दुई महिनामा बीमा कम्पनीहरूबाट साढे ११ अर्ब बीमा दाबी भुक्तानी

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ का पहिलो दुई महिना अर्थात भदौसम्ममा सञ्चालनमा रहेका ३७ बीमा कम्पनीहरूले साढे ११ अर्ब रुपैयाँ बराबरको दाबी रकम भुक्तानी गरेका छन् ।  नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको बीमा प्रतिविम्बअनुसार भदौसम्ममा १४ जीवन बीमक, १४ निर्जीवन बीकम, ३ लघु जीवन बीमक र ४ निर्जीवन लघु बीमक कम्पनीहरूबाट ११ अर्ब ५२ करोड २७ लाख रुपैयाँ दाबी रकम भुक्तानी भएको हो ।  चालु आवको दुई महिनामा बीमा कम्पनीहरूले भुक्तानी गरेको दाबीबापतको रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २२.४८ प्रतिशतले बढेको छ । कम्पनीहरूले अघिल्लो आवको सोही अवधिमा कल ८ अर्ब २६ करोड ८९ लाख रुपैयाँ दाबी भुक्तानी गरेका थिए । चालु आवको भदौ मसान्तसम्ममा जीवन बीमा कम्पनीहरूले भुक्तानी गरेको दाबीको संख्या ४३ हजार ६३६ वटा रहेको छ । जसअन्तर्गत कम्पनीहरूले ८ अर्ब २६ करोड ८९ लाख रुपैयाँ भुक्तानी गरेको छ । गत आवको सोही अवधिमा कम्पनीहरूले ३६ हजार ४१ वटा दाबी संख्याको ६ अर्ब ९३ करोड ८१ लाख रुपैयाँ भुक्तानी गरेका थिए । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्ममा जीवन बीमकहरूको दाबी भुक्तानी संख्या २०.३२ प्रतिशत र रकम १९.१८ प्रतिशतले बढेको छ । प्राधिकरणका अनुसार चालु आवको दुई महिनामा जीवन बीमकहरूले ५६ हजार ५९७ वटा दाबीको ४ अर्ब ७५ करोड ८३ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीहरूले ४५ हजार २९ वटा दाबीको ३ अर्ब १७ करोड ६३ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको थियो ।  अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा जीवन बीमकहरूको भुक्तानी हुन बाँकी दाबी संख्या र रकम २५.६९ प्रतिशत र ४९.८१ प्रतिशतले बढेको छ । तथ्यांकअनुसार दुई महिनामा निर्जीवन बीमकहरूले कुल २२ हजार ३८२ वटा दाबीको  ३ अर्ब २५ करोड ३८ लाख रुपैयाँ भुक्तानी गरेका छन् । अघिल्लो आर्थिक वर्षको भदौसम्म निर्जीवन बीमकहरूले २० हजार ९४१ वटा दाबीको २ अर्ब ४६ करोड ९६ लाख रुपैयाँ भुक्तानी गरेका थिए ।  अघिल्लो वर्षको भदौसम्मको तुलनामा समीक्षा अवधिसम्म निर्जीवन बीमकहरूको दाबी भुक्तानी संख्या ६.८८ प्रतिशत र भुक्तानी रकम भने ३१.७५ प्रतिशतले बढेको छ । भदौसम्ममा निर्जीवन बीमकहरूले १ लाख ५ हजार ४९९ वटा दाबीको ४० अर्ब ९५ करोड ३० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ ।  अघिल्लो आवको यसै अवधिमा कम्पनीहरूले १ लाख ९६९ वटा दाबीको २३ अर्ब १९ करोड ८ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्म निर्जीवन बीमकहरूको भुक्तानी हुन बाँकी दाबी संख्या ४.४९ प्रतिशत र दाबी रकम ७६.५९ प्रतिशतले बढेको छ ।

बीमकका सुझावसहित कृषि बीमा निर्देशिका संशोधन प्रक्रिया अघि बढाउँदै प्राधिकरण

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बुधबार ललितपुरस्थित कुपण्डोलमा रहेको आफ्नो केन्द्रीय कार्यालयमा बीमक कम्पनीका प्रतिनिधिहरूसँग कृषि, पशुपन्छी तथा जडिबूटी बीमा सम्बन्धी छलफल तथा अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमको उद्देश्य कृषि, पशुपन्छी तथा जडिबूटी बीमा निर्देशिका, २०७९ लाई सामयिक परिमार्जन गर्नका लागि बीमकहरूको राय सुझाव संकलन गर्नु र प्राधिकरणले पहिलो पटक ल्याउन लागेको क्षति मूल्याङ्कनकर्ता सम्बन्धी निर्देशिकाको मस्यौदामा छलफल गर्नु रहेको थियो । कार्यक्रममा प्रस्तुत दुवै मस्यौदामाथि विस्तृत छलफल भएको प्राधिकरणले जनाएको छ । साथै, नेपाल सरकारबाट प्रदान हुने अनुदानका लागि सिफारिस व्यवस्था, कृषि बीमा रियल टाइम सफ्टवेयरको सञ्चालन स्थिति, देखिएका समस्या र समाधानका उपायबारे पनि बीमक प्रतिनिधिहरूले आफ्ना सुझाव दिएका थिए । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले निर्देशिका परिमार्जन प्रक्रिया सामयिक आवश्यकताअनुसार अघि बढाइरहेको बताए। उनले बीमकहरूलाई वास्तविक सुझावहरू दिन आग्रह गर्दै भने, 'प्राधिकरणले पहिलो पटक क्षति मूल्याङ्कनकर्ता सम्बन्धी निर्देशिका ल्याउन लागेको छ, त्यसका लागि पनि ठोस रायसुझाव दिनुहोस् ।' सुवेदीले बीमकहरूबाट प्राप्त रायसुझावहरू समेटेर निर्देशिकाका मस्यौदाहरूलाई अन्तिम रूप दिने जानकारी दिए । कार्यक्रममा प्राधिकरणका निर्देशकहरू, कृषि बीमा शाखाका कर्मचारीहरू तथा निर्जीवन बीमा कम्पनीहरूको कृषि विभाग प्रमुखहरूको पनि सहभागिता रहेको थियो ।

४९ प्रतिशत जनसंख्यामा पुग्यो बीमाको दायरा

काठमाडौं । एक वर्षको अवधिमा जीवन बीमाको दायरामा समेटिएको जनसंख्याको प्रतिशत ४९.१९ प्रतिशतमा पुगेको छ । नेपाल बीमा प्राधिकरणले मंगलबार (आज) सार्वजनिक गरेको तथ्यांकअनुसार एक वर्षमा बीमाको दायरामा आउने जनसंख्या ७ प्रतिशतले बढेको छ ।  प्राधिकरणका अनुसार गत आवको सोही अवधिमा बीमाको दायरामा समेटिएको जनसंख्या ४२.९२ प्रतिशत थियो । भदौसम्ममा म्यादी, लघु म्यादी जीवन बीमालेखको संख्या २७.२२ प्रतिशतले वृद्धि भएको छ ।  तथ्यांकअनुसार गत आवको भदौसम्ममा म्यादी, लघु म्यादी जीवन बीमालेखको संख्या ४९ लाख ३१ हजार ३१९ थियो । चालु आवको भदौसम्मममा सो संख्या बढेर ७५ लाख ४५ हजार ९३३ पुगेको छ । त्यस्तै, वैदेशिक रोजगार बीमालेखको संख्या २०.२७ प्रतिशतले बढेर २५ लाख ९२ हजार ५५ पुगेको छ । गत आवको सोही अवधिमा वैदेशिक रोजगार बीमालेखको संख्या २१ लाख ५५ हजार रहेको थियो । तथ्यांकअनुसार कुल सक्रिय जीवन बीमालेखको संख्या १५.६२ प्रतिशतले बढेर एक करोड ५९ लाख ३६ हजार पुगेको छ । गत आवको सोही अवधिमा कुल सक्रिय जीवन बीमालखेको संख्या एक करोड ३७ लाख ८४ हजार थियो । भदौसम्ममा कुल जारी जीवन बीमालेखको संख्या ११ लाख ९८ हजार ६४३ र कुल निर्जीवन बीमालेखको संख्या ४ लाख ९० हजार ३०७ पुगेको छ । तथ्यांकअनुसार जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको भदौसम्म ३५ अर्ब ९९ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । यो अघिल्लो वर्षको तुलनामा १९.३४ प्रतिशतले बढी हो । अघिल्लो वर्ष भदौसम्ममा जीवन बीमा कम्पनीहरूले ३० अर्ब १५ करोड ७८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए । भदौसम्ममा कम्पनीहरूले ७ अर्ब २६ करोड ९६ लाख रुपैयाँ प्रथम जीवन बीमाशुल्क संकलन गरेका छन् । अघिल्लो वर्ष भदौसम्म कम्पनीहरूले ५ अर्ब ६८ करोड ९४ लाख रुपैयाँ प्रथम जीवन बीमाशुल्क संकलन गरेका थिए । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्म प्रथम बीमाशुल्क २७.७७ प्रतिशतले बढेको हो । त्यस्तै, भदौसम्ममा कम्पनीहरूले २८ अर्ब ७२ करोड ४ लाख रुपैयाँ नवीकरण जीवन बीमाशुल्क संकलन गरेका छन् ।  गत आवको सोही अवधिमा कम्पनीहरूले २४ अर्ब ४६ करोड ८४ लाख रुपैयाँ नवीकरण जीवन बीमाशुल्क संकलन गरेका थिए ।