राष्ट्रपतिबाट स्वीकृत बीमा ऐन ३१ दिनपछि मात्रै लागू हुने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट स्वीकृत भएको ‘बीमा ऐन २०७९’ ३१ दिनपछि लागू हुने भएको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले उक्त ऐन स्वीकृत भएको ३१ दिनपछि मात्रै लागू हुने बताएका हुन् । ‘ऐन स्वीकृत भयो, अब ३१ दिनपछि लागू हुन्छ,’ उनले थपे- ‘यो ऐन अन्तर्गत नियमावली बन्न बाँकी छ, बनेपछि कार्यान्वयनमा आउँछ ।’ प्रतिनिधिसभाबाट पारित भई राष्ट्रपति भण्डारीसमक्ष पेश भएका विभिन्न तीन विधेयक एकैदिन प्रमाणिकरण भएका छन् । राष्ट्रपति भण्डारीले असोज २३ गते मात्रै बीमा विद्येयकसहित अन्य तीन विधेयक प्रमाणिकरण गरेकी हुन् । यससँगै राष्ट्रपतिबाट स्वीकृत बीमा ऐनले अधिकांश विषय समेटेको समितिका कार्यकारी निर्देशक पौडेलले बताए । ‘ऐनले गरेको निर्देशन ऐन अन्तर्गत नै हुने छ । र, तोकिए बमोजिम भनिएका व्यवस्थाहरु नियमावलीले ताकिदिन्छ र सोही अनुसार कार्यान्वयनमा आउने छ,’ उनले भने । यो ऐन लागू भएपछि बीमा समिति रहँदैन र बीमा कम्पनीको नियामक निकायको रुपमा बीमा प्राधिकरण स्थापना हुने छ । जसको केन्द्रीय कार्यालय काठमाडौं उपत्यका भित्रै हुने छ र प्राधिकरणले नेपालभित्र जुनसुकै स्थानमा आफ्नो कार्यालय खोल्न सक्ने छ । साथै, यो ऐन नेपाल राज्यभर र बीमकले नेपाल बाहिर जुनसकै ठाउँमा खोलेको शाखा कार्यालयको हकमा समेत लागू हुने छ । यता बीमा विज्ञहरुले पनि बीमा ऐन लागू भएपछि बीमा प्राधिकरणको क्षेत्राधिकार फराकिलो भई प्राधिकरणलाई थप जिम्मेवार बनाउने बताउँछन् । साथै, एक पूर्ण रुपको बीमा बजारमा अनिवार्य रुपमा हुनुपर्ने कतिपय अवयवहरुको अभाव पूर्ति यस ऐनद्धारा हुने बीमा विज्ञ डा. रवीन्द्र घिमिरे बताउँछन् । साथै, प्राधिकरणले बीमा सम्बन्धी दक्ष जनशक्ति उत्पादनका लागि अन्तर्राष्ट्रिय स्तरको बीमा कलेजको स्थापना गर्नका लागि अधिकार प्राप्त गरेको छ । बीमा सूचना केन्द्रको स्थापना, बीमामा हुने ठगी र जालसाजीको न्यूनिकरणका लागि संस्थागत संरचना बनाउन सक्नेछ । बीमित हितकोष स्थापना गर्न सक्नेछ । त्यस्तै, यसले तेश्रो पक्ष सहजीकरणको लाइसेन्स दिन सक्नेछ र ब्रोकिङ्ग पेशालाई व्यवस्थित बनाउन मार्ग प्रशस्त गरेको नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष समेत रहेका डा. घिमिरेको भनाई छ । नयाँ बीमा ऐन लागू भएपछि धनी तर विश्वविद्यालयबाट उच्च शिक्षाको उपाधि नलिएका व्यक्ति बीमा कम्पनीको सञ्चालक वा अध्यक्ष बन्न नपाउने भएका छन् । बीमा कम्पनीको सञ्चालक बन्न स्नातकोत्तर उपाधि अनिवार्य गरिएको छ । तर चार्टर्ड एकाउन्टेन्सी (सीए) पास गरेकाले सञ्चालक बन्न पाउने प्रष्ट पारिएको छ । बीमा कम्पनीको सञ्चालक बन्न सीए, वा बीमा, बैंकिङ, वित्तीय, वाणिज्यशास्त्र, तथ्याङ्कशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्याङ्कशास्त्र, गणित, अर्थशास्त्र वा कानुन विषयमा स्नातकोत्तर गरेको हुनुपर्नेछ । विज्ञान लगायत अन्य विषयमा स्नातकोत्तर गरेका व्यक्तिहरु बीमा कम्पनीको सञ्चालक बन्न अयोग्य हुने गरि बनेको विधेयक संसदको अर्थसमितिबाट पारित भएको छ । साथै, नेपाल धितोपत्र बोर्डबाट धितोपत्र कारोबार गर्न अनुमति पाएका व्यवसायीहरुलाई पनि बीमा कम्पनीको सञ्चालक बन्न रोक लगाइएको छ । बीमकको सञ्चालकको कार्यकाल ४ वर्ष हुने र पछि पुनः नियुक्त हुन सक्ने उल्लेख छ । तर विज्ञ सञ्चालक भए बढीमा ४ वर्ष मात्र सञ्चालक बन्न पाउने व्यवस्था गरिएको छ । सरकारी निकायमा कर्मचारी वा पदाधिकारी, एकाघर परिवारको दोस्रो व्यक्ति, आधारभूत सेयर नलिएको व्यक्ति, कम्पनीसँग स्वार्थ बाझिएको व्यक्ति बीमा कम्पनीको सञ्चालक बन्न पाउने छैन ।

बीमा उद्योगलाई नयाँ युगमा प्रवेश गर्न ढोकाहरु खुले : डा. घिमिरे

काठमाडौं । बीमा विज्ञ डा. रबिन्द्र घिमिरेले बीमा उद्योगलाई नयाँ युगमा प्रवेश गर्न बाटो खुलेको बताएका छन् । बीमा ऐन, २०४९ लाई प्रतिस्थापन गर्ने गरी ल्याइएको बीमा ऐन, २०७९ प्रमाणिकरण भएसँगै यो उद्योगलाई नयाँ युगमा प्रवेश गर्नका लागि सम्भावनाका ढोकाहरु खुलेका उनले बताए । ‘नेपालको बीमा उद्योगलाई अन्तर्राष्ट्रिय स्तरको बनाउनका लागि धेरै कामहरु गर्नु अपरिहार्य भइरहेको अवस्थामा मौजूदा ऐन बाधक रहेको थियो, नयाँ ऐन प्रगतिशील छ, यसले बीमा उद्योग नयाँ युगमा प्रवेश गर्नका लागि सम्भावनाको ढोकाहरु खोलिदिएको छ,’ नेपाल पुनर्बीमा कम्पनीको अध्यक्ष समेत रहेकका डा. घिमिरेले सामाजिक सञ्जालमार्फत भने । साथै, उनले बीमा ऐनको डिजाइनर तात्कालिन अध्यक्ष प्रा.डा.फत्त बहादुर के.सी. तथा यसलाई यथासमयमा संसदबाट पास गराउन सक्रिय भूमिका खेल्नु हुने वर्तमान अध्यक्ष सूर्यप्रसाद सिलवाल लगायत विशेष धन्यवादका पात्र रहेको बताए । र, सभामुख अग्निप्रसाद सापकोटा र अर्थमन्त्री जनार्दन शर्माको पनि यसमा भूमिका महत्वपूर्ण रहेको उनको भनाई छ । नयाँ ऐन कार्यान्वयन भएसँगै यसले बीमा समिति बीमा प्राधिकरणमा परिवर्तन हुनुको साथै प्राधिकरणको क्षेत्राधिकार फराकिलो हुने छ । यसले बीमा प्राधिकरणलाई थप जिम्मेवार बनाएको छ । एक पूर्ण रुपको बीमा बजारमा अनिवार्य रुपमा हुनुपर्ने कतिपय अवयवहरुको अभाव पूर्ति यस ऐनद्धारा हुने डा. घिमिरे बताउँछन् । साथै, प्राधिकरणले बीमा सम्बन्धी दक्ष जनशक्ति उत्पादनका लागि अन्तर्राष्ट्रिय स्तरको बीमा कलेजको स्थापना गर्नका लागि अधिकार प्राप्त गरेको छ । बीमा सूचना केन्द्रको स्थापना, बीमामा हुने ठगी र जालसाजीको न्यूनिकरणका लागि संस्थागत संरचना बनाउन सक्नेछ । बीमित हितकोष स्थापना गर्न सक्नेछ । तेश्रो पक्ष सहजीकरणको लाइसेन्स दिन सक्नेछ र ब्रोकिङ्ग पेशालाई व्यवस्थित बनाउन मार्ग प्रशस्त गरेको उनको भनाई छ । यससँगै बीमा क्षेत्रमा कार्यरत विभिन्न पेशेवार प्रोफेसनलहरुको वृत्ति विकास हुनेछ । समग्रमा आम जनताले सर्वसुलभ ढंगबाट बीमा सेवा प्राप्त गर्ने, बीमाको पहुँच वृद्धि गर्ने, बीमाको पेनिट्रेशन र डेन्सिटी बढाउने संरचनाको विकास हुने डा. घिमिरेले बताए । साथै, उनले यो अवसरमा नियामक निकाय, बीमा सेवा प्रदायक कम्पनी तथा संस्थाहरु, अभिकर्ता, सर्भेयर, ब्रोकर, पत्रकार, अनुसन्धाकर्ता, प्राध्यापक, विश्लेषक, बीमित र बीमित हितमा काम गर्ने अभियन्ताहरु, बीमा क्षेत्रको हित चाहने सबै शुभेक्षुक सबैलाई बधाई तथा शुभकामना समेत व्यक्त गरेका छन् ।

बीमा विधेयकसँगै तीन वटा विधेयक प्रमाणिकरण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बीमा विधेयक प्रमाणिकरण गरेकी छिन् । भण्डारीले असोज २३ गते मात्रै बीमा विधेयकसहित तीन वटा विधेयक प्रमाणिकरण गरेकी हुन् । आइतबार मात्रै बीमा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, सार्वजनिक ऋण व्यवस्थापन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक र पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक राष्ट्रपति भण्डारीले प्रमाणिकरण गरेकी हुन् । यी तीन वटै विधेयक संघीय संसदको दुबै सदनको बैठकबाट पारित भइसकेको हो । जुन राष्ट्रपतिबाट प्रमाणिकरण भएपछि सरकारले राजपत्रमा सूचना प्रकाशित गरेपछि मात्रै यी तीनवटै विधेयकले मान्यता पाउने छन् ।