नेपाल रिले जीवन र निर्जीवन बीमा कम्पनीको जोखिमाङ्कन क्षमता बढाएको छ : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपाल पुनर्बीमा (नेपाल रि) कम्पनीको स्थापना र विकासले जीवन र निर्जीवन बीमा कम्पनीको जोखिमाङ्कन क्षमता बढेको बताएका छन् । कम्पनीको नवौं वार्षिकोत्सवको अवसरमा बोल्दै उनले सो बताएका हुन् । साथै, कम्पनीहरुको जोखिमाङ्कन क्षमता बढ्दा बीमा बजारको विस्तारमा थप मद्दत पुगेको उनको दावी छ । अर्थमन्त्री शर्माले प्राकृतिक र मानव सिर्जित जोखिमबाट जीवन, व्यवसाय, सम्पत्ति र दायित्वको रक्षावरण गरी वित्तीय सुरक्षा प्रदान गर्न बीमा क्षेत्रले महत्वपूर्ण भूमिका खेलेको बताए । त्यस्तै, बीमा प्रतिको जनविश्वासलाई अझ मजबुत बनाउन शीघ्र बीमा दाबी भुक्तानी प्रणालीको विकास गर्नुपर्ने उनको भनाई छ । नेपाल सरकारले पर्न्धौं योजनाको अन्त्यसम्ममा जीवन बीमा तथा स्वास्थ्य बीमामा आवद्ध जनसंख्या ६० प्रतिशत पुग्ने र कृषि बीमाको पहुँच १० प्रतिशत कृषकमा पुग्ने अपेक्षा गरेको छ । यो लक्ष्यलाई पूरा गर्न यस कम्पनीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने छ समेत उनको विश्वास छ । नेपाल पुनर्बीमाले हरेक वर्ष नेपालबाट बाहिरिने पुनर्बीमा शुल्क बापतको ठूलो रकमलाई रोक्दै देशको आर्थिक विकासमा समेत टेवा पुर्याइरहेको छ ।

एशियन लाइफले व्यतित बीमालेखमा ५० प्रतिशत छुट दिने

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख नविकरण गर्दा लाग्ने ब्याजमा छुट दिने भएको छ । कम्पनीले २०७७ कार्तिक २० गते देखि २०७९ कार्तिक २१ गते भित्र व्यतित बीमालेख नविकरण गर्दा लाग्ने बिलम्ब शुल्कका ५० प्रतिशत छुट निर्णय गरेको हो । कम्पनीको अनुसार व्यतित बीमालेखमा छुट पाउन ग्राहकहरुले मंसिर २१ गतेभित्र नविकरण गरिसक्नुपर्नेछ । जीवन बीमालेख सम्बन्धी निर्देशिका २०७८ जारी भएपश्चात एकपटक ब्याज छुट लिइसकेका बीमितहरुले भने पुनः ब्याज छुट नपाउने कम्पनीले जनाएको छ ।

अजोड इन्स्योरेन्सले बोलायो विशेष साधारणसभा, यस्ता छन् एजेण्डा

काठमाडौं । अजोड इन्स्योरेन्सले आफ्नो विशेष साधारण सभा बोलाएको छ । इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको आइतबार बसेको बैठकले मंसिर ९ गते शुक्रबार लैनचौर काठमांडौमा बिहान ११ बजे विशेष साधारणसभा बोलाएको हो । कम्पनीको सभाले अजोड इन्स्योरेन्स कम्पनी र प्रभु इन्स्योरेन्ससंग मर्जरमा जाने प्रस्तावलाई पारित गर्नेछ । यस्तै, सभाले हाल कायम रहेको सेयर संरचनालाई परिमार्जन गरी संस्थापक र साधारण सेयरधनीहरुको सेयर अनुपात ५१ः४९ बनाउने प्रस्ताव समेत पारित गर्ने छ । कम्पनीले विशेष साधारणसभा प्रयोजनार्थ मंसिर २ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । कम्पनी मर्जर प्रक्रियामा भएकाले दोस्रो बजारमा कम्पनीको सेयर कारोबार साउन १ गतेदेखि रोक्का छ । त्यसैले असार ३० गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र सभामा सहभागि हुन पाउने छन् ।