिने दावीकर्ताहरुको सूची बीमक संघ तथा पुललाई उपलब्ध गराउनु पर्ने छ । सो अनुसार संघले कम्पनीहरुलाई चेक वितरण गर्ने छ । कम्पनीहरुले संचालक समितिबाट स्वीकृति लिई दावी भुक्तानीलाई सकेसम्म छिटो अघि बढाउन संघले आग्रह गरेको छ । दावी भुक्तानी गर्दा पहिलो चरणमा व्यक्ति तथा परिवारको दावी भूक्तानी गर्नुपर्ने छ । त्यस्तै, कम्पनीहरुको स्वीकृत दावी संख्यालाई आधार मनी समानुपातिक रुपमा बाँडफाँड गरिने छ । समानूपातिक रूपमा बाँडफाँड गर्दा व्यक्ति तथा परिवारलाई तिर्नुपर्ने दावी संख्याभन्दा बढि रकम नदिने समेत संघले बताएको छ । सो बमोजिम बाँडफाँड भइ बाँकी रहने रकमलाई जुन कम्पनीहरुको व्यक्ति तथा परिवारका संख्या बढि छन् तिनै कम्पनीहरुमा पुनस्वीकृत दावी संख्याको अनुपातमा बाँडफाँड गरिने छ । संघका अनुसार दावी भूक्तानी गर्ने व्यक्ति तथा परिवारको नाम कम्पनीहरुले बीमक संघबाट सहि छाप गराई आ आफनो वेब साइटमा प्रकाशित गुर्नपर्ने छ । यससँगै कम्पनीहरुले बीमक संघबाट आफूले प्राप्त गर्ने रकमको चेक लिई दावी रकम बाँडफाँड गर्न सक्ने छन् ।