कृषि बीमामा १० करोड अनुदान, ८७ लाखमात्रै भुक्तानी

काठमाडौं । बाली तथा पशुधन बीमाको अनुदान वितरणमा ढिलाइ भएको पाइएको छ । महालेखा परीक्षक कार्यालयले शुक्रबार सार्वजनिक गरेको ६३ औं वार्षिक प्रतिवेदनले अनुदान वितरणमा ढिलाइ भएको पाइएको हो।

प्रतिवेदनअनुसार बाली तथा पशुधन बीमा प्रिमियम अनुदान बाली तथा पशुधन बीमाको प्रिमियममा अनुदान उपलब्ध गराउने निर्देशिका, २०८१ बमोजिम एक बीमा कम्पनीले ७ हजार ७०८ बीमालेखबाट ४ अर्ब ७२ करोड ४३ लाख ५६ हजारको बिमा दाबी गरेको थियो । त्यसमा कृषि विभागले रुजु गर्दा १ अर्ब ८७ करोड ७८ लाख १ हजार बीमांक कायम गरेको छ ।

कायम भएको बीमांकका आधारमा  १२ करोड ४८ लाख ७५ हजारको ८० प्रतिशतले हुने ९ करोड ९९ लाख रुपैयाँ अनुदान दिनुपर्नेमा ८७ लाख ९० हजार मात्र दाबी भुक्तानी गरेको छ । बिमा प्रिमियम रकम सम्बन्धी कागजात समयमै रुजु गरी दाबी भुक्तानी दिनुपर्दछ ।

विभागले बिमा प्रिमियम अनुदानवापत यो वर्ष नेपाल बीमा प्राधिकरणलाई .१ अर्ब ४३ करोड १० लाख भुक्तानी दिएको छ । यस वर्ष पशुधन, माछा र पन्छीतर्फको बीमांक रु.३४ अर्ब ९१ करोड ६३ लाख ७३ हजार रुपैयाँ र वार्षिक बिमा शुल्क .३४१ अर्ब ५८ करोड ८३ लाख ९८ हजार रहेको छ ।

प्रतिवेदनअनुसार बीमा शुल्कको अनुपात बीमांक रकमको ४.५५ प्रतिशत देखिन्छ । पशुपन्छी बीमाको क्षेत्र र बीमा शुल्क बढ्दै जाँदा नेपाल सरकारको आर्थिक दायित्व बढ्दै जाने देखिएकाले बिमा शुल्क निर्धारणलाई वैज्ञानिक र अनुमान योग्य बनाउनुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

Share News