महिला सशक्तिकरणमा महालक्ष्मी लाईफ : ३० जिल्लामा सञ्चालन गरिने, तीन हजार बढीले रोजगार पाउने

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले ‘महिला सशक्तिकरणमा महालक्ष्मी लाईफ’ कार्यक्रमको शुभारम्भ गरेको छ । ‘युवासँग महालक्ष्मी लाईफ’ को सफलता पछि इन्स्योरेन्सले उक्त कार्यक्रम शुरु गरेको हो । उक्त कार्यक्रमको उद्घाटन कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले पुस ४ गते चितवनमा आयोजित एक समारोहमा गरेका हुन् । कार्यक्रममा देशभरीबाट शाखा र उपशाखा प्रमुख र अधिकृतहरु समेत गरी ७५ जनाको उपस्थिति रहेको थियो । आर्थिक वर्ष २०७९/८० भित्र परिक्षणको रुपमा संचालन हुने यो कार्यक्रम ३० जिल्लामा सञ्चालन गरिनेछ । यो कार्यक्रम मार्फत ६० जना महिलालाई प्रत्यक्ष रोजगारी र ३ हजारभन्दा बढीलाई अप्रत्यक्ष रोजगारी दिने लक्ष्य लिइएको छ । यो कार्यक्रममा सरकारी, गैर सरकारी निकायसंग समन्वय गरी महिलालहरुलाई तालिम दिने, रोजगारीको लागि बीमा लगायत विभिन्न कार्यमा संलग्न गराउने र नियमित अभिप्रेरित गर्ने कार्यक्रम रहेको छ । समारोहमा अध्यक्ष मनोरञ्जन रमण शर्माले आफ्नो उद्घाटन मन्तव्य दिँदै कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत महिला सशक्तिकरणको लागि कार्यक्रम संचालन गर्न लागेको बताए । समाजमा पिछडिएका तथा आर्थिक रुपमा कमजोर रहेका महिलाको उत्थान नभई समाज र देशको उन्नति पनि नहुने भएकोले उनीहरुलाई अगाडी बढाउने यस्ता कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गरे । कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले ‘महिला सशक्तिकरणमा महालक्ष्मी लाईफ’ कार्यक्रमको विस्तृत अवधारणा र महिला सशक्तिकरणमा कार्यक्रमले पार्ने प्रभावको बारेमा जानकारी गराए । देशमा महिलाको जनसंख्या पुरुषको दाँजोमा बढ्दै गइरहेकोले उनीहरुलाई सक्षम र आर्थिक रुपमा सवल नबनाई देश अघि बढ्न नसक्ने उनको भनाई छ । महिलाहरुलाई तालिम दिई रोजगारी मार्फत आय आर्जनको बाटोमा अग्रसर गराउन यो कार्यक्रम उपयोगी र फलदायी हुने सीईओ भट्टराईले बताए । महालक्ष्मी लाईफ इन्स्योरेन्सले २०७८/७९ मा विद्यार्थी र युवाहरुमा जीवन बीमा सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने गरी ‘युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रम संचालन गरेको थियो । एक वर्ष भित्र कम्पनीका वरिष्ठ अधिकृतहरुले ३५ जिल्लाको ९९ वटा प्लस्टु र ब्याचलर कलेजमा ८ हजारभन्दा बढी युवालाई तालिम प्रदान गरेको थियो । उक्त कार्यक्रमले बीमा सम्बन्धी जनचेतना जगाउन प्रभावकारी भएको कम्पनीले जानकारी गराएको छ ।

लाभांश प्रस्ताव पारित गर्न यूनाइटेड इन्स्योरेन्सले डाक्यो साधारणसभा

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनीले २९ औं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको सञ्चालक समितिले पुस २७ गते काठमाडौंको शंखमुल स्थित अनमोल ब्याङ्गकेटमा ११ बजे वार्षिक साधारणसभा बोलाएको हो । संचालक समितिको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन सहित आर्थिक वर्ष २०७८/७९ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण, आर्थिक वर्ष २०७/८० को लेखापरीक्षण गर्नका लागि बाह्य लेखापरीक्षक नियुक्ति गर्ने तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत अर्थात् ५ करोड १४ लाख ८ हजार रुपैयाँ बोनस सेयर र ०.२६३२ प्रतिशत अर्थात् २७ लाख ५ हजार ६८४ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव र प्रबन्धपत्र नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै, कम्पनीको संस्थापक सेयर तथा सर्वसाधारण सेयरको अनुपात बमोजिम संचालक समितिको गठन गर्ने र सोही बमोजिम कम्पनीको प्रबन्धपत्र, नियमावलीमा आवश्यक संशोधन गर्नेछ । कम्पनीले साधारण सभा तथा लाभांस वितरण प्रयोजनार्थ पुस १७ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पुस १६ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीले लाभांस र सभमा भाग लिन पाउने छन् ।

सूर्यज्योति लाइफको एकीकृत कारोबार पुस ७ गतेदेखि हुने

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्सको एकीकृत कारोबारको मिति तय भएको छ । पुस ७ गतेदेखि सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नामबाट एकीकृत कारोबार गर्ने भएका हुन् । सूर्या लाइफले ज्योति लाइफलाई गाभ्ने भएको हो । दुवै कम्पनीको गत कात्तिक २८ गते सम्पन्न वार्षिक साधारण सभाले गाभ्नेगाभिने प्रस्ताव पारित गरिसकेका छन् । साथै नेपाल बीमा प्राधिकरणले मंसिर २ गते र नेपाल धितोपत्र बोर्डले मंसिर २५ मा दुबै कम्पनी–गाभिन अन्तिम स्विकृति प्रदान गरिसकेका छन् । कम्पनी रजिष्ट्रारको कार्यालयले गाभिने कम्पनीको सम्पूर्ण सम्पत्ति र दायित्व हालको कम्पनीले व्यहोर्ने वा सकार्ने गरी ज्योति लाइफ इन्स्योरेन्सलाई सूर्या लाइफ इन्स्योरेन्समा गाभ्न मंसिर २७ गते स्विकृति प्राप्त गरिसकेको छ । बीमा प्राधिकरणको मंसिर २९ गतेको प्राप्त स्वीकृति बमोजिम पुस ७ गते बिहिबारदेखि जीवन बीमा सेवाको एकीकृत कारोवार संचालन गरिने जनाएको हो । साथै डाटा माइग्रेशन तथा सिस्टम इन्टिग्रेसन गर्नुपर्ने भएकोले पुस ६ गते एक दिनका लागि बिहान ८ बजेदेखि सम्पूर्ण सेवा अवरुद्ध हुने हुँदा सोबाट ग्राहकवर्ग, अभिकर्ता तथा सरोकारवालाहरुमा पर्न जाने असुविधाको लागि कम्पनीले क्षमा मागेको छ । सूर्या लाइफ र ज्योति लाइफबीच गत ४ कार्तिकमा एक आपसमा मर्ज गर्ने सम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । गत असार १२ गते दुवै कम्पनीबीच प्रारम्भिक सम्झौता भएको थियो । सम्झौता अनुसार रजिष्टर्ड कार्यालय विराटनगर, मोरङ्गमा र केन्द्रिय कार्यालय ज्ञानेश्वर काठमाडौंमा रहनेछ । नयाँ बन्ने संचालक समितिको अध्यक्षमा सूर्या लाइफका केशब प्रसाद भट्टराई र प्रमुख कार्यकारी अधिकृतमा ज्योति लाइफका प्रकाश विक्रम खत्री रहनेछन् भने सूर्या लाइफका पवन कुमार खड्का वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पदको जिम्मेवारीमा रहनेछन् । सूर्या लाइफको मोरङको विराटनगर महानगरपालिका ७ मा रजिष्टर्ड कार्यालय र काठमाण्डौं महानगरपालिका ३० सानो गौचरनमा कर्पोरेट कार्यालय छ भने ज्योति लाइफको पोखरा महानगरपालिका ९ मा रजिष्टर्ड कार्यालय र काठमाडौं महानगरपालिका ३०, ज्ञानेश्वरमा कर्पोरेट कार्यालय छ । दुवै कम्पनी १ः०.८२४५ स्वाप रेसियो अनुपातमा मर्ज हुन लागेका हुन् । अर्थात् सूर्या लाईफका सेयरधनीले १ सेयर बराबर ज्योति लाईफका सेयरधनीले ०.८२४५ सेयर पाउनेछन् । मर्जरपश्चात् कम्पनीको चुक्ता पूँजी ४ अर्ब ५५ करोड रुपैयाँ पुग्नेछ ।