राष्ट्रिय बीमा कम्पनीको नाफा ४४ करोड, १ अर्ब ३७ करोड बीमाशुल्क
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले गत वर्ष ४४ कराेड रूपैयाँ खुद नाफा गरेकाे छ । कम्पनीका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा ४४ करोड रुपैयाँ खुद नाफा गरेको हाे । गत आर्थिक वर्षमा कम्पनीले १ अर्ब ३७ करोड बीमा शुल्क आर्जन गरेको जनाएकाे छ । कम्पनीका अनुसार खुद सम्पत्ति १७ अर्ब रूपैयाँ पुगेकाे छ । गत असारसम्म कम्पनीकाे प्रतिसेयर बुक भ्यालु ६ हजार ३७५ रुपैयाँ रहेको छ । त्यसैगरी प्रतिसेयर आम्दानी (ईपीएस) १६२ रुपैयाँ रहेको छ भने सोल्भेन्सी मार्जिन २.७३ गुणा रहेको छ । चुक्ता पुँजी २६ करोड ६६ लाख ४९ हजार ५९ रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।
राष्ट्रिय बीमा कम्पनीलाई ब्रान्डिङको आवश्यकता पर्दैनः कार्यकारी निर्देशक सुवेदी
काठमाडौं । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले राष्ट्रिय बीमा कम्पनीलाई ब्रान्डिङको आवश्यकता नरहेको बताएका छन् । आइतबार राष्ट्रिय बीमा कम्पनीको १२औं वार्षिक साधारण सभामा कार्यकारी निर्देशक सुवेदीले राष्ट्रिय बीमा कम्पनी सरकारी स्वामित्वको संस्था भएकाले ब्रान्डिङको आवश्यकता नरहेको बताएका हुन् । उनले भने, ‘राष्ट्रिय बीमा कम्पनी त्यस्तो कम्पनी हो जसलाई कुनै ब्रान्डिङको आवश्यकता पर्दैन । जसले आफ्नो ब्रान्ड डेभलप गर्नका लागि कुनै एक्स्ट्रा इफोर्ट लगाउन पर्दैन । सरकारी ब्याकअप छ, मान्छेहरूको एउटा कन्फिडेन्स छ, सेन्टिमेन्टल भ्यालुले पनि काम गरिरहेको छ। केही भयो भने सरकार पछाडि बसेको छ भन्ने हिसाबले पनि मान्छेहरू राष्ट्रिय बीमा कम्पनीमा बीमा गर्न उत्सुक हुन्छन् ।’ कार्यकारी निर्देशक सुवेदीले सरकारको यति धेरै सपोर्ट भएर पनि किन कम्पनीमाथि यति धेरै प्रश्नहरू उठिरहेका छन् भनेर प्रश्न राखे । उनले कम्पनीको कामकारबाहीमा ढिलासुस्ती र अडिट हुन नसकेको विषयमा चासो व्यक्त गरे। कार्यकारी निर्देशक सुवेदीले कम्पनीको अडिट हुन नसकेको विषय उठाउँदै भने, ‘तपाईंमाथि जहिले पनि लाग्ने गरेको एउटा ठूलो प्रश्न छ, आरोप छ, अडिट भएन, अडिट भएन भन्ने छ ।’ उनले नियामक निकायले सबै कम्पनीलाई एउटै व्यवहार गर्दै आएको बताए । उनले यस विषयमा अगाडि बढ्न आग्रह गर्दै बीमा प्राधिकरणको सधैं साथ, समर्थन र सहयोग रहने विश्वास व्यक्त गरे । सुवेदीले बीमा प्राधिकरणले कम्पनीलाई आवश्यक परेको खण्डमा औपचारिक र अनौपचारिक रुपमा सहयोग गर्न तयार रहेको बताए । सँगसँगै उनले कम्पनीबाट कुनै गल्ती भएमा वा नियमविपरीत काम भएमा दण्ड सजाय गर्न पनि पछि नपर्ने चेतावनी दिए । ‘बीमा प्राधिकरण तपाईंलाई दण्ड सजायको परिधिभित्र लैजान पनि डण्डा चलाउन पनि पछि पर्दैन,’ उनले भने । उनले राष्ट्रिय बीमा कम्पनी सार्वजनिक कम्पनी भएकाले यसको दायित्व अन्य कम्पनीको भन्दा बढी भएको बताए। कम्पनीको व्यवस्थापनलाई सबै पक्षलाई सन्तुलनमा राखेर काम गर्न र अधिकतम प्रतिफल निकाल्न सक्ने गरी योजना बनाउन उनले आग्रह पनि गरेका छन् ।
मेटलाइफ नेपाल ‘ग्रेट प्लेस टु वर्क’ सूचीमा सम्मानित
काठमाडौं । मेटलाइफ नेपालले विश्वस्तरको ‘ग्रेट प्लेस टु वर्क’ प्रमाणपत्र प्राप्त गर्दै उत्कृष्ट कार्यसंस्कृतिको मान्यता हासिल गरेको छ । कम्पनीले विश्वभरका ३३ वटा मेटलाइफ कार्यालयहरूसँगै यो उपाधि प्राप्त गर्दै कर्मचारीमैत्री संस्थाका रूपमा प्रमाणित गराएको हो । गत महिना सम्पन्न सर्वेक्षणमा विश्वभरका २४ हजार भन्दा बढी कर्मचारी सहभागी भएका थिए । उनीहरूले काम गर्ने वातावरण, विश्वास, समावेशीता, सम्मान र प्रेरणाको आधारमा मेटलाइफको मूल्याङ्कन गरेका थिए । नेपालस्थित मेटलाइफको प्रदर्शन ग्लोबल बेन्चमार्कभन्दा उच्च देखिएको थियो । यसले कम्पनीको समावेशी, सुरक्षित र प्रेरणादायक कार्यसंस्कृतिलाई झल्काउँछ । मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठ भन्छन्, 'यो मान्यता केवल एउटा उपलब्धि होइन, हामीले सँगै निर्माण गरेको संस्कृतिको प्रमाण हो । जब कर्मचारीहरूले आफूलाई विश्वास गरिएको, सम्मान गरिएको र सशक्त महसुस गर्छन्, उनीहरू आफ्नो उत्कृष्ट योगदान दिन सक्षम हुन्छन् ।' ‘ग्रेट प्लेस टु वर्क’ विश्वव्यापी रूपमा सर्वोत्तम कार्यस्थल चिन्ने मान्यता प्रणाली हो, जसले संस्थाको भित्री संस्कृति, नेतृत्व, पारदर्शिता र कर्मचारी सन्तुष्टिलाई आधार मानेर मूल्याङ्कन गर्दछ ।