मेटलाइफ नेपाल लगातार दोस्रो वर्ष ‘ग्रेट प्लेस टु वर्क’ प्रमाणपत्रबाट सम्मानित

काठमाडौं । मेटलाइफ नेपाल लगातार दोस्रो वर्ष ‘ग्रेट प्लेस टु वर्क’ प्रमाणपत्रबाट सम्मानित भएको छ ।

कम्पनीका अनुसार यो प्रतिष्ठित मान्यता पूर्ण रूपमा कर्मचारीहरूले आफ्नो कार्य अनुभवका आधारमा दिएको प्रत्यक्ष प्रतिक्रियामा आधारित हो । यस वर्ष ८७ प्रतिशत कर्मचारीले मेटलाइफ नेपाललाई काम गर्नका लागि उत्कृष्ट कार्यस्थलका रूपमा मूल्यांकन गरेका छन् ।

‘ग्रेट प्लेस टु वर्क’ कार्यस्थलको संस्कृति, कर्मचारी अनुभव तथा संस्थागत नेतृत्वका उत्कृष्ट अभ्यासको मूल्यांकन गर्ने विश्वव्यापी संस्था हो । यसले संस्थाको व्यावसायिक सफलता, कर्मचारीलाई दीर्घकालसम्म संस्थामा आबद्ध राख्ने क्षमता तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने कार्यसंस्कृतिको आधारमा मूल्यांकन गर्ने गर्छ ।

ग्रेट प्लेस टु वर्ककी विश्वव्यापी मान्यता सम्बन्धी उपाध्यक्ष सारा लेविस–कुलीनले यो प्रमाणपत्र कर्मचारी अनुभवलाई निरन्तर उत्कृष्ट बनाइराख्ने संस्थाले मात्रै प्राप्त गर्न सक्ने प्रतिष्ठित उपलब्धि भएको बताइन् । कर्मचारीहरूको वास्तविक प्रतिक्रियाका आधारमा प्रदान गरिने आधिकारिक मान्यतामध्ये यो एक भएको उल्लेख गर्दै उनले मेटलाइफ नेपालले लगातार दोस्रो वर्ष यो उपलब्धि हासिल गर्नुले कम्पनीले उत्कृष्ट कार्य वातावरण निर्माण गरेको पुष्टि हुने बताइन् ।

मेटलाइफ नेपालका महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले लगातार दोस्रो वर्ष यो मान्यता प्राप्त हुनु कम्पनीका लागि गौरवको विषय भएको बता ए। उनले कर्मचारीहरूको विश्वास, समर्पण र सहकार्य नै यस सफलताको आधार भएको उल्लेख गर्दै प्रत्येक कर्मचारीले आफूलाई सम्मानित, सशक्त र आफ्नो क्षमता विकास गर्न सक्ने समावेशी कार्य वातावरण निर्माणमा कम्पनी प्रतिबद्ध रहेको बताए ।

कम्पनीका अनुसार गत एक वर्षमा आधुनिक प्रविधियुक्त प्रधान कार्यालय स्थापना गर्नुका साथै कर्मचारी स्वयंसेवा सम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गरी कार्य वातावरण थप सुदृढ बनाइएको छ । यस अवधिमा ९१ प्रतिशत कर्मचारीले मेटलाइफ नेपाललाई उत्कृष्ट कार्यस्थल, ९६ प्रतिशतले शारीरिक रूपमा सुरक्षित कार्यस्थल तथा ९४ प्रतिशत कर्मचारीले कम्पनीमा काम गर्न र समाजप्रति कम्पनीले पुर्याएको योगदानप्रति गर्व महसुस गरेको जनाएका छन् ।

ग्रेट प्लेस टु वर्कको अनुसन्धानअनुसार प्रमाणित संस्थामा काम गर्ने कर्मचारीले उत्कृष्ट नेतृत्व पाउने सम्भावना ४.५ गुणा बढी हुने, कामप्रति उत्साहित हुने सम्भावना ९३ प्रतिशत बढी हुने तथा निष्पक्ष पारिश्रमिक, पदोन्नति र संस्थाको सफलताबाट लाभ प्राप्त गर्ने अवसर पनि अन्य कार्यस्थलको तुलनामा उल्लेख्य रूपमा बढी हुने उल्लेख गरिएको छ ।  

Share News