सिद्धार्थ इन्स्योरेन्सले बोलायो साधारण सभा, लाभांशसँगै मर्जरको प्रस्ताव पारित गर्ने
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले पुस २९ गतेको लागि वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको पुस ७ गते बिहीबार बसेको संचालक समितिको बैठलके २१ औं साधारण सभा बोलाएको हो । सभाले संचालक समितिले प्रस्ताव गरेको लाभांश ९.४७३७ प्रतिशत लाभांश पारित गर्नेछ । समितिले गत वर्षको नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ०.४७३७ नगद लाभांश र ९ प्रतिशत बोनस प्रस्ताव गरेको थियो । यस्तै, सभाले प्रिमियर इन्स्योरेन्ससँगको मर्जर सम्बन्धी विशेष प्रस्ताव पनि पारित गर्ने बताइएको छ । वार्षिक साधारण सभाको लागि कम्पनीले पुस १८ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरको छ । यसार्थ पुस १७ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भएको कम्पनीको सेयरधनीले मात्र लाभांश पाउनेछन् ।
महालक्ष्मी लाईफले म्याग्दीमा दियो महिला सशक्तिकरण कार्यक्रम
काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले हिमाली जिल्ला म्याग्दीको अन्नपूर्ण गाँउपालिका घारमा महिला सशक्तिकरण सम्बन्धी पहिलो कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम पुस ७ गते अन्नपूर्ण गाँउपालिका ६ घारको सहकार्य र सामाजिक संस्था मिलन म्याग्दीको समन्वयनमा संचालन भएको थियो । कार्यक्रममा स्थानिय स्वयमसेविका,आमा समूह र महिला जनप्रतिनिधि समेत ३७ जनाको सहभागिता रहेको थियो। अन्नपूर्ण गाँउपालिकाका अध्यक्ष राम बहादुर खड्काको अध्यक्षतामा सम्पन्न महिला सशक्तिकरण कार्यक्रममा प्रमुख अतिथि अन्नपूर्ण गाँउ पालिका उपाध्यक्ष दिवा कुमारी तिलिजा पुनले महिलाहरूलाई जागरूक र सुसुचित बनाउने यस्ता कार्यक्रमले स्वरोजगार हुन र आय आर्जन गर्न प्रेरित गर्ने धारणा व्यक्त गरे । दुरविन डाडा कृषक समूहका सरिता बरूवाल खड्काले संचालन गरेको कार्यक्रममा मिलन म्याग्दी संस्थाका कार्यकारी निर्देशक दिलमाया बिटालु क्षेत्रिले महालक्ष्मी लाईफले महिला उत्थानको लागि गरेको सशक्तिकरण कार्यक्रम एकदमै प्रशंसनिय रहेको बताइन्। सर्वोतम पिठो उत्पादन समूहका सचिव शुशिला कार्कि र मालिका कृषक समूहका अध्यक्ष सपना बरूवालले समाजमा महिलाहरूलाई आत्म निर्भर हुन यस्ता कार्यक्रम एकदम प्रभावकारी हुने धारणा राखे। महालक्ष्मी लाईफ धवलागिरी प्रमुख जमुना आचार्यले सहभागीहरूलाई बीमाको माध्यमले कसरी स्वरोजगार भई आर्थिक रूपमा सक्षम हुने बारेमा तालिम प्रदान गरेकी हुन् ।क्षेत्रिय प्रमुख आचार्यले निकट भविष्यमा सरकारी, गैरसरकारी निकाय संगको सहकार्यमा ग्रमिण क्षेत्रका महिलाहरूलाई रोजगार र आवश्यक अन्य तालिम पनि प्रदान गर्ने जानकारी दिइन् ।
गुल्मीमा स्वास्थ्य बिमामा ३८ प्रतिशत मात्र सहभागी
गुल्मी । गुल्मीमा कूल जनसङ्ख्याको ३८ प्रतिशत मात्र स्वास्थ्य बिमामा सहभागी भएको पाइएको छ । झन्झटिलो प्रक्रिया, जनचेतनाको कमी र बिमाको महत्व नबुझेका कारण स्वास्थ्य बिमामा सहभागी हुनेको सङ्ख्या कम देखिएको हो । स्वास्थ्य बिमा बोर्ड शाखा कार्यालय गुल्मीका दर्ता अधिकारी धुव्रराज बोगटीले गुल्मीमा अहिलेसम्म कूल ४० हजार एक सय १८ घरपरिवारका ९४ हजार पाँच सय ८९ जनाले स्वास्थ्य बिमा गराएको जानकारी दिए । राष्ट्रिय जनगणना, २०७८ अनुसार गुल्मीको कूल जनसङ्ख्या दुई लाख ४६ हजार आठ सय ३३ रहेको छ । यो अनुसार जम्मा ३८ दशमलव ३२ प्रतिशतले मात्र स्वास्थ्य बिमा गराएको देखिन्छ । गुल्मीमा २०७६ सालदेखि स्वास्थ्य बिमा लागू भएको हो । स्वास्थ्य बिमा बोर्ड जिल्ला शाखाका अनुसार आर्थिक वर्ष २०७६/७७ मा तीन हजार आठ घरपरिवारका सात हजार आठ सय १७ जनाले स्वास्थ्य बिमा गराएका थिए । यसबाट रु ५३ लाख ४५ हजार सङ्कलन भएको थियो । आव २०७७/७८ मा कूल २१ हजार एक सय ५८ घरपरिवारका ५८ हजार तीन सय ९२ जनाले स्वास्थ्य बिमा गराएका थिए । यसबाट नवीकरणसहित तीन करोड ५८ लाख ९२ हजार रपैयाँ सङ्कलन भएको थियो । आव २०७८/७९ मा भने स्वास्थ्य बिमा गराउनेको सङ्ख्या घटेको छ । कूल १५ हजार नौ सय ५२ घरपरिवारका २८ हजार तीन सय ८० जनाले स्वास्थ्य बिमा गराएका छन् । यसमा अघिल्लो पटकको नवीकरणसहित चार करोड ७५ लाख ६० हजार रुपैयाँ सङ्कलन भएको स्वास्थ्य बिमा बोर्ड शाखाका प्रमुख दर्ता अधिकारी बोगटीले जानकारी दिए । गुल्मी अस्पतालमा स्वास्थ्य बिमामार्फत उपचारको सेवा लिने बिरामीको सङ्ख्या निकै न्यून छ । आव २०७८/७९ मा सो अस्पतालबाट कूल ६९ हजार चार जनाले उपचारको सेवा लिए पनि २१ हजार छ सय जनाले मात्र स्वास्थ्य बिमामार्फत सेवा लिएको अस्पतालका प्रमुख डा उत्तम पच्याले जानकारी दिए । यस वर्ष स्वास्थ्य बिमा गराउने सङ्ख्या भने बिमा बोर्डले एकीकृत गर्दैछ । यस अवधिमा गुल्मी अस्पतालबाट कूल ४७ हजार चार सय चार बिरामीले स्वास्थ्य बिमामार्फत नभई शुल्क तिरेर उपचार गराएका छन् । स्वास्थ्य बिमा गराएमा रु तीन हजार पाँच सयमा घरका पाँच जनाले एक लाख रुपैयाँ बराबरको उपचार सेवा लिन सक्छन् । स्वास्थ्य बिमामार्फत उपचार गराउने बिरामीले गुल्मी अस्पतालबाट कूल चार करोड ७३ लाख ७८ हजार रुपैयाँ बराबरको सेवा लिएको डा पच्याले बताए । पछिल्ला वर्षमा तुलनात्मकरुपमा बिमितको सङ्ख्या बढ्नुपर्ने हो । अस्थायी बसोबास गर्नेले अन्यत्र स्वास्थ्य बिमा गराएको एउटा कारण हुनसक्ने शाखाको अनुमान छ । सबैलाई स्वास्थ्य बिमामा समेट्न नसकिएको बिमाका दर्ता अधिकारी धुव्रराज बोगटीले बताए । जिल्लाभर ९३ बिमा दर्ता सहयोगीमार्फत काम भइरहेको छ । स्वास्थ्य बिमाप्रति नागरिकलाई प्रेरित गर्ने काम भने कमै भएको पाइन्छ ।