स्वास्थ्य बिमा : अब काभ्रेका आठ अस्पतालबाट सेवा
काभ्रेपलाञ्चोक। स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत अब काभ्रेपलाञ्चोकका आठ अस्पतालबाट प्रथम सेवा प्रदान गर्न थालिएको छ । आइतबारदेखि थप एक मण्डनदेउपुर नगरले सञ्चालनमा ल्याएको आधारभूत अस्पतालले सेवा थालनी गरेपछि जिल्लाबाट उक्त सेवा प्रदान गर्ने अस्पताल आठ पुगेको हो । उक्त अस्पतालले गत साउन अन्तिम साता स्वास्थ्य बिमा बोर्डमा आबद्ध भई प्रथम सेवा केन्द्रको स्वीकृति पाएको थियो । सेवाको बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले औपचारिक रुपमा प्रारम्भ गरेका हुन्। कार्यक्रममा नगरप्रमुख टोकबहादुर वाईबाले स्वास्थ्य बिमालाई प्रभावकारी ढङ्गले सञ्चालन गर्न नगरपालिकाले आवश्यक तयारी गरी आइतबारदेखि औपचारिक रुपमा सेवा सुरु गरिएको बताए । उनका अनुसार नगरका ६५ प्रतिशत नागरिकले स्वास्थ्य बिमा गरेका छन् । यसअघि सुन्थान, खोपासी, पाँचखाल र धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्र तथा बनेपा नगर अस्पताल र मेथिनकोट प्रादेशिक अस्पतालले स्वीकृत पाई सेवा प्रदान गर्दै आएका छन् । धुलिखेल नगरले भने आफ्नो स्वास्थ्य केन्द्र भवनको सेवालाई गत साउन २६ गतेदेखि धुलिखेल अस्पतालको परिसरबाट सेवा सुरु गरेको छ । यसअघि उक्त केन्द्रले भौतिक पूर्वाधार तथा जनशक्ति अभावको कारण देखाउँदै स्वास्थ्य बिमाको प्रथम सेवा विन्दु सेवा दिन आलटाल गरिरहेको थियो । नगरले धुलिखेल अस्पतालमा बिमा सेवा लिन आउनेलाई सजिलो होस् भनेर धुलिखेल अस्पताल परिसरको भवनबाटनै चिकित्सक, नर्स, औषधिसहित ‘रिफरल’ सेवा सुरु गरिएको जनाएको छ । गत साउन १ गतेदेखि सरकारले सरकारी स्वास्थ्य संस्था नै स्वास्थ्य बिमाको प्रथम सेवा विन्दु हुने नियम लागू गरेको थियो । विसं २०७६ मङ्सिर १ गतेदेखि प्रथम सेवा विन्दुको रुपमा सूचीकृत जिल्लाका चार स्वास्थ्य संस्थामध्ये मेथिनकोट अस्पताल र प्रास्वाके सुन्थान र खोपासीले मात्रै यसअघि सेवा दिँदै आएका थिए ।
नेपाल इन्स्योरेन्सद्वारा आयोजित फुटसल प्रतियोगिता सम्पन्न
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले मंसिर १९ र २० गते सामाखुशीमा आयोजना गरेको फुटसल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा नेपाल बीमा प्राधिकरण, जीवन/ निर्जीवन, लघु र पुनर्बीमा कम्पनीहरू, सर्भेयरहरू सहित २५ संस्थाहरूबाट २८ टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा नेको इन्स्योरेन्स लिमिटेड प्रथम, नेपाल माईक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड द्वितीय र हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड तृतीय भएको छ । उक्त टीमका खेलाडीहरूलाई कम्पनीको संचालक समितिका अध्यक्ष चन्द्र सिंह साउद र प्रमुख कार्यकारी अधिकृत (सीईओ) वीरकृष्ण महर्जनले प्रमाण पत्र, पदक तथा शिल्ड प्रदान प्रदान गरेका थिए । प्रतियोगितामा नेपाल माईक्रो इन्स्योरेन्सका रोमन सिंह उत्कृष्ट गोलरक्षक, हिमालयन एभरेष्टका सुनिल थापा उत्कृष्ट डिफेन्डर, हिमालयन एभरेष्टकै दिनेश कुमार सिंह उत्कृष्ट गोलकर्ता भएका छन् भने नेको इन्स्योरेन्सका युकेश तामाङ्ग टुर्नामेन्टका उत्कृष्ट खेलाडी चयन भएका छन् । साथै अनुशासित, मर्यादित र निष्पक्ष खेल खेलाए बापत रेफ्रिहरू र उक्त प्रतियोगिताका लागि मैदान उपलब्ध गराइदिने सामाखुशी फुटसलका राजु महर्जनलाई कम्पनीका अध्यक्षले मायाको चिनो दिएका थिए ।
नेशनल लाईफले गर्यो लुम्बिनी प्रदेशका सीईओ क्लब सदस्यलाई सम्मान
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले लुम्बिनी प्रदेशका सीईओ क्लब सदस्यहरूलाई सम्मान गर्दै कार्यक्रम सम्पन्न गरेको छ । लुम्बिनीस्थित होटल लुम्बिनी हेरिटेजमा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापतित्वमा आयोजना गरिएको सम्मान कार्यक्रममा आर्थिक वर्ष २०८१/८२ मा तोकिएको बीमाशुल्क संकलन लक्ष्य पूरा गरी योग्य भएका अभिकर्ताहरूलाई सम्मान गरिएको हो । कार्यक्रममा लुम्बिनी प्रदेशबाट सीईओ क्लबका सदस्य हुन सफल ३४० जना अभिकर्ता, विभागीय प्रमुख, प्रदेश प्रमुख तथा प्रदेशअन्तर्गतका विभिन्न शाखा कार्यालयका शाखा प्रमुखहरूको सहभागिता रहेको थियो । पानसमा दियो प्रज्वलन गर्दै सुरु गरिएको कार्यक्रममा सीईओ क्लब सदस्यता वितरणसँगै आफ्नो कोडमा र नेटवर्कमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका अभिकर्ताहरूलाई विशेष सम्मान तथा पुरस्कार प्रदान गरिएको कम्पनीले जनाएको छ । सोही अवसरमा नेशनल रत्न र नेशनल स्टार विजेता अभिकर्ताहरूलाई नेशनल लाइफ लोगो अंकित चाँदीको मेडल, प्रमाणपत्र र खादा प्रदान गरी सम्मान गरिएको थियो । प्रमुख कार्यकारी अधिकृत खत्रीले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सीईओ क्लब सम्मान कार्यक्रम सम्पन्न भइसकेको उल्लेख गर्दै अब बाँकी प्रदेशहरूमा पनि चाँडै कार्यक्रम हुने जानकारी दिए। उनका अनुसार, सीईओ क्लब कार्यक्रममा हालसम्म नेपालभरका १,६०० भन्दा बढी अभिकर्ता छनौट हुनुले यस योजनाको सफलता प्रमाणित गर्छ र यस्ता कार्यक्रमले अभिकर्ताहरूलाई व्यवसायिक उन्नतिमा प्रेरित गर्ने विश्वास व्यक्त गरे । कार्यक्रममा अन्तर्राष्ट्रिय प्रशिक्षक विजय कुमार झाले सहभागी अभिकर्ताहरूलाई विशेष तालिम प्रदान गरेका थिए । उनले बीमा अभिकर्ता पेशा केवल व्यवसाय नभई सेवा भावसहितको पवित्र पेशा भएको उल्लेख गर्दै, यस क्षेत्रमा सफलताको आधार इमान्दारिता र निरन्तरता रहने बताए । सहभागी अभिकर्ताहरूले अन्तर्राष्ट्रिय प्रशिक्षकबाट तालिम पाउँदा थप प्रेरणा प्राप्त भएको र प्रमुख कार्यकारी अधिकृतबाट सम्मान ग्रहण गर्नु गौरवको विषय रहेको प्रतिक्रिया दिएका थिए ।