क्रेस्ट माइक्रो लाइफको सेयर लकइन असोज ५ गते सकिने

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर लकइन अवधि सकिने भएको छ । कम्पनीको सामूहिक लगानी कोषका लागि छुट्याएको सेयरको लकइन सकिने भएको हो ।  कम्पनीले ७५ करोड रुपैयाँमध्ये ३० प्रतिशत अर्थात् २२ करोड ५० लाख रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका २२ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणलाई जारी गरेको थियो । जसमध्ये ५ प्रतिशत अर्थात् १ लाख १२ हजार ५ सय कित्ता सेयर सामूहिक लगानी कोष (म्युचुअल फण्ड)लाई बिक्री गरेको थियो ।  सामूहिक लगानी कोषलाई छुट्याएको सेयरको लकइन असोज ५ गते सकिने कम्पनीले जनाएको छ । त्यसपश्चात् उक्त सेयर साधारण सेयर सरह कारोबारमा आउनेछ । 

सन नेपाल लाइफ इन्स्योरेन्सको एमएल र सीएफटी तालिम सम्पन्न

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले आफ्ना कर्मचारीहरूको क्षमता अभिवृद्धि र नियामक पालना सुनिश्चित गर्ने उद्देश्यले एन्टी मनी लन्डरिङ तथा आतङ्कवादी वित्तीयकरण नियन्त्रण सम्बन्धी विशेष तालिम सम्पन्न गरेको छ । नगरकोटस्थित रत्नागिरि रिसोर्टमा आयोजित तालिममा कम्पनीका कानुन विभाग प्रमुख सुबास भण्डारीले प्रशिक्षण प्रदान गरेका थिए । उनले मनी लन्डरिङ र आतङ्कवादी वित्तीयकरण जस्ता विश्वव्यापी चुनौतीहरूले बीमा क्षेत्रलाई समेत प्रभावित गर्न सक्ने भएकाले समयमै सचेत रहनुपर्नेमा जोड दिए । साथै, एमएल र सीएफटीसम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड, नेपाल सरकार तथा बीमा प्राधिकरणका निर्देशन र दैनिक कामकाजमा पालन गर्नुपर्ने व्यावहारिक प्रक्रियाबारे विस्तृत जानकारी दिए । कार्यक्रममा कोशी, मधेश र बागमती प्रदेशका शाखा प्रमुखहरू, कम्पनीका प्रमुख बजार अधिकृत गणेश चौलागाईँसहित अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो । हाल सन नेपाल लाइफ इन्स्योरेन्सले देशभरका १४३ शाखामार्फत जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आएको छ ।

बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदमुक्त

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदमुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ओझालाई पदमुक्त गर्ने निर्णय गरेको स्रोतले बताएको छ । ओझाको योग्यतामा प्रश्न उठाउँदै अधिवक्ता इन्दिरा धमलाले १७ चैतमा रिट दायर गरेकी थिइन् । त्यसपछि सरकारले उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा समिति गठन गरेको थियो ।  गिरीको संयोजकत्वमा गठित समितिले आइतबार सरकारलाई प्रतिवेदन बुझाएलगत्तै सोमबार पदमुक्त गर्ने निर्णय गरेको हो । बीमा प्राधिकरणको अध्यक्षका लागि उनको योग्यता अपर्याप्त रहेको, कानुन अनुसारको योग्यताका लागि सम्बन्धित क्षेत्रमा थप काम गर्नुपर्ने र कार्यक्षमता लगायतका विषयमा प्रश्न उठाउँदै समितिले प्रतिवेदन बुझाएको स्रोतको भनाइ छ । ओझालाई अर्थमन्त्री विष्णु पौडेलको सिफारिसमा सरकारले गत फागुन १२ गते प्राधिकरण अध्यक्षमा नियुक्त गरेको थियो ।