प्राइम लाइफका बीमितले प्रतिहजार ८० रुपैयाँसम्म बोनस पाउने
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७६/७७ को तुलनामा बढाएर नयाँ बोनसदर सार्वजनिक गरेको हो । नयाँ बोनसदर अनुसार कम्पनीले विभिन्न योजनामा प्रतिहजार न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनस दिने भएको छ । इन्स्योरेन्सले सावधिक जीवन बीमालेखमा न्यूनतम ३५ रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनस तोकेको छ । जसमा ९ वर्षसम्मको ३५, १० देखि १४ वर्षसम्मको ४०, १५ देखि १९ वर्षसम्मको ४५ रुपैयाँ, २० देखि २४ वर्षसम्मको ५० रूपैयाँ र २५ देखि माथि अवधिको ७० रुपैयाँ बोनसदर तोकिएको छ । त्यस्तै, सावधिक तथा आजीवन बीमालेखको ९ वर्ष अवधिको ३६ रुपैयाँ, १० देखि १४ वर्षको ४५ रुपैयाँ, १५ देखि १९ वर्षको ५० रुपैयाँ, २० देखि २४ वर्षको ५७ रुपैयाँ र २५ देखि माथिको ७५ रुपैयाँ बोनस निर्धारण गरिएको छ । कम्पनीले अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा न्यूनतम ५० देखि ८० रुपैयाँसम्म बोनस दिने भएको छ । जसमध्ये १० देखि १४ वर्षको ५० रुपैयाँ, १५ देखि १९ वर्षको ५८ रुपैयाँ, २० देखि २४ वर्षको ६५ र २५ देखि माथिको ८० रुपैयाँ बोनसदर तोकिएको छ । त्यस्तै, कम्पनीले प्राइम जीवन उपहार योजना (अग्रिम भुक्तानी) मा ४२ रुपैयाँ बोनसदर तोकेको छ । जसमध्ये प्राइम जीवन उपहार योजना (सावधिक) ४० रुपैयाँ बोनसदर निर्धारण गरिएको कम्पनीले जनाएको छ । यी दुई योजनाका क्रमशः १६ र १५ वर्षकाले पाउने छन् । अघिल्लो वर्षमा कम्पनीले बीमितलाई प्रतिहजार न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दिएको थियो ।
बीमा र अनुदानले चौँरीपालक किसान उत्साहित, व्यवसायलाई लोप हुन नदिन थाले अभियान
चौतारा । सिन्धुपाल्चोकका चौँरीपालक किसान बीमा र अनुदानको कार्यक्रमले उत्साहित भएका छन् । जिल्लामा लोप हुने अवस्थामा रहेको चौँरी भोटेकोसी गाउँपालिकाको लिस्ती, फुल्पिङकट्टी र मार्मिङका बासिन्दाका लागि भने आम्दानीको दरिलो माध्यम बनेको छ । परम्परागतरूपमा पालिने चौँरीलाई व्यावसायिक रूप दिएपछि स्थानीयवासीले चौँरी लोप हुन नदिन अभियान नै सञ्चालन गरेका छन् । लिस्तीमाथि छगाम बगामको चौँरीखर्कमा ६० चौँरी थपिएका छन् । एशियन नेपाल र सेन्डाकले संयुक्तरूपमा चौँरीपालक किसानलाई ५३ लाख रुपैयाँ अनुदान दिएको छ । साठी चौँरीका लागि ३३ लाख रुपैयाँ र खानेपानीसहित अन्य व्यवस्थापनका लागि २० लाख रुपैयाँ अनुदान उपलब्ध भएको हो । स्थानीय निमा शेर्पाका अनुसार चौँरीबाट उत्पादित दूधजन्य सामग्रीको बजारीकरणका लागि लेकाली खर्कमै सङ्कलन केन्द्र स्थापना गरिएको छ । किसानको उत्साहलाई ध्यानमा राख्दै गाउँपालिकाले प्रत्येक किसानको गोठमा रहेका चौँरीको बीमा र औषधोपचारको जिम्मा लिएको गाउँपालिका अध्यक्ष पासाङ नुर्पु शेर्पाले बताए । चौँरीखर्कको व्यवस्थापन र उत्पादित सामग्रीको बजारीकरणका लागि स्थापना गरिएको चौँरी संरक्षण समितिले कुल आम्दानीको ६० प्रतिशत किसानलाई र ४० प्रतिशत कोषमा राखेर पुनः किसानकै लागि सेयरमा परिणत गर्ने योजना बनाएको छ । परम्परागतरूपमा चौँरीपालन गर्दै आएका जुगल गाउँपालिकाका किसान बीमाको कार्यक्रम लागू भएपछि खुसी भएका छन् । महँगो मूल्य पर्ने चौँरी मर्दा पूरै नोक्सानी व्यहोर्दै आएका किसानले अहिले बीमावापतको रकम पाउने भएका छन् । जुगल गाउँपालिकाले किसानलाई सहुलियतमा चौँरीको बीमा गरिदिएपछि चौँरीपालक किसानको सङ्ख्यासमेत बढ्न थालेको शेर्पाले बताए । चौँरीको दूधबाट नौनी, घ्यू र छुर्पी उत्पादन हुन्छ । एउटै गोठमा ५० भन्दा बढी चौँरी पाल्ने किसानको उत्पादन खरिद गर्न व्यापारी खर्कमै पुग्ने गरेका छन् । रासस
बीमा समितिले संशोधन गर्याे बाख्रा बीमालेख, ३५ दिनभित्र बीमितले दावी भुक्तानी पाउने
काठमाडौं । बीमा समितिले बाख्रा बीमालेखमा बाख्रा बीमालेख खरीद गर्ने बाख्रापालक कृषकको दुर्घटना बीमा, सामूहिक बाख्रा बीमा लगायतका व्यवस्थाहरु थप गरी बाख्रा बीमालेखमा संशोधन गरेको छ । अब कृषकले बाख्रापालन गर्दा एक महिनादेखि ७ वर्ष उमेरसम्मका बाख्राको बीमा गर्न सक्ने, बीमा गर्दाको समयमा सबै बाख्रा स्वस्थ तथा कुनै चोटपटक नलागेको हुनुपर्ने, बाख्रामा खोप लगाएको हुनुपर्ने, बाख्राको खोर सुरक्षित तथा व्यवस्थित हुनुपर्ने र बीमा गरिएका बाख्रामा क्षति भएमा तीन दिनभित्र बीमकलाई जानकारी गराउनुपर्ने लगायतका व्यवस्था गरिएको बीमा समितिले जनाएको छ । यस्तै, बाख्रा बीमालेख बमोजिम बीमाङ्क गणना गर्दा ३१ दिनदेखि ९० दिनसम्मको पाठापाठीको हकमा बीमाङ्क रकमको ७ प्रतिशत, ९१ दिनदेखि ५ वर्षसम्मका बाख्राको ५ प्रतिशत र ५ वर्षभन्दा माथि ७ वर्षसम्मका बाख्राको हकमा ७ प्रतिशत बीमाशुल्क लाग्ने व्यवस्था रहेको छ । बाख्रा बीमा गरिएका बाख्रामध्ये ३१ दिनदेखि ९० दिनसम्म बाख्राको वास्तविक क्षतिको २५ प्रतिशत, ९१ दिनदेखि ६ महिनासम्म वास्तविक क्षतिको ५० प्रतिशत, ६ महिनादेखि माथि ९ महिनासम्म वास्तविक क्षतिको ७५ प्रतिशत र ९ महिनादेखि १२ महिनासम्मका क्षति भएका बाख्राको वास्तविक क्षतिको १ सय प्रतिशत दाबी भुक्तानी गर्नुपर्ने व्यवस्था रहेको छ । बाख्रा बीमालेख खरीद गर्दा दुर्घटना बीमा वापत् बीमाशुल्क प्रति बीमित ५ सय रुपैयाँ बीमाशुल्क बुझाउुपर्ने र त्यसरी बुझाइएको बीमाशुल्क वापत बीमित बाख्रापालक कृषकको २ लाख रुपैयाँको दुर्घटना बीमा हुने समेत व्यवस्था संशोधित बाख्रा बीमालेखमा रहेको छ । बाख्रा बीमा अन्तर्गत भौतिक सम्पत्तिको बीमा गर्दा बीमा समितिबाट जारी सम्पत्ति बीमा निर्देशिका, २०७५ बमोजिम गर्नुपर्ने र त्यसमा अनुदानको व्यवस्था नभएको समेत उल्लेख छ । बीमकले आफूसमक्ष परेको बाख्राको बीमा दावीको तत्काल छानविन प्रक्रिया प्रारम्भ गर्न ७ दिनभित्र क्षति मूल्याङ्कनकर्तालाई खटाउनुपर्ने, क्षति मूल्याङ्कनकर्ताले १५ दिनभित्र क्षति मूल्याङ्कन गरेर प्रतिवेदन पेश गर्नुपर्ने र क्षति मूल्याङ्कन प्रतिवेदन पेश गरिएको मितिले ३५ दिनभित्र बीमकले दायित्व यकीन गरी बीमितलाई दावी भुक्तानी गर्नुपर्ने व्यवस्था रहेको छ । बीमितले दाबी भुक्तानी वापत रकम नपाउने भएमा सोही अवधिभित्र कारण सहित बीमितलाई लिखित जानकारी दिनुपर्ने व्यवस्था समेत रहेको छ ।