नेपाल इन्स्योरेन्सले उत्कृष्ट वार्षिक प्रतिवेदन तयार गरे वापत पायो ‘गोल्ड अवार्ड’

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले उत्कृष्ट वार्षिक प्रतिवेदन तयार गरेकोमा ‘नेशनल बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०२४’ अन्तर्गत गोल्ड अवार्ड प्राप्त गरेको छ । नेपालका निर्जीवन बीमा कम्पनीहरूबीच प्रतिस्पर्धात्मक मूल्याङ्कनका आधारमा प्रदान गरिने यस सम्मानका लागि कम्पनीलाई इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपालले पुरस्कृत गरेको हो । शुक्रबार राजधानीको होटल र्‍याडिसनमा आयोजित विशेष समारोहमा महालेखापरीक्षक तोयम रायको प्रमुख आतिथ्यमा नेपाल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत वीरकृष्ण महर्जनलाई सम्मानपत्र प्रदान गरिएको हो । कम्पनीले पारदर्शिता, सुशासन, वित्तीय विवरणको स्पष्टता र अन्तर्राष्ट्रिय मान्यताअनुसारको प्रतिवेदन संरचनाका आधारमा यो अवार्ड पाएको हो । नेपाल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत महर्जनले यस सम्मानले कम्पनीलाई अझ पारदर्शी, उत्तरदायी र सेवालाई गुणस्तरीय बनाउने प्रेरणा दिएको प्रतिक्रिया दिएका छन् ।

२९ वर्षको सफल यात्रापछि सगरमाथा लुम्बिनी इन्स्योरेन्स ३०औं वर्षमा

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स “सलिको” कम्पनीले आफ्नो २९औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेको छ । २९ वर्ष पूरा गरी ३०औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा कम्पनीले विविध कार्यक्रमहरू आयोजना गर्दै वार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सवको अवसरमा कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर ) अन्तर्गत देशका विभिन्न स्थानहरूमा सहयोगमूलक कार्यक्रमहरू सञ्चालन गरेको छ । काठमाडौंमा रक्तदान कार्यक्रम र निःशुल्क दन्त परीक्षण शिविरको आयोजना गरिएको थियो ।  त्यस्तै, गण्डकी, लुम्बिनी र कोशी प्रदेशका कार्यालयहरूले मानव सेवा आश्रममा सहयोग हस्तान्तरण गरेका छन्, भने मधेश प्रदेश कार्यालयले आमाको माया छात्रावासमा बालबालिकालाई भोजन प्रदान गर्ने कार्यक्रम सञ्चालन गरेको छ । २९औं वार्षिकोत्सवको यस सुखद अवसरमा कम्पनीले आफ्ना सम्पूर्ण ग्राहक, शेयरधनी, नियामक निकाय, कर्मचारी तथा शुभचिन्तकहरूप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा अझ गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) चंकी क्षेत्री, नायब प्रमुख कार्यकारी अधिकृत बरिष्मा साउद आचार्य, नायब महाप्रवन्धक कविराज पौडेल, दाबी विभाग प्रमुख सुवास दिक्षितसहित अन्य कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले व्यवसायिक प्रतिबद्धतासँगै सामाजिक उत्तरदायित्वलाई पनि सधैं प्राथमिकतामा राख्दै आएको उल्लेखनीय यात्रा निरन्तर अघि बढाइरहेको छ ।

४ अर्ब ३ करोड प्रिमियम आर्जन गर्दै हिमालयन एभरेष्ट इन्स्योरेन्स

काठमाडौं । नेपालको निर्जीवन बीमा क्षेत्र दिनप्रतिदिन प्रतिस्पर्धी र चुनौतीपूर्ण बन्दै गएको सन्दर्भमा पनि हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्म वित्तीय सुदृढता र व्यावसायिक सफलता कायम राख्न उल्लेखनीय उपलब्धि हासिल गरेको छ । उक्त अवधिमा कम्पनीले ४ अर्ब ३ करोड रुपैयाँ बराबरको बीमा प्रिमियम आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा दोहोरो अंकको वृद्धि हासिल गर्दै प्रतिस्पर्धात्मक बजारमा पनि आफूलाई सफलतापूर्वक उभ्याएको देखिएको छ । कम्पनीले यो सफलता ग्राहकको विश्वास, उत्कृष्ट सञ्चालन व्यवस्थापन र कर्मचारीको मिहिनेतको प्रतिफलका रूपमा लिएको जनाएको छ । समीक्षा अवधिमा १ अर्ब ६५ करोड रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ । छिटो, छरितो र पारदर्शी प्रणालीमार्फत दाबी फछ्र्यौट गर्दै ग्राहक सेवामा उत्कृष्टता कायम राख्ने प्रतिबद्धता कम्पनीले जनाएको छ । वार्षिक उपलब्धिपछि भिडियो सन्देशमार्फत सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत अन्जु श्रेष्ठले भनिन्, 'यो उपलब्धिले हामी सबैलाई नयाँ ऊर्जा, आशा र आत्मविश्वास प्रदान गरेको छ । यो उपलब्धि भविष्यका लागि बेञ्चमार्क बन्नेछ र हामी यसैको आधारमा अझ उचाइमा पुग्नेछौं ।' श्रेष्ठका अनुसार नयाँ आर्थिक वर्षमा ग्राहक सन्तुष्टि, सम्बन्ध सुदृढीकरण, साथै डिजिटाइजेसन र प्रविधिको आधुनिकीकरणमा प्राथमिकता दिनेछ। प्राकृतिक प्रकोपलगायतबाट भएको क्षतिको दाबीलाई उच्च प्राथमिकतामा राखिने उनले जानकारी दिइन् । वित्तीय चुनौती, प्राकृतिक प्रकोप, तथा बढ्दो दाबी भुक्तानी र सञ्चालन खर्चका बाबजुद कम्पनीले समयमै दाबी भुक्तानी गर्दै प्रति शेयर आम्दानीमा निरन्तर वृद्धि गर्न सफल भएको छ । यसरी सेयरधनीहरूलाई स्थिर प्रतिफल दिन सक्ने आत्मविश्वास व्यक्त गरेको छ । ग्राहकको विश्वास, सञ्चालन उत्कृष्टता र दूरदर्शी रणनीतिमार्फत देशकै उत्कृष्ट निर्जीवन बीमा कम्पनीहरूमा आफ्नो स्थान सुरक्षित राख्न सफल भएको छ । आगामी दिनमा बीमाको पहुँच तल्लो तहसम्म पुर्‍याउँदै, ग्राहककेन्द्रित सेवा विस्तार गर्ने लक्ष्यमा कम्पनी प्रतिबद्ध रहेको बताइएको छ ।