सगरमाथा इन्स्योरेन्सकी संचालक शोभा श्रेष्ठले दिइन् राजीनामा

काठमाडाैं । सगरमाथा इन्स्योरेन्सकी संचालक समिति सदस्य शाेभा श्रेष्ठले राजीनामा दिएकी छिन् । स्वतन्त्र संचालक रहेकी श्रेष्ठले व्यक्तिगत कारण देखाई संचालक समिति सदस्यबाट राजीनामा दिएकी हुन् । कम्पनीकाे पुस ५ गते बसेकाे बैठकले श्रेष्ठकाे राजिनामा पुस ६ गतेदेखि लागु हुने गरी स्वीकृत गरेकाे छ ।

यूनियन लाइफको लाभांश घोषणा

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । इन्स्योरेन्स कम्पनीको पुस १२ गते बसेको सञ्चालक समितिको बैठकले ९.१०५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट कायम चुक्ता पूँजीको ८.६५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४५५३ प्रतिशत नगद गरी कूल ९.१०५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृति भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीहरुलाई वितरण गरिनेछ ।

सूर्यज्योति अब अझ बृहत ,सबल र बिशाल

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले नयाँ बानेश्वरस्थित होटल एभरेष्टमा विशेष समारोहका साथ पहिलो सफल मर्जरको भव्य उद्घाटन गरेको छ । सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्स मर्ज भई बनेको सूर्यज्योतिले पुस ७ गतेदेखि एकीकृत कारोबार शुरु गरेको थियो । असार १२ मा प्रारम्भिक सम्झौता गरेको कम्पनीले निकै चुनौतिका बावजुद पनि छोटो समयमै मर्जरको काम सम्पन्न गरी एकीकृत कारोबार गर्न सफल भएको हो । मर्जर पश्चात बनेको कम्पनीको चुक्ता पूँजी ४ दशमलव ५४ अर्ब पुगेको छ । यससँगै कम्पनी चुक्ता पुँजीमा तेश्रो ठूलो बीमा कम्पनी बन्न सफल भएको छ । एकीकृत कारोबार पश्चात सूर्यज्योतिको जीवन बीमा कोष २२ अर्ब रुपैयाँ, लगानी २८ अर्ब रुपैयाँ र कुल शाखा संख्या १ सय ८१ पुगेको छ भने कुल कर्मचारीको संख्या ६ सय ७५ पुगेको छ । एक उज्जवल शुरुवात भन्ने नाराका साथ नेपालको लाइफ इन्स्योरेन्स क्षेत्रमा अझ बृहत,अझ सवल र अझ विशाल उपस्तिथी सूर्यज्योतिको हुनेछ । सूर्य र ज्योतिमा सात रंग भएझैं सूर्यज्योति पनि शुरुवात, न्यायोपन, प्रष्ट, उज्जवल, प्रतिवद्ध, समय र उर्जाका साथ एक भई अगाडि बढ्ने कम्पनीको अठोट रहेको छ । उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाललले तोकिएकै समयमा सफलतापुर्वक मर्जर सम्पन्न गरेको भन्दै धन्यवाद व्यक्त गरेका थिए । उनले कम्पनीको यस उपलब्धीलाई स्वर्ण अक्षरमा लेखिने प्रतिकृया दिएका थिए । जीवन बीमा क्षेत्रमा सूर्यज्योतिले ट्रेण्ड सेट गरेको भन्दै उनले यस उपलब्धीले अन्य कम्पनीहरुलाई पनि मर्जरको लागि प्रोत्साहन गर्ने बताए । साथै अध्यक्ष सिलवालले जीवन बीमा क्षेत्रमै ठूलो सफलता भएको र कम्पनीले नयाँ इतिहास रचेकोको बताएका छन् । कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टाइले मर्जरका लागि जति जटिल हुन्छ भनेर सोचिएको थियो सोचे अनुसार जटिल नभएको बताए । मर्जरकका क्रममा दुबै पक्षले निष्पक्ष रुपमा काम गरेको हुँदा समस्या नपरेको समेत उनले प्रष्ट पारे । अध्यक्षय भट्टराईले यो मर्जर सफल बनाउन अहम भूमिका खेल्नुहुने सम्पूर्ण सरोकारवालाहरु ,कर्मचारी साथीहरु ,मार्ग निर्देश गर्नुहुने बिमा प्राधिकरण तथा शेयरधनीहरुलाई हृदय देखि धन्यवाद व्यक्त गरे । मर्जरका क्रममा विश्वमा चलेका राम्रा अभ्यासलाई पछ्याउदा धेरै सहजताका साथ मर्जर गर्न सफल भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले बताए । दुबै कम्पनीको एक्चुरीयल मूल्याङ्कन, लेखापरीक्षण प्रतिवेदनलाई पियर रिभ्यु गरेर काम गरिएको उनले प्रष्ट पारे । सूर्या लाइफ जस्तो १५ वर्षको परिपक्व कम्पनी र ५ बर्षको छोटो समयमै आफूलाई अब्बल साबित गरेको ज्योतिलाइफ कम्पनीबीच भएको संयोजनले राम्रो प्रतिफल दिने खत्रीको विश्वास छ । मर्जपछि कम्पनीले टेक्नोलोजीमा लगानी गर्नुपर्ने र बजारमा आफ्नो प्रडक्ट मोडिफाई गर्नमा ध्यान दिनुपर्ने र कम्पनीले आउने दिनमा व्यवसाय बढाउने र सूर्यज्योतिलाई बीमा क्षेत्रकै बेञ्चमार्क बनाउने कम्पनीको प्रण रहेको सीईओ खत्रीले बताए । सिटिजन लाइफ इन्स्योरेन्सका सीईओसमेत रहेका जीवन बीमक संघका अध्यक्ष पोषकराज पौडेल, सगरमाथा इन्स्योरेन्सका सीईओसमेत रहेका बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले, कम्पनीको प्रगति तथा सफलताको कामना दिनुका साथै आ–आफ्ना तर्फ बाट शुभकामना व्यक्त गरे । साथै, कम्पनीका ब्राण्ड एम्बेस्डर राजेश हमालले नामजस्तै काम गरेर बीमा क्षेत्रमा प्रकाश छर्दै अघि बढ्न शुभकामना दिएका छन् । कम्पनीले एकिकृत कारोबार शुभारम्भ भएको दुई दिनमै एक हजार भन्दा धेरै पोलिसी जारी गरेको छ ।