सगरमाथा लुम्बिनी ईन्स्योरेन्सले सलिको गल्फ प्रतियोगिता आयोजना गर्दै

काठमाडौं । सगरमाथा लुम्बिनी ईन्स्योरेन्स कम्पनीले विगत वर्षझैँ यस वर्ष पनि सलिको गल्फ प्रतियोगिता आयोजना गर्ने भएको छ । ईन्स्योरेन्सले मंसिर १२ र १३ गते रोयल नेपाल गल्फ क्लब, त्रिभुवन विमानस्थल क्षेत्र, काठमाडौंमा सलिको गल्फ प्रतियोगिता २०२५ आयोजना गर्ने भएको हो । उक्त प्रतियोगितामा १७ विधाका खेलहरू सञ्चालन गरिनेछन्, जहाँ विभिन्न उमेर समूहका महिला तथा पुरुष खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता आयोजना गर्नुको उद्देश्य गल्फ खेलमा रुचि राख्ने खेलाडीहरूको सीपलाई अभिव्यक्त गराउनु तथा यो खेलबारे रुचि राख्ने सबैलाई प्रत्यक्ष आनन्द लिन सक्ने वातावरण निर्माण गर्नु रहेको कम्पनीले उल्लेख गरेको छ । विश्वमा अत्यधिक लोकप्रिय खेलमध्ये गल्फ पनि एक भए तापनि नेपालको सन्दर्भमा यसको विकास पर्याप्त रूपमा हुन नसकेको पृष्ठभूमिमा, यस प्रतियोगिताले खेलको विस्तार र प्रवर्द्धनमा सकारात्मक योगदान पुर्‍याउने अपेक्षा राखिएको छ । प्रतियोगितामा समावेश १७ विधामध्ये ‘होल इन वान’ विधाको पुरस्कारका लागि सिप्रदी ट्रेडिङ प्रालिद्वारा टाटा नेक्सन के३ विद्युतीय सवारी, अन्य विधामा सिम्रिक वायु सेवाद्वारा २ जनालाई आकाश उडान (स्काइ डाइभिङ) अनुभव, तथा कैलाश हेलिकोप्टर सेवाबाट १ जनालाई गोसाइँकुण्डको हेलिकोप्टर यात्रा उपलब्ध गराइनेछ । साथै अन्य आकर्षक पुरस्कारहरूको समेत व्यवस्था गरिएको छ । यसै अवसरमा सलिकोले निर्जीवन बीमाको महत्त्वबारे प्रकाश पार्दै, विभिन्न प्रकारका जोखिमबाट सुरक्षा प्रदान गर्ने बीमाको आवश्यकता तीव्र रूपमा बढ्दै गएको जनाएको छ । वर्तमान परिवेशमा जोखिम व्यवस्थापन र सुरक्षाप्रति नागरिकको चासो बढिरहेकाले खेलकुद गतिविधिमा संलग्न व्यक्तिहरूमाझ निर्जीवन बीमाबारे सचेतना फैलाउने उद्देश्य पनि रहेको कम्पनीले स्पष्ट पारेको छ ।

ममता मिश्रको कथा, शिक्षकदेखि सफल बीमा अभिकर्ता

चितवन खैरेनीटारकी ममता मिश्र पेशाले शिक्षक हुन् । स्नातक तहको अध्ययन पूरा गरेपछि उनले निजी स्कूलमा वर्षौँ शिक्षण गरिन् । शिक्षणप्रति गहिरो रुचि भएकी ममताको निजी स्कूलमा पढाउँदा खासै आकर्षक पारिश्रमिक भने थिएन । यसै क्रममा दिदी कविता न्यौपानेको सुझावले उनको जीवनले नयाँ मोड लियो, बीमा अभिकर्ताको रूपमा । कविताले 'तिम्रो स्कूलमा विद्यार्थीका अभिभावकसँग राम्रो सम्बन्ध हुन्छ, अभिकर्ता पेशा तिम्रो लागि एकदमै उपयुक्त हुन्छ' भनेर दिएको सल्लाहले उनलाई निकै छोयो । दिदीको मार्गदर्शनअनुसार उनले तत्कालीन सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सबाट अभिकर्ता लाइसेन्स लिइन् र अभिभावकका घर–घर धाउन थालिन् । विद्यार्थीको भविष्य सुरक्षित गर्न चाहने अभिभावकहरूलाई प्रत्यक्ष भेटेर बुझाउँदा उनका प्रस्ताव अस्वीकार हुने प्रश्न नै आएन । यसै सक्रियताले उनी सानिमा रिलायन्समा सबैभन्दा धेरै बीमा पोलिसी बिक्री गर्ने अभिकर्तामध्ये पर्न सफल भइन् । काम सुरु गरेको पहिलो महिनामै उनी एजेन्सी म्यानेजरमा नियुक्त भइन् । स्नातक तहसम्म अध्ययन पूरा गरेकी ममता निजी विद्यालयमा लामो समय काम गरिन् । अहिले भने उनी एउटा सरकारी स्कूलमा पढाउँदै आइरहेकी छिन् । २०७७ देखि निरन्तर सफलताको यात्रा अभिकर्ता बनेको पहिलो वर्षमै २०७७ मा उनी कम्पनीबाट विभिन्न अवार्ड जित्न सफल भइन् । 'मैले २०७७ सालमै पहिलो एजेन्सी म्यानेजर अवार्ड पाएँ,' उनी गौरवका साथ सम्झिन्छिन् । ममताको दिनचर्या व्यस्त छ । उनी महिनामा कम्तीमा ६–७ जनाको बीमा गराउँछिन् । शिक्षक भएकै कारण उनी प्रति अभिभावकको विश्वास बलियो छ । उनी कहिल्यै पनि ठूला ठूला बीमा गराएर कम्पनीले दिने ठूला ठूला टार्गेट पूरा गर्ने महत्वकांक्षा पलाएनन् । १० हजार नै प्रिमियम किन नहोस्, पछ्याउन छाड्दिनन् । अभिकर्ता पेशाबाट हुने सानो सानो आम्दानीले पनि उनलाई सन्तुष्ट बनाउँछ । उनको ध्यान प्रिमियम बढाउनभन्दा पनि 'कसरी धेरै परिवारले बीमा सुरक्षामा जोड दिने' भन्नेमा हुन्छ। विद्यार्थीलाई केन्द्रमा राख्ने भएकाले उनका धेरै पोलिसी साना–साना प्रिमियमका हुन्छन् । तर संख्यामा भने उनी कहिल्यै पछाडि परिनन् । उनका कुनै वर्षमा पनि ५० भन्दा कम पोलिसी जारी भएको अनुभव छैन । यसले गर्दा सानिमा रिलायन्स लाइफको टाडी शाखामा उनी सधैं दोस्रो शीर्ष बीमा अभिकर्तामा पर्छिन् । पहिलो स्थानमा हुने कल्पना विष्ट जस्तै, ममता पनि कम्पनी भित्र पुरै नेपालकै अग्र अभिकर्ताभित्र पर्छिन् । विद्यार्थीमार्फत अभिभावकलाई जोड्ने अनौठो तरिका ममताको काम गर्ने शैली अरूभन्दा केही फरक छ । धेरै अभिकर्ताले साथी–भाइ वा आफन्तलाई लक्षित गर्छन् । तर ममता भने विद्यार्थीमार्फत उनीहरूको अभिभावकलाई भेट्छिन् । अभिभावकमा पनि आमा–बुबा दुवैलाई एकैसाथ बीमाको महत्व बुझाउँछिन् । उनी बीमालाई 'बचत' को रूपमा प्रस्तुत गर्छिन् । 'बीमा भनेको बचत हो,' उनी भन्छिन्, 'पोलिसी परिपक्व हुँदा भविष्यमा छोराछोरीको उच्च शिक्षा तथा सामाजिक कार्य, विवाह लगायतका अनिवार्य खर्चमा ठूलो सहयोग पुग्छ ।' यसरी बीमाबाट प्राप्त हुने बचत मात्र होइन, भविष्यमा हुनसक्ने दुर्घटना तथा घातक रोगको कभरेजबारे पनि उनी अभिभावकलाई विस्तृतमा बताउँछिन् । ‘मेरो मुटु जीवन बीमा’ उनको मनपर्ने पोलिसी सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको ‘मेरो मुटु जीवन बीमा’ योजना उनी अभिभावकलाई सबैभन्दा धेरै सुझाउँछिन् । अघिल्लो ग्राहकहरूसँग कहिलेकाहीँ सम्पर्क टुट्ने अन्य अभिकर्ताभन्दा फरक, ममता भने आफ्ना विद्यार्थीमार्फत निरन्तर सम्पर्कमा रहन्छिन् । त्यसैले उनी अभिकर्ता क्षेत्रमा ‘सदावहार सक्रिय’ मानिन्छिन् । उनको सफलताको सूत्र सरल छस् 'सबैभन्दा पहिले म मेरा विद्यार्थीको घरमा जान्छु, आर्थिक अवस्था बुझ्छु, अनि मात्र बीमालाई बचतका रूपमा बुझाउँछु ।' विद्यार्थी र अभिभावकसँगको विश्वासकै कारण ममताले अभिकर्ता पेशालाई केवल अतिरिक्त आम्दानीका रूपमा होइन, भविष्य सुरक्षित गर्न सहयोग पुर्‍याउने सेवाको रूपमा बुझेकी छिन् । आज ममता मिश्र केवल एक शिक्षक वा अभिकर्ता मात्र होइनन्, उनी त्यस्ता व्यक्तिमध्ये एक हुन् जसले आफ्नो समुदायमा वित्तीय सचेतना फैलाउँदै, एक–एक परिवारको भविष्य सुरक्षित गर्ने उद्यम जारी राखेकी छिन् । 'अहिले अलिअलि गरेर गरिएको बचत भोलि गएर धेरै हुन्छ, जसले तपाईंको बच्चाको भविष्यमा ठूलो सहारा बन्छ,' ममता बताउँछिन् । अभिभावकलाई उच्च शिक्षा, विवाह तथा अन्य महत्वपूर्ण खर्चका लागि ऋण नखोज्नु पर्ने यथार्थ उदाहरणसहित बुझाएपछि धेरै परिवारहरू सजिलै कन्भिन्स हुने उनको अनुभव छ । विशेषतः उनी स्कुलमै अभिभावक भेट्न सफल नहुँदा घरघरमै पुगेर बीमा सिकाउने गर्छिन्, जसले उनको दैनिकी अत्यन्त व्यस्त तर फलदायी बनाएको छ । उनी भन्छिन्, 'म कसैको घरमा एक जना मात्र हुनुहुन्छ भने बीमा गराउँदिनँ, श्रीमान–श्रीमती दुवैलाई बुझाएर मात्र प्रक्रिया अगाडि बढाउँछु ।' आर्थिक विषय संवेदनशील हुने भएकाले परिवारभित्र पैसाकै कारण मनमुटाव नहोस् भन्ने उनको सोच हो । त्यही कारणले उनी स्कुल समय बाहेक पूरै समय बीमामा नै समर्पित हुन्छिन् । स्कुल सकिएपछि उनी बीमित परिवारको घरमै पुगेर बीमा पढाउँछिन् र दिनमा दुई–तीन परिवार भेट्ने लक्ष्य पूरा नगरी घर फर्किंदिनन् । उनको सफलताको सबभन्दा ठूलो आधार भने परिवारकै साथ रहेको उनी भन्छिन् । सासु–ससुरा र श्रीमानको सहयोगले उनलाई हरेक चुनौती पार गर्न सजिलो भएको उनको अनुभव छ । श्रीमान केही वर्ष जापान बसेर अहिले नेपालमै मौरी पालन व्यवसायमा छन् । बीमासम्बन्धी कुनै असहज परिस्थिति आयो भने श्रीमानले नै सहज बनाइदिने, बैठकमा लैजाने–ल्याउनेदेखि लिएर आवश्यक समाधान खोजिदिँदा उनको जीवन शैली निकै सहज भएको छ । उनी कहिल्यै पनि एमडिआरटी बन्ने वा ठूलो रकमको पोलिसी भित्र्याउने महत्वकांक्षा बनाइनन् । उनी सामान्य आय भएका घरपरिवारमै बढी पुग्छिन् । यही कारणले जारी पोलिसी संख्यामा उनी सधैं अग्रस्थानमा रहन्छिन् । बीमा शुल्क आर्जनमा धेरै अगाडि नहुँदासमेत यही नै आफ्नो विशेषता भएको बताउँदै उनी भन्छिन्, 'म धेरैभन्दा धेरै घर–परिवारमा पुगेर विद्यार्थीहरूको बीमा गराउन चाहन्छु ।' उनको लक्ष्य एक हजारभन्दा धेरै बालबालिकालाई बीमाको दायरामा ल्याउने छ, र अन्ततः जीवनकै अन्तिम पेशा नै बीमा बनाउने सोच उनले बनाइसकेकी छिन् । उनी विगत केही वर्षमा धेरै स्कूल र समुदायका बालबालिकाको बीमा गराइसकेकी छन् । यसक्रममा उनलाई विश्वास गर्ने, सम्मान गर्ने र घरमा बोलाएर चिया खान आग्रह गर्ने व्यक्तिहरूको कमि छैन । सानिमा रिलायन्स इन्स्योरेन्स कम्पनीले उनलाई उत्कृष्ट अभिकर्ताका रूपमा दिने अवार्ड तथा प्रोत्साहनले अझै अभिप्रेरित गर्ने गरेको छ । उनको बुझाइमा अभिकर्ता भनेको केवल मध्यस्थकर्ता मात्र हो तर बीमा सबै व्यक्तिका लागि अत्यावश्यक छ। 'बीमाले नियमित बचत गराउँछ, र भविष्यमा पार्नुपर्ने आर्थिक भारलाई निकै सहज बनाउँछ,' उनी भन्छिन् । बीमितहरू प्रायः कम्पनीभन्दा अभिकर्तालाई विश्वास गरेर बीमा गर्ने भएकाले आफूले गरेको बीमालाई देखाउँदा उनीहरू ढुक्क हुने बताउँछिन् । उनी जुन परिवारमा जान्छिन्, बीमा गराएरै फर्किने भएकाले आफूलाई अत्यन्त भाग्यमानी ठान्छिन् । आयस्रोत कमजोर हुने घरमा पनि न्यूनतम एक लाख रुपैयाँको बीमा गराउन कन्भिन्स गर्न सकिने उनको अनुभव छ । 'हाम्रो समाजमा वार्षिक पाँच–सात हजार तिर्न नसक्ने कोही हुँदैन । त्यसैले म उहाँहरूको आयस्रोत बुझेर बचतकै लागि भए पनि यति बराबरको बीमा गर्नुपर्छ भनेर सुझाउने गर्छु ।' अहिलेसम्म कसैमाथि अपेक्षा राख्नुपरेको छैन, यही कारण पनि उनी यस क्षेत्रमा सफल भएको बताउँछिन् । उनको अर्को विशेषता भनेको जारी पोलिसीहरू अन्तिमसम्म कायम राखिनु हो । उनका कुनै पनि पोलिसी ल्याप्स वा सरेण्डर भएको छैन । बीमा गरिसकेपछि पनि उनी बीमितसँग नियमित सम्पर्कमा रहन्छिन्, भेटघाट गर्छिन्, नवीकरणको मिति सम्झाइदिन्छिन् । यस्तै सकारात्मक व्यवहारका कारण उनीसँग बीमा गराउन आउनेहरूको संख्या बढ्दो छ । 'एक हजारभन्दा धेरैको बीमा गरेपछि पूर्ण रूपमा बीमा पेशामा समर्पित हुने छु,' उनी भन्छिन् । आर्थिक रूपमा स्वावलम्बी भइसकेकी उनी साधारण जीवनशैलीमा रमाउँछिन्, जसलाई सामान्य परिवारले सजिलै आत्मसात् गर्न सक्छन् । शाखाको पूर्ण सहयोग रहेको बताउँदै उनी भन्छिन्, 'फुर्सद मिल्यो भने म घरदैलोमै पुगेर बीमा गराउँछु । यस यात्रामा धेरै अभिभावकहरूलाई बीमित बनाउन सकेकी छु, यही नै मेरो सबैभन्दा ठूलो उपलब्धि हो ।'

प्राधिकरणमा वर्षमा पाँच अध्यक्ष: अर्थमन्त्रालयको शाखाकाे व्यवहार, फ्रस्टेट छन् सीईओ

काठमाडौं । बीमा ऐन, २०७९ को दफा ४ को १ मा बीमा व्यवसायको नियमनकारी निकायको रूपमा रहेको नेपाल बीमा प्राधिकरण अविछिन्न र उत्तराधिकारवाला एक स्वशासित संगठित संस्था हुने व्यवस्था छ ।  सोही ऐनको दफा ५ मा प्राधिकरणको काम, कर्तव्य र अधिकारको चर्चा गर्दै प्राधिकरण बीमा सम्बन्धमा नेपाल सरकारको सल्लाहकारको रूपमा काम गर्ने व्यवस्था छ ।  ऐनको दफा १४७ को उपदफा ३ ले प्राधिकरणलाई जिल्ला अदालत सरहको अधिकार पनि प्रदान गरेको छ । अर्थात् बीमा सम्बन्धी विभिन्न मुद्दाहरू प्राधिकरण आफैले सुनुवाइ गरेर त्यसउपर कारवाही तथा दण्ड जरिवाना समेत गर्न सक्ने अधिकार ऐनले दिएको छ ।  बीमा ऐन, २०७९ को दफा ७ को १ मा समितिको अध्यक्ष नियुक्तिको लागि नेपाल सरकारसमक्ष नाम सिफारिस गर्न राष्ट्रिय योजना आयोगको सम्बन्धित क्षेत्र हेर्ने सदस्यको संयोजकत्वमा मन्त्रालयका सचिव र बीमा क्षेत्रसँग सम्बन्धित विशेषज्ञ सदस्य रहेको एक समिति रहने र सो समितिले सिफारिस गरेको तीन जना व्यक्तिबाट मन्त्रिपरिषद् बैठकले एक जनालाई प्राधिकरणको अध्यक्षमा नियुक्त गर्न सक्ने व्यवस्था छ ।  तर, अर्थमन्त्रालयले भने विभिन्न कमजोरीको फाइदा उठाउँदै एकपछि अर्को आफ्ना कर्मचारीलाई प्राधिकरणको अध्यक्ष बनाएर इतिहास रच्ने प्रयत्न गरिरहेको छ । अहिलेसम्म कुनै नियमनकारी निकायमा नभएको अभ्यास गर्दै एक वर्षमा पाँच जनालाई प्राधिकरणको अध्यक्ष बनाएर इतिहास रच्ने दौडमा अर्थमन्त्रालय देखिएको हो ।  एउटा स्वायत्त र अर्धन्यायिक नियमनकारी निकायमा मन परेको व्यक्तिलाई अध्यक्ष बनाएर पठाउने अर्थमन्त्रालयको गलत अभ्यासले ऐनको त धज्जी उडाएको नै छ, बीमा क्षेत्रको अभिभावकको भूमिकामा रहेको प्राधिकरणको गरिमा पनि धूमिल बन्दै गएको छ ।  कुनै बेला बीमा प्राधिकरण (तत्कालीन बीमा समिति)को अध्यक्ष भन्नेबित्तिकै बीमा बजारले गर्ने आदर सम्मान पृथक हुन्थ्यो । तर, अहिले एकपछि अर्का अध्यक्ष आउँदा बीमा बजारले नै नचिन्ने र नटेर्ने वातावरण सिर्जना भएको छ ।  बीमा विज्ञहरूले अर्थमन्त्रालयले प्राधिकरणलाई एउटा शाखाको रूपमा व्यवहार गरेको तर्क गर्छन् । अर्थमन्त्रालयले एकपछि अर्को आफ्ना सहसचिवहरूलाई प्राधिकरणमा पठाएर बीमा बुझ्ने परीक्षण र प्रशिक्षण शाखाको काम गराएको बीमा विज्ञहरू बताउँछन् ।  एक वर्षमा पाँच अध्यक्ष  सरकारले नेपाल बीमा प्राधिकरणमा एक वर्षभित्र पाँचवटा अध्यक्ष बनाएर नेपालको नियमनकारी निकायमा नयाँ रेकर्ड बनाएको छ । अहिले नियमनकारी निकायकै रुपमा काम गरिरहेका बैंकिङ क्षेत्रको नेपाल राष्ट्र बैंक र धितोपत्र बजारको नेपाल धितोपत्र बोर्डमा बीमा प्राधिकरणको जस्तो रमिता छैन । नियुक्तिमा केही ढिलाई भएपनि सरकारले ती दुई निकायको स्वायत्ततामाथि खेल्न सकेको छैन । तर, प्राधिकरणमा भने जुनसुकै र जस्तोसुकै व्यक्तिलाई पनि पठाउने सरकारको गलत कार्यले प्राधिकरणको गरिमालाई दिनप्रतिदिन कमजोर बनाइरहेको छ ।  एक वर्षमा पाँच वटा अध्यक्षमध्ये तीनजना अध्यक्षहरू अर्थमन्त्रालयकै सहसचिव हुन् ।  पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईंले सफलताका साथ आफ्नो चार वर्षीय कार्यकाल पूरा गरेपछि प्राधिकरणमा किचलो मच्चिएको हो । उनको बहिर्गमनपछि सरकारले प्राधिकरणको अध्यक्षमा सूर्यप्रसाद सिलवाललाई नियुक्त गर्यो । उनको पनि कार्यकाल समाप्त हुनै लाग्दा उनीमाथि भ्रष्टाचारको आरोप लाग्यो । उनी निलम्बनमा परे । अन्ततः उनले सफाइ पाए पनि त्यतिबेलासम्म उनको कार्यकाल समाप्त भइसकेको थियो ।  सिलवाल निलम्बनमा परेपछि सरकारले प्राधिकरणको अध्यक्षमा अर्को व्यवस्था नहुञ्जेलसम्मको लागि भन्दै अर्थमन्त्रालयका सहसचिव मदन दाहाललाई जिम्मेवारी दियो । प्राधिकरणजस्तै नियमनकारी निकाय नेपाल राष्ट्र बैंकमा डेपुटी गभर्नरमध्येबाट एक जनालाई कार्यवाहक गभर्नरको जिम्मेवारी दिने व्यवस्था छ । तर, अर्थमन्त्रालयले बीमा प्राधिकरणमा आफ्ना कर्मचारीलाई जिम्मेवारी दिने गरेको छ ।  सिलवाल निलम्बनमा परेपछि सरकारले रिक्त पदपूर्तिको लागि सिफारिस समिति गठन गर्‍यो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीको नेतृत्वमा सिफारिस समिति गठन भएको थियो । सिफारिस समितिले पठाएको तीन जनाको नाममध्ये सरकारले गत फागुन १२ गते शरद ओझालाई अध्यक्षमा नियुक्ति गर्‍यो । अध्यक्षमा नियुक्तिको सुरुवातमै विवादित बन्न पुगेका ओझा छोटो अवधिमै निलम्बनमा परे । योग्यता नपुगे पनि झुटो प्रमाण पेश गरेर नियुक्ति लिएको भन्दै अख्तियारमा उजुरी परेपछि उनी निलम्बनमा परे ।  मन्त्रिपरिषदले आफूलाई पदमुक्त गर्न गरेको निर्णय खारेजी र पुनर्बहालीको माग गर्दै ओझाले अन्तरिम आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सर्वोच्च अदालतले अल्पकालीन आदेश जारी गर्दै मन्त्रिपरिषदको निर्णयहरू कार्यान्वयन नगरी यथाअवस्थामा राख्न भदौ २३ गते अल्पकालीन आदेश पनि दिएको थियो ।  सर्वोच्चको अल्पकालीन आदेशलाई आधार बनाउँदै  निलम्बित ओझा गत भदौ ३१ गते कार्यालयमा हाजिर समेत भए । तर, अन्तरिम सरकारले असोज २ गते ओझालाई बीमा प्राधिकरणको अध्यक्षका रूपमा कामकारबाही गर्न नदिन आदेश दियो ।  नियुक्ति भएको चार महिनामै ओझा निलम्बनमा परेपछि सरकारले अर्को व्यवस्था नहुञ्जेलसम्मको लागि भन्दै अर्थमन्त्रालयका सहसचिव सेवन्तक पोखरेललाई अध्यक्षको जिम्मेवारी तोक्यो । त्यसको दुई महिनापछि अन्तरिम सरकारले प्राधिकरणको नयाँ अध्यक्षमा अर्थमन्त्रालयकै सहसचिव जनकराज शर्मालाई अध्यक्षको जिम्मेवारी दियो। गत असार ३० गते केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्को बैठकले पोखरलाई अध्यक्षमा नियुक्त गरेकोमा अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले उनलाई फिर्ता बोलाएर शर्मालाई प्राधिकरणको अध्यक्ष बनाएको हो । अहिले प्राधिकरणको अध्यक्षको जिम्मेवारी शर्माले नै सम्हालिरहेका छन् ।  ओझाको मुद्दा नटुङ्गिएसम्म नयाँ अध्यक्ष नियुक्त नगर्ने योजनामा सरकार देखिएको छ । अर्थमन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेले बीमा प्राधिकरणको नयाँ अध्यक्ष नियुक्ति प्रक्रिया तत्काल अघि नबढ्ने जानकारी दिए ।  उनले पूर्वअध्यक्ष ओझाको मुद्धा टुंगिनसकेको हुँदा नयाँ अध्यक्षको लागि प्रक्रिया अगाडि बढाउन नसकिएको बताए । उनका अनुसार ओझाको मुद्दा टुंगिएपछि मात्रै सरकारले नयाँ अध्यक्षको प्रक्रिया अगाडि बढाउनेछ । तर, काम चलाउ अध्यक्षले प्राधिकरण सुस्त बनेको प्राधिकरणका कर्मचारीहरूको गुनासो छ ।  प्राधिकरणबाट हुने काम कारवाही छिटो छरितो रूपमा अघि बढ्न नसकेको कर्मचारीहरू बताउँछन् । ‘प्राधिकरणमा नियुक्ति भएर आएका अध्यक्षहरूले पनि स्थिर भएर काम गर्न पाएका छैनन् । विभिन्न विवादहरूले प्राधिकरणको काम कारवाहीमा नराम्रो प्रभाव परिरहेको छ, प्राधिकरणले राम्रो पफर्मेन्स गर्न सकेको छैन,’ प्राधिकरणका एक उच्च अधिकारीले भने ।  ती अधिकारीका अनुसार स्थायी तथा पूर्णकालीन नेतृत्वले मात्र बीमा बजारमा देखिने चुनौती समाधान, नियमन सुदृढीकरण र नीतिगत निरन्तरता सुनिश्चित गर्न सक्ने भएकोले काम चलाउ अध्यक्षले त्यस्तो काम गर्न सक्दैनन् ।  सञ्चालकमा पनि सरकारकै रजगज प्राधिकरणको सञ्चालक समितिमा पनि सरकारी अधिकारीकै रजगज छ । प्राधिकरणको सञ्चालक समितिमा अध्यक्षसँगै अर्थमन्त्रालयको सहसचिव, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सहसचिव, जीवन बीमा व्यवसायमा विशेष ज्ञान भएका व्यक्तिमध्येबाट एक जना र निर्जीवन बीमा व्यवसायमा ज्ञान भएका मध्येबाट एक जना गरी कुल पाँच जनाको सञ्चालक समिति गठन हुने व्यवस्था छ ।  तर, अहिले अर्थमन्त्रालयको सहसचिव शर्मा अध्यक्ष छन् भने कानुन मन्त्रालयका सहसचिव मानबहादुर अर्याल र बीमितका तर्फबाट सन्तोष रिजाल सदस्य छन् । यअसघि सञ्चालक बनेकी राधा पोखरेलले राजीनामा दिँदा अहिले समिति अपूर्ण अवस्थामा छ । बैठक बस्नका लागि बहुमत भएपनि समितिमा पनि सरकारकै अधिकारीहरूको बाहुल्यता छ ।   सञ्चालक समिति अपूर्ण भएपनि बैठक नियमित रुपमा भइरहेको प्राधिकरणले बताएको छ ।  ‘फ्रस्टेड’ छन् सीईओ नेपाल बीमा प्राधिकरणमा डेडिकेटेड अध्यक्ष नहुँदा बीमा कम्पनीहरूलाई समस्या सिर्जना भएको गुनासो गरेका छ्न् । एकपछि अर्को अध्यक्ष आउँदा विभिन्न नीतिगत विषयमा छलफल तथा कुराकानी गर्न समस्या सिर्जना भइरहेको बीमा कम्पनीहरूका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूको गुनासो छ ।  एक बीमा कम्पनीका सीईओका अनुसार कार्यवाहक नेतृत्व हुँदा आवश्यक निर्णयमा ‘फुल–टाइम डेडिकेसन’ नभएको महसुस गरिएको बताए । ‘प्राधिकरणको अध्यक्ष भएपछि सानोदेखि ठूला नीतिगत विषयमा अध्यक्षकै संलग्नता हुन्छ, अर्थमन्त्रालयको अध्यक्षले नेतृत्व सम्हाल्दा दुवैतिर भ्याउनुपर्ने हुन्छ, यसले ढिलासुस्ती हुन्छ, काम गर्न भ्याइँदैन, त्यसको ठूलो प्रभाव प्राधिकरणको कामकारवाही र बीमा क्षेत्रमा पर्छ,’ ती सीईओले भने ।  अर्का बीमा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) ले पनि प्राधिकरणले एउटा लय नसमात्दा समस्या बीमा क्षेत्रमै प्रभाव परिरहेको सुनाए । उनले अध्यक्षकै कारण काममा ढिलासुस्ती भइरहेको सुनाए ।  ती डीसीईओका अनुसार रिक्त पद भर्न मन्त्रालयकै सहसचिव अध्यक्षमा नियुक्त हुनु र प्रतिस्पर्धाबाट अध्यक्ष बन्नु धेरै भिन्नता हुन्छ । काम कारवाही र पफर्मेन्समा पनि त्यसले ठूलो महत्त्व राख्छ ।  ‘डेटिकेटेड कर्मचारी हुनु र एक्जिक्युटिभ हुनुमा ठूलो फरक हुन्छ । चार वर्ष कार्यकाल धान्नेले ‘केही गर्नुछ’ भन्नेतर्फ केन्द्रित भएर काम गर्न थाल्छ, केही समयको लागि आएको नेतृत्व ‘कति समय हो’ भन्ने अनिश्चिततामा बस्छ, त्यसैले पूर्ण फोकस हुन सक्दैन,’ बीमा कम्पनीका अर्का सीईओले भने ।  उनका अनुसार अध्यक्षलाई अधिकार पर्याप्त हुन्छ । तर, निश्चित समयको लागि तोकिएको अध्यक्षले एकाग्र भएर काम गर्न सक्दैनन् । उनीहरुले पफर्मेन्समा पनि खासै चासो राख्दैनन् ।  उसो त बीमा प्राधिकरणमा बीमा बारे बुझेको कार्यकारी निर्देशक हुन्छन् । अध्यक्षपछि प्राधिकरणमा कार्यकारी निर्देशकको बढी भूमिका हुन्छ । तर, सञ्चालक समितिबाट हुनुपर्ने नीतिगत निर्णयहरूमा कार्यकारी निर्देशकले ठूलो भूमिका खेल्न सक्दैनन् । त्यसैले पनि काममा ढिलासुस्ती हुने गरेको प्राधिकरणका पूर्वकार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।  उनले अर्थमन्त्रायबाट नियुक्त भएर आउने अध्यक्षको दोहोरो जिम्मेवारी हुने भएकोले प्राधिकरणमा दिनहुँ बसेर काम गर्न कठिन हुने सुनाए । ‘डे–टु–डे बसेर काम गरेजस्तो त नहोला । सबै फाइलहरू त्यही हुन्छन्, काम पनि त्यहीबाट गर्नुपर्छ,’ उनले भने ।  तर, कर्मचारीले समन्वय र समर्थन गरे कामहरू छिटोछरितो रूपमा सम्पन्न हुने उनको भनाइ छ । ‘अहिले कार्यकारी निर्देशक सुशील सर हुनुहुन्छ, उहाँले पनि राम्रो सर्पोट गरिरहनुभएको जस्तो लाग्छ, दिनदिनै कार्यालयमा उपस्थित हुन नसक्नु भएपनि कर्मचारीहरूले समन्वय गरे राम्रो नतिजा आउन सक्छ,’ पौडेलले भने ।  उनका अनुसार अहिलेका कार्यकारी निर्देशक सुवेदी प्राधिकरणकै ‘प्रडक्ट’ भएकाले संस्थागत अनुभव उनीसँग पर्याप्त छ । पौडेलले बीमा प्राधिकरण अर्थमन्त्रालयकै नियमनमा रहने भएकाले मन्त्रालयसँग निरन्तर सहकार्य आवश्यक हुने बताए ।  ‘अर्थमन्त्रालयले नै तोकेर पठाएका व्यक्ति भएकाले काम झन् प्रभावकारी र सहज हुनुपर्ने हो,’ उनले भने ।