कोशीमा बीमा बढाउन उच्चस्तरीय समिति गठन हुने, प्रदेश बीमा नीति ल्याउने
काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा विराटनगरस्थित कोशी प्रदेश सरकारको सभाहलमा आइतबार सम्पन्न बीमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रममा प्रदेश सरकारले बीमाको पहुँच विस्तार गर्न उच्चस्तरीय समिति गठन गर्ने र प्रदेश बीमा नीति ल्याउने घोषणा गरेको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कार्यक्रममा बीमाको दायरा विस्तार गर्दै राहत वितरणभन्दा नागरिकलाई बीमा सुरक्षामा ल्याउन प्राथमिकता दिने बताए । न्यून आय भएका नागरिक र घर बीमालाई विशेष प्राथमिकतामा राख्ने प्रतिवद्धता व्यक्त गर्दै उनले बीमा कम्पनीहरूले समयमा दाबी भुक्तानी नगरेसम्म जनविश्वास नबढ्ने भन्दै कारवाहीका लागि प्राधिकरणलाई निर्देशन दिन आग्रह गरे । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा ऐन र नियमावलीअनुसार बीमा विस्तारका लागि प्रदेश सरकारले देखाएको सक्रियतालाई सकारात्मक रुपमा लिँदै प्रदेशमा ‘बण्डल प्रोडक्ट’ विकास र अभियान सञ्चालन गर्न प्राधिकरण तत्पर रहेको जानकारी गराए । साथै, जङ्गली हात्तीबाट हुने क्षति न्यूनीकरणका लागि हात्ती बीमालेख तयार गर्ने प्रक्रिया अघि बढेको उनले बताए । नेपाल बीमा प्राधिकरणका निर्देशक निर्मल अधिकारीले बीमा बजारको अवस्था, विकासका सम्भावना र प्रदेश सरकारको भूमिकाबारे प्रस्तुति दिएका थिए । अन्तरक्रियामा सहभागीहरूले सबै प्रदेशमा लागू गर्न मिल्ने साझा बीमा नीति बनाउनुपर्ने, संघ र प्रदेशबीच सहकार्य बलियो बनाउनुपर्ने, बीमा दाबी भुक्तानीमा ढिलाइ नगरिनुपर्ने, जङ्गली हात्ती प्रभावित क्षेत्रमा विशेष बीमालेख ल्याउनुपर्ने धारणा राखे । कार्यक्रममा प्रदेशका मन्त्रीहरू, योजना आयोगका उपाध्यक्ष, मन्त्रालयका सचिव तथा नेपाल बीमा प्राधिकरणका कर्मचारीहरूको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयका प्रमुख विनोद पोखरेलले गरेका थिए ।
रिलायबल नेपाल लाइफको सीईओमा पुनः लोहनी नियुक्त
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नारायण बाबु लोहनी पुनः नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले लोहनीलाई चार वर्षका लागि पुनः सीईओ बनाउने निर्णय गरेको हो । लोहनीको कार्यकाल आगामी साउन १८ देखि लागू हुने कम्पनीले जनाएको छ।
गार्डियन माइक्रोलाइफ तेस्रो वर्षमा, सबै सेवा डिजिटल प्रणालीबाट
काठमाडौं । गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेड तेस्रो वर्षमा प्रवेश गरेको छ । नेपालको पहिलो लघु बीमा कम्पनीको रुपमा स्थापित यस कम्पनीले नेपालको बीमा क्षेत्रमै पहिलोपूर्ण डिजिटल प्रणाली अवलम्बन गर्दै आएको जनाएको छ । ‘समयसँगैै प्रविधिमा भईरहेको विकास र प्रयोगलाई अनुसरण गर्दै आगामी दिनमा ग्राहक महानुभावहरुको सेवालाई अझ सरल र गुणस्तरीय बनाई गरिवी न्यूनिकरण र बीमा पहुँच अभिवृद्धिमा टेवा पुर्याउने हाम्रो प्रतिवद्धता छ’ कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले भने । हाल कम्पनीले २६ वटा शाखा कार्यालयहरुबाट सेवा दिईरहेको र बीमा दावीमा सतप्रतिशत भुक्तानी गरेको जनाएको छ । हालसम्म कम्पनीले ७ करोड ७६ लाख रुपैयाँ बीमा दावी भुक्तानी गरेको जनाएको छ ।