लाइफ इन्स्योरेन्स कर्पोरेशनले ८८ प्रतिशत हकप्रद सेयर जारी गर्ने, डाक्यो विशेष साधारण सभा

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले ८८.४५१६८ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको छ । पुस ८ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको एक बराबर ०.८८ को अनुपातले हुन आउने सेयर निष्काशन गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नेपाल बीमा प्राधिकरणले सैद्धान्तिक स्वीकृति दिनु पर्ने हुन्छ । प्राधिकरणको स्वीकृति पश्चात कम्पनीको साधारण सभाले पारित गर्नुपर्छ । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ छ । प्रस्तावित हकप्रद पश्चात कम्पनीको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ पुग्ने छ । जुन प्राधिकरणले तोकेको न्यूनतम चुक्ता पुँजी हो । उक्त विशेष प्रस्ताव गर्न कम्पनीले विशेष साधारण सभा समेत बोलाइसकेको छ । इन्स्योरेन्सले आगामी माघ ३ गते बिहान ११ बजे काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सनमा उक्त सभा डाकेको हो ।

प्रभु लाइफ इन्स्योरेन्सले बीमितको परिवारलाई दियो २० लाख रुपैयाँ दाबी

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले बीमित परिवारलाई २० लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ । कम्पनीले असोज २८ गते मृत्यु भएका बीमित गणेश विश्वकर्माका परिवारलाई २० लाखको चेक हस्तान्तरण गरेको हो । प्रभु लाइफका प्रदेश १ प्रमुख पुष्कर भट्टराई र धरान शाखा प्रमुख सन्तोष राईले मृतकका श्रीमती सन्तमाया मगर र निजका बुबा धन बहादुर मगरलाई उक्त चेक हस्तान्तरण गरेका हुन् । २०७८ पुस २८ गते प्रभु लाइफमा २० लाख बीमाङ्क रकमको जीवन बीमा गरेका गणेश विश्वकर्माको यही असोज २८ गते मृत्यु भएको थियो । उनले पहिलो प्रिमियम स्वरुप १ लाख ३६ हजार ६५४ रकम मात्र बीमाशुल्क बुझाएका थिए भने दोस्रो किस्ता रकम (बीमा शुल्क) बुझाउने समय अगावै उनको मृत्यु भएको हो । प्रभु लाइफका प्रदेश १ प्रमुख पुष्कर भट्टराईले जीवन बीमालाई विश्वसनीय बनाउन दाबी भुक्तानीलाई सरल, सहज र चुस्तरुपमा गरिने कम्पनीको नीति रहेको प्रष्ट पारे । जीवन बीमाले बीमित परिवारलाई यस किसिमका अकल्पनीय घटनाबाट आइपर्ने आर्थिक जोखिम बहन गर्ने बताए । जसले बीमित परिवारलाई आफ्नो जीवनयापनमा केही मात्रामा सहजता आउने विश्वास रहेको भट्टराईले बताए । दाबी भुक्तानी कार्यक्रममा धरान शाखामा कार्यरत सिनियर एजेन्सी मेनेजर, एजेन्सी मेनेजर, अभिकर्ता र स्थानीयहरुको सहभागिता रहेको थियो ।

निर्जीवन बीमाको लघुबीमा व्यवसाय ४ सय प्रतिशत बढ्यो, उठाए ३ करोड बढी प्रिमियम

काठमाडौं । पछिल्लो समय लघुबीमा व्यवसाय बढ्दो छ । गत पाँच महिनाको अवधिमा निर्जीवन लघुबीमा व्यवसायमात्रै करिब ४०० प्रतिशतले बढेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार निर्जीवन बीमा कम्पनीहरुले गत साउनको तुलनामा मंसिर महिनासम्ममा ३९६.२६ प्रतिशतले लघुबीमा व्यवसाय बढाएका हुन् । कम्पनीहरुले मंसिरसम्ममा ३ करोड १२ लाख रुपैयाँ बराबरको प्रिमियम निर्जीवन बीमा व्यवसायबाट संकलन गरेका छन् । जुन गत साउनमा ६३ लाख ३ हजार रुपैयाँ थियो । त्यस्तै, समीक्षा अवधिमा बीमाशुल्कसँगै बीमालेख संख्या पनि बढेको छ । गत साउनमा २ हजार ९०९ वटा लघुबीमा बीमालेख जारी गरेका कम्पनीले मंसिरसम्ममा १५ हजार ८५ वटा जारी गरेका छन् । सबैभन्दा बढी बाग्मती प्रदेशमा, कुनमा कति ? समीक्षा अवधिमा बाग्मती प्रदेशबाट सबैभन्दा बढी बीमाशुल्क संकलन भएको छ । निर्जीवन बीमा कम्पनीले बाग्मती प्रदेशमा मात्रै ४ हजार २७६ वटा बीमालेख जारी गरी ९२ लाख ८३ हजार रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका छन् । बाग्मतीपछि सबैभन्दा बढी लघुबीमा व्यवसाय गण्डकी प्रदेशमा भएको देखिन्छ । मंसिरसम्ममा गण्डकीमा लघुबीमाबाटै ९२ लाख ६४ हजार रुपैयाँ बराबरको प्रिमियम संकलन भएका छन् । कूल ३ हजार ७५५ वटा बीमा पोलिसीबाट सो मात्राको प्रिमियम संकलन भएको हो । त्यस्तै, प्रदेश १ बाट ५१ लाख ६८ हजार, लुम्बिनी प्रदेशबाट ४३ लाख ९२ हजार, सुदुरपश्चिमबाट २० लाख ३० हजार, कर्णालीबाट ७ लाख ३८ हजार र मधेश प्रदेशबाट ४ लाख ४ हजार रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ । निर्जीवन बीमा कम्पनीहरुले प्रदेश १ मा ४ हजार २७६ वटा, लुम्बिनी प्रदेशमा ३ हजार ५०४ वटा, सुदुरपश्चिममा ८७१ वटा, कर्णालीमा ४३२ वटा र मधेशमा २२१ वटा लघु बीमालेख जारी गरेका छन् । नयाँ लघुबीमा कम्पनीहरु आउने भएसँगै पुराना कम्पनीहरु लघुबीमा व्यवसायमा आक्रामक भएको तथ्यांकले देखाउँछन् । बीमा प्राधिकरणले हालै ७ वटा लघुबीमा कम्पनीलाई लघुबीमा व्यवसाय गर्न छनोट गरेसँगै पुराना कम्पनीहरु पनि उक्त व्यवसाय विस्तारमा केन्द्रित भएको जानकारहरु बताउँछन् । प्राधिकरणले बीमाको पहुँचलाई विपन्न वर्गसम्म पुर्याउन उक्त व्यवसाय गर्नमात्रै छुट्टै कम्पनीलाई लाइसेन्स दिन लागेको हो ।