बीमा क्षेत्रका ८१ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा

काठमाडौं । बीमा क्षेत्रमा हालसम्मै सबैभन्दा ठूलो मुद्दा परेको छ । धितोपत्र बजारमा सङ्गठित रूपमा गैरकानूनी गतिविधि गरी सर्वसाधारण लगानीकर्तालाई ठगी गरेको अभियोगमा हिमालयन रिइन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत उपासना पौडेलसहित बीमा क्षेत्रमा आबद्ध ८१ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

अभियोग पत्रमा धितोपत्र बजारमा सङ्गठित रूपमा सर्कुलर ट्रेडिङ गरी एक अर्ब १४ करोड बढी घोटाला गरेको अभियोगमा ८१ जनालाई प्रतिवादी बनाएको छ । सरकारले  सबै प्रतिवादीहरूबाट बिगो बमोजिमको रकम असुल गरी धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा १०१ बमोजिम कैद र जरिवानाको माग गरेको छ। सरकारी वकिल कार्यालयले धितोपत्र सम्बन्धी ऐन, २०६३ को विभिन्न दफा अन्तर्गत सजाय र बिगो भराउने मागदाबी गरेको हो । 
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले दायर गरेको अभियोग पत्रमा शंकर समूह र व्यवसायीक दिपक भट्टको प्रत्यक्ष अप्रत्यक्ष लगानी र नियन्त्रण रहेको हिमालयन रिइन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स, लघु बीमा कम्पनीहरू, ब्रोकर र इन्भेष्टमेण्ट कम्पनी, पुनर्बीमा दलाल कम्पनीका कर्मचारीहरू रहेका छन् ।

मुख्य अभियुक्तहरूमा बहालवाला प्रमुख कार्यकारी अधिकृतहरू हिमालन रिइन्स्योरेन्सकी उपासना पौडेल, हिमालयन लाइफका कपिल कुमार दाहाल,  नेपाल माईक्रो ईन्स्योरेन्सका मृगेन्द्र नाथ रिमाल, गार्डियन माइक्रो लाइफका चिरायु भण्डारी, प्रोटेक्टिभ माइक्रो ईन्स्योरेन्सका नरेश कुमार रोका, लिबर्टी माईक्रो लाईफका राम कुमार यादव,  क्रेष्ट माइक्रो लाईफका प्रतापमान श्रेष्ठ, हिमालयन लाइफका पूर्व प्रमुख कार्यकारी मनोज लाल कर्ण रहेका छन् । 

त्यस्तै, गोल्छा समूहका अध्यक्ष शेखर गोल्छा (हिमालयन रिइन्स्योरेन्सका तत्कालीन अध्यक्ष), साहिल अग्रवाल र सञ्चालक रोहित गुप्ता पनि परेका छन्। यो मुद्दामा घोटालाका मुख्य योजनाकार दीपक भट्ट (इन्फिनिटी होल्डिङ्सका सञ्चालक) र सुलभ अग्रवाल(हिमालयन लाइफका पूर्व अध्यक्ष तथा शंकर ग्रुपका निर्देशक) लाई बनाइएको छ। साजै सुलभ अग्रवालकी श्रीमति शुभी अग्रवाल पनि कारोबारमा मुछिएकी छिन् ।

यसैगरी व्यावसायिक घराना, धितोपत्र ब्रोकर र आधा दर्जन बीमा कम्पनीका उच्च अधिकारीहरूलाई विपक्षी बनाइएको छ। नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) को प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले अभियोग पत्र दर्ता गरेको हो । 

कुन संस्थाबाट क-कसलाई मुद्दा ? 

हिमालयन रिइन्स्योरेन्सबाट प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल, सञ्चालकहरुम अमित मोर, राजिव मोर, शुभेच्छा खरेल, सुभास कुमार झुनझुनवाला र  लगानी समिति सदस्य मनिष कुमार रहेका छन् । 

त्यस्तै तत्कालीन अध्यक्ष शेखर गोल्छा, तत्कालीन सञ्चालक रोहित गुप्ता, लगानी समिति संयोजक शाहिल अग्रवाल र तत्कालीन सञ्चालक सुलभ अग्रवालमाथि मुद्दा परेको छ । 

हिमालयन लाइफ इन्स्योरेन्सबाट सञ्चालकहरु विवेक कुमार शाह, लक्ष्मण ज्ञवाली, राजिव प्रसाद प्याकुरेल, आशिष ढकाल, सौरभ दुगड, सचिन आचार्य, प्रमिला केसी, दिगम्बर झा विरुद्ध मुद्दा दायर भएको छ । त्यस्तै गार्डियन माइक्रो लाइफबाट सञ्चालकहरुमा डा. जयप्रकाश जैसवाल,उदयनारायण भट्टराई, प्रमोद प्रसाद भट्टराई, ज्योती अग्रवाल र नवराज गिरीविरुद्ध मुद्दा परेको छ 

प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी र लगानी समिति सदस्य ज्योती प्रकाश पाण्डे र समीर खरेलविरुद्ध मुद्दा परेको छ ।

प्रोटेक्टिभ माईक्रो ईन्स्योरेन्सबाट सञ्चालक अध्यक्ष कीर्तीका अग्रवाल, सञ्चालक सदस्यहरूमा दिनेश सरिया, नितेश मालपानी, भानुभक्त पोख्रेल, निरू दाहाल, गणेश राज पन्त, दिपेश कुमार श्रेष्ठ र सीईओ नरेश कुमार रोकाविरुद्ध मुद्धा दायर भएको छ । 

त्यसैगरी क्रेष्ट माईक्रो ईन्स्योरेन्सबाट सञ्चालकहरु सञ्चालकहरु विदुर पुरी, मृदुला सरिया, विनोद नरसिंह श्रेष्ठ, ईश्वरलाल श्रेष्ठ,सुनिता मर्हजनविरुद्ध मुद्धा परेको छ । त्यस्तै लगानी संयोजक रोहित करण वैद्य, सीईओ प्रतापमान श्रेष्ठ, तत्कालिन अध्यक्ष ऋषराज मोर र तत्कालीन सञ्चालक सदस्य पवित्र लाल चुकेविरुद्ध मुद्धा परेको छ । 

लिबर्टी माईक्रो लाईफ ईन्स्योरेन्सबाट सञ्चालक सदस्यहरुमा बलराम खत्री,नेहा अग्रवाल, आसिस सिंह, सीईओ राम कुमार यादव, वित्त विभाग प्रमुख देवेन्द्र धिताल, अध्यक्ष निकोलस पाण्डे र संयोजक मनिष तिमिल्सिनाविरुद्ध मुद्धा दायर भएको छ । 

त्यसैगरी नेपाल माइक्रो इन्स्योरेन्सबाट अध्यक्ष आशिष श्रेष्ठ, सीईओ मृगेन्द्र नाथ रिमाल, सञ्चालकहरु सिद्धान्त झुनझुनवाला, लतिका गोल्यान, बद्री सिग्देल, प्रविना दाहाल र लगानी समिति सदस्य सुजल मल्ल रहेका छन् । 

Share News