व्यवसायमा नेक टु नेक शिखर र सलिको
काठमाडौं । शिखर इन्स्योरेन्स र सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) ले आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । यी दुई कम्पनीबीच विभिन्न सूचकमा राम्रो प्रतिस्पर्धा देखिएको छ । दुई बीमा कम्पनीकाे तुलनात्मक विश्लेषण कुल बीमाशुल्क आर्जन : पहिलो त्रैमासमा कुल बीमा शुल्क आर्जनमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) तगडा देखिएको छ । पहिलो त्रैमासमा सलिकोले १ अर्ब २६ करोड १७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ७७ करोड ८० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको कुल बीमाशुल्क ६२ प्रतिशतले बढेको छ । तीन महिनाको अवधिमा शिखरले ९० करोड ६८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले ८१ करोड ६७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन ११.०३ प्रतिशतले बढेको छ । खुद बीमाशुल्क आर्जन : पहिलो त्रैमासमा खुद बीमा शुल्क आर्जनमा पनि सलिकोले शिखरलाई उछिनेको छ । तीन महिनाको अवधिमा सलिकाले ६२ करोड ११ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ । शिखरले २९ करोड ७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । खुद नाफा : पहिलो त्रैमासमा सलिको र शिखर दुवै कम्पनीको नाफा ऋणात्मक रहेको छ । सलिको नाफा २६ करोड ७३ लाख रुपैयाँ ऋणात्मक रहेको छ भने शिखरको नाफा १५ करोड ८५ लाख रुपैयाँ ऋणात्मक छ । कुल आम्दानी : पहिलो त्रैमाससम्ममा कुल आम्दानी संकलनमा सलिको अगाडि देखिएको छ । सलिकोको असोजसम्ममा ८४ करोड १९ लाख रुपैयाँ आम्दानी गरेको छ भने शिखर इन्स्योरेन्सले ५३ करोड ९० लाख रुपैयाँ कुल आम्दानी गरेको छ । सेयर पुँजी : सेयर पुँजीको आधारमा शिखर इन्स्योरेन्स अब्बल देखिएको छ । शिखर इन्स्योरेन्सको शेयर पुँजी २ अर्ब ९२ करोड ३० लाख रुपैयाँ रहेको छ भने सलिकोको शेयर क्यापिटल २ अर्ब ६२ करोड २६ लाख रुपैयाँ रहेको छ । स्पेशल रिर्जभ : पहिलो त्रैमासमा स्पेसल रिर्जभमा सलिको अगाडि देखिएको छ । सलिकोको स्पेसल रिर्जभमा २ अर्ब ५५ करोड रुपैयाँ रहेको छ भने शिखरको १ अर्ब ९३ करोड ६५ लाख रुपैयाँ रहेको छ । महाविपत्ति कोष : असोज मसान्तसम्ममा सलिकोको महाविपत्ति कोषमा २३ करोड ७६ लाख रुपैयाँ र शिखरको महाविपत्ति कोषमा १६ करोड ३० लाख रुपैयाँ रहेको छ । रिटेन्ड अर्निङ : रिटेन्ड अर्निङमा सलिको अगाडि देखिएको छ । तीन महिनासम्ममा सलिकोको रिटेन्ड अर्निङमा १७ करोड ४३ लाख रुपैयाँ भने शिखर इन्स्योरेन्सको रिटेन्ड अर्निङमा ६ करोड ७७ लाख रुपैयाँ रहेको छ । अन्य इक्विटी : अन्य इक्युटीमा शिखर इन्स्योरेन्स अगाडि देखिएको छ । शिखरको अन्य इक्विटीमा ५८ करोड ४२ लाख रुपैयाँ रहेको छ भने सलिकोको अन्य इक्विटीमा ४३ करोड ३४ लाख रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी : पहिलो त्रैमासमा शिखर र सलिकाको वार्षिक प्रतिसेयर आम्दानी ऋणात्मक देखिएको छ । शिखर इन्स्योरेन्सको प्रति सेयर आम्दानी २१.७० रुपैयाँले ऋणात्मक रहेको छ । सलिकोको वार्षिक प्रतिसेयर आम्दानी ४०.७८ रुपैयाँ ऋणात्मक रहेको छ । बीमालेख संख्या : बीमालेख संख्याको आधारमा शिखर अगाडि देखिएको छ । तीन महिनाको अवधिमा शिखरले ७९ हजार ४६५ वटा बीमालेख जारी गरेका छन् भने सलिकाले ६५ हजार १०२ वटा बीमालेख जारी गरेका छन् । दाबी संख्या : दाबी संख्याको आधारमा पनि शिखर सलिकोभन्दा तगडा देखिएको छ । पहिलो त्रैमासमा शिखरले ४ हजार ७६५ वटा दाबी भुक्तानी गरेको छन् भने सलिकालेले ३ हजार २२८ वटाको भुक्तानी गरेको छ । कुल सम्पति : पहिलो त्रैमाससम्ममा सलिकोको कुल सम्पति १७ अर्ब ६६ करोड रुपैयाँ रहेको छ भने शिखरको १५ अर्ब ५८ करोड रुपैयाँ छ । कुल सम्पत्तिमा पनि सलिको तगडा देखिएको छ । कुल दायित्व : सलिकोका कुल दायित्व ११ अर्ब ६६ करोड रुपैयाँ रहेको छ भने शिखरको ११ अर्ब ६६ करोड रुपैयाँ छ । लगानी : लगानीमा सलिको अगाडि देखिएको छ । असोज मसान्तसम्ममा सलिकोको लगानी ६ अर्ब ५९ करोड रुपैयाँ रहेको छ भने शिखरको ४ अर्ब ९१ करोड ७४ लाख रुपैयाँ रहेको छ ।
शिखर इन्स्योरेन्स २२औं वर्षमा प्रवेश, सात प्रदेशमा रक्तदान कार्यक्रम सम्पन्न
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले २१औं वार्षिकोत्सवको अवसरमा देशव्यापी रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । देशभर बढ्दो रगतको मागलाई ध्यानमा राख्दै कम्पनीले सातै प्रदेशमा एकसाथ साताव्यापी रक्तदान अभियान सञ्चालन गरेको हो । कम्पनीका अनुसार कोशी प्रदेशमा ५३ युनिट, मधेश प्रदेशमा १६७ युनिट, बागमती प्रदेशमा ६३९ युनिट, गण्डकी प्रदेशमा ७९ युनिट, लुम्बिनी प्रदेशमा ४३५ युनिट, कर्णाली प्रदेशमा ४४ युनिट तथा सुदूरपश्चिम प्रदेशमा २२ युनिट गरी जम्मा १४३९ युनिट रगत संकलन भएको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजित कार्यक्रममा सहकार्य र उत्साहजनक सहभागिताका लागि कम्पनीले सञ्चालक समिति, प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापक समिति, आयोजक कार्यालयहरू, नेपाल रेडक्रस सोसाइटी, रक्तदाता तथा सबै सहयोगीप्रति आभार व्यक्त गरेको छ । २२औं वर्षमा प्रवेश गरेको शिखर इन्स्योरेन्सले आगामी दिनमा अझ सबल, सरल र सुदृढ बीमा सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
आइजीआई प्रुडेन्सियल र अल्का अस्पतालबीच नगदरहित उपचार सेवासम्बन्धी सम्झौता
काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र अल्का अस्पताल प्रालिबीच बीमित ग्राहकका लागि नगदरहित (क्यासलेस) उपचार सेवा प्रदान गर्ने सम्झौता भएको छ। नारायणचौर, नक्शालस्थित आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको प्रधान कार्यालय र जावलाखेल, ललितपुरस्थित अल्का अस्पतालबीच भएको सम्झौतापत्रमा इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र अल्का अस्पतालका वित्त अधिकृत मुकुन्द भुसालले हस्ताक्षर गरे । सम्झौता अनुसार आइजीआई प्रुडेन्सियलबाट औषधोपचार बीमा सेवा खरिद गरेका बीमितले बीमालेखमा तोकिएको सीमाभित्र अस्पतालमा नगदरहित भर्ना सेवा प्राप्त गर्न सक्नेछन् । सम्झौता हस्ताक्षरपछि नायव प्रमुख कार्यकारी अधिकृत रेग्मीले अल्का अस्पतालका ग्राहकलाई आइजीआई प्रुडेन्सियलको स्वास्थ्य बीमा सेवा उपयोग गरी सहज र व्यवस्थित सेवा लिन अनुरोध गरे । उनले अस्पताल तथा त्यससँग आवद्ध सदस्यहरूले आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा कम्पनीमार्फत निश्चिन्त रूपमा पाउन सकिने बताए । त्यसैगरी अल्का अस्पतालका वित्त अधिकृत भुसालले अस्पतालसँग सन्तुष्ट ग्राहकको संख्या बढ्दो क्रममा रहेको उल्लेख गर्दै आइजीआई प्रुडेन्सियलबाट प्राप्त बीमा सेवा छिटो छरितो हुने र आगामी दिनमा दुबै संस्थाले मिलेर सेवाको दायरा अझ विस्तार गर्दै जाने जानकारी दिए