बीमा प्राधिकरण र नबिल बैंकबीच एयरमार्क प्रणाली स्वचालनका लागि सहकार्य

काठमाडौं । नेपाल बीमा प्राधिकरण र नबिल बैंक लिमिटेडबीच एयरमार्क प्रणालीलाई स्वचालित बनाउनका लागि मंगलबार एपीआई (एप्लिकेशन प्रोग्रामिङ इन्टरफेस) एकीकरण सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी र नबिल बैंकका प्रमुख बजार अधिकृत निरज शर्माले हस्ताक्षर गरे । कार्यक्रममा कार्यकारी निर्देशक सुवेदीले यो सम्झौताबाट बीमा क्षेत्रको एयरमार्क प्रणाली पूर्ण रूपमा स्वचालनमा रूपान्तरण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे । उनका अनुसार यस प्रणालीले बीमकहरूको लगानी प्रक्रिया छिटो, छरितो र त्रुटिरहित बनाउनेछ भने नियमन तथा निरीक्षण कार्यलाई अझ दक्ष र पारदर्शी बनाउन सहयोग पुर्‍याउनेछ । एपीआई एकीकरण अन्तर्गत बीमकहरूले मुद्दती निक्षेपमा गर्ने लगानीसम्बन्धी एयरमार्क व्यवस्थापनलाई प्रविधिमार्फत सहज, सुरक्षित र विश्वसनीय बनाइनेछ । प्रणालीमार्फत प्राधिकरणबाट बैंकमा पठाइने ब्लक तथा अनब्लक अनुरोधहरू स्वतः प्रमाणीकरण हुनेछन् । सही विवरण भएको अनुरोध मात्र स्वीकृत हुने र त्रुटिपूर्ण विवरण भएमा प्रणालीले त्यसलाई एयरमार्क प्लेटफर्ममार्फत स्वचालित रूपमा बीमकलाई फिर्ता पठाउनेछ । यस एकीकरणका लागि नबिल बैंकले विशेष ‘मिडलवेयर’ प्रणाली विकास गरेको छ, जसले बीमकहरूबाट प्राधिकरण हुँदै प्राप्त मुद्दती निक्षेप सम्बन्धी विवरणहरूलाई बैंकको कोर बैंकिङ प्रणालीसँग प्रत्यक्ष रूपमा जोड्ने सुविधा प्रदान गर्छ । यो सहकार्य नेपाल बीमा प्राधिकरणको डिजिटल रूपान्तरण र प्रविधिमैत्री नियमनतर्फको अर्को महत्वपूर्ण कदमका रूपमा रहेको बताइएको छ । यसले बीमा क्षेत्रको दक्षता, पारदर्शिता र समय–उपयुक्त सेवा प्रवाहमा उल्लेखनीय सुधार ल्याउने अपेक्षा गरिएको छ । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक ध्रुव तिमिल्सिना, उपनिर्देशक राजेन्द्र महर्जन, उपनिर्देशक रविन्द्र श्रेष्ठ, तथा नबिल बैंकका होलसेल लायबिलिटी प्रमुख लक्ष्मी लामिछाने ढकाललगायतको उपस्थिति रहेको थियो ।

सिटिजन लाइफको अवार्ड वितरण र सीप अभिवृद्धि कार्यक्रम सम्पन्न

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले देशका विभिन्न क्षेत्रमा आयोजना गरेको ‘अवार्ड वितरण तथा सीप अभिवृद्धि समारोह’ सम्पन्न गरेको छ । कार्यक्रमको मुख्य उद्देश्य सिटिजन लिडरहरूबीच आत्मविश्वास, प्रेरणा र सहकार्य प्रवर्द्धन गर्नु रहेको कम्पनीले जनाएको छ । प्रत्येक कार्यक्रममा २५० देखि ३६० जना सहभागी भएका थिए । कार्यक्रमका क्रममा आर्थिक वर्ष २०८१/८२ का ‘ब्रोनज क्लब क्वालिफायर’ हरूलाई सम्मान गरिएको थियो ।  साथै विभिन्न दिनहरूमा उत्कृष्ट प्रदर्शन गर्ने ‘हिरो अफ द डे’ उपाधि प्राप्त लिडरहरूलाई पुरस्कार प्रदान गरिएको थियो । तालिम सत्र कम्पनीका ट्रेनिङ विभाग प्रमुख, प्रमुख व्यवसाय अधिकृत, प्रमुख बजार व्यवस्थापन अधिकृत र प्रमुख कार्यकारी अधिकृतले सञ्चालन गरेका थिए । उनीहरूको प्रेरणादायी सत्रले सहभागीहरूमा नयाँ उत्साह र जोश भरिएको कम्पनीको भनाइ छ । कार्यक्रमपछि आयोजित मनोरञ्जनात्मक सत्रमा लोकप्रिय लोकगायक मिलन लामाले पोखरा र काठमाडौंमा आफ्ना गीत प्रस्तुत गरी माहोल झनै रोचक बनाएका थिए । सहभागीहरूले यसबाट नयाँ ऊर्जा र प्रेरणा प्राप्त गरेको बताएका छन् । सिटिजन लाइफ इन्स्योरेन्सले आफ्ना लिडरहरूमा सकारात्मक सोच र पेशागत क्षमता फैलाउने संस्कृतिलाई निरन्तरता दिँदै आएको जनाएको छ ।  कम्पनीका अनुसार कडा मेहनत गर्ने लिडरहरूको सम्मान र पुरस्कार प्रदान गर्नु यसको नीति र मूल्यको महत्त्वपूर्ण अङ्ग हो । निकट भविष्यमा पश्चिम तथा हेटौंडा क्षेत्रका कार्यक्रमहरू पनि सम्पन्न गरिने कम्पनीले जानकारी दिएको छ ।

बीमा कम्पनीहरूमा जेनजी आन्दोलनको दाबी रकम बढ्यो, ३ अर्ब ६८ करोडमात्रै भुक्तानी

काठमाडौं । गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा देशभर भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी रकम बढेको छ । बीमा प्राधिकरणका अनुसार हालसम्म बीमा कम्पनीहरूमा २३ अर्ब ४६ करोड रुपैयाँभन्दा बढीको दाबी परेको छ। बीमा प्राधिकरणका अनुसार १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीमा कुल ३ हजार २४६ वटा बीमा दाबीको २३ अर्ब ४६ करोड ९१ लाख रुपैयाँको दाबी परेको हो ।  दाबीअनुसार बीमा कम्पनीहरूले भुक्तानी गर्ने रकम भने न्यून देखिन्छ । प्राधिकरणका अनुसार हालसम्म बीमा कम्पनीहरूले ३ अर्ब ६८ करोड ४१ लाख रुपैयाँ बराबरको दाबीबापतको रकम भुक्तानी गरेका छन् । बीमा कमपनीहरूले इञ्जिनियरिङ तथा ठेक्का जोखिम बीमातर्फ २०९ वटा दाबीको ५४ करोड ७५ लाख दाबी रकममध्ये ६ करोड २३ लाख रुपैयाँ भुक्तानी गरेका छन्।  त्यस्तै, परिवहन बीमातर्फ १२ वटा दाबीको १ करोड ६८ लाख दाबी रकममध्ये करिब ७ लाख र अन्य बीमातर्फ ४२ वटा दाबीको  ३९ करोड ३० लाख दाबी रकममध्ये २३ लाख अग्रिम भुक्तानीसमेत गरी दाबी रकम भुक्तानी गरेको जनाएको छ । सबैभन्दा धेरै दाबी सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा देखिएको छ । उक्त कम्पनीले ४०१ वटा दाबीको ५ अर्ब ५१ करोड ३७ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ । कम्पनीले हालसम्म १ अर्ब ५७ करोड ५१ लाख रुपैयाँ भुक्तानी गरेको छ ।   दोस्रो धेरै क्षतिको दाबी ओरिएन्टल इन्स्योरेन्समा ५ अर्ब ४४ करोड ३५ लाख रुपैयाँ बराबरको १०१ वटा दाबी परेको छ । जसमध्ये हालसम्म कम्पनीले ४ करोड १९ लाख रुपैयाँमात्रै भुक्तानी गरेको छ । तेस्रोमा आईजीआई प्रिडेन्सियल इन्स्योरेन्सले २१६ वटा दाबीको २ अर्ब ७९ करोड ९१  लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ । जसमध्ये हालसम्म कम्पनीले ५५ करोड ४४ लाख रुपैयाँ भुक्तानी गरेको छ ।  प्राधिकरणका अनुसार शिखर इन्स्यारेन्समा २ अर्ब ४२ करोड १ लाख रुपैयाँ बराबरको ४४५ वटा, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा १ अर्ब ५७ करोड २६ लाख रुपैयाँको ४४५ वटा, नेको इन्स्योरेन्समा १ अर्ब १६ करोड ६८ लाख रुपैयाँको २७२ वटा, हिमालयन एभरेष्ट इन्स्योरेन्समा ९७ करोड १६ लाख रुपैयाँको २७१ वटा, सानिमा जिआइसी इन्स्योरेन्समा ९२ करोड १ लाख रुपैयाँको १७८ वटा दाबी परेको छ । हालसम्म शिखरले ६६ करोड २६ लाख रुपैयाँ, सगरमाथा लुम्बिनीले ८ करोड ७४ लाख रुपैयाँ, नेकोले १९ करोड ३९ लाख रुपैयाँ, हिमालयन एभरेष्टले २७ करोड ४३ लाख, सानिमा जिआइसीले ७ करोड ६४ लाख रुपैयाँ भुक्तानी गरिसकेका छन् । त्यस्तै, यसैगरी युनाइटेड अजोड इन्स्योरेन्सले २३८ वटा दाबीको ६३ करोड ९४ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले २१६ वटा दाबीको ६३ करोड ८१ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले २४७ वटा दाबीको ५८ करोड ६९ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले १११ वटा दाबीको ४६ करोड २९ लाख रुपैयाँ र प्रभु इन्स्योरेन्सले १११ वटा दाबीको ४६ करोड ९५ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ ।  हालसम्म युनाइटेडले २ करोड ३८ लाख रुपैयाँ, एनएलजीले ६ करोड ५९ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले ११ करोड ५७ लाख रुपैयाँ र प्रभु इन्स्योरेन्सले ३१ लाख रुपैयाँ भुक्तानी गरेका छन् । पुनर्बीमा कम्पनीबाट २ अर्ब ४८ करोड १० लाख अग्रिम भुक्तानी जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी भुक्तानीका लागि नेपाल पुनर्बीमा कम्पनीले निर्जीवन बीमा कम्पनीहरूलाई हालसम्म २ अर्ब ४८ करोड १० लाख रुपैयाँ अग्रिम भुक्तानी (पेश्की) उपलब्ध गराएको छ ।  नेपाल पुनर्बीमा कम्पनीमा परेका कुल २ हजार ८५७ वटा पुनर्बीमा दाबीको दाबी १५ अर्ब ८२ करोड ७० लाख रहेको छ ।