डेटा किन्दा अब जीवन बीमा पनि, एनसेल र मेटलाइफको नयाँ साझेदारी
काठमाडौं । एनसेल र मेटलाइफ नेपालको साझेदारीमा ‘डाटासँगै जीवन बीमा’ नामक एक नवीन योजना सुरु भएको छ । यो सेवा लिने ग्राहकहरूले मोबाइल डेटाका साथै जीवन तथा घातक रोगको बीमा एकैसाथ पाउँछन् । नेपालमै पहिलोपटक सुरु भएको यो सेवाअन्तर्गत एनसेलका ग्राहकहरूले दुई विशेष प्याकेजहरूमध्ये कुनै एक रोजेर बीमाको फाइदा लिन सक्छन्, जसमा डेटा प्रयोगसँगै बीमा सुविधा पनि प्राप्त हुन्छ । दुई प्याकेजहरूमा पहिलोमा कर सहित ९९ रुपैयाँको प्याक रहेको छ । ३ दिन समयसीमा रहेको यो प्याकमा १०० एमबी डेटा, २ लाख बराबरको म्यादी जीवन बीमा र २ लाख बराबरको घातक रोग बीमा पाइन्छ । यो बीमा सुविधा प्याक खरिद गरेको मितिबाट ३० दिनसम्म मान्य रहन्छ । दोस्रोमा ३९ को प्याक रहेको छ । यो प्याकमा ग्राहकले ३ दिनका लागि १०० एमबी डेटा, ५० हजार बराबरको म्यादी जीवन बीमा र ५० हजार बराबरको घातक रोग बीमा पाउँछन् । यो बीमा सुविधा प्याक खरिद गरिएको मितिबाट ३० दिनसम्म मान्य रहन्छ । ग्राहकहरूले एनसेल एपमार्फत आफूलाई मनपर्ने प्याक छानी बीमाका लागि एउटा फाराम भरेर सजिलै यी दुई मध्ये एक प्याक लिन सक्छन् । यी प्याकहरू *१२३*४*६# डायल गरेर पनि लिन सकिन्छ । प्याक लिएका ग्राहकहरुको टर्म लाइफ इन्स्योरेन्स फारम बुझाउने बितिकै तुरुन्तै सुरु हुन्छ भने क्रिटिकल इलनेस (गम्भीर रोग) कभरेज ३० दिनको प्रतीक्षा अवधिपछि सक्रिय हुन्छ । यो साझेदारीले एनसेल प्रयोगकर्ताहरूका लागि बीमा पहुँच सहज बनाउने लक्ष्य राखेको छ । विशेषतः लामो समयदेखि यस्तो सेवाबाट बन्चित विकट दुरदराजका समुदायहरूलाई यसले ठूलो महत्त्व राख्दछ । सुलभ शुल्क, पूर्ण डिजिटल प्रक्रिया र प्रभावकारी बीमा सुविधासहितको ‘डाटासँगै जीवन बीमा’ योजनाले नेपालको वित्तीय समावेशिता र सामाजिक सुरक्षातर्फको यात्रामा महत्त्वपूर्ण यात्रा सुरु गरेको छ ।
तीन महिनामा जीवन बीमा कम्पनीको कुल व्यवसाय ४९ अर्ब २२ करोड, कसले कति कमायाे ?
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को असोजसम्ममा जीवन बीमा कम्पनीहरूले कुल ४९ अर्ब रूपैयाँ बढी बीमा शुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले बुधबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार १४ जीवन बीमा कम्पनीहरूले १ करोड १४ लाख ३८ हजार २७३ वटा बीमा पोलिसी बिक्री गरी कुल ४९ अर्ब २२ करोड ९३ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका हुन् । जीवन बीमा कम्पनीहरुले असोजमा मात्रै ४ लाख १४ हजार ५२८ पोलिसी जारी गरेर १३ अर्ब ९७ करोड ९६ लाख रुपैयाँको व्यवसाय आर्जन गरेका छन् । असोज मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुमध्ये नेपाल लाइफले सबैभन्दा धेरै व्यवसाय गरेको छ । तथ्यांकअनुसार तीन महिनामा कम्पनीले १६ लाख ७४ हजार ६८१ बीमालेख जारी गरेर १३ अर्ब ४५ करोड ५० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । दोस्रोमा नेशनल लाइफ १३ लाख ५८ हजार ७९८ पोलिसी बिक्री गरेर ५ अर्ब ६८ करोड ४७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । तेस्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी नेपाल) ले ४ अर्ब ९८ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । असोज मसान्तसम्ममा राष्ट्रिय बीमा कम्पनीले ४ अर्ब ५३ करोड रुपैयाँ, हिमालयन लाइफले ४ अर्ब ४३ करोड रुपैयाँ, सूर्यज्योति लाइफले २ अर्ब ८८ करोड, एशियन लाइफले २ अर्ब २६ करोड रुपैयाँ, सिटिजन लाइफले २ अर्ब १७ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् । त्यसैगरी सिटिजन लाइफले २ अर्ब १७ करोड रुपैयाँ, सानिमा रियलायन्स लाइफले १ अर्ब ८१ करोड रुपैयाँ, मेट लाइफले १ अर्ब ६६ करोड रुपैयाँ, आइएमई लाइफले १ अर्ब ५१ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको प्राधिकरणको तथ्यांक छ । तीन महिनाको अवधिमा रिलायबल नेपाल लाइफले १ अर्ब ४५ करोड रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले १ अर्ब ४० करोड रुपैयाँ र सन नेपाल लाइफले ९५ करोड ७२ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् ।
३ महिनामा निर्जीवन बीमा कम्पनीहरूको कुल व्यवसाय १२ अर्ब माथि, सलिकोले शिखरलाई उछिन्यो
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को असोज मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरूले कुल साढे १२ अर्ब माथि बीमाशुल्क संकलन गरेका छन् । सञ्चालनमा रहेको १४ निर्जीवन बीमा कम्पनीहरूले असोज मसान्तसम्ममा ७ लाख ८८ हजार ६१३ वटा बीमा पोलिसी बिक्री गरी १२ अर्ब ९२ करोड ४६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् । असोजमा मात्रै बीमा कम्पनीहरूले २ लाख ९० हजार ३०५ वटा पोलिसी जारी गरेर ४ अर्ब ६३ करोड १४ लाख रुपैयाँ बराबरको व्यवसाय आर्जन गरेका छन् । असोज मसान्तसम्ममा बीमा कम्पनीहरूमध्ये सबैभन्दा धेरै व्यवसाय सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) ले गरेको छ । कम्पनीले यस अवधिमा ६५ हजार १०२ पोलिसी बिक्री गरेर १ अर्ब ४९ करोड ८३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । असोजमा मात्रै सलिकोले ६० करोड ३८ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ। दोस्रो धेरै व्यवसाय आर्जन गर्नेमा शिखर इन्स्योरेन्स रहेको छ । कम्पनीले असोजसम्ममा ७९ हजार ४४० पोलिसी बिक्री गरेर १ अर्ब ३८ करोड ४६ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । तेस्रो धेरै व्यवसाय आर्जन गर्ने कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ७० हजार ६३० वटा पोलिसी बिक्री गरेर १ अर्ब २२ करोड ४३ लाख रुपैयाँको व्यवसाय आर्जन गरेको छ । त्यसैगरी, तीन महिनाको अवधिमा हिमालयन एभरेष्ट इन्स्योरेन्सले १ अर्ब १९ करोड ६६ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले १ अर्ब २ करोड ५६ लाख रुपैयाँ, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले ९९ करोड ६ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् । त्यस्तै, नेको इन्स्योरेन्स कम्पनीले ९२ करोड ८३ लाख रुपैयाँ, यूनाइटेड अजोड इन्स्योरेन्सले ८८ करोड २९ लाख रुपैयाँ, ओरिएन्टल इन्स्योरेन्सले ७८ करोड ८५ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले ७० करोड ६२ लाख रुपैयाँ, सानिमा जिआइसी इन्स्योरेन्सले ६८ करोड १८ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले ५० करोड ५६ लाख रुपैयाँ, नेशनल इन्स्योरेन्सले ४२ करोड ८४ लाख रुपैयाँ र राष्ट्रिय बीमा कम्पनीले ४१ करोड ४१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । लघु निर्जीवन बीमा कम्पनीहरूमा नेपाल माइक्रोले ७ करोड तीन लाख रुपैयाँ, प्रोटेक्टिभ माइक्रोले ६ करोड ९९ लाख रुपैयाँ, स्टार माइक्रोले ५ करोड २२ लाख रुपैयाँ र ट्रस्ट माइक्रोले ६ करोड ९५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।