नेशनल लाइफको ब्रान्च मेनेजर्स एनुअल कन्फ्रेन्स सम्पन्न
काठमाडौं । ‘रिडिफाइनिङ सक्सेस’ भन्ने नाराका साथ नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ४ दिने ब्रान्च मेनेजर्स एनुअल कन्फ्रेन्स सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८१÷८२ मा उत्कृष्ट व्यवसाय गर्दै तोकिएको लक्ष्य पुरा गर्ने शाखाहरूलाई सम्मान र पुरस्कृत गर्ने तथा जीवन बीमा व्यवसायसँग सम्वन्धित वर्तमान पाटोबारे विवेचनागरी आगामी बर्षको लागि स्पष्ट खाका कोर्ने उद्देश्यले सम्मेलनको आयोजना गरिएको हो । सम्मेलन कम्पनीका अध्यक्ष प्रेमाराज्य लक्ष्मी सिंहको सभापतित्वमा आयोजना गरिएको थियो । सम्मेलनमा विभागिय प्रमुख तथा देशैभरिबाट प्रदेश प्रमुख, शाखा प्रमुख र मार्केटिङ कर्मचारी गरी १५० जना भन्दा बढीको सहभागिता रहेको थियो । सम्मेलनमा सहभागि हुनुभएका कर्मचारीहरूलाई व्यवसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न उदाहरण प्रस्तुत गर्दै पूर्वबैंकर अनिलकेशरी शाहले नेतृत्व विकास सम्बन्धमा तालिम दिएका थिए । यसैगरी नियमनकारी निकाय श्री नेपाल बीमा प्राधिकरणका उपनिर्देशक पदमप्रसाद सोडारीले सम्पत्ति शुद्धिकरण सम्वन्धमा प्रशिक्षण प्रदान गर्दै बीमालाई माध्यम बनाएर पनि विभिन्न बहानामा सम्पत्ति शुद्धिकरण गर्ने कार्य बढ्दै गएकोले यस तर्फ सचेत रहन आग्रह गरे । सम्मेलनमा आव २०८१/८२ मा उत्कृष्ट ठहरिएका शाखा कार्यालयलगायत वार्षिक लक्ष्य पुरा गर्ने शाखा कार्यालय र विभिन्न विधामा उत्कृष्ट रहेका शाखा कार्यालयहरूलाई प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले सम्मान तथा पुरस्कृत गरेका थिए ।
सानिमा रिलायन्स लाईफको ‘ब्राभो एनुअल कन्क्लेभ २०८२’ सम्पन्न
काठमाडौं । सानिमा रिलायन्स ब्राभो एनुअल कन्क्लेभ २०८२ सम्पन्न भएको छ । कम्पनी सञ्चालक समितिका अध्यक्ष रतन लाल केडियाले कार्यक्रमको उद्घाटन गरे । प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेल, नायव प्रमुख कार्यकारी अधिकृत निराजन कँडेल, प्रमुख व्यवसाय अधिकृतहरू, प्रदेश प्रमुख, विभागीय प्रमुखहरू, क्षेत्रीय प्रबन्धकहरू, एरिया म्यानेजरहरू तथा उत्कृस्ट शाखा प्रबन्धक, मार्केटिङ अफिसर लगायत कस्टमर सर्भिस एक्जुकेटिभहरूको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका अध्यक्ष रतनलाल केडियाले गत वर्ष आर्थिक वर्षमा ७ सय करोडको बीमाशुल्क संकलन गर्न सफल भएकोमा सबै कर्मचारीलाई बधाई दिँदै सफलताका लागि नयाँ प्रविधि र नयाँ सोचलाई अपनाउनु पर्ने र नयाँ अभिकर्ताहरूको संख्या विस्तार कार्य तत्परताका साथ गर्नुपर्ने बताए । कर्मचारीहरू आफ्नो कम्फर्ट जोनबाट बाहिर निस्केर थप मेहनत गर्नुपर्ने र सो कुराले हामीलाई प्रतिस्पर्धात्मक बजारमा अग्र स्थानमा स्थापित गराउन मद्दत पुराउने कुरा उल्लेख गरे । कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले असम्भव शब्द भित्र सम्भव लुकेको हुनाले एकजुट प्रयास, सकारात्मक सोच र निरन्तर मेहनतले सम्भव बनाउन सकिने बारे कुराको प्रकाश पारे ।
जीवन बीमाले गरे पौने २ खर्ब रुपैयाँको व्यवसाय, नेपाल लाइफकाे सबैभन्दा धेरै
काठमाडौं । जीवन बीमा कम्पनीहरूले गत आर्थिक वर्ष २०८१/८२ मा पौने २ खर्ब रुपैयाँको व्यापार गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीले गत वर्ष १ खर्ब ८१ अर्ब ४२ करोड ९९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् । गत आवमा बीमा कम्पनीहरूले आर्जन गरेको बीमा शुल्क अघिल्लो आवको तुलनामा १६.०५ प्रतिशतले बढी हाे । बीमा कम्पनीहरूले आवमा १ खर्ब ५६ अर्ब ३३ करोड १४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका थिए। बीमा प्राधिकरणका अनुसार असारमा मात्रै २२ अर्ब ७० करोड ५५ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् । नेपाल लाइफकाे सबैभन्दा धेरै व्यापार गत आव २०८१/८२ मा सबैभन्दा धेरै व्यापार गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा छ । गत आवमा नेपाल लाइफले ४८ अर्ब ३ करोड ८० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । जुन अघिल्लो आव २०८०/८१ को तुलनामा १७.५९ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले ४० अर्ब ८५ करोड ५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । नेशनल लाइफ इन्स्योरेन्सले गत आवमा २२ अर्ब ४२ करोड ४४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । कम्पनीले अघिल्लो वर्षमा कम्पनीले १९ अर्ब २० करोड ३५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीले १६.७७ प्रतिशतले व्यापार बढेको छ । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपालले गत आवमा १९ अर्ब ९२ करोड ५५ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । अघिल्लो आवको तुलनामा कम्पनीको व्यवसाय १०.०४ प्रतिशतले बढेको हाे । अघिल्लो आवमा कम्पनीले १८ अर्ब १० करोड ७५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । हिमालयन लाइफ इन्स्योरेन्सले गत आवमा १७ अर्ब ६६ करोड ७ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । अघिल्लो आवमा कम्पनीले १६ अर्ब ६० करोड ८० लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको थियो । त्यस्तै गत आवमा सूर्यज्योति लाइफले ११ अर्ब १८ करोड ७३ लाख रुपैयाँ, एशियन लाइफले १० अर्ब २४ करोड ८४ लाख रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीले ९ अर्ब ८५ करोड ६६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । त्यसैगरी सिटिजन लाइफले ७ अर्ब ५१ करोड १३ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले ७ अर्ब ६९ लाख रुपैयाँ, मेट लाइफले ६ अर्ब २५ करोड ८३ लाख रुपैयाँ, आइएमई लाइफले ५ अर्ब ६५ करोड २७ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले ५ अर्ब ३७ करोड १ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले ५ अर्ब २८ करोड ४५ लाख रुपैयाँ र सन नेपाल लाइफले ५ अर्ब ४५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।