काठमाडौं । नेपालको बीमा क्षेत्रमा पहिलो महिला प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् उपासना पौडेल । कम उमेरमै बीमा कम्पनी र पुर्नबीमा कम्पनीमा सीईओ बन्न सफल उनी बीमा क्षेत्रकी पहिलो महिला तथा सबैभन्दा कान्छी सीईओका रूपमा परिचित भइन् ।
एक समय उनलाई बीमा उद्योगको उदाउँदो र सम्भावनाशील नेतृत्वका रूपमा हेरिन्थ्यो । नेतृत्व क्षमता, व्यावसायिक दक्षताकै कारण उनले छोटो समयमै आफ्नो अलग पहिचान बनाउन सफल भएकी थिइन् ।
तर जसरी उनले कम उमेरमै छिटो सफलता हासिल गरिन्, त्यसैगरी छोटो समयमै आफ्नो साख पनि गुमाएकी छन् ।
सफलताको शिखरतर्फ उन्मुख उनको यात्रा अहिले अप्रत्याशित मोडमा पुगेको छ । एक समय प्रेरणा, उपलब्धि र महिला नेतृत्वको उदाहरणका रूपमा हेरिएकी पौडेल आज गम्भीर कानुनी विवादमा मुछिएकी छन् । उनको यो अवस्थाले उनलाई नजिकबाट चिन्ने आफन्त, साथीभाइ तथा शुभेच्छुकहरूलाई समेत दुःखित तुल्याएको छ ।
पौडेललाई नजिकबाट चिन्नेहरू उनी गैरकानुनी गतिविधिमा संलग्न हुने स्वभाव वा प्रकृतिकी व्यक्ति नभएको बताउँछन् । उनीहरूका अनुसार यो प्रकरणमा उनको नियतभन्दा पनि परिस्थितिजन्य कारणहरूको भूमिका बढी हुन सक्ने देखिन्छ ।
पौडेललाई नजिकबाट चिन्ने आफन्त, साथीभाइ, सहकर्मी तथा नियामक निकायका कर्मचारीहरूले समेत उनलाई यस प्रकारको विवादमा मुछिने व्यक्ति नभएको बताउने गरेका छन् । उनीहरूको बुझाइमा पौडेल व्यावसायिक रूपमा जिम्मेवार, मेहनती र आफ्नो कामप्रति प्रतिबद्ध व्यक्ति हुन् । त्यसकारण पनि उनीमाथि लागेको आरोपले धेरैलाई आश्चर्यचकित बनाएको छ ।
बीमा प्राधिकरणका माथिल्लो निकायका एक कर्मचारीले पौडेल कुनै शंकास्पद वा गैरकानुनी गतिविधिमा संलग्न हुनेछिन् भन्ने आफूलाई कहिल्यै नलागेको बताइन् । पौडेलको व्यावसायिक प्रगति र उपलब्धि देखेर आफू पनि उत्साहित हुने गरेको बताउँदै उनले अहिलेको परिस्थितिमा भने कुनै निष्कर्षमा पुगिहाल्न नसकिने प्रतिक्रिया दिइन् ।
उनका अनुसार विभागीय कामका सिलसिलामा तथा कहिलेकाहीँ औपचारिक कार्यक्रमहरूमा पौडेलसँग भेटघाट हुने गरेको थियो । ती भेटहरूका आधारमा आफूले उनलाई सरल, सहज र सामान्य व्यक्तित्वको रूपमा पाएको उल्लेख गरिन् ।
पौडेललाई चिन्ने केही व्यक्तिहरू भने हिमालयन रि–इन्स्योरेन्सका तत्कालीन अध्यक्ष शेखर गोल्छासँग नजिकबाट काम गर्ने क्रममा उनी पनि यो प्रकरणमा तानिएको हुन सक्ने तर्क गर्छन् ।
उनीहरूका अनुसार कम्पनीका महत्त्वपूर्ण निर्णयहरू उच्च तहबाट हुने भएकाले संस्थागत निर्णय प्रक्रियासँग जोडिएका कारण यसमा उनको नाम समावेश भएको हुन सक्ने अनुमान गर्छन् ।
के हो मुद्दा ?
हाल उनी हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार अपचलन प्रकरण तथा सम्पत्ति शुद्धीकरण अनुसन्धानसँग सम्बन्धित मुद्दामा मुछिएकी हुन् । उनीविरुद्ध विशेष अदालतमा फौजदारी अभियोगसहित मुद्दा दायर गरिएको छ।
अभियोगपत्रअनुसार हिमालयन रिइन्स्योरेन्सको सीईओको हैसियतमा संस्थाप्रति निर्वाह गर्नुपर्ने जिम्मेवारी पूरा नगरी संस्थालाई हानी–नोक्सानी पुग्ने कार्यमा संलग्न रहेको आरोप लगाइएको छ । साथै शेखर गोल्छा, शाहिल अग्रवाललगायत अन्य प्रतिवादीहरूसँगको मिलेमतोमा संगठित रूपमा धितोपत्रको मूल्यमा कृत्रिम उतारचढाव सिर्जना गर्दै जालसाजीयुक्त कारोबार गरेको अभियोग पनि उनीमाथि छ ।
फौजदारी अभियोगमा मुद्दा दर्ता भएपछि प्राधिकरणले उनलाई पदबाट निलम्बन गरिसकेको छ । मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३२ बमोजिम धितोपत्र कसुरसम्बन्धी मुद्दा दर्ता गरिएका उनलाई फरार प्रतिवादीको सूचीमा राखिएको छ ।
नेपाल बीमा प्राधिकरणले गत वैशाखमा हिमालयन रि–इन्स्योरेन्समा भएको भनिएको २ अर्ब ७३ करोड रुपैयाँको अपचलन प्रकरणमा सीईओ पौडेलसहित पाँच जना उच्च व्यवस्थापकसँग स्पष्टीकरण मागेको थियो । तर त्यसबेला उनी बिरामी बिदा लिएर भारत गएकी थिइन् । हालसम्म पनि उनी नेपाल फर्किएकी छैनन् । नेपाल प्रहरीको नजरमा उनी फरार अर्थात वेपत्ता छिन् ।
हिमालयन रि–इन्स्योरेन्स एकपछि अर्को संकट र विवादको सामना गरिरहेका बेला कम्पनी प्रमुख कार्यकारी अधिकृतविहिन छ । कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाएका मुकेश कुमार कपुरले राजीनामा दिएका छन् ।
व्यावसायिक यात्रा
पौडेलको व्यावसायिक यात्रा बीमा क्षेत्रबाटै सुरु भएको थियो । ललितपुरको एक मध्यम वर्गीय परिवारमा जन्मिएकी पौडेलले विद्यालय स्तरको पढाइ ललितपुरकै डीएभी स्कुलबाट गरिन् । त्यसपछि उनले १२ कक्षा डन बस्कोबाट पूरा गरिन् । काठमाडौं कलेज अफ म्यानेजमेन्टबाट स्नातक पूरा गरेकी पौडेलले एमबीए पढ्न भारत पुगिन् ।
पढाइपछि उनले ‘कमिन्स इन्डिया लिमिटेड’ मा इन्टर्नको रूपमा जागिर सुरु गरेकी थिइन् । त्यहीबाट उनले आफ्नो उनले व्यावसायिक करिअर सुरु गरिन् । त्यसपछि पौडेलले मुम्बईमा बीमा करिअर सुरु गरिन् । त्यहाँ उनले ‘आईसीआईसीआई लाम्बार्ड’ नामक जनरल इन्स्योरेन्स कम्पनीमा जागिर सुरु गरेकी थिइन् ।
त्यहाँबाट उनले भोडाफोन नामक टेलिकम्युनिकेसन कम्पनी पुगिन् । त्यसपछि भने उनी स्वदेश फर्किन् । स्वदेश फर्केर पौडेल सानिमा जनरल इन्स्योरेन्समा जागिर गर्न थालिन् । त्यहाँ उनले सहायक महाप्रबन्धकको रूपमा काम सुरु गरेकी थिइन् ।
सानिमामा काम सुरु गरेको केही समयमै उनी युनाइटेड इन्स्योरेन्स (हाल युनाइडेट अजोड इन्स्योरेन्स) मा पुगिन् । उक्त कम्पनीमा सहायक प्रमुख कार्यकारी अधिकृत, कामु सीईओ हुँदै ३४ वर्षकै उमेरमा उनी कम्पनीको सीईओ बनेकी थिइन् ।
कम्पनी प्रवेश गरेको छोटो अवधीमा नै कम्पनीलाई मुनाफा मात्रै नभई लाभांश दिन पौडेल सफल भएकी थिइन् । २०७८ बैशाख १६ गते उक्त कम्पनीमा सीईओ बनेकी उनी त्यहाँबाट विदा भएर हिमालयन रि पुगिन् । त्यहाँ उनले सीईओको जिम्मेवारी सम्हालिन् ।
आफ्नो व्यावसायिक यात्राका क्रममा पौडेलले विभिन्न क्षेत्रबाट पहिचान र प्रशंसा प्राप्त गरेकी थिइन् । उनको नेतृत्व क्षमता, व्यवस्थापकीय दक्षता र व्यावसायिक उपलब्धिका कारण उनी विभिन्न मिडिया तथा संस्थाहरूको नजरमा समेत परेकी थिइन् । त्यसै क्रममा कासन्युजले उनलाई बीमा क्षेत्रकी अब्बल व्यवस्थापक सूचिमा राख्दै उनकाे कार्यउपलब्धिबारे रिपोर्ट प्रकाशन गरेको थियो । अर्को वर्ष, अनलाइनखबरले उनलाई ‘५० प्रभावशाली महिला–२०८०’ सूचीमा समावेश गरेको थियो ।
कति बिगो दाबी ?
सम्पत्ति शुद्धीकरण अनसन्धान विभागले हिमालयन रि इन्स्योरेन्सका तत्कालीन अध्यक्ष शेखर गोल्छा, सीईओ उपासना पौडेल सहित संचालक र लगानी समिति दुई अर्ब त्रिहत्तर करोड रुपैयाँ बिगो दाबी माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
तत्कालीन अध्यक्ष गोल्छा, पौडेलसहित सञ्चालक र लगानी समिति सदस्य गरी १० जना विरुद्ध दुई अर्ब त्रिहत्तर करोड तेत्तिस लाख पन्ध्र हजार एक सय साठ्ठी रुपैंया आर्थिक दुरूपयोग गरेको रकम बिगो दाबी माग गर्दै विशेष वकिलले अदालतमा मुद्दा दायर गरेको छ ।
सो आधारमा हेर्न हो भने एक जनाको भागमा २७ करोड ३३ लाख रुपैयाँ बिगो दाबी पर्न आँउछ । यसरी हेर्दा उपसानाले २७ करोड ३३ लाख रुपैयाँ विगो दाबी तिर्नुपर्ने देखिन्छ ।
सरकारी वकिलको पत्रअनुसार विभिन्न बीमा कम्पनीहरू र सहायक कम्पनीहरूजस्तै हिमालयन रि, हिमालयन लाइफ, हिमालयन क्यापिटललगायतलाई हानी नोक्सानी बापतको क्षतिपूर्ति भराउनुपर्ने प्रतिवादीहरूको सूचीमा पौडेलसमेत परेकी छन् ।