बीमाका सीईओलाई अध्यक्ष सिलवालले भने : बैंकमा मात्रै होइन ठूला व्यवसायमा लगानी गर्नुस्

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीहरुलाई राम्रो प्रतिफल दिने व्यवसायमा लगानी गर्न आग्रह गरेका छन् । उनले कम्पनीहरुलाई बैंकहरुमा मात्र केन्द्रित नभई लगानीको क्षेत्र प्रतिवर्तन गर्न आग्रह गरेका हुन् । विजया दशमी, शुभ दीपावली र छठ लगायतका पर्वहरूको उपलक्ष्यमा बीमा समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले सो बताएका हुन् । उनले कम्पनीहरुले लगानीका क्षेत्र परिवर्तन गरी दीर्घकालीनरूपमा राम्रो प्रतिफल प्राप्त हुने ठूला व्यवसायमा लगानी गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । साथै, उनले बीमा क्षेत्रको विकास, विस्तार र बीमामा पहुँच वृद्धिका लागि बीमा कम्पनीहरूसँग सहकार्य गर्न बीमा समिति तयार रहेको बताएका छन् । समितिले समस्याहरू समाधान गरिसकेपछि पुनः समस्या नदोहोरिने गरीे कम्पनीहरूले काम गर्नुपर्ने समेत उनको भनाई छ । अध्यक्ष सिलवालले बीमा कम्पनीहरूले नागरिकको आवश्यकता र मुलुकको भौगोलिक अवस्था अनुसार बीमालेख ल्याउनुपर्ने र कर्मचारीहरूको दक्षता अभिवृद्धिका लागि तालिम सञ्चालन गर्नुपर्ने बताए । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमाको पहुँच वृद्धिका लागि बीमा कम्पनीहरूले गाउँ गाउँमा पुगेर कृषि तथा पशुपन्छी बीमा, स्वास्थ्य बीमा लगायतका बीमा गर्नुपर्ने बताए । कार्यक्रममा बीमा समितिका निर्देशक सुशीलदेव सुवेदी तथा निर्देशक पूजन ढुङ्गेल (अधिकारी) र जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी र पुनर्बीमा कम्पनीहरूका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहेको थियो ।

एशियन लाइफको १५.२६ प्रतिशत लाभांश पारित, चुक्ता पुँजी पौने तीन अर्ब नाघ्यो

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको १५.२६ प्रतिशत लाभांश पारित लाभांश पारित भएको छ । कम्पनीको बिहीबार सम्पन्न १४औं वार्षिक साधारणसभाले १४.५० प्रतिशत बाेनस र कर सहित ०.७६ प्रतिशत नगद लाभांश पारित गरेकाे हाे । यससँगै कम्पनीका सेयरधनीले आर्थिक वर्ष २०७७/०७८ काे नाफाबाट चुक्ता पुँजीकाे १४.५० प्रतिशत बाेनस सेयर पाउने भएका छन् । असाेज ४ गते बुक क्लाेज भएकाे कम्पनीकाे लाभांश असाेज ३ गतेसम्म कायम सेयरधनीले मात्रै पाउने छन् । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ५३ करोड रुपैयाँ छ । १४.५ प्रतिशत बोनसपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ । कम्पनीको हाल कायम पूँजी संरचनामा संस्थापक र सर्वसाधारण सेयरको ६०ः४० अनुपातलाई बीमा समितिको स्वीकृति पश्चात परिवर्तन गरी ५१ः४९ प्रतिशत कायम गरी संस्थापक सेयरलाई सर्वसाधारण सेयरमा परिणत गर्ने प्रस्ताव पारित गरेको छ । साधारण सभाले कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन गर्न तथा सम्बन्धित निकायबाट प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन तथा प्राप्त हुने निर्देशन कार्यान्वयन गर्न संचालक समितिलाई अख्तियारी दिने प्रस्तावलाई समेत पारित गरेको छ । २०६४ साल चैत २१ गतेदेखि कारोबार संचालन गरेको यस कम्पनीको आ.व. २०७८/७९ असार मसान्त सम्ममा ३२ अर्ब रुपैयाँ जीवन बीमा कोष र करिब ३० अर्ब रुपैयाँ लगानी तथा कर्जा रहेकोे छ । त्यसैगरी, कम्पनीले आ.व. २०७८/७९ को असार मसान्तसम्ममा कूल २ अर्ब २३ लाख रुपैयाँ प्रथम बीमाशुल्क र ६ अर्ब ९६ करोड रुपैयाँ कूल बीमाशुल्क आर्जन गरेको छ । कम्पनीले देशभर ४७ वटा शाखा तथा १०४ वटा उपशाखाहरुबाट जीवन बीमा सेवा प्रदान गर्दै आईरहेको छ ।

युनाइटेड इन्स्योरेन्सले माग्यो डेपुटी सीइओको लागि आवेदन

काठमाडौं । युनाइटेड इन्स्योरेन्सले डेपुटी सीइओको लागि आवेदन मागेको छ । कम्पनीले एक सूचना जारी गर्दै डेपुटी सीइओको लागि आवेदन मागेको हो । कम्पनीको अनुसार यस पदको लागि आवेदन दिने व्यक्तिले बीमा, व्यवस्थापन, फाइनान्स, अर्थशास्त्र, कानुन वा इन्जिनियरिङमा मास्टर डिग्री पुरा गरेको हुनुपर्नेछ । यस्तै, आवेदनरकर्ताले बैंकिङ वा बीमा क्षेत्रको व्यवस्थापकिय तहमा रहेर कम्तीमा पनि पनि ५ वर्ष काम गरेको हुनपर्नेछ । कम्पनीले अक्टोबर १२ अर्थात असोज २६ गतेसम्म डेपुटी सीइओको लागि आवेदन दिन सकिने जनाएको छ ।