क्रेस्ट माइक्रो लाइफका अध्यक्ष मोरले दिए राजीनामा
काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सका अध्यक्ष ऋषिराज मोरले राजीनामा दिएका छन् । मोरले चैत ६ गते कम्पनी सञ्चालक समितिसमक्ष राजीनामा पेस गरेका थिए।सञ्चालक समितिले चैत १९ गते राजीनामा स्वीकृत गरेको हो । उनले राजीनामा दिनुपर्नेको कारण भने खुलाइएको छैन ।
दीपक भट्टको पौने ४ अर्बको सेयर शंकास्पद, फाइल पल्टाउँदै प्राधिकरण
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले हिमालयन रिइन्स्योरेन्स कम्पनीका आधारभूत सेयरधनी दीपक भट्टसँग सम्बन्धित ठूलो रकमको प्रयोगबारे छानबिन गरिएको छ । विभागले गत फागुन २८ गते नेपाल बीमा प्राधिकरणलाई पत्र पठाउँदै भट्टले विभिन्न कम्पनीमार्फत ठूलो परिमाणमा सेयर खरिद गर्दा प्रयोग गरिएको रकमको स्रोत र प्रयोगबारे अनुसन्धान गरी ७ दिनभित्र रायसहितको प्रतिवेदन पठाउन निर्देशन दिएको छ । विभागका अनुसार भट्टले हिमालयन रिइन्स्योरेन्स कम्पनीको करिब २ अर्ब ७३ करोड ३३ लाख रुपैयाँ, सहायक कम्पनी हिमालयन सेक्युरिटिजबाट २२ करोड १९ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको सहायक कम्पनीबाट करिब ३७ करोड रुपैयाँ, एचएलआई लार्ज क्याप फन्डबाट करिब २५ करोड १४ लाख रुपैयाँ र नेपाल माइक्रो इन्स्योरेन्सबाट १६ करोड १७ लाख रुपैयाँ प्रयोग गरी विभिन्न मितिमा कुल ३ अर्ब ८१ करोड ४६ लाद रुपैयाँभन्दा बढी बराबरको सेयर खरिद गरेको उल्लेख छ । उक्त सेयर ब्रोकर नम्बर ५५ अर्थात् भृकुटी स्टक ब्रोकिङ कम्पनीमार्फत खरिद गरिएको देखिएको विभागले जनाएको छ । विभागले बीमा व्यवसाय सञ्चालनका क्रममा कुनै अनियमितता वा आर्थिक दुरुपयोग भएको हो वा होइन भन्ने विषयमा विस्तृत छानबिन गरी प्रतिवेदन पेश गर्न नेपाल बीमा प्राधिकरणलाई निर्देशन दिएको छ ।
आफ्नो सट्टामा अरूलाई परीक्षा दिन पठाउने ३३ अभिकर्ता कारवाहीमा
काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षामा अनियमितता भएको पाइएको भन्दै केही परीक्षार्थीमाथि कारबाही गरेको छ । प्राधिकरणले सूचना जारी गर्दै आईआरएमआईएस प्रणालीमा प्रविष्ट गरिएको फोटोभन्दा फरक व्यक्ति परीक्षा दिइरहेको भेटिएपछि ३३ परीक्षार्थीहरूको परीक्षा रद्द गरिएको जनाएको छ । प्राधिकरणका अनुसार निरीक्षणका क्रममा उक्त अनियमितता पुष्टि भएपछि बीमा अभिकर्ता परीक्षा सञ्चालन निर्देशिका, २०७९ अनुसार परीक्षा रद्द गर्नुका साथै ती परीक्षार्थीलाई ३ महिनासम्म परीक्षा दिन नपाउने गरी प्रतिबन्ध लगाइएको हो । यस विषयमा प्राधिकरणले सम्बन्धित कम्पनीहरूसँग समेत स्पष्टीकरण माग गर्दा पनि चित्तबुझ्दो जवाफ नआएपछि कारबाही गरेको सूचनामा उल्लेख छ । कारवाहीमा परेका परीक्षार्थीहरूमा नेशनल लाइफ इन्स्योरेन्सबाट अजिमा तिमल्सिना पौडेल र विक्रम पौडेल रहेका छन् । सिटिजन्स लाइफ इन्स्यारेन्सबाट सीता चौधरी, सानिमा रिलायन्स लाइफबाट मीना कुमारी धामी, नेपाल लाइफ इन्स्योरेन्सबाट निराजन भट्ट र सुजिता विशुके रहेका छन् । त्यस्तै, हिमालयन लाइफ इन्स्योरेन्सबाट रामकिसुन चौधरी, रिलायबल लाइफ इन्स्योरेन्सबाट निखिला रावल, दुर्गा पहारी घिमिरे, रञ्जिता मेचे, सञ्जिता चौधरीले परीक्षामा अनियमिता गरेको पाईएको प्राधिकरणले जनाएको छ। त्यसैगरी, आईएमई लाइफबाट भवानी कुमार ओझा, सुजन कार्की, सञ्जीता केसी, रेखा कुमारी खड्काले आफ्नो सट्टामा अरूलाई परीक्षा दिन पठाएको पाइएको छ । प्रभु महालक्ष्मी लाइफबाट घने बहादुर तामाङ, निशा चौलागाई, सुस्मिता भुजेल, सुस्मा विक र सैफुल्लाह अन्सारी रहेका छन् । परीक्षामा अनियमिता गर्ने अन्य अभिकर्ताहरमा एशिएन लाइफ इन्स्यारेन्सबाट खिमानन्द भट्टराई र कोमल कुमारी शर्मा रहेका छन् । सूर्यज्योति लाइफबाट गणेश बोकटी, दुर्गा थापा र पार्वतीले जैशी रहेका छन् ।