सेयर बजारमा १७ बीमा कम्पनीको लगानी : अजोडले ३२९ प्रतिशतले बढाउँदा अन्यले कति ?
काठमाडौं । चालु आर्थिक वर्षमा निर्जीवन बीमा कम्पनीहरुले पौने ३ अर्ब रुपैयाँ बढी सेयर बजारमा लगानी गरेका छन् । गत साउनदेखि असोज मसान्तसम्ममा १७ निर्जीवन बीमा कम्पनीले कूल २ अर्ब ८० करोड रुपैयाँ दोश्रो बजारमा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेका हुन् । जुन २०७९ असारसम्मको तुलनामा १६.२० प्रतिशतले बढी हो । सञ्चालनमा रहेका दी ओरियन्टल र नेशनल इन्स्योरेन्सबाहेक अन्य कम्पनीले गत असारसम्ममा २ अर्ब ४१ करोड ११ लाख रुपैयाँ बराबरको लगानी गरेका थिए । समीक्षा अवधिमा रकमका आधारमा सबैभन्दा बढी लगानी गर्नेमा राष्ट्रिय बीमा कम्पनी रहेकोे छ । कम्पनीले तीन महिनाको अवधिमा ८३ करोड ९७ लाख रुपैयाँ बराबरको लगानी गरेको छ । जुन गत असारको तुलनामा भने २.३० प्रतिशतले घटी हो । कम्पनीले २०७९ असारसम्ममा ८५ करोड ९५ लाख रुपैयाँ दोश्रो बजारमा लगानी गरेको थियो । प्रतिशतको आधारमा हेर्दा अजोड इन्स्योरेन्स आक्रामक बनेको छ । कम्पनीले गत असारको तुलनामा असोजसम्ममा ३२९.९१ प्रतिशतले सेयर बजारको लगानी बढाएको छ । गत असारमा २ करोड ५० लाख रुपैयाँ लगानी गरेको अजोडले असोजसम्ममा १० करोड ७५ लाख रुपैयाँ बराबरको लगानी गरेको नेपाल बीमा प्राधिकरणले जनाएको छ । त्यस्तै, प्रिमियरले पनि १५५.८४ प्रतिशत लगानी सेयर बजारमा बढाएको छ । असारमा १२ करोड ३६ लाख रुपैयाँ बराबरको सेयर लगानी गरेको कम्पनीले असोजसम्ममा ३१ करोड ६४ लाख रुपैयाँ गरेको छ । जुन राष्ट्रिय बीमा कम्पनीबाहेक अन्य कम्पनीको तुलनामा बढी हो । समीक्षा अवधिमा चार कम्पनीले भने सेयर बजारको लगानी घटाएका छन् । गत असारको तुलनामा प्रुडेन्सियल इन्स्योरेन्सले ७३.२६ प्रतिशत, नेपाल इन्स्योरेन्सले १५.५९ प्रतिशत, सगरमाथाले ४.२६ प्रतिशत र राष्ट्रिय बीमा कम्पनीले २.३० प्रतिशतले सूचीकृत कम्पनीको सेयरमा लगानी घटाएका छन् । त्यस्तै, शिखर, नेको, युनाइटेड, आइएमई जनरल, साविकको जनरल र सानिमा जनरलको भने स्थिर लगानी रहेको छ । यीमध्ये साविकको जनरल र सानिमा जनरल मर्जर प्रकृयामा थिए । हाल मर्जर प्रकृया सम्पन्न भई सानिमा जीआईसी इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार समेत शुरु भइसकेको छ । बीमा कम्पनीहरुले नेप्सेमा सूचीकृत कम्पनीको साधारण सेयरमा बढीमा १० प्रतिशतसम्म मात्रै लगानी गर्न पाउने व्यवस्था रहेको छ । सोहि अनुसार उनीहरुले दोश्रो बजारमा लगानी गर्दै आएका छन् । कुन कम्पनीले कति बढाए/घटाए ?
मर्जर प्रस्ताव पारित गर्दै अजोड इन्स्योरेन्स
काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडको विशेष साधारणसभा आज हुँदैछ । कम्पनीको विशेष साधारण सभा आज मंसिर ९ गते शुक्रबार लैनचौर बैङ्क्वैट काठमांडौमा बिहान ११ बजे सुरु हुनेछ । कम्पनीको सभाले अजोड इन्स्योरेन्स कम्पनी र प्रभु इन्स्योरेन्ससँग मर्जरमा जाने प्रस्तावलाई पारित गर्नेछ । सभाले हाल कायम रहेको सेयर संरचनालाई परिमार्जन गरी संस्थापक र साधारण सेयरधनीहरुको सेयर अनुपात ५१ः४९ बनाउने प्रस्ताव समेत पारित गर्ने छ । कम्पनीले विशेष साधारणसभा प्रयोजनार्थ मंसिर २ गते बुकक्लोज गर्ने निर्णय गरेको थियो । मर्जर प्रक्रियामा रहेका भएकाले साउन २ गतेदेखि दोस्रो बजारमा कम्पनीको सेयर कारोबार रोक्का रहेको छ । त्यसैले साउन २ गतेभन्दा अघिल्लो दिनसम्म कायम रहेका सेयरधनीहरुले सहभागी हुन पाउनेछन् । प्रभु इन्स्योरेन्स र अजोड इन्स्योरेन्सबीच गत असार ३२ गते १००ः७० को अनुपातले मर्जर सम्झौता भएको थियो । अजोड इन्स्योरेन्सको १०० कित्ता बराबर प्रभु इन्स्योरेन्समा ७० कित्ता प्राप्त गर्नेछन् । मर्जरपछि अध्यक्षमा अजोड इन्स्योरेन्सका अध्यक्ष आजाद श्रेष्ठरहेनछन् भने प्रमुख कार्यकारी अधिकृतमा प्रभुका सञ्चित बज्राचार्य रहनेछन् ।
कम्पनीको व्यवसाय वृद्धिमा जोड दिन्छौं, लगानीलाई थप विस्तार गर्छौं : सीईओ पराजुली
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी (एनएलआईसी) का प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीको व्यवसाय वृद्धिमा दत्तचित्तका साथ काम गरिरहेको बताएका छन् । बिहीबार पर्साको बीरगञ्जमा भएको कम्पनीको २२औं वार्षिक साधारणसभामा बोल्दै उनले सो बताएका हुन् । साथै, कम्पनीले नेपाल बीमा प्राधिकरणबाट जारी लगानी निर्देशिकाको परिधिभित्र रही दीगो एवं भरपर्दो लगानीका क्षेत्रहरुमा लगानी विस्तार तथा विविधीकरण गर्दै जाने नीति लिएको उनले बताए । कार्यक्रममा अध्यक्ष गोविन्द लाल संघईले आ.व. २०७७/७८ को वार्षिक वित्तीय विवरण तथा संचालक समितिको प्रतिवेदन प्रस्तुत गर्दै विगत २२ वर्षमा जीवन बीमा क्षेत्रमा कम्पनीको व्यवसायिक हिस्सा र गरिमालाई तमाम चुनौतिहरुबीच अझै नयाँ उचाइमा पुग्ने कम्पनीको लक्ष्य रहेको बताए । त्यसको लागि संरचनात्मक सुधार, संस्थागत सुशासनको पूर्ण पालना, सुदृढ आन्तरिक नियन्त्रण प्रणाली, सेवा प्रणालीमा नविन प्रविधिको प्रयोग, सम्पत्ति र दायित्वबीचको सन्तुलन, ग्राहक केन्द्रित योजना, विकेन्द्रिकरण, तालिम एवं अनुसन्धान तथा नयाँ बजारीकरण रणनीति अवलम्बन गरिरहेको बताउँदै उनले कम्पनीको समग्र विकासका लागि प्रतिवद्धता व्यक्ति गरेका छन् । अघिल्लो २१औं वार्षिक साधारण सभाबाट कम्पनीको संस्थापक र सर्वसाधारण सेयरको अनुपात ५१ः४९ कायम भैसकेकोले संचालक समिति गठनमा पनि सोही बमोजिमको अनुपात कायम गर्नका लागि अनुरोध भएकोमा कम्पनी ऐन, २०६३ को दफा ६७ को उपदफा ३ (क) बमोजिम पहिले नै सूचित नगरिएको विषयमा साधारण सभामा तत्काल विशेष प्रस्ताव राख्नका लागि चाहिने आवश्यक गणपुरक संख्या नपुगेकोले यस वार्षिक साधारण सभामा उक्त विषयलाई विशेष प्रस्तावका रुपमा स्वीकार गर्न नसकिएको कार्यक्रममा जनाइयो । साथै, यो विषयलाई आगामी वार्षिक साधारण सभामा अगाडि बढाइने बताइएको छ । त्यसैगरी, सभाले आर्थिक वर्ष २०७७/७८ को वितरण योग्य मुनाफाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पुँजीको १५.७८९५ प्रतिशतका दरले हुन आउने १ अर्ब २९ करोड रुपैयाँ बराबरको नगद लाभांश (लाभांश कर समेत) दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ । सभाले आर्थिक वर्ष २०७८/७९ को लागि एसएआर एशोसिएट्सलाई लेखापरीक्षकको रुपमा पुनर्नियुक्ति गर्दै संचालक समितिले गरेको स्वतन्त्र सञ्चालक पारुल ढकालको नियुक्तिलाई अनुमोदन गरेको छ । नेपाल लाइफले २०७९ असोज मसान्तसम्ममा लगानी १ खर्ब ४९ अर्ब ७६ करोड रुपैयाँ गरिसकेको छ । र जीवन बीमाकोषमा १ खर्ब ४२ अर्ब ९ करोड संचित भइसकेको कम्पनीले जानकारी गराएको छ । साथै, कम्पनीमा २ लाख १२ हजार ३६२ भन्दा बढी प्रशिक्षित अभिकर्ता रहेको छ । कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर स्थापित १९७ कार्यालय सञ्जालहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ ।