प्रभु इन्स्योरेन्सले गर्यो ७.०५ प्रतिशत लाभांश घोषणा

काठमाडौं । प्रभु इन्स्योरेन्सले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीको पुस २४ गते आइतबार बसेको संचालक समितिको बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई ७.०५ प्रतिशत लाभांश घोषणा गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको ६.७ प्रतिशत बोनस सेयर र ०.३५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । बैंकको चुक्ता पूँजी हाल एक अर्ब २८ करोड रुपैयाँ रहेको छ ।

रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा एमडिआरटीका अभिकर्ताहरु सम्मानित

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले एमडिआरटी २०२३ को लागि योग्य २० अभिकर्ताहरुलाई सम्मान गरेको छ । कार्यक्रममा कम्पनीका सीइओ राकेश पोखरेलले एमडिआरटी अभिकर्ताहरुले आफ्नो परिश्रमले गर्दा नै निरन्तर प्रतिष्ठित एमडिआरटी ग्लोबल कनफरेन्समा सहभागिता जनाउन सफल भएको बताए । यस्तै, उनले आगामी दिनमा कम्पनीले थप उत्कृष्ट प्रशिक्षण आकर्षक स्किम लगायतका कार्यक्रम ल्याई हौसला प्रदान गर्ने र त्यस्ता कार्यक्रमले थप एमडिआरटी अभिकर्ताहरु कम्पनीले जन्माउने बताए । कार्यक्रममा कम्पनीका सिनियर मेनेजमेन्ट एमडिआरटी अभिकर्ताहरु रिजनल मेनेजर का साथै ब्रान्च मेनेजरहरुको पनि सहभागिता रहेको थियो ।    

तनहुँमा ४२ हजार घरधुरी स्वास्थ्य बीमामा

तनहुँ । तनहुँका ४२ हजार सात सय ५५ घरधुरी स्वास्थ्य बीमामा आबद्ध भएका छन् । स्वास्थ्य बीमा बोर्डको जिल्ला कार्यालयका अनुसार ती घरधुरीका एक लाख सात हजार सात सय २५ स्वास्थ्य बीमाबाट लाभान्वित भएका छन् । सरकारले नागरिकको स्वास्थ्य उपचारको व्यवस्था गर्न स्वास्थ्य बीमा बोर्डको गठन गरेको थियो । उक्त बोर्डमार्फत् घर परिवारलाई बीमामा आबद्ध गरी सोहीमार्फत् रु एक लाख रुपैयाँसम्मको उपचार निःशुल्क हुँदै आएको छ । जिल्लामा पहिलो वर्ष आठ हजार सात सय ५१, दोस्रो वर्ष नौ हजार ४३, तेस्रो वर्ष १७ हजार तीन सय ८९, चौथो वर्ष सात हजार पाँच सय ७२ र चालु आर्थिक वर्षमा दुई हजार दुई सय ११ घर परिवार स्वास्थ्य बीमामा आबद्ध भएको कार्यालयकी दर्ता अधिकारी सिर्जना बताए । आव २०७४/०७५ बाट लागू भएको उक्त कार्यक्रमअन्तर्गत पाँच जनासम्मको सदस्य भएका परिवारले वार्षिक तीन हजार पाँच सय बुझाएर बीमामा आबद्ध हुन सकिन्छ । पाँच जनाभन्दा बढी सदस्य भएमा प्रतिसदस्य थप सात सय भुक्तानी गर्नुपर्ने प्रावधान छ । सरकारले विपन्न नागरिकको निःशुल्क उपचार तथा औषधिको व्यवस्थाका लागि स्वास्थ्य बीमाको अवधारणा ल्याएको थियो तर स्वास्थ्य बीमा गर्नेलाई उपचार प्रभावकारी नभएको तथा औषधि पनि पर्याप्त नपाइने गुनासो आउने गरेको छ । तनहुँमा दमौली अस्पताल, बन्दीपुर अस्पताल, भिमाद प्राथमिक स्वास्थ्य केन्द्र, पुरनडिही प्राथमिक स्वास्थ्य केन्द्र र जिपी कोइराला स्वासप्रश्वास उपचार केन्द्रमा स्वास्थ्य बीमाको सेवा लिन सकिने व्यवस्था गरिएको छ । वैशाख, जेठ र असार महिनामा दर्ता गर्ने सर्वसाधारणले भदौ १, साउन, भदौ र असोजमा दर्ता गर्ने सर्वसाधारणले मङ्सिर १ गते, कात्तिक मङ्सिर र पुसमा दर्ता गर्ने सर्वसाधारणले फागुन १ गते र माघ, फागुन र चैतमा दर्ता गर्ने सर्वसाधारणले जेठ १ गतेबाट सेवा प्राप्त गर्न सक्नेछन् ।